चीनको गार्हस्थ्य उत्पादनमा १० प्रतिशत वृद्धि
पुस २४, बेइजिङ/शाङ्र्घाई (चीन) । चीनको अर्थतन्त्र २०१० मा लगभग १० प्रतिशतले बढेको छ । साथै खुद्रा बिक्रीमा १८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । यसको अर्थ चीन अब आन्तरिक खपतमा बढी निर्भर देखिएको उपप्रधानमन्त्री ली केगियाङले शनिवार प्रकाशित एक वक्तव्यमा भनेका छन् । २०१० मा भएको आर्थिक वृद्धिको ९० प्रतिशत योगदान आन्तरिक खपतबाटै भएको लीले जर्मनीको वर्लिनमा भएको एक कार्यक्रममा बताए । उनको सो भाषणको विवरण शनिवार पिपुल्स डेलीमा छापिएको छ । 'तीव्र तथा दिगो आर्थिक वृद्धिका लागि अब हामीसँग आत्मविश्वास तथा उपयुक्त अवस्थाका साथै सक्षमता पनि छ’, लीले भने । केन्द्रीय बैङ्कका गभर्नर चाउ सिआओचुआनले पनि २०१० को कुल गार्हस्थ्य उत्पादनमा लगभग १० प्रतिशतले वृद्धि भएको यसै हप्ता बताएका थिए । चीनले आन्तरिक खपत अझै बढाएर आगामी ५ वर्षमा हुने तीव्र वृद्धिका फाइदाहरू जनतामाझ बाँड्न चाहेको लीको विचार थियो । यूरोप आफ्नो ऋण सङ्कटबाट पार पाउन सफल हुनेमा विश्वास व्यक्त गर्दै बेइजिङले आवश्यक सहयोग गर्ने पनि लीले बताएका छन् । चीनले ग्रीस तथा स्पेनको सरकारी ऋण खरीद गर्नेबारे सार्वजनिक रूपमै प्रतिबद्धता गरेको छ, तर लगानी गर्ने रकमको मात्रा भने प्रस्ट खुलाएको छैन । रोयटर्स
जर्मनीमा डायोक्सिनको मासु विक्रीमा रोक
पुस २४, बर्लिन (जर्मनी) । जर्मनीले क्यान्सरजनक तत्व डायोक्सिनबाट प्रदूषित भएको आशङ्कामा ४ हजार ७ सयभन्दा बढी पशुपालन केन्द्रका कुखुरा, अण्डा तथा सुँगुरको मासु विक्रीमा प्रतिबन्ध लगाएको छ । पशुपालक कृषकहरूले महीनौंदेखि डायोक्सिन प्रभावित पशुआहार प्रयोग गरिरहेका हुन सक्ने चिन्ता बढेपछि सरकारले शुक्रवार त्यस्तो प्रतिबन्ध लगाएको हो । शुक्रवार नै स्लोभाकिया तथा दक्षिण कोरियाले जर्मनीबाट मासुजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाएका छन् । त्यसैगरी बेलायत तथा नेदरल्याण्डका अधिकारीहरू जर्मनीबाट आयातित अण्डा मिसाइएका खाद्यपदार्थ स्वास्थ्यका लागि सुरक्षित भए/नभएको बारे अनुसन्धान गरिरहेका छन् । जर्मनीको उत्तरी राज्य स्लेस स्वर्ग-होल्स्टीनस्थित एक कम्पनी हार्लेज एण्ड जेण्ट्जले आफ्नो पशुआहारामा डायोक्सिन प्रदूषण भए पनि समयमै जानकारी नगराएको भन्ने बारे छानबिन भइरहेको छ । 'यदि कम्पनीलाई मार्चदेखि नै त्यसबारे थाहा भएको तर उसले सम्बन्धित निकायमा जानकारी नगराएको भन्ने देखिएमा उक्त कम्पनीले अत्यन्त आपराधिक कार्य गरेको प्रमाणित हुनेछ’ कृषिमन्त्री इल्से एइग्नरले भने । एपी/रासस
अमेरिकी रोजगारमा अपेक्षाभन्दा कम वृद्धि
पुस २४, वासिङ्टन (अमेरिका) । डिसेम्बर महीनामा अमेरिकी रोजगारदाताहरूले अपेक्षाभन्दा कमै मात्र कामदार भर्ना गरेको र धेरै मानिसहरूले काम खोज्नै छाडिदिएको पाइएको छ । यसले गर्दा बेरोजगारीदरमा ठूलो गिरावट आएको भन्ने हालैको समाचारको उत्साह सेलाएको छ । श्रम विभागले शुक्रवार प्रकाशित गरेको रोजगार वृद्धिबारेको तथ्याङ्क निराशाजनक आएकाले केन्द्रीय बैङ्कले ६ खर्ब डलरबराबरको सरकारी बण्ड खरीद गर्ने योजना यथावत् नै रहने देखिएको छ । विभागले गैरकृषि क्षेत्रका रोजगारदातामाझ गरेको सर्वेक्षणअनुसार डिसेम्बर महीनामा १ लाख ३ हजारओटा मात्र रोजगार थपिएको थियो । जबकि अर्थशास्त्रीहरूले १ लाख ७५ हजार रोजगार थपिने अपेक्षा गरेका थिए । निजीक्षेत्रबाट १ लाख १३ हजार रोजगार थपिएका थिए भने सरकारी क्षेत्रको रोजगार १० हजारले घटेको थियो । 'रोजगारको तथ्याङ्कबाट अर्थतन्त्रमा मन्द सुधार भइरहेको देखिन्छ, जसबाट अर्थतन्त्र सही बाटोमा भए तापनि खोजेकोजस्तो वृद्धिका लागि हालको सुधार पर्याप्त नरहेको देखिन्छ’, संसारकै सबैभन्दा ठूलो अन्तरराष्ट्रिय बैङ्क बीएनपी पारिवासका न्यूयोर्कस्थित एक वरिष्ठ अर्थशास्त्रीले भने । रोयटर्स
