भारतमा अन्तरराष्ट्रिय हवाई कम्पनीको प्रतिस्पर्धा
माघ २५, बङ्गलोर (भारत) । सुरक्षासम्बन्धी उपकरणका अन्तरराष्ट्रिय उत्पादकहरू भारतको हवाई मेलामा भाग लिन बङ्गलोर आइपुगेका छन् । भारत विश्वमै तीव्र वृद्धि भइरहेको हवाई बजार हो । त्यसैले आफ्ना नयाँ उत्पादनहरूको प्रदर्शन गर्न उनीहरू भारत आएका हुन् । ती उत्पादकहरूले भारतबाट सुरक्षा इतिहासकै ठूलोमध्येको एक निर्यात अर्डर पाउन एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । तिनमा बोइङ्, लकहिड मार्टिन, नर्थ्रप ग्रुम्मान, साब र क्यासिडियनलगायतका प्रमुख अन्तरराष्ट्रिय विमान उत्पादकहरू छन् । बोइङ्ले उसको एफ/ए-१८ सुपर हर्नेट फाइटर प्लेनको विकसित स्वरूपको प्रदर्शन गर्नेछ । बोइङ्ले भारतबाट १२६ ओटा फाइटर जेट विमानको अर्डर लिनका लागि प्रतिस्पर्धा गर्दै छ । भारतको उसको सशस्त्र बललाई आधुनिकीकरण गर्न आगामी ५ वर्षमा ५० अर्ब डलरसम्म खर्चिने भएको छ । त्यसमध्ये ११ अर्ब डलर फाइटर जेट विमान खरीदमा मात्र खर्चिइनेछ ।
एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा सुरक्षा खर्चका साथै नागरिक उड्डयनको बजारमा पनि तीव्र वृद्धि भइरहेको छ ।हालैका महीनाहरूमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, रूसी राष्ट्रपति दिमित्री मेद्भेदेभ र फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीले भारत भ्रमण गरिसकेका छन् । अन्य विषयलगायत सुरक्षा र हवाई उड्डयनसम्बन्धी सम्झौता गर्नु ती भ्रमणका प्रमुख उद्देश्य रहेका थिए । भारतले दक्षिण एशियाली क्षेत्रलाई आफ्नो प्रभावक्षेत्रका रूपमा हेर्ने गर्दछ । पछिल्ला दिनहरूमा त्यस क्षेत्रमा चीनले देखाइरहेको अभिरुचिप्रती आशङिकत भारतले आफ्नो सैनिक शक्तिलाई आधुनिकीकरण गर्न चाहेको छ । त्यसैगरी भारतका व्यापारिक विमानसेवाहरूले पनि आफ्ना विमान सङ्ख्या बढाउने भएका छन् । रोयटर्स
टोयोटाको त्रैमासिक नाफा घटयो
माघ २५, टोकियो(जापान) । टोयोटा मोटर कर्पोरेशनले आफ्नो त्रैमासिक नाफामा ३९ प्रतिशतले कमी आएको बताएको छ । तर, एशिया र अन्य उदीयमान बजारहरूमा व्यापार बढ्दै गएकाले वार्षिक नाफामा भने वृद्धि हुने पूर्वानुमान गरेको छ । अमेरिकामा भने टोयोटाले अझै खराब छविको सामना गर्नु परिरहेको छ । टोयोटा विश्वकै सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी हो । एशिया, अफ्रीका र दक्षिण अमेरिकामा टोयोटाको राम्रो विक्री भइरहेको छ । तर, गुणस्तरसम्बन्धी त्रुटिको घटनापछि अमेरिकी बजारमा भने टोयोटाले अझै छवि सुधार्नुपर्ने देखिएको छ ।
आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ अर्ब ६३ करोड येन (१ अर्ब १० करोड डलर) खुद नाफा भएको मङ्गलवार सार्वजनिक गरेको छ । अघिल्लो वर्षसोही अवधिमा १ सय ५३ अर्ब येन खुद नाफा भएको थियो । यसबाट उसको त्रैमासिक विक्रीमा ११ दशमलव ७ प्रतिशतले कमी आएको देखिन्छ । मुख्यतः बलियो जापानी मुद्राका कारण निर्यातको मूल्यमा कमी आएकाले नाफा घटेको बताइएको छ । जापान सरकारले वातावरणमैत्री कारमा अनुदान दिन थालेकाले पनि आफ्नो नाफा घटेको टोयोटाले बताएको छ । टोयोटाले सन् २००८ मा सबैभन्दा ठूलो गाडी निर्माताका रूपमा अमेरिकाको जेनरल मोटर्सलाई विस्थापन गरेको थियो । त्यसपछि लगातार तेस्रो वर्ष पनि टोयोटाले सो स्थान कायम राखेको छ । एपी/रासस
पाकिस्तानमा हडतालले उडान अवरूद्ध
