भ्रष्टाचार विरूद्ध हजारे पुन: भोक हडतालमा
जेठ २५, नयाँ दिल्ली (भारत) । भारतका वयोवृद्ध सामाजिक अभियन्ता अन्ना हजारेले भ्रष्टाचार विरुद्ध बुधवार एकदिने हडताल गरेका छन् । भ्रष्टाचारका साथै योगगुरु रामदेवको भ्रष्टाचार विरोधी भोक हडतालमा सरकारले गरेको बल प्रयोगको विरोध गर्दै हजारेले एकदिने भोक हडताल गरेका हुन् । रामदेवले शुरू गरेको आमरण अनशनलाई सरकारले शनिवार अश्रु ग्यास र लाठीचार्जमार्फत बलपूर्वक तोडेको थियो । हजारेले बुधवार गरेको भोक हडतालमा पनि सयौं व्यक्तिले साथ दिएका छन् । अन्याय र अत्याचा को विरोध गर्नु कुनै अपराध नभएको आफूलाई समर्थन गरिरहेको भीडलाई सम्बोधन गर्दै हजारेले भने । त्यसैगरी भारतले दोस्रो स्वतन्त्रता युद्ध लड्न बाँकी नै रहेको हजारेको कथन छ । बेलायती उपनिवेशबाट मुक्तिका लागि गरिएको पहिलो देशव्यापी संघर्षलाई स्मरण गर्दै भ्रष्टाचारबाट मुक्ति पाउन पनि त्यस्तै संघर्ष गर्न हजारेले आह्वान गरे ।
सेतो पहिरनमा रहेका १७ वर्षीय हजारेले स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीको स्मृतिस्थलमा भोक हडताल गरेका छन् । सरकारले दङ्गा प्रहरी तैनाथ गरे तापनि नाचगान र बाजागाजाका साथ भारतको तिरङ्गा झण्डा हल्लाउँदै प्रदर्शनकारीले हजारेलाई समर्थन गरे । थुप्रै प्रदर्शनकारीले 'भ्रष्टाचारको विरोधमा भारत’ भन्ने नारा लेखिएको टी शर्ट लगाएका थिए । भ्रष्टाचार बढ्दो उत्तरदयित्वविहीनताका कारण भारतको राजनीतिक प्रणालीमै चुनौती देखिएको छ । स्वच्छछविका मानिने प्रधानमन्त्री मनमोहन सिंहले पनि जनमतको कदर गर्न नसकेको आरोप लाग्दै आएको छ । निर्वाचित प्रतिनिधिमध्ये पनि झण्डै एकतिहाई आपराधिक पृष्ठभूमिका छन् ।
'शनिवार रामदेवको कार्यक्रममा गरेको सरकारी हस्तक्षेप लोकतन्त्रमाथिकै आक्रमण हो । शान्तिपूर्ण प्रदर्शन गरिरहेका केटाकेटी र महिलामाथि लाठीचार्ज गरिएको थियो,’ बैङ्गलोरबाट आएका एउटा ठूलो कम्पनीका प्रशासक विक्रम शेट्टीले भने ।'म परिवर्तनको आकाङ्क्षामात्रै गरेर घरै बसिराख्न सकिन । यो परिवर्तनको शुरुआत हो,’ प्रदर्शनमा भाग लिन आफू दिल्ली आउनुको कारण शेट्टीले खुलाए । रामदेवले भ्रष्टाचार विरुद्ध आफ्नो अभियानलाई कायमै राख्ने घोषणा गरेका छन् । सरकारलगायत कतिपय अन्यले भने रामदेवको आन्दोलनलाई विपक्षीदलको हिन्दु राष्ट्रवादी अभियानबाट प्रेरित भएको आरोप लगाउँदै आएका छन् । एजेन्सी
लागार्दद्वारा भारतपछि चीन भ्रमण
जेठ २५, बेइजिङ (चीन) । फ्रान्सेली अर्थमन्त्री क्रिष्टीन लागार्द विश्व भ्रमणका क्रममा भारतबाट चीन पुगेकी छन् । अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) प्रमुखको पदमा आफ्नो उम्मेदवारीबारे लागार्दले बुधवार चिनियाँ उच्च अधिकारीहरूसँग भेटवार्ता गरिन् । आईएमएफको नेतृत्व र सञ्चालनप्रति उदीयमान देशहरूले चर्को असहमति राख्दै आएका छन् । उदीयमान देशहरूको आलोचनालाई मत्थर गरी आफ्नो उम्मेदवारीप्रति समर्थन जुटाउने क्रममा लागार्द ती देशहरूको भ्रमणमा छिन् । आईएमएफ प्रमुखमा प्रबल दावेदार देखिएकी ५५ वर्षीय पूर्व वकिल लागार्द उक्त पदमा पुग्ने प्रथम महिला उम्मेदवार हुनेछिन् ।
