शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बोलिभियाले अवकाश उमेर घटायो

पूरा आकारमा हेर्नुहोस्मङ्सिर २५, ला पाज (बोलिभिया) । बढ्दो औसत आयुसँगै राष्ट्रिय ढुकुटीमा पर्ने बढ्दो बोझको सामना गर्न काम गर्ने उमेर बढाउने विश्वव्यापी प्रवृत्तिविपरीत बोलिभियाले कर्मचारीको अवकाश उमेर घटाएर ५८ वर्षमा झार्ने कानून शुक्रवारदेखि लागू गरेको छ । पेन्सन प्रणालीको राष्ट्रियकरण गरिने तथा गरीबहरूलाई दिइने सुविधा उदारतापूर्वक बढाउने उक्त कानूनलाई आलोचकहरूले महत्वाकाङ्क्षी तथा धान्न नसकिने बताएका छन् ।

उक्त कानूनको मस्यौदामा सहयोग गर्ने बोलिभियाली श्रमिक सङ्गठनका शक्तिशाली सदस्यहरूका माझमा बसेर वामपन्थी राष्ट्रपति इभो मोरालिजले विधेयकमा हस्ताक्षर गरेका थिए । बोलिभियामा अहिलेको अवकाश उमेर पुरुषका लागि ६५ वर्षयतथा महिलाका लागि ६० वर्षरहेको छ । एक वर्षश्चात् लागू हुने उक्त कानूनमा थप ३० लाख मानिसहरूलाई पेन्सन दिइने भनिएको छ, जुन श्रमजीवी जनसङ्ख्याको ६० प्रतिशत हुन आउँछ । पेन्सन पाउनेमा सडकमा व्यापार गर्नेदेखि बस ड्राइभरसम्मका अनौपचारिक क्षेत्रमा श्रम गर्नेहरू पर्दछन् । राष्ट्रिय दरबार अघिल्तिर आइसक्रिम बेच्ने तीन केटाकेटीका पिता ४५ वर्षीय जुआन क्वीस्पेले गरीब जनताको बारेमा सोच्ने राष्ट्रपतिले तिनको बुढेसकालका लागि केही व्यवस्था गरिदिन लागेको बताए ।

नयाँ कानूनले बोलिभियाका ७० हजार खानी मजदूरहरूले दुइ वर्षअघि नै अवकाश लिन पाउने अथवा जमीनमुनि कठोर काम गरेका भए ५१ वर्षमै अवकाश लिन पाउने व्यवस्था गरिएको छ । साथै तीनजना भन्दा धेरै केटाकेटी भएकी आमाका लागि पनि ५५ वर्षको उमेरपछि अवकाशको अधिकार भनिने विशेष व्यवस्था गरिएको छ । आयमारा इण्डियन जातिका मोरालेज देशकै पहिलो जनजाति राष्ट्रपति हुन् । लामा भनिने पशुका गोठालाको रूपमा हुर्केको मोरालेज पछि गएर कोकोआ उत्पादकहरूको युनियनका योद्धा भएका थिए । उनले प्रवर्तन गरेको समाजवाद उनको जातीय संस्कृतिमा रहेको समूहवादमा आधारित छ, र २००६ मा राष्ट्रपति भएदेखि उनले देशको प्राकृतिक ग्यास भण्डार, प्रमुख दूरसञ्चार तथा विद्युत् प्रणालीलाई राज्यको मातहतमा ल्याएका छन् । वाशिङटनस्थित सेण्टर फर इकोनोमिक एण्ड पोलिसी रिर्सचका सहनिर्देशक मार्क वेइज्ब्रोटले मोरालिजको अवकाशसम्बन्धी नयाँ कानून निम्न तथा मध्यमवर्गका जनताको पक्षमा दक्षिण अमेरिकाको विगत १५ वर्षकै ठूलो प्रगति भएको बताए । तर आलोचकहरूले उक्त कानूनले वित्तीय दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएका छन् । वाशिङटनस्थित पिर्टसन इन्षिटच्युटका अर्थशास्त्री ज्याकोब फन्क किर्केगार्डले मोरालेजको उक्त कदम अदूरदर्शी तथा जानाजान सङ्कट निम्त्याउने खालको भएको बताए । रोयटर्स


