क्रेडिट रेटिङ घटेपछि अमेरिकामा आरोप/प्रत्यारोप शुरू
साउन २४, वाशिङटन (अमेरिका) । क्रेडिट रेटिङ घटेपछि संयुक्त राज्य अमेरिकामा आरोप/प्रत्यारोपको क्रम शुरू भएको छ । गत शुक्रवार क्रेडिट रेटिङ एजेन्सी एस एण्ड पीले अमेरिकाको रेटिङलाई 'ट्रिपल ए'बाट झारेर 'डबल ए प्लस' कायम गरेपछि सत्तारुढ डेमोक्रयाट र प्रतिपक्षी रिपब्लिकनहरूबीच राजनीतिक आरोप/प्रत्यारोपको क्रम शुरू भएको हो । रेटिङ एजेन्सीको उक्त कदमलाई ओबामा प्रशासनले राजनीतिक पूर्वाग्रह प्रेरित र सरकारको लोकप्रियता कम गर्न आएको षड्यन्त्रका रूपमा चित्रण गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सोमवार ह्वाइटहाउसमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा रेटिङ घटाउने काम विरोधीहरूको षड्यन्त्र मात्र भएको बताएका छन् ।
एस एण्ड पीप्रति तीव्र प्रतिक्रिया व्यक्त गर्दै उनले शेयरबजारहरूमा सधैं घटबढ भइरहने तर, कुनै रेटिङ एजेन्सीले भन्दैमा अमेरिकाको 'ट्रिपल ए' रेटिङ कम नहुने र सधैं उच्च रहिरहने बताएका थिए । उनले अमेरिकाको विशाल बजेटघाटा कम गर्न आफूसँग केही उपाय भएको पनि बताएका थिए । सम्बोधनमा ओबामाले समस्याहरू समाधान गर्न आफू आफ्ना पूर्वअडानहरूमा केही लचकता अपनाउन सक्ने तर धनीहरूमाथि करवृद्धि गर्नु भने आवश्यक रहेको उल्लेख गरेका थिए । उनले अर्थतन्त्रको सुधारमा उठाइने कदमहरूमा समझदारी आवश्यक रहेको बताएका छन् । त्यसैगरी राष्ट्रपति ओबामाका एक सल्लाहकार डेभिड एलेक्सरडले एस एण्ड पीको निर्णयाई 'टी पार्टी डाउनग्रेड'को संज्ञा दिएका छन् । एलेक्सरडले प्रतिपक्षी रिपब्लिकनहरूमाथि सङ्केत गर्दै यस्तो कदम सरकारलाई टाट पल्टाएर आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्न खोज्ने बेइमानहरूको चालबाजी भएको आक्रोश व्यक्त गरेका छन् । उनले आगामी राष्ट्रपतीय चुनावका रिपब्लिकन प्रत्याशीहरूले समझदारीबारे केही नबोलेकोमा आलोचना गरेका थिए । त्यसैगरी अमेरिकी कङ्ग्रेसको वित्तीय समितिका डेमोक्रयाट सदस्य ब्राड सरम्यानले यस्तो निर्णय गलत उद्धेश्यले प्रेरित भएर आएको बताएका छन् । त्यस्तै अमेरिकी सिनेटका डेमोक्रयाट सांसद् बर्नी स्याण्डर्सले रिपब्लिकनहरूमाथि सङ्केत गर्दै ४ वर्षअघि आर्थिक सङ्कट शुरू हुँदा यस्तो रेटिङ गर्नेहरू कहाँ थिए भन्ने प्रश्न गरेएका छन् ।