माघ २५, कराची (पाकिस्तान) । पाकिस्तानको राज्यनियन्त्रित वायुसेवा पीआईए का कर्मचारीहरू र्टर्कीको वायुसेवासँगको प्रस्तावित रूट साझेदारीको विरोधमा हडतालमा उत्रेका छन् । पाइलट र सहयोगी कर्मचारीको एउटा सानो समूहले अवरोध पुर्याएपछि दुइ अन्तरराष्ट्रिय र चार घरेलु उडान रद्द गर्नुपरेको पीआईएका प्रवक्ताले बताएका छन् । गत ५ वर्षमा पीआईएले लाखौं डलरको नोक्सान बेहोरेको छ । नाफा बढाउने उद्देश्यले टर्कीको विमानसेवासँग रूट साझेदारी गर्ने विषयमा छलफल गरिरहेको पीआईएका अधिकारीहरूले बताएका छन् । तर, पीआईएका २० हजार कर्मचारीमध्येका कतिपयले जागीर गुम्ने वा तलब घट्ने डरले त्यस्तो योजनाको विरोध गर्दै आएका छन् । एपी/रासस
चीनको ब्याजदरमा पुनः वृद्धि
माघ २५, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्कले एक महीनाभित्रै दोस्रोपटक मङ्गलवार फेरि ब्याजदर बढाएको छ । उच्च मुद्रास्फीतिविरुद्धको कार्यक्रमलाई तीव्रता दिने उद्देश्यका साथ ब्याजदर बढाइएको हो । चीनको वाषिर्क मुद्रास्फीतिदर डिसेम्बर महीनामा केही घट्न गई ४ दशमलव ६ प्रतिशत रहेको थियो । तर, जनवरीमा भएको खाद्यपदार्थको मूल्यवृद्धिसँगै मुद्रास्फीति फेरि बढ्ने सम्भावना छ । एकवर्षको मौज्दातको ब्याजदरलाई २५ आधार बिन्दुले घटाएर ३ प्रतिशतमा पुर्याइनेछ । त्यसैगरी ऋणदरलाई पनि २५ आधार बिन्दुले बढाएर ६ दशमलव शून्य ६ प्रतिशतमा पुर्याइनेछ । नयाँ ब्याजदर फेब्रुअरी ९ तारिखदेखि लागू हुने पिपल्स बैङ्क अफ चाइनाले बताएको छ ।
जापानमा युवाहरूको रोजगार जुलुस
माघ २५, टोकियो (जापान) । जापानको श्रमबजारमा प्रवेश गर्न चाहेका झण्डै १ हजार युवाहरूले टोकियोको सडकमा नारा जुलुस प्रदर्शन गरेका छन् । जापानले वर्षौंपछि रोजगारीको सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ । लगभग १५ सय जति कलेजका युवाहरू मङ्गलवार एउटा पार्कमा भेला भएका थिए । उनीहरूले त्यहाँ एक अर्कालाई नैतिक समर्थन दिनुका साथै रोजगारको माग गरेका थिए । त्यस्तो प्रदर्शनबाट कामको खोजी गरिरहेकाहरूले सामना गर्नुपरेको समस्याबारे राष्ट्रिय ध्यानाकर्षण हुने ती युवाहरूको अपेक्षा थियो । जापानी विश्वविद्यालयबाट यस वर्षको वसन्त ऋतुमा स्नातक गर्ने एक तिहाइ विद्यार्थीले काम पाएका छैनन् । एपी/रासस
भारतमा ढुवानी खर्च घटाउने पहल
माघ २५, नयाँ दिल्ली (भारत) । भारतले उसको पूर्वाधार क्षेत्रमा देखिएको समस्या निराकरणतर्फपाइला चालेको मङ्गलवार बताएको छ । त्यसबाट निर्यातकर्ताहरूको ढुवानी खर्चमा झण्डै आधाले बचत हुने अपेक्षा गरिएको छ । विश्वबजारमा निर्यात दुइ गुणाले वृद्धि गर्ने लक्ष्य राखेर त्यस्तो निर्णय गरिएको अधिकारीहरूले बताएका छन् । भारतमा कर्मचारीतन्त्र, साँघुरा सडक तथा रेल र बन्दरगाहको उच्च ढुवानी शुल्कका कारण निर्यातकर्ताहरूले आर्थिक बाधाको सामना गर्नुपरेको छ । त्यसबाट तीव्र आर्थिक विकासका लागि भारतले अन्य प्रतिस्पर्धी बजारको तुलनामा कठिनाइ सामना गरिरहेको छ । भारतभित्रै एउटा कण्टेनरको ढुवानी गर्न ९ सय ४५ डलर खर्च लाग्छ । जबकि चीनमा त्यस्तो खर्च ४ सय ६० डलर, मलेसियामा ४ सय ५० डलर र भियतनाममा ६ सय २५ डलर लाग्ने सरकारी तथ्याङ्कले देखाएको छ ।व्यापार मन्त्रालयले देशका केही ठूला बन्दरगाहमा चौबीसै घण्टा कर्मचारी राख्ने घोषणा गरेको छ । त्यसैगरी कृषि र स्वास्थ्यसम्बन्धी उत्पादनलाई छिटो निकासी गर्ने व्यवस्था मिलाइनेछ । त्यसबाट झण्डै ५० करोड डलरको वार्षिक बचत हुने अपेक्षा गरिएको छ । तर, त्यस्ता सुधार सजिलो उपाय मात्र रहेको उच्च अधिकारीहरूले स्वीकार गरेका छन् । रेल्वे र बन्दरगाहजस्ता प्रमुख मन्त्रालयको सहमतिबाट मात्र अर्थपूर्ण परिवर्तन आउने उनीहरूको विचार छ ।
रोयटर्स
Admin 2011-02-09