अमेरिकाको औसत आयु घटयो

मङ्सिर २५, वाशिङटन (अमेरिका) । अश्वेत अमेरिकीहरूबाहेक सबै अमेरिकीहरूको औसत आयु केही घट्न पुगेको छ । बिहीवार प्रकाशित एक प्रतिवेदनअनुसार अश्वेत अमेरिकीहरूको औसत आयु भने साढे दुइ महीनाले बढेको छ । नेशनल सेण्टर फर हेल्थ स्टाटिष्टिक्सले सङ्कलन गरेको तथ्याङ्कअनुसार धेरैजसो अमेरिकी पुरुषहरूको औसत आयु सन २००८ मा ७५ दशमलव ३ वर्ष रहेको थियो, जुन २००७ को औसत आयुभन्दा एक दशांश वर्षले कम हुन आउँछ । सोही अवधिमा महिलाहरूको औसत आयु पनि ८० दशमलव ४ वर्षबाट घटेर ८० दशमलव ३ वर्षमा झरेको थियो ।

अश्वेत पुरुषहरूको आयु भने २००७ को भन्दा शून्य दशमलव २ वर्षले बढेर २००८ मा ७० दशमलव २ वर्षमा पुगेको थियो । अश्वेत पुरुषहरू अझै पनि सबैभन्दा कम औसत आयु भएका अमेरिकी हुन् जो अझै पनि सबैभन्दा बढी औसत आयु भएका श्वेत महिलाभन्दा १० वर्ष कम बाँच्दछन् । सबैभन्दा बढी औसत आयु हुनेमा श्वेत महिलापछि क्रमशः अश्वेत महिला तथा श्वेत पुरुष पर्दछन् । श्वेत महिला सबैभन्दा लामो जीवन बाँच्ने र अश्वेत पुरुष सबैभन्दा छोटो जीवन बाँच्ने प्रवृत्ति गत तीन दशकदेखि नै एकनासको देखिएको छ । तर विगत ३० वर्षहरूमा सबै समूहको औसत आयु भने बढेको उक्त अध्ययनले देखाएको छ । मृत्युदरको आधारमा हेर्दा सबैभन्दा बस्नलायकको राज्य भने हवाई पाइएको थियो, जहाँ सन् २००८ मा प्रति १ लाख मानिसमा उमेर समायोजित मृत्युदर ५ सय ८९ जना रहेको थियो । हवाईको भन्दा साढे एक गुणा बढी उमेर समायोजित मृत्युदर रहेको वेष्ट भर्जिनिया मृत्युदरको आधारमा सबैभन्दा खराब राज्य थियो । वेष्ट भर्जिनियाको उमेर समायोजित मृत्युदर प्रति १ लाखमा ९ सय ५८ जना रहेको थियो ।अमेरिकामा हुने मृत्युको प्रमुख कारणमा मुटुरोग र त्यसपछि क्रमशः क्यान्सर, निम्न श्वासप्रश्वास क्षेत्रमा हुने दीर्घरोग, हृदयघात तथा दुर्घटनाबाट हुने चोटपटक मृत्युका प्रमुख कारण थिए । अल्साईमर्स डिजिज मृत्युको छैटौं प्रमुख कारणमा थियो । अक्टोबरमा प्रकाशित एक अध्ययनका अनुसार पुरुष तथा महिलाको औसत आयुको आधारमा सन् १९५० मा विश्वकै पाँचौं स्थानबाट निकै तल झरेर अमेरिका हाल विश्वको ४९औं स्थानमा रहेको छ । एएफपी/रासस


