शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कात्तिक २५, सोल । संयुक्त राज्य अमेरिका र चीनले आ-आफ्नो मुद्रालाई कमजोर बनाउने नीति पछयाइरहेको कुरा फेडेरल रिजर्भका पूर्वअध्यक्ष एलेन ग्रीनस्पानले बताएका छन् । संरक्षणवादको बढ्दो खतरा र दीर्घकालीन सङ्कटबाट विश्व अर्थतन्त्रलाई जोगाउन सोलमा आयोजित जी-२० को सम्मेलन शुरू हुनुपूर्व ग्रीनस्पानले बिहीवार प्रकाशित फाइनान्सियल टाइम्समा आफ्नो धारणा यसरी व्यक्त गरेका हुन् ।

'अमेरिकाले आफ्नो मुद्रा कमजोर बनाउने नीति अपनाइरहेको छ' ग्रीनस्पानले लेखेका छन् । युआनको मूल्य निरन्तर कम राखिराख्नु र हालै अमेरिकी डलरको मूल्य कमजोर बनाउनु चीन र अमेरिकाको बाध्यता हो । यसो गरेर बाँकी विश्वका मुद्राहरू स्वतः बलिया भए र ती देशहरूको प्रतिस्पर्धात्मक क्षमता खस्कियो । दक्षिण कोरियाको राजधानीमा आयोजित दुईदिने जी-२० र उदीयमान अर्थतन्त्रका नेताहरूको सम्मेलनको एजेण्डालाई मौद्रिक युद्धको खतराले प्रभावित पारेको छ । सन् २००६ सम्म लगभग दुई दशकजति संयुक्त राज्य अमेरिकाको फेडेरल रिजर्भ बोर्डको नेतृत्व गरेका ग्रीनस्पानले डलरको अवमूल्यनका लागि को जिम्मेवार छ भनी गहिराइमा जान भने चासो देखाएनन् । तथापि, उनकै उत्तराधिकारी बेन बर्नान्कीको नेतृत्वमा थप ६ सय अर्ब डलर कमजोर अमेरिकी अर्थतन्त्रमा खन्याउने निर्णय गर्नुलाई नै डलरको अवमूल्यनको कारण भनेर मानिँदै आएको छ । ग्रीनस्पान लेख्छन्, 'संरक्षणवादविना पनि विश्वव्यापी व्यापार बढ्न सक्ने कुनै उच्चतम सीमा हुने पक्कै छ । संरक्षणवादले त्यो सीमालाई अझ तल झार्न मद्दत गर्छ ।' एएफपी


कोण्टासको ए-३८० एयरबस सेवा स्थगित

कात्तिक २५, सिड्नी, (अष्ट्रेलिया) । अष्ट्रेलियन ध्वजावाहक कोण्टास एयरलायन्सले आफ्नो एयरबस ए-३८० सुपरजम्बोको उडान यही बिहीवारदेखि अर्को सूचना नभएसम्मका लागि पूर्ण स्थगित गरेको छ । एक हप्ताअगाडि मध्य आकाशमा इञ्जिन पड्केको समाचारले विश्वकै ठूलो यात्रुवाहक जेटको सुरक्षासम्बन्धी गम्भीर चिन्ता शुरू भएको छ । अष्ट्रेलियाको यस वायुसेवाले ६ वटा फ्ल्यागसिप ए-३८० को उडान रद्द गर्ने तयारी गरेको छ । सम्भवतः यो नयाँ तालिका केही  हप्ताका लागि हुनेछ । यसैबीच सिङ्गापुर एयरलायन्सले पनि आफ्नो तीनवटा सुपरजम्बोको उडान स्थगित गरेको छ ।अष्ट्रेलियाको प्रमुख शहरहरूलाई लस एञ्जलस र लण्डनजस्ता शहरसँग जोड्ने लामो रुटको सेवा केही दिन अवरुद्ध हुने कुरा कम्पनीका प्रवक्ताले एएफपीलाई बताएका छन् । तर उनले सेवा कति दिन बन्द हुने हो त्यो भने बताउन चाहेनन् । एएफपी


कच्चा तेलको मूल्य २ वर्षयताकै उच्च

कात्तिक २५, सिङ्गापुर । बिहीवार कच्चा तेलको मूल्य दुई वर्षयताको सबैभन्दा उच्च बिन्दुतिर उन्मुख भएको छ । बुधवारदेखि बढ्न शुरू गरेको कच्चा तेलको डिसेम्बर कण्ट्रयाक्टको मूल्य बिहीवार अपराह्न न्युयोर्क मर्कण्टाइल एक्सचेञ्जको विद्युतीय कारोबारकक्षमा प्रतिब्यारेल ७४ सेण्टले बढेर ८८ दशमलव ५५ अमेरिकी डलरसम्म पुगेको हो । यो मूल्य सन् २००८ अक्टोबर ९ यताको सबैभन्दा उच्च हो । 'बजारमा तेलको आपूर्ति अझै पनि बढी तर, अहिले तेलको मूल्य बढ्नुको प्रमुख कारण अमेरिकी सञ्चिति घट्नुलाई मानिएको छ,' नेशनल अष्ट्रेलिया बैङ्क मेलबर्नका खनिज तथा ऊर्जा अर्थशास्त्री बेन वेष्टमरले भने, 'यसले तेलको उत्पादन खुम्चिएको सङ्केत गर्छ ।'

