बेइजिङमा आइप्याड२ का लागि चार घाइते
वैशाख २५, बेइजिङ (चीन) । हालसालै बजारमा आएको आइप्याड२ टयाब्लेट कम्प्युटर खरीद गर्न शनिवार एप्पलको बेइजिङस्थित प्रमुख स्टोरमा झडप भएको थियो । झडपका कारण स्टोर सीसाको ढोका फुट्नुका साथै चार जना घाइतेलाई अस्पताल लानुपरेको थियो ।एप्पलको एउटा 'विदेशी’ कर्मचारीले पालो मिचेको भन्दै शङ्कास्पद मानिसहरूलाई कुट्न थालेपछि तथा भीडलाई ठेलठाल गरेपछि ग्राहकहरू क्रुद्ध हुन पुगेका थिए । त्यसपछि भीडले अगाडिको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्डमाथि पनि हातपात गरेका थिए ।
शुक्रवारदेखि बेइजिङ र साङ्र्घाईमा आइप्याड२ को विक्री खुला गरेपछि नै उपभोक्ताको भीड लागेको थियो । त्यसबारे एप्पलका अधिकारीहरूले सामाचार तयार गरुन्जेलसम्ममा कुनै प्रतिक्रिया जनाएका छैनन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र अस्पताल भर्ना गरिएका चार जनासँग अन्तरवार्ता लिएको बेइजिङ न्यूजले बताएको छ । आइप्याड२ लिन लागेको लाइन धेरै लामो हुँदा मानिसहरूले आफ्नो ठाउँसमेत बेच्न थालेका थिए । खरीद गरिसकेका ग्राहकले आफैले बढी मूल्यमा बेच्न थालेपछि दोस्रो बजारको पनि निर्माण हुनपुगेको छ । गत शनिवार, एप्पलको उक्त स्टोरले पालो मिच्ने र आफूले किनेको एप्पलका उत्पादनको अनाधिकृत विक्री गर्ने कार्यलाई सहन नगरिने चेतावनी दिएको थियो । एएफपी/रासस
ब्रिटेनमा ७३ अर्बपति, यस वर्षपनि मित्तल सर्वाधिक धनी
वैशाख २५, लण्डन (बेलायत) । भारतीय मूलका स्टील उद्योगपति लक्ष्मी मित्तलको सम्पत्ति गतवर्ष५ अर्ब पाउण्डले घटेको छ । तर, अझै पनि उनी ब्रिटेनको सर्वाधिक धनी व्यक्ति रहेका आइतवार प्रकाशित द सण्डे टाइम्सको धनीहरूको वार्षिक सूचीले देखाएको छ । लक्ष्मी मित्तल विश्वै सबैभन्दा ठूलो स्टील कारखाना आसलर मित्तलका अध्यक्ष तथा कार्यकारी प्रमुख हुन् । उनको सम्पत्ति गत १२ महीनामा २२ प्रतिशतले घटेर १७ अर्ब ५० करोड पाउण्डमा झरेको छ ।कच्चा पदार्थको मूल्यवृद्धि तथा सुस्त मागका कारण आसलरमित्तलको शेयर मूल्य घटेकाले मित्तलको सम्पत्ति पनि ठूलो मात्राले झरेको हो । त्यसपछि ६० वर्षीय मित्तल वर्षै धेरै सम्पत्ति गुमाउनेमा परेका छन् । तर पनि, उनी यस वर्षमेत गरी सातौं वर्षसम्म ब्रिटेनको सर्वाधिक धनाढयमा दरिन सफल भएका छन् । अझै पनि मित्तलको सम्पत्ति उनीभन्दा मुनिका दोस्रो धनी अलिशर उम्सानोभको भन्दा ५ अर्बले बढी छ ।
ब्रिटेनभरिका अर्बपतिहरूको
