चीनमा न्यूनमूल्यको करोड घर निर्माण
फागुन २५, बेइजिङ (चीन) । चीन सरकारले यस वर्ष१ करोड ओटा न्यून खर्चका घर बनाउन अनुदान दिने भएको छ । त्यसका लागि उसले झण्डै २ खर्ब डलर खर्च गर्ने भएको छ । आर्थिक वृद्धिको फाइदालाई गरीब जनतामाझ पनि बाँड्न र आकाशिँदो घरजग्गा मूल्यलाई नियन्त्रण गर्न त्यसो गर्न लागिएको हो । त्यसका साथै, धनी र गरीबबीचको खाडललाई साँघुरो बनाउन चीनले अरू थुप्रै कार्यक्रम सार्वजनिक गरेको छ । चीनका लागि त्यहाँको धनी र गरीबबीच बढ्दै गएको खाडल संवेदनशील राजनीतिक समस्या भएको छ । आगामी पाँच वर्षमा ३ करोड ६० लाख ओटा न्यून खर्चका घर निर्माण गरिने घरजग्गा सहायक मन्त्री झी जीले बताए । अति तातेको (ओभरहिटेड) बजारलाई चिस्याउने प्रयास चीन सरकार गर्दै आए पनि घरजग्गाको मूल्य आकाशिँदो छ । त्यसबाट एउटा फ्ल्याट किन्न पनि थुप्रै सामान्य परिवारको सामर्थ्य बाहिर हुन पुगेको छ । जबकि गत वर्ष पनि चीनमा १० दशमलव ३ प्रतिशतको उच्च आर्थिक वृद्धि भएको थियो । यस्तो आर्थिक असमानताले राजनीतिक अस्थिरता ल्याउन सक्नेतर्फचीन सरकार चिन्तित देखिएको छ । 'आगामी ५ वर्षमा हामी घरजग्गाको क्षेत्रमा ठूलो सुधार गर्नेछौं । त्यसबाट शहरी क्षेत्रका मध्यम र निम्नआम्दानी भएका परिवारका साथै भर्खरै रोजगार पाएका श्रमिक र आप्रवासीलाई पनि सहयोग पुग्नेछ,’ झीले भने । एएफपी/रासस
एशियामा बोइङ र एयरबसको व्यापार विस्तार
फागुन २५, हङकङ (चीन) । हङकङको ध्वजावाहक क्याथे प्यासिफिक एयरवेजले २७ ओटा नयाँ एयरबस र बोइङ जेटको अर्डर दिएको छ । खासगरी एशियामा सेवा विस्तारका लागि नयाँ विमान लिन लागिएको हो । साथै, गतवर्षको भन्दा नाफा तीन गुणाले बढेर हालसम्मकै उच्च हुन पुगेको एयरवेजले बताएको छ । क्याथे प्यासिफिक हङकङको सबैभन्दा ठूलो विमानसेवा कम्पनी हो ।१५ ओटा ए३३०-३०० का लागि एयरबस एसएएससँग र १० ओटा ७७७-३००इआर बोइङसँग खरीद गर्ने सम्झौता भएको हो । त्यसका साथै, उसले इण्टरनेशनल लिज फाइनान्स कर्पोरेशन (आईएलएफसी)सँग दुईओटा एयरबस ए३५०-९०० विमान पनि भाडामा लिने भएको छ । ती सबै जेट विमानको कुल सूचीकृत मूल्य ६ अर्ब ५० करोड डलर पर्ने भए पनि उसले ठूलो छूट पाइरहेको पनि बताएको छ । विमान विक्री तथा भाडाको कारोबारमा सूचीकृत मूल्यमा छूट दिने प्रचलन हुन्छ ।हालै मात्र हङकङ एयरलाइन्सले ३८ ओटा र चीनकै एयर चाइनाले पाँचओटा विमानको अर्डर बोइङलाई दिएका थिए । त्यसैगरी आईएलएफसीले पनि एयरबससँग १ सय र बोइङसँग ३३ ओटा जेट विमान खरीद गर्ने बताएको छ । एयरबस र बोइङ दुवैले आगामी २० वर्षमा एशियाली क्षेत्रमा हुने विमान व्यापारले अमेरिका र यूरोपलाई पनि उछिन्ने अनुमान गरेका छन् । एएफपी/रासस
भारतमा कारको विक्री २३ प्रतिशतले बढयो
फागुन २५, मुम्बई (भारत) । यस वर्षको फेब्रुअरीमा गतवर्ष यसै महीनाभन्दा झण्डै २३ प्रतिशतले कारको विक्री बढेको छ । कार खरीदका लागि दिइने ऋण सस्तो भएकाले ग्राहकहरू नयाँ मोडेलका कार खरीदतर्फ आकर्षित भएका छन् । गतवर्षभन्दा २२ दशमलव ६ प्रतिशतले बढेर फेब्रुअरीमा १ लाख ५४ हजार १ सय ३२ ओटा कार विक्री भएको छ । मोटरसाइकलको विक्री यस अवधिमा गतवर्षभन्दा २१ प्रतिशतले बढेर ७ लाख ७६ हजार ५१ पुगेको छ । त्यसैगरी व्यापारिक गाडीहरूको विक्री पनि १० प्रतिशतले बढेको छ ।
विश्वभरिकै गाडी निर्माताहरू भारतमा आफ्ना उत्पादन विक्री गर्न प्रतिस्पर्धा गरिरहेका छन् । तिनमा फोर्ड, रेनल्ट निशान, जनरल मोटर्स र भोल्क्सवागनजस्ता विश्वप्रसिद्ध कम्पनीहरू पनि छन् । ती सबै कम्पनीले आफ्ना नयाँ मोडेल भारतीय बजारमा ल्याएका छन् ।सजिलो ऋणका साथै नयाँनयाँ मोडेलका गाडीहरू पाइने भएकाले विक्री बढेको छ । तर, आगामी महीनाहरूमा भने कारको विक्री घट्ने विश्लेषकहरूको अनुमान छ । एएफपी/रासस
Admin 2011-03-10