उता आगामी राष्ट्रपतीय चुनावका लागि रिपब्लिकन पार्टीका प्रत्याशीहरूले भने क्रेडिट रेटिङ घट्नु ओबामा प्रशासनको कुशासन र असफलताको प्रतीक भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले क्रेडिट रेटिङ घट्नुको सम्पूर्ण दोष राष्ट्रपति ओबामाले नै लिनुपर्ने बताएका छन् । रिपब्लिकन पार्टीकी राष्ट्रपति पदकी प्रत्याशी मिसेल ब्याकम्यानले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी अर्थमन्त्री टिमोथी गाइट्नरले तत्काल राजीनामा गर्नुपर्ने उल्लेख गरेकी छन् । वक्तव्यमा राष्ट्रपति ओबामाले अमेरिकी अर्थतन्त्रका आधारहरू ध्वस्त पार्दै लगेको आरोप पनि लगाइएको छ । अर्का रिपब्लिकन प्रत्याशी रिक सेण्टोरमले राष्ट्रपति ओबामाको नेतृत्व असफल भएको बताएका छन् । त्यस्तै राष्ट्रपति पदको उम्मेदवारीमा सबैभन्दा अघि देखिएका रिपब्लिकन मिट रोम्नीले जारी गरेको एक प्रेस वक्तव्यमा क्रेडिट रेटिङ घट्नु राष्ट्रपति ओबामाको नेतृत्वमा अमेरिका तल गइरहेको डरलाग्दो सङ्केत भएको उल्लेख छ । एजेन्सी
अमेरिकाको क्रेडिट रेटिङ घटेका छैन : मुडिज
साउन २४, न्यूयोर्क (अमेरिका) । विश्वको दोस्रो ठूलो क्रेडिट रेटिङ एजेन्सी मुडिजले संयुक्त राज्य अमेरिकाको क्रेडिट रेटिङ 'ट्रिपल ए' नै कायम रहेको बताएको छ । मुडिजले सोमवार प्रकाशित गरेको एक प्रतिवेदनममा अमेरिकाको बजेटघाटा अत्यन्त उच्च रहे पनि क्रेडिट रेटिङ भने नघटेको उल्लेख छ । प्रतिवेदनमा अमेरिकी मुद्रा विश्वको प्रमुख मुद्रा सञ्चिति भएकाले अमेरिकालाई यसबाट अन्य मुलुकको भन्दा धेरै ऋणभार थेग्न मद्दत पुग्ने बताइएको छ । प्रतिवेदनमा डलरको अद्वितीय आयतन र विविधता तथा अमेरिकाको शासनको स्थिरता अर्थतन्त्रलाई सही दिशा प्रदान गर्ने प्रमुख तत्त्व भएको उल्लेख छ ।
मुडिजका वरिष्ठ ऋण अधिकारी स्टेभन हेसले बजेटघाटा कम गर्ने प्रस्ताव कङ्ग्रेसबाट पारित हुनु सकारात्मक रहेको र अर्थतन्त्रमा सुधारको सही दिशा पाउन सकिने बताएका छन् । हेसले विगत केही महीनायता जस्तोसुकै असमझदारी भए पनि दुवै प्रमुख राजनीतिक दल बजेटघाटा र ऋण कम गर्ने एउटै काममा लागेको पनि बताएका छन् । उनले गरिएका प्रयत्नहरूको नतीजा र राजनीतिक विवादभन्दा नीतिहरूको पालन महत्त्वपूर्ण हुने पनि उल्लेख गरे । एजेन्सी
चीनको महँगी जुलाईमा ३७ महीनाकै उच्च
साउन २४, बेइजिङ (चीन) । चीनको महँगी दर जुलाईमा ३७ महीनायताकै उच्च हुन पुगेको छ । त्यसपछि चिनियाँ नेताहरूमाथि आर्थिक वृद्धि कायम राख्दै दैनिक जीवनका लागि आवश्यक सामग्रीको मूल्य घटाउन झनै दबाब बढेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको उपभोक्ता मूल्य जुनसम्मको वर्षको ६ दशमलव ४ प्रतिशतबाट बढेर जुलाईसम्मको वर्षमा ६ दशमलव ५ प्रतिशत पुगेको छ । खाद्यवस्तुको मूल्यवृद्धिदर जुनको १४ दशमलव ४ प्रतिशतबाट बढेर जुलाईमा १४ दशमलव ८ प्रतिशतमा पुगेको छ । चीन सरकारले भने यस वर्षका लागि ४ प्रतिशतको महँगी दर लक्ष्य राखेको छ ।म्यानुफयाक्चरिङ र अन्य आर्थिक गतिविधिमा सुस्ती आउन थाले पनि मूल्यवृद्धि भने उक्लिरहेको छ । अति तातेको अर्थतन्त्रलाई चिस्याउन चीन सरकारले बारम्बार ब्याजदर वृद्धिलगायतका उपाय चालिसकेको छ । एपी/रासस
