लाओसमा स्टक एक्सचेञ्ज स्थापना
पुस २५, भिएण्टयान (लाओस) । संसारको सबैभन्दा नयाँ शेयरबजार (स्टक एक्सचेञ्ज) कम्युनिष्ट मुलुक लाओसमा मङ्गलवार स्थापना हुँदैछ । अन्तरराष्ट्रिय पूँजीवादको सतर्कतापूर्ण उपयोगबाट विकासमा सहयोग पुग्ने दक्षिणपूर्वी एशियाको सबैभन्दा सानो अर्थतन्त्र लाओसको अपेक्षा छ । लाओस औपचारिक रूपमा समाजवादी देश हो । तर, १९८० को दशकदेखि नै उसले सोभियत शैलीको आर्थिक प्रणाली छाड्दै गएको थियो । वित्तीयक्षेत्रलाई खुला छाड्ने नीतिको पछिल्लो प्रयोगका रूपमा शेयरबजार स्थापना गरिएको छ । लगभग ६० लाख जनसङ्ख्या भएको पूर्व फ्रान्सेली उपनिवेश लाओस एक भूपरिवेष्ठित मुलुक हो । खनिजपदार्थ तथा पानी-बिजुली निर्यात गरेर लाओसले कृषि तथा विदेशी अनुदानमाथिको निर्भरता घटाउन चाहेको छ । लाओ सेक्युरिटिज एक्सचेञ्जमा सबैभन्दा पहिले सूचीकृत गरिने दुइ कम्पनीमध्ये एउटा ईडीएल जेनेरेशन पब्लिक पीसीएल भनिने ऊर्जा उत्पादक कम्पनी हुनेछ । उक्त कम्पनीलाई सरकारी स्वामित्वको इलेक्ट्रिकसिटे डु लाओसबाट गत डिसेम्बरमा टुक्रयाइएको थियो । अर्को सूचीकृत हुने कम्पनीमा सरकारी स्वामित्वको बैङ्क पोउ ल कमार्श एक्ष्टेरिए लाओस रहेको छ । सन् २००९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले लाओसले खुलाबजार अपनाउन प्रतिबद्धता देखिएकाले उक्त देश अब मार्क्सवादी-लेनिनवादी देश नरहेको भन्दै लाओससँगको व्यापार प्रतिबन्ध फुकुवा गरेका थिए । एएफपी/रासस
विश्व बैङ्क प्रमुख आजदेखि भारत भ्रमणमा
पुस २५, वासिङ्टन (अमेरिका) । विश्व बैङ्कका प्रेजिडेण्ट रोबर्ट जोलिकले सोमवारदेखि भारतको चारदिने भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले विश्व अर्थतन्त्रमा भारतको बढ्दो भूमिकाको प्रशंसा गर्ने अपेक्षा गरिएको छ । 'भारतको उच्च वृद्धिले विश्व अर्थतन्त्रलाई नै सङ्कटबाट पार लगाउन सहयोग गरिरहेको छ’ जोलिकले शनिवार प्रकाशित एक विज्ञप्तिमा भनेका छन् । साथै भारतले तीव्र विकास तथा वातावरणबीचको सन्तुलन मिलाउनुपर्ने तथा सबै जनतालाई अवसर प्रदान गर्नुपर्ने जोलिकको धारणा छ । यसप्रकार भारतले आगामी चरणको वृद्धिलाई व्यवस्थापन गरेमा एक उदाउँदो शक्तिका रूपमा भारतको भूमिका सुदृढ हुने उनले बताएका छन् । आर्थिक वृद्धिका साथै विस्तार हुँदै गएको अर्थतन्त्रबाट कमजोर वर्गका जनतालाई अवसर प्रदान गर्ने भारतको रणनीतिमा विश्व बैङ्कले सहयोग गर्ने आश्वासन पनि जोलिकले दिएका छन् ।
'आगामी जी२० बैठकको तयारीलगायतका अन्तरराष्ट्रिय मुद्दाहरूमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि भारतीय प्रधानमन्त्री तथा सरकारसँग छलफल गरिनेछ’, जोलिकको कार्यालयले भनेको छ । जलवायु परिवर्तन, जैविक विविधता, व्यापार तथा क्षेत्रीय एकीकरणजस्ता विषयमा विश्व बैङ्क र भारतले मिलेर काम गर्ने पनि भनिएको छ । गतवर्ष विश्व बैङ्कले भारतलाई विश्वव्यापी आर्थिक सङ्कटका असरहरूको सामना गर्न ११ अर्ब १० करोड डलर ऋणसहयोग दिने प्रतिबद्धता गरेको थियो । एएफपी/रासस