सङ्ख्या गतवर्षको ५३ बाट बढेर यस वर्ष७३ पुगेको छ । २००८ को वित्तीय सङ्कटअघि भने ब्रिटेनमा ७५ जना अर्बपति रहेका थिए । अर्बपतिमध्ये ४० जना ब्रिटिश मूलका छन् भने बाँकी अन्य छन् । उस्मानोभले भने आफ्नो सम्पत्तिमा एक वर्षभित्र ७ अर्ब ७० करोड पाउण्ड थपेर छैटौं स्थानबाट दोस्रो स्थानमा उक्लिन सफल भएका छन् । हाल उनको सम्पत्ति १२ अर्ब ४० करोड डलर पुगेको छ । एएफपी/रासस
अतिकम विकसित देशहरूको सम्मेलन टर्कीमा प्रारम्भ
वैशाख २५, इस्तानबुल (टर्की) । संयुक्त राष्ट्रसङ्घको सहयोगमा टर्कीमा यसै हप्ता हुने सम्मेलनमा विश्वका गरीब देशहरूले तत्काल सामना गरिरहेका समस्याबारे छलफल गरिने भएको छ । ४८ ओटा अतिकम विकसित देशहरूको उक्त सम्मेलनमा हाल अस्थिर रहेका अफगानिस्तान, यमनलगायत देशले भाग लिनेछन् । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट पनि प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा प्रतिनिधिमण्डल त्यसतर्फप्रस्थान गरिसकेको छ ।
आज सोमवारदेखि शुरू हुने उक्त पाँचदिने सम्मेलनमा झण्डै १० हजार प्रतिनिधिले भाग लिनेछन् । सम्मेलनलाई संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुन,ईयूका प्रेजिडेण्ट होसे म्यान्युएल बारोसोलगायतले सम्बोधन गर्नेछन् । अतिकम विकसित देशको सूचीमा नरहेको तेल धनी राष्ट्र इरानका राष्ट्रपति महमुद अहमदिनेजादले पनि सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
सम्मेलनले अन्तरराष्ट्रिय साझेदारहरूसँगको समन्वयमार्फत गरीबी तथा भोक निवारणका उपायबारे छलफल गर्नेछ । त्यसका साथै, लैङ्गिक समानताजस्ता सामाजिक विषयमा पनि छलफल गरिनेछ । सम्मेलनमा सयौं व्यापारिक कार्यकारीले पनि भाग लिनेछन् । सामाजिक अस्थिरता, रोग र अन्य समस्या रहँदारहँदै पनि अतिकम विकसित देशहरू लगानीका लागि राम्रो गन्तव्य हुन सक्नेतर्फजोड दिइएको छ ।आयोजक राष्ट्र टर्की एशियाली र यूरोपेली महादेशको बीचमा रहेको छ । परम्परागत रूपले नै पश्चिमा देशहरूसँग नजिक रहेको आफ्नो सम्बन्धलाई सन्तुलित बनाउन टर्कीले अफ्रिका, मध्यपूर्व र अन्य विकासशील देशहरूसँग पनि सम्बन्ध विस्तार गरिरहेको छ । एएफपी/रासस
सन् २०२० सम्ममा करोडपतिहरूको सङ्ख्या तेब्बर
वैशाख २५, न्यूयोर्क (अमेरिका) । अमेरिका र खासगरी उदीयमान बजारहरूमा धनीहरू झन्झन् धनी हुँदै गइरहेको डेलोइट एलएलपीले २५ देशका करोडपतिहरूमाथि गरेको सर्वेक्षणबाट देखिएको छ ।विश्वका सर्वाधिक धनी परिवारहरूको नियन्त्रणमा रहेको सार्वजनिक र निजी लगानी यस वर्षको ९२ ट्रिलियन डलरबाट २०२० सम्ममा दोब्बर भएर २ सय ०२ ट्रिलियन डलर पुग्ने देखिन्छ (१ ट्रिलियन बराबर १ सय खर्ब) । त्यसका साथै, विकसित देशहरूमा हाल १० लाख डलरभन्दा बढी सम्पत्ति रहेका धनीहरूको सङ्ख्या पनि दुईतिहाइले बढेर ५ करोड ५५ लाख पुग्नेछ ।