अमेरिकामा कच्चा तेलको भण्डारण अप्रत्याशित रूपमा घट्नु र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका तेल प्रशोधक कम्पनीले प्रशोधन  शुल्क अहिलेसम्मकै सबैभन्दा बढी कायम गर्नुलाई तेलको मूल्य बढ्नुको कारण मानिएको छ । बुधवार अमेरिकी ऊर्जा विभागले १५ लाख ब्यारेलले बढ्ने अनुमान गरिएको कच्चा तेलको सञ्चिति ३२ लाख ७० हजार ब्यारेलले घटेर ३६ करोड ४९ लाख ब्यारेलमा सीमित भएको तथ्याङ्क र्सार्वजनिक गरेको थियो । अघिल्लो वर्षको तुलनामा अक्टोबरमा चिनियाँ तेल प्रशोधकहरूले १२ प्रतिशत बढी तेल प्रशोधन गरेको तथ्य 'चाइना मिडल्याण्ड मार्केटिङ रिर्सच कम्पनी'ले सार्वजनिक गरेको थियो । दक्षिण चीनका उद्योग तथा कृषि फारमहरूमा प्रयोग बढेपछि बढ्न गएको डिजेलको माग पूरा गर्न चिनियाँ सरकारी तेल प्रशोधकहरूले प्रशोधन क्षमता बढाएकाले  कच्चा तेलको माग बढेको हो ।

विश्वको सबैभन्दा ठूलो तेल खपत गर्ने अमेरिकामा कच्चा तेलको सञ्चिति घट्दै गएपछि सन् २०१० मा मात्रै यसको मूल्य ११ प्रतिशतले बढिसकेको छ । यसलाई अमेरिकामा आर्थिक पुनरुत्थान शुरू भएकाले ऊर्जाको माग बढ्दै गएको सङ्केत गरेको जानकारहरूले बताएका छन् । आर्थिक पुनरुत्थान शुरू भएपछि कच्चा तेलसँगै हिटिङ आयल र ग्यासोलाइनको सञ्चिति पनि घट्दै गएको छ । अहिले तेल प्रशोधक कम्पनीहरूले आफ्नो जडित क्षमताको ८२ दशमलव ४ प्रतिशत तेल उत्पादन गरिरहेका छन् । यो अघिल्लो साताको तुलनामा शून्य दशमलव ६ प्रतिशत बढी हो । सञ्चिति घटेपछि अमेरिकाबाट हुने कच्चा तेलको दैनिक निर्यात ५ दशमलव ७ प्रतिशतले घटेर ८० लाख ब्यारेलमा सीमित भएको छ । एएफपी/रासस


चीनमा उपभोक्ता मूल्यवृद्धि चार प्रतिशत नाघ्यो

बेइजिङ । जीवनयापनका लागि चाहिने खर्च घटाउने चीनको सरकारले प्रयास गर्दागर्दै पनि अक्टोबर महीनामा खाद्यान्नको मूल्य बढेर चीनमा मुद्रास्फीति २५ महीनाकै उच्चविन्दुमा कायम हुन पुग्यो । यसले आगामी दिनमा आर्थिक वृद्धिदर अझ कम गराउने सम्भावना बढाएको छ ।सरकारी लक्ष्य मूल्यवृद्धिलाई तीन प्रतिशतमा कायम राख्ने थियो भने सेप्टेम्बरमा यो ३ दशमलव ६ प्रतिशत पुगेको थियो । तर, अक्टोबरमा यो ४ दशमलव ४ प्रतिशत पुगेको छ । खाद्यान्नको मात्रै मूल्यवृद्धि दर १० दशमलव १ प्रतिशत पुगेको छ ।

अरू देशका सरकारले कमजोर आर्थिक वृद्धिलाई सुदृढ गराउने प्रयास गरिरहेका बेला बेइजिङले मूल्यवृद्धि नियन्त्रण गरेर आर्थिक वृद्धिलाई अझ दीगो बनाउन प्रयासरत छ । यस उद्देश्यले गत महीना ब्याजदर बढाइएको छ भने ऋण प्रवाहलाई नियन्त्रण गर्न र सञ्चिति बढाउन बैङ्कहरूलाई निर्देशन दिइएको छ ।मूल्यवृद्धि हाल खाद्यन्नमा मात्रै सीमित भए तापनि बेइजिङले आर्थिक प्रेरणाका लागि गरेको खर्च र बैङ्कले दिएको ऋणको बाढी अर्थतन्त्रमा फैलिएपछि अन्य वस्तुको पनि मूल्य वृद्धि हुने बेइजिङको अनुसन्धान फर्म चाइना एनालाइटिक्सका प्रबन्ध निर्देशक विलियम हेसले बताएका छन् । एपी