चीन, भारतलगायत उदीयमान देशहरूले आईएमएफ प्रमुखमा यूरोपेली नागरिक रहने परम्पराको चर्को विरोध गर्दै आएका छन् । त्यसैले ती देशहरूबाट समर्थन हासिल गर्नु लागार्दको लागि महत्त्वपूर्ण छ । भारत भ्रमणका बेला उनले न्यानो स्वागत पाए तापनि आफ्नो उम्मेदवारीप्रति भने भारतीय अधिकारीहरूबाट स्पष्ट समर्थन प्राप्त गरेकी छैनन् । चीन भने लागार्दको उम्मेदवारीप्रति सकारात्मक रहेको फ्रान्स सरकारका प्रमुख प्रवक्ता फ्राँ स्वाँ बारोइनले दुई हप्ताअघि नै बताएका थिए । आफूहरूले लागार्दको कुरा राम्रोसँग सुनेको चीनका विदेश मन्त्री याङ जिएचीले बुधवार बताएका छन् । तर, आईएमएफ प्रमुखमा लागार्दसँगै अन्य उम्मेदवार पनि देखिएकाले छनौटको मुद्दा खुला विषय रहेको जिएचीले स्पष्ट गरे । एएफपी/रासस
अष्ट्रेलियाद्वारा गाईवस्तु निर्यात रोक्का
जेठ २५, क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलियाले इण्डोनेशियातर्फ जीवित गाईवस्तुको निर्यातलाई तत्कालका लागि रोक्का गरेको छ । इण्डोनेशियाको बधशालामा गाईवस्तुलाई लामो समयसम्म चरम यातना दिएर मार्ने गरिएको भिडियो गत हप्ता अष्ट्रेलियाका टेलिभिजनले प्रसारण गरेका थिए । गाईवस्तुको गर्दन धेरैपटकसम्म रेटेपछि बनेको घाउबाट लामो समयसम्म रगत बहेपछिमात्र उनीहरूको मृत्यु हुनेगरेको भिडियोमा देखाइएको छ । लामो समयसम्म हिर्काउनाले र घाउ दुखेर ती गाईवस्तु पीडाले चिच्याएको विभत्स दृश्य पनि भिडियोमा छ ।
त्यसरी निर्यात गरिएका जीवित गाईवस्तुलाई निर्ममतापूर्वक वध गरिएको भिडियो सार्वजनिक भएपछि अष्ट्रेलियामा चर्को विरोध भएको थियो । त्यसपछि पशुअधिकारवादीलगायत सरकारमा सम्मिलित एक प्रमुख दलले पनि अष्ट्रेलियाबाट कुनैपनि देशतर्फो निर्यातलाई स्थायीरूपमै प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।अष्ट्रेलियाका कृषिमन्त्री जो लुडविगले भने ६ महीनासम्मका लागि गाईवस्तुको निर्यातमा रोक लगाइने बताएका छन् । त्यसैबीच आयातित जनावरलाई पशु स्वास्थ्यसम्बन्धी विश्व संस्थाको मार्गनिर्देशनअनुरूप व्यवहार गरिनेबारे आयातकर्ता देशले प्रत्याभूति दिनुपर्ने लुडविगले बताए । तर, गाईवस्तु व्यवसायका एक प्रतिनिधिले भने भावनात्मक मुद्दा प्रयोग गरेर बजार प्रभावित गरिएकोले त्यसबाट ठूलो आर्थिक घाटा हुने दाबी गरेका छन् । एपी/रासस
टाइगर उड्सको यूएस ओपन नखेल्ने घोषणा