४ अर्ब डलरको ऊर्जाभण्डार घर

मङ्सिर २५, कान्कुन -मेक्सिको । दुबईस्थित कम्पनी रुबेनिअसले उत्तर-पश्चिम मेक्सिकोमा एउटा विशाल वैकल्पिक ऊर्जा भण्डारण स्थलको निर्माणमा लगानी गर्ने भएको छ । मेक्सिकोका राष्ट्रपति फिलिपे काल्डरोनले बुधवार बताए अनुसार उक्त लगानी ४ अर्ब डलरको रहनेछ । विश्वव्यापी तापक्रम घटाउने उपायहरूको खोजी गरिरहेको क्यान्कुन जलवायु सम्मेलनमा बोल्दै उक्त लगानी त्यस प्रकारको विश्वमै सबैभन्दा ठूलो हुने काल्डरोनले बताएका थिए ।सौर्य तथा वायु ऊर्जालाई मेक्सिकोको विद्युत् सञ्जालतर्फ पुनर्निर्देशित गर्ने उक्त परियोजना ७ वर्षमा पूरा हुने रुबेनिअसका अध्यक्ष क्लाउस रुबेनिअसले बताए । वायु तथा सौर्य ऊर्जाको उत्पादनपछि त्यसलाई कसैले पनि नियन्त्रण गर्न नसक्ने तर त्यसरी उत्पादित ऊर्जालाई उपयुक्त समय र उपयुक्त स्थानमा प्रयोग हुने गरी भण्डारण गर्न भने सकिने क्यालडरोनले बताए । क्याल्डरोनका अनुसार उक्त ऊर्जा भण्डार घरले सम्पूर्ण शहरकै आवश्यकता पूर्ति गर्न सक्नेछ । अमेरिकासँगको सीमा नजिकै उच्च प्रविधियुक्त कम्पनीहरूको केन्द्रस्थल बाजा क्यालिफोर्नियामा ऊर्जाघर निर्माण हुने बताइएको छ ।उक्त ऊर्जाघरले सौर्य, वायु तथा भूतापीय ऊर्जालाई सीमाक्षेत्रको दुवैतर्फरहेका जेनरेटरहरूमा जोड्ने रुबेनिअस ले बताए । एएफपी/रासस


अमेरिकामा यो वर्ष१ सय ५१ बैङ्क बन्द

पूरा आकारमा हेर्नुहोस्मङ्सिर २५, वाशिङटन (अमेरिका) । अमेरिकी अधिकारीहरूले दुइवटा बैङ्कहरूलाई शुक्रवार बन्द गरिदिएका छन् । यसका साथै मन्दीमा रहेको घरजग्गा कारोबार तथा रोजगार वृद्धिमा कमीजस्ता अर्थतन्त्रमा देखिएका समस्यासँग साना वित्तीय संस्थाहरू जुझिरहेका बेला यस वर्ष बन्द  एका बैङ्कहरूको सङ्ख्या १ सय ५१ पुगेको छ । सन् २००९ मा १ सय ४० वटा बैङ्कहरू बन्द भएपछि यस वर्षबन्द हुने बैङ्कहरूको सङ्ख्या उच्च रहने फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशनले अपेक्षा गरेको छ । यस वर्षबन्द भएकामध्ये धेरैजसो एक अर्ब डलरभन्दा कम सम्पत्ति भएका साना संस्थाहरू रहेका छन् । ठूला बैङ्कहरूले भने २००७ देखि २०० ९ सम्मको वित्तीय सङ्कटबाट छिटै नै पार पाउन सफल भएका थिए । पछिल्लोपटक बन्द गरिएका दुइ बैङ्कहरूमा मिशिगनस्थित पारामाउण्ट बैङ्क अफ फार्मिङ्गटन हिल्ज तथा पेन्सिलभेनियास्थित अर्थस्टार बैङ्क अफ साउथाम्पटन रहेका छन् । रोयटर्स


