शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनको महँगी ३ वर्षकै उच्च

असार २५, बेइजिङ (चीन) । चीनको महँगीदर जुन महीनामा बढेर ३ वर्षयताकै उच्च हुन पुगेको छ । शनिवारको सरकारी तथ्याङ्कअनुसार उपभोक्ता मूल्य परिसूचक बढेर जुनमा ६ दशमलव ४ प्रतिशत पुगेको छ । हालको महँगीदर २००८ को जुनमा रहन पुगेको ७ दशमलव १ प्रतिशतपछिकै उच्च हो । चीन सरकारले महँगीदरलाई अधिकतम वार्षिक ४ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । तर, गत मे महीनामा ५ दशमलव ५ प्रतिशत रहेको महँगीदर जुनमा सरकारी लक्ष्यभन्दा झनै माथि पुगेको छ । जुन महीनाको खाद्य परिसूचक बढेर वार्षिक १४ दशमलव ४ प्रतिशत पुगेको छ ।   न्यून आय भएका अधिकांश चिनियाँ जनताले औसतमा आम्दानीको एक तिहाइभन्दा बढी हिस्सा खाद्यवस्तुमा खर्च गर्छन् । त्यसैले, महँगीबाट उत्पन्न हुन सक्ने सामाजिक अस्थिरताप्रति अत्यन्त संवेदनशील रहने चीन सरकारका नीतिनिर्मातालाई बढ्दो महँगीदरले झनै चिन्तित बनाउनेछ । महँगी नियन्त्रणका लागि चीन सरकारले बैङ्कहरूले दिने कर्जामा नियन्त्रणलगायतका विभिन्न उपाय अपनाउँदै आएको छ । महँगी नियन्त्रणकै लागि भनेर गत बुधवारसमेत अक्टोबरपछि पाँचपटक ब्याजदर बढाइसकिएको छ । एएफपी/रासस

मन्दिरमा भेटिएको खजानाको कडा सुरक्षा

असार २५ । भारतको दक्षिणी राज्य केरलाका अधिकारीहरूले हालै ठूलो मात्रामा खजाना फेला परेको एउटा मन्दिरको सुरक्षा व्यवस्थालाई झनै कडा बनाउने प्रतिबद्धता गरेका छन् । गत हप्ता केरलाको राजधानी थिरूवानान्थपुरम्को एक प्राचीन श्रीपद्मनाभस्वामी मन्दिरमा अर्बौं डलरको खजाना फेला परेको थियो । खजानाका पाँचओटा बाकस खोलिसकिएपछि छैटौं बाकस खोल्न सर्वोच्च अदालतले निषेध गरेको थियो । त्यसपछि शनिवार अधिकारीहरूले सुरक्षा कडा पार्ने वाचा गरेका हुन् । मन्दिर परिसरभित्र हाल १ सयभन्दा बढी प्रहरी अधिकृत तैनाथ गरिएका छन् भने ५० ओटा कमाण्डोले मन्दिर बाहिरबाट सुरक्षा दिइरहेका छन् ।उक्त मन्दिर केरलाकै गर्व हुन पुगेकाले संरक्षण र संवर्द्धनमा राज्य सरकारले १ करोड भारू खर्च गर्ने र आवश्यक परे अझै थप्ने मुख्यमन्त्री ऊम्मेन चण्डीले बताएका छन् । मन्दिरमा फेला पारिएको सुन, चाँदी, मूर्ति र बहुमूल्य रत्नहरूको मूल्य २२ अर्ब डलरसम्म पर्ने प्रारम्भिक अनुमान छ । तर, ती बहुमूल्य खजानाको वास्तविक मूल्याङ्कन गर्न प्राय: असम्भव नै रहेको  विशेषज्ञहरूको भनाइ छ । एएफपी/रासस

यूएस विमेन्स गोल्फमा लेविसको अग्रता

असार २५, कोलोराडो (अमेरिका) । स्टेसी लेविसले यूएस विमेन्स ओपनमा शुक्रवार १ शटले अग्रता लिएकी छिन् । दोस्रो राउण्डको खेल भने पानी पर्नाले खारेज गरिएको थियो । खेलको अन्त्य भएको साइरन बज्दा लेविस बाह्रौं होलमा ४ अण्डर पार थिइन् । त्यतिन्जेलमा उनले आई के किम र र्यान ओटूलभन्दा १ शटले अग्रता लिइसकेकी थिइन् ।यसै वर्ष लेविसले क्राफ्ट नेबिस्को जितिसकेकी छन् भने दोस्रो मेजर टाइटल जित्ने अवस्थामा पुगेकी छन् । गत महीना एलपीजीए च्याम्पियनशिप जितेकी यानी छेङ भने ७ होल बाँकीका साथ ३ ओभर पार रहेकी थिइन् ।                  एपी/रासस    

अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा प्रदूषणकर्तालाई चेतावनी

असार २५ । अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिआ गिलार्डले प्रदूषणसम्बन्धी नयाँ करको घोषणामार्फत  मन लागि प्रदूषण गर्ने स्वतन्त्रता समाप्त भएको भन्दै हालसम्मकै कडा चेतावनी दिएकी छन् । देशका सबैभन्दा ठूला ५ सयओटा प्रदूषकलाई तिनका कार्बन डाइअक्साइड उर्त्सजनको आधारमा लगाइने कर कार्यक्रम लागू गरिने दृढता शनिवार पुन: प्रकट गरेकी हुन् । दुई दशकसम्मको लामो द्विविधा र विवादपछि आगामी वर्षको जुलाईदेखि नयाँ कर कार्यक्रम लागू गर्न लागिएको गिलार्डले जानकारी दिएकी छन् ।जुलिआले आइतवार कार्बन डाइअक्साइड उर्त्सजनको आधारमा लगाइने कर कार्यक्रमको पूर्ण विवरण सार्वजनिक गर्दैछिन् । त्यसपछि उनले एउटा राष्ट्रव्यापी टेलिभिजन सम्बोधन र कर कार्यक्रमप्रति समर्थन जुटाउन राष्ट्रव्यापी दौडाहासमेत गर्नेछिन् । कोइलामा आधारित ऊर्जा र खानी निर्यात उद्योगका कारण अष्ट्रेलिया विश्वकै सबैभन्दा खराब प्रदूषकमध्ये एक हो । एएफपी/रासस   

भारतमा १ हजार ३ सय २० विमानको माग : बोइङ

असार २५, नयाँ दिल्ली (भारत) । भारतमा तीव्र आर्थिक वृद्धि भइरहेकाले आगामी २० वर्षसम्ममा झण्डै १ हजार ३ सय २० ओटा थप नयाँ विमान भारतीय बजारमा खपत हुने बोइङले बताएको छ । बोइङले गरेको पूर्वानुमानअनुसार ती नयाँ थपिने विमानहरूको कुल मूल्य १ खर्ब ५० अर्ब डलर हुन आउँछ । ठूलो जनसङ्ख्या, बढ्दो आम्दानी र व्यापारिक प्रगतिका साथै हवाईयात्रा बढ्ने भएकाले भारतमा विमानको ठूलो बजार रहेको बोइङ इण्डियाका प्रेजिडेण्ट केस्करद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस वर्षको अनुमान गतवर्षको यस्तै अनुमानभन्दा निकै आशावादी देखिएको छ । गतवर्ष भने, आगामी दुई दशकमा कुल १ खर्ब ३० अर्ब डलरबराबरको १ हजार १ सय ५० ओटा नयाँ विमान चाहिने अनुमान गरिएको थियो ।  

भारतको बढ्दो मध्यमवर्गले ट्रेनको साटो हवाईयात्रा गर्न थालेको छ । गएको दशकमा थुप्रै निजी कम्पनीले आन्तरिक उडान थालेका छन् । अर्थतन्त्रको विस्तारसँगै भारतीय विमानसेवा कम्पनीको नाफा पनि बढ्दै गएको केस्करले बताए । जनवरीमा सुलभ मूल्य अर्थात् बजेट एयरलाइनर इण्डिगोले एयरबससँग १ सय ८० ओटा नयाँ विमान खरीद गर्ने बताएको थियो । निजी विमानसेवा कम्पनीको विस्तारका साथै भारतको सरकारी विमानसेवा एयर इण्डियाले पनि पुराना जेटका ठाउँमा नयाँ जेट लिने योजना बनाएको छ । यात्रुबाहक विमानका साथै भारतले ठूलो सङ्ख्यामा सैन्य विमानसमेत थप्ने भएको छ ।         एपी/रासस

बर्लुस्कोनीको कम्पनीलाई जरीवाना


असार २५, मिलान (इटाली) । इटालीका प्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको पारिवारिक लगानी कम्पनी फिनिन्भेष्टले एक प्रतिद्वन्द्वी सञ्चार समूहलाई ५६ करोड यूरो अर्थात् ७९ करोड ७० लाख डलर तुरून्त दिनुपर्ने भएको छ । मोण्डाडोरी प्रकाशन कम्पनी खरीद गर्दा भ्रष्टाचार गरेको भन्ने  फिनिन्भेष्टविरूद्ध २००९ मा सुनाइएको निर्णयाई  मिलानको पुनरावेदन अदालतले सदर गरेको हो । तर, फिनिन्भेष्टले क्षतिपूर्तिवापत तिर्नुपर्ने भनिएको रकम ७५ करोड यूरोलाई भने पुनरावेदन अदालतले घटाइदिएको छ ।बर्लुस्कोनीका तीन सहयोगीले मोण्डाडोरी काण्डमा एकजना न्यायाधीशलाई घूस खुवाएर मुद्दालाई प्रभावित गरेको आरोपमा क्षतिपूर्ति दिइएको हो । बर्लुस्कोनीको कम्पनीले १९९० को दशकमा मण्डोडरीमाथिको नियन्त्रणका लागि अर्का उद्योगपति कार्लो डे बेनेडेट्टीलाई पन्छाउन सफल भएको थियो ।  आफूले मोण्डाडोरी गुमाउनु पछाडि फिनिन्भेष्टले गरेको भ्रष्टाचार कारण रहेको भन्ने तथ्य  हालको आदेशले पर्दाफाश गरेको डे बेनेडेट्टीको कम्पनीले दाबी गरेको छ । उता, फिनिन्भेष्टकी अध्यक्ष तथा बर्लुस्कोनीकी छोरी मरिना बर्लुस्कोनीले भने आफ्ना पिताविरूद्धको अन्यायपूर्ण अभियानअन्तर्गत नै हालको फैसला आएको दाबी गरेकी छन् ।         एपी/रासस

Admin 2011-07-10