रियो टिण्टो र मित्सुबिसी अष्ट्रेलियाली खनिज कम्पनी खरीद गर्दै
साउन २४, मेलबर्न (अष्ट्रेलिया) । बहुराष्ट्रिय कम्पनीहरू रियो टिण्टो र मित्सुबिसी कर्पोरेशनले अष्ट्रेलियाको खनिज कम्पनी कोल एण्ड एलाइड इण्डष्ट्रिज (सीएनए) संयुक्त रूपमा खरीद गर्ने प्रस्ताव अघि सारेका छन् । सोमवार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै रियो टिण्टो र मित्सुबिसीले यस्तो जानकारी दिएका हुन् । सीएनएले भने शनिवार ती दुई कम्पनीबाट आएको संयुक्त प्रस्ताव प्रारम्भिक मात्र भएकाले थप छलफल गरिनु आवश्यक भएको बताएको छ ।
रियो टिण्टो र मित्सुबिसीले गर्न लागेको उक्त खरीदको मूल्य ११ अर्ब अमेरिकी डलर हुने बताइएको छ । उक्त खरीद सफल भएमा विश्वको दोस्रो ठूलो खनिज कम्पनी रियो टिण्टो र जापानी कम्पनी मित्सुबिसीले सीएनएको कुल शेयरमा क्रमश: ८० र २० प्रतिशतको हिस्सा पाउनेछन् । हाल ती दुई कम्पनीहरूको अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित खनिज उत्खननमा क्रमश: ७५ दशमलव ५ र १० दशमलव २ प्रतिशतको हिस्सा रहेको छ । सिएनए अष्ट्रेलियाको छैटौं ठूलो खनिज उत्खनन कम्पनी हो । एएफपी/रासस
भारतमा विदेशी लगानीमा ३ सय प्रतिशतले वृद्धि
साउन २४ । भारततर्फो प्रत्यक्ष विदेशी लगानी आप्रवाह जुन महीनामा ३ सय प्रतिशतले बढेर ५ अर्ब ६५ करोड डलर पुगेको छ, जुन गत ११ महीनाभित्रको दोस्रो ठूलो मासिक आप्रवाह हो । त्यसैगरी, गतवर्षको जुनभन्दा यस वर्षको जुनमा १ अर्ब ३८ करोड डलरले लगानी बढेको छ । पछिल्ला दिनहरूमा झण्डै दोहोरो अङ्कको मूल्यवृद्धि नियन्त्रणका लागि पटकपटक ब्याजदर बढाएपछि अर्थतन्त्रको वृद्धिदर केही सुस्तिएको थियो ।
त्यसैगरी, पछिल्ला दिनहरूमा भारतमा लगानी गर्न लगानीकर्ताहरू अनिच्छुक देखिएका थिए । ८ प्रतिशतभन्दा माथिको तीव्र आर्थिक वृद्धिदर रहँदारहँदै पनि बढ्दो भ्रष्टाचार काण्ड, लालफिताशाही, उच्च महँगी र अर्थतन्त्रको खुलापनका लागि सरकार हच्किरहेको आशङ्काले लगानी प्रभावित भएको थियो । त्यसैले लगानी वृद्धिको पछिल्लो खबरलाई एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा उत्साहपूर्वक हेरिएको छ । एएफपी/रासस
Admin 2011-08-10