चीन, भारत र ब्राजिलजस्ता उदीयमान देशहरूमा भने त्यस्ता धनीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएर १ करोड पुग्नेछ । त्यति हुँदाहुँदै पनि विश्वका सर्वाधिक धनी परिवारमध्ये धेरैजसो अमेरिका र यूरोपमै रहनेछन् ।साथै, चीन, ब्राजिल, रूस र अन्य उदीयमान बजारमा स्थापित बजारमा भन्दा छिटो नयाँ करोडपतिहरू जन्मिरहेका छन् । उदीयमान बजारहरूको तीव्र आर्थिक विस्तार, वस्तुको मूल्यवृद्धि तथा तीव्र विकासले त्यस्तो परिणाम आउने भएको हो ।दश प्रमुख उदीयमान बजारहरूमा करोडपति परिवारहरूको कुल सम्पत्ति यस वर्षको ७ ट्रिलियन डलरबाट तेब्बरभन्दा बढेर २५ ट्रिलियन डलर पुग्नेछ । चीनको सम्पत्ति ३ दशमलव ६ ट्रिलियन डलर पुगेर विश्वकै १० धनी देशमध्ये हुनेछ । त्यसैगरी, भारतका औसत करोडपतिहरू अमेरिकी औसत करोडपतिहरूभन्दा धनी हुनेछन् । रोयटर्स
दुबई एयरपोर्टमा १० करोड यात्रु
वैशाख २५, दुबई (यूएइ) । मध्यपूर्वको सबैभन्दा व्यस्त विमानस्थल दुबई इण्टरनेशनलले आगामी एक दशकभित्र आफ्ना विमानस्थलमार्फत अहिलेको भन्दा दोब्बर यात्रुले यात्रा गर्ने अपेक्षा गरेको छ । त्यसपछि उक्त विमानस्थलबाट यात्रा गर्नेको सङ्ख्या ९ करोड ८५ लाख हुनेछ । तर, उसको दोस्रो विमानस्थल दुबई वर्ल्ड सेण्ट्रल अल माक्तोम इण्टरनेशनल तयार हुन अझ १ वर्षलाग्नेछ ।ती दुवै विमानस्थलबाट यात्रा गर्ने अन्तरराष्ट्रिय यात्रुको सङ्ख्या वार्षिक ७ दशमलव २ प्रतिशतले बढ्ने प्रमुख कार्यकारी अधिकृत पल ग्रिफितले बताए । त्यसैगरी, उसको कार्गो ढुवानीमा पनि ६ दशमलव ७ प्रतिशतको वार्षिक वृद्धि हुनेछ । २०२० सम्ममा भने यात्रुको सङ्ख्या वार्षिक ९ करोड ८५ पुग्नेछ ।
नयाँ विमानस्थलले गतवर्षदेखि नै कार्गो ढुवानी शुरू गरिसकेको छ । तर, यात्रुसेवा भने २०१२ मा मात्र शुरू गरिनेछ । सम्पूर्ण निर्माण कार्य पूरा भएपछि उक्त विमानस्थल विश्वकै सबैभन्दा ठूलो हुने दाबी गरिएको छ । विमानस्थलको वार्षिक यात्रुभार क्षमता १६ करोड जना हुनेछ ।ग्रिफिथ्सका अनुसार, अन्तरराष्ट्रिय यात्रु सङ्ख्याको आधारमा दुबई एयपोर्ट अहिले पनि विश्वकै चौथो विमानस्थल हुन आउँछ । यात्रु सङ्ख्याको आधारमा विश्वको पहिलो, दोस्रो र तेस्रो विमानस्थल क्रमशः लण्डन, पेरिस र हङकङका विमानस्थल हुन् । तर, हालकै वृद्धिदर कायम रहेमा दुबई इण्टरनेशनलले २०१५ सम्ममा सबैभन्दा व्यस्त विमानस्थलका रूपमा अन्य सबैलाई उछिन्नेछ । एएफपी/रासस
Admin 2011-05-09