जेठ २५, ज्याकसनभिल्ले (अमेरिका) । टाइगर उड्सले आफ्नो देब्रे खुट्टामा समस्या देखिएकोले यूएस ओपनमा नखेल्ने भएका छन् । यसरी १९९४ देखि नै यूएस ओपनमा भाग लिँदै आएका उड्सले उक्त प्रतियोगितामा भाग नलिएको यो पहिलो वर्ष हुनेछ । त्यसले आफूलाई निकै दु:ख लागे तापनि चिकित्सकको सल्लाह पनि आफूले मान्नुपर्ने उड्सले आफ्नो वेबसाइटमा बताएका छन् । घुँडा र मांशपेशीमा लागेको चोट पूर्णरूपले निको नहुन्जेल खेलेमा त्यसले आफ्नो खेल भविष्यमै आँच आउन सक्ने उड्सको भनाइ छ ।तर, कुनै पनि गल्फ खेलाडीका लागि प्रतियोगितामा भाग नलिने निर्णय गर्नु निकै कठिन विषय रहेको दुईपटक यूएस ओपन च्याम्पियन कर्टीस स्ट्रेञ्जले बताए ।
२००९ को अष्ट्रेलियन माष्टर्स पछि उड्सले हालसम्म कुनै पनि प्रतियोगिता जितेका छैनन् । गत वर्ष उनी आफ्नो नम्बर १ स्थान गुमाएर १५ औं स्थानमा पुगेका थिए ।पछिल्लो पत्रकार सम्मेलनमा उड्सले आफूलाई लागेको चोटपटक केही पत्रकारले लेखेकोजस्तो गम्भीर भने नरहेको दाबी गरेका थिए । उड्सको देब्रे घुँडामा चारपटक शल्यक्रिया गरिसकिएको छ ।उता, पहिले नखेल्ने घोषणा गरेका सर्जियो गासियाले भने टयुनिका नेशनलमा सोमवार प्लेअफमा आफूलाई बचाएर यूएस ओपनमा भाग लिने मौका जोगाएका छन् । त्यसैगरी, १९ वर्षदेखि मेजर टुर्नामेण्ट खेलिरहेका फिजीका विजय सिंहले भने सोमवार सेण्ट ज्यूड क्लासिकको ३६ होल क्वालिफायरमा भाग लिएनन् । एपी/रासस
प्रतिबन्धित आमिरद्वारा खेलेको स्वीकारोक्ति
जेठ २५ । पाकिस्तानका प्रतिबन्धित बलर मोहम्मद आमिरले एउटा गाउँले टीमका लागि खेलेको स्वीकार गरेका छन् । तर, उक्त प्रतियोगिता मैत्रीपूर्ण खेलमात्र रहेको र त्यसले आफूमाथि लगाइएको प्रतिबन्ध उल्लङ्घन नभएको आमिरको जिकीर छ । १९ वर्षीय आमिरले शनिवार अडिङटन १७४३ का लागि सेर्गे लिग खेलेको सार्वजनिक भएपछि त्यसबारे अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले छानबिन गर्ने भएको हो ।जानाजान नो बल गरेको आरोपमा अमिरलाई गत फेब्रुअरीमा ५ वर्षका लागि निलम्बन गरिएको थियो । तर, त्यसरी खेल्नुको वैधताबारे सोध्दा क्लबका प्रतिनिधिले त्यसबाट प्रतिबन्ध उल्लङ्घन नहुने भनेपछि आफूले खेलेको आमिरको भनाइ छ ।
आईसीसीको प्रतिबन्धअनुसार, आमिरले क्रिकेटसँग सम्बन्धित कुनै पनि क्रियाकलापमा भाग लिन पाउँदैनन् । तर, उनले खेलेको बारे आफूहरूलाई जानकारी आएकोले त्यसबारे छानबिन भइरहेको आईसीसीका प्रवक्ता जेम्स फिजजेराल्डले बताए ।आमिरलाई पाकिस्तानका क्याप्टेन सल्मान बट र अर्का खेलाडी मोहम्मद आसिफसँगै आईसीसीले प्रतिबन्ध लगाएको थियो । बटलाई १० वर्षर आसिफलाई ७ वर्षसम्म प्रतिबन्ध लगाइएको थियो । तीनै जनाका साथै अर्का खेलाडी मजहर मजीदलाई भ्रष्टाचार गरेको अभियोगमा अक्टोबरमा मुद्दा चलाइने भएको छ । तर, उनीहरूले भने आरोपको खण्डन गर्दै आएका छन् । एजेन्सी
Admin 2011-06-09