जलवायु परिवर्तनमा नरम योजना


पूरा आकारमा हेर्नुहोस्मङ्सिर २५, कान्कुन -मेक्सिको । बोलिभियाको विरोधलाई बेवस्ता गर्दै विश्वका सरकारहरूले जलवायु परिवर्तनको समस्यासँग जुध्न एउटा नरम योजना शनिवार अनुमोदन गरेका छन् । उक्त योजनामा गरीब देशहरूका लागि 'ग्रीन क्लाइमेट फण्ड'को स्थापना गर्ने प्रस्ताव राखिएको छ । धनी र गरीब देशहरूबीचको विवादले ओझेलमा पारेको दुइहप्ते सम्मेलनको अन्त्यमा सहभागीहरूलाई सम्बोधन गर्दै मेक्सिकोकी विदेशमन्त्री पेट्रिसिया इस्पिनोसाले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सहयोगमा एउटा नयाँ युगको शुरूआत भएको बताइन् ।

राति अबेरसम्म लम्बिएको वार्तापश्चात् भएको सहमतिमा ग्रीन क्लाइमेट फण्डमार्फ उष्णप्रदेशीय जङ्गलहरूको सुरक्षा गर्ने तथा स्वच्छ ऊर्जा प्रविधिहरूमा साझेदारी गर्ने भनिएको छ । उक्त सहमतिले २०२० सम्ममा गरीब देशहरूका लागि वार्षिक १ खर्ब डलर सहायता जुटाउने
लक्ष्यप्रति पुनःप्रतिबद्धता गरेको छ । बोलिभियाले भने धनी देशहरूले ग्रीनहाउस ग्यासको कटौती गर्नुपर्ने सम्बन्धमा उक्त योजनाले खासै ध्यान नदिएको भन्दै योजनाको अनुमोदनले सहमतिको आवश्यकतालाई उल्लङ्घन गरेको भनेको थियो । संयुक्त राष्ट्रसङ्घको क्योटो प्रोटोकलबारे धनी र गरीब देशहरूबीच भएको विवादका कारण सहभागीहरूले त्यस मुद्दालाई सन् २०११ सम्मका लागि त्यसै थाँती राखेपछि उक्त योजनामा सहमति भएको थियो । क्योटो प्रोटोकलमा ४० विकसित देशहरूले सन् २०१२ सम्ममा उर्त्र्सजन घटाउँदै जानुपर्ने प्रावधान छ । रोयर्टस


ग्यास पाइपलाइन सहमतिको प्रयास

मङ्सिर २५, अस्गाबात (तुर्कमेनिस्तान) । अफगानिस्तान तथा पाकिस्तानका नेताहरू ग्यास धनी राष्ट्र तुर्कमेनिस्तानमा ती देशहरूबीच पाइपलाइनको निर्माण गर्ने एउटा महत्वाकाङ्क्षी योजनामा सहमति जुटाउन शनिवार पुगेका छन् । भारतमा पुगेर अन्त्य हुने उक्त पाइपलाइनबाट अविकसित क्षेत्रहरूमा ग्यासको आपूर्ति गर्ने र पारवहन शुल्कबापत विपन्न राष्ट्र अफगानिस्तानले लाखौं डलर कमाउन सक्ने भनिएको छ । तर, उक्त पाइपलाइनले अफगानिस्तानको तालिबान बाहुल्य इलाकाहरू तथा पाकिस्तानको अस्थिर कबिला क्षेत्रहरू पनि पार गर्नुपर्नेछ । तुर्कमेनिस्तानका राष्ट्रपति तथा भारतका तेल मन्त्रीलगायतका नेताहरूले उक्त परियोजनालाई समर्थन गर्दै सहमतिमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । अर्को चरणमा ऊर्जा कम्पनीहरूबाट प्रस्ताव तथा बोलपत्र आह्वान गरिनेछ । इरानबाट ग्यास पाइपलाइनमार्फत आपूर्ति गर्ने भारत र पाकिस्तानको त्यस्तै अर्को एक योजनाको चर्को विरोध गर्ने अमेरिकाले पनि यस परियोजनालाई दह्रो समर्थन गरेको छ ।विश्वकै चौथो सबैभन्दा ठूलो ग्यास भण्डारण क्षेत्र मानिएको तुर्कमेनिस्तान परम्परागत आयातकर्ता रुसको घटदो अभिरुचिमाझ आफ्नो विशाल ऊर्जा निर्यातका नयाँ बजारहरू खोजी गरिरहेको छ । एपी/रासस