ट्विटर बिक्री पनि नहुने, पब्लिक पनि नहुने
पुस २४, लास भेगास (अमेरिका) । सूक्ष्म ब्लगिङ वेबसाइट ट्विटर अझै पनि स्वतन्त्र कम्पनीकै रूपमा रहने र हाललाई पब्लिक कम्पनीमा पनि परिवर्तन नहुने प्रमुख कार्यकारी डिक कोष्टोलोले बताएका छन् । 'हामीले जे गर्न चाहेका थियौं अहिलेसम्म त्यसको १ प्रतिशत मात्र पूरा भएको छ, र हामी अझै धेरै गर्न सक्छौं’, कोष्टोलोले यहाँ चलिरहेको उपभोक्ता इलेक्ट्रोनिक्स प्रदर्शनीको अवसरमा भने । सम्भावित सार्वजनिक निष्काशन (आईपीओ)का बारेमा सोधिएको एक प्रश्नको जवाफमा कोष्टोलोले भने, 'अहिले म त्यसबारेमा सोच्न पनि चाहन्न । आवश्यक समय आएपछि मात्र हामी त्यसका बारेमा पनि सोच्नेछौं’ ।सन् २००६ मा स्थापना भएको ट्विटरमा १७ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताहरु दर्ता भइसकेका छन् । गत महीना ट्विटरमा थप २० करोड डलरको लगानी भएपछि उक्त कम्पनीको मूल्य ३ अर्ब ७० करोड डलर पुगेको थियो । एएफपी/रासस
चामलको भाउ नबढ्ने
पुस २४, सिङ्गापुर । खाद्यपदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्नु हालका दिनहरूमा नीतिनिर्माताको प्रमुख कार्यसूची भएको बेला थाइल्याण्ड तथा भियतनामजस्ता ठूला चामल निर्यातकर्ता देशहरूले प्रशस्त मात्रामा चामल आपूर्ति गरिरहेकाले यस वर्षको पहिलो त्रैमासको मूल्यनियन्त्रण प्रयासलाई सघाउ पुग्ने भएको छ । अन्य अन्नको भाउमा तीव्र वृद्धिले संसारभरि नै खाद्यपदार्थको भाउ बढे तापनि गतवर्ष चामलको भाउ भने घटेको थियो । सन् २००८ मा उच्च मूल्यमा पुगेको चामलको भाउ अहिले त्यसको लगभग आधामा झरेको छ । त्यसबाट भाउ बढ्दा त्यतिखेर दङ्गाको सामना गरेका सरकारहरूलाई हाल केही राहत मिलेको देखिन्छ । थाई चामलको आधार मूल्य २०१० मा १३ प्रतिशतले घटेको थियो, जबकि खराब मौसमका कारण अमेरिकी गहुँ तथा मकैको 'फ्युचर्स मूल्य' ५० प्रतिशतले बढेको थियो । तर, चामलको मूल्य घटे पनि डिसेम्बर महीनामा खाद्यपदार्थ समूहको मूल्य भने हालसम्मकै उच्च हुन पुगेको थियो ।
भियतनाम संसारकै सबैभन्दा दोस्रो ठूलो चामल निर्यातकर्ता राष्ट्र हो । त्यहाँको आगामी धानबाली राम्रो हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी आफ्नै देशमा राम्रो बाली हुने भएकाले फिलिपिन्सले २०११ को चामल आयात पहिलेको भन्दा आधामा झार्ने बताएको छ । त्यसबाट चामलको माग र आपूर्तिको सन्तुलन केही समयका लागि सहज नै रहने देखिएको विश्लेषकहरूले बताएका छन् । संसारको पाँचौं ठूलो चामल निर्यातकर्ता देश पाकिस्तानले पनि देशमा राम्रो फसल भएकाले २००९/१० मा ४५ लाख टन चामल निर्यात गर्यो । हालैको विनाशकारी बाढीबाट धानमा त्यति धेरै क्षति नभएकाले यस वर्षपनि स्थिति खराब नहुने अपेक्षा छ । तर, केही सम्भावित कारणहरूले गर्दा चामलको भाउ बढ्न पनि सक्छ । विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता राष्ट्र थाइल्याण्डसँग २००९ को अन्त्य तथा २०१० को शुरूको समयमा भन्दा अहिले चामलको भण्डारण घटेको छ । त्यसैगरी चामलको प्रमुख निर्यातकर्ता रहेको भारतले यस वर्षपनि चामलको निर्यातमा प्रतिबन्ध लाउने सम्भावना छ । बङ्गलादेशले हालै भियतनामबाट २ लाख ५० हजार टन चामल किन्दा केही बढी मूल्य तिर्न पुगेकाले त्यहाँ चामल केही महँगो रहने भएको छ । रोयटर्स