यूरोपमा महँगी बढ्यो, ईसीबी असमञ्जसमा
पुस २५, फ्रान्कफर्ट (जर्मनी) । यूरोजोनभित्र विविध देशमा विविध आर्थिक प्रवृत्ति देखिएर युरोपियन सेण्ट्रल बैङ्क (ईसीबी)ले त्यसलाई मिलाउन प्रयास गरिरहेका बेला ऋणग्रस्त यूरोपेली सरकारहरूलाई चीनले पनि सहयोग गर्ने आश्वासन दिइरहेकोमा त्यसक्षेत्रमा मुद्रास्फीति पनि बढ्दै गएको छ । यूरोजोनको परिवृत्तमा रहेका देशहरूको ऋण तिर्ने क्षमतामा देखिएको सङ्कट समाधान गर्न ईसीबी प्रयासरत छ । यसअनुसार उसले यूरोजोनका वाणिज्य बैङ्कहरूको ऋण दिने क्षमता कायम राख्न ती बैङ्कहरूलाई आवश्यक रकमको आपूर्ति पनि गरिरहेको छ । तर, अब ईसीबीले आफ्नो प्राथामिक दायित्व मूल्य नियन्त्रणलाई फेरि आफ्नो प्राथमिकतामा राख्नुपर्ने भएको छ । मुद्रास्फीति २ प्रतिशतभन्दा कम हुनुपर्ने ईसीबीको निर्धारित लक्ष्यलाई नाघ्दै डिसेम्बरमा यूरोजोनक्षेत्रको मुद्रास्फीति २ दशमलव २ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ । ऊर्जा तथा खाद्यपदार्थको बढ्दो मूल्यले गर्दा मुद्रास्फीतिलाई न्यून प्राथमिकतामा राख्न नमिल्ने सङ्केत मिलेको छ । त्यसबाट बैङ्कहरूलाई तिनको सञ्चित कोष तथा पूँजी बढाएर वित्तीय अवस्था सुदृढ बनाउन सहयोग गरिरहेकोर् इसीबीको कार्य झनै जटिल हुन पुगेको छ |
एएफपी/रासस
जर्मन कुखुरामा डायोक्सिन भएको पुष्टि
पुस २५, बर्लिन (जर्मनी) । जर्मनीका केही कुखुराजन्य उत्पादनमा अत्यधिक मात्रामा डायोक्सिन रहेको पुष्टि भएको छ । उपभोक्ता सुरक्षा मन्त्रालयले थुप्रै कुखुरामा कानूनी रूपले निर्धारितभन्दा दुइगुनाभन्दा पनि बढी डायोक्सिनको मात्रा पाइएको शनिवार बताएको छ । साथै मन्त्रालयका अनुसार त्यस्ता प्रदूषित कुखुराको मासु बेच्न नदिइएको तथा तीनलाई सुरक्षापूर्वक नष्ट गरिएको छ । सुँगुरको मासु आयात गर्ने विश्वकै चौथो ठूलो देश दक्षिण कोरियाले जर्मनीबाट आयात गरिने मासुमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी स्लोभाकियाले पनि जर्मनीबाट आयात हुने अण्डा, कुखुरा तथा सुँगुरको मासुमा अस्थायी प्रतिबन्ध लगाएको छ । डायोक्सिन प्रदूषण मुद्दामा जर्मनीले चालेको कदमप्रति यूरोपेली आयोग सन्तुष्ट रहेको जर्मन सरकारका एक स्रोतले शनिवार बताएका छन् । फोहोरमैला जलाउँदा तथा औद्योगिक प्रक्रियामार्फत डायोक्सिन भन्ने क्यान्सरजनक रसायन उत्पन्न हुन्छ । रोयटर्स
ढाकामा शेयरमूल्य घटेपछि प्रदर्शन
पुस २५, ढाका (बङ्गलादेश) । बङ्गलादेशको मुख्य शेयर बजारमा ८ प्रतिशतले घटेपछि सयौं लगानीकर्ताहरूले देशभरिका शहरहरूमा आइतवार प्रदर्शन गरेका छन् । ढाका स्टक एक्सचेञ्ज (डीएसई) बन्द हुँदा त्यसको परिसूचकाङ्क (डिजेन) ६ सय विन्दु अर्थात् ७ दशमलव ७६ प्रतिशतले घटेर ७ हजार १ सय ३५ दशमलव मा ओर्लेको यो डिएसइको ५० वर्षको इतिहासमा एक दिनमा भएको हालसम्मकै सबैभन्दा ठूलो कमी हो । शेयरबजार यसरी झरेपछि गत २ वर्षदेखि ठूलो नाफा गर्दै आएका लगानीकर्तामाझ त्रास उत्पन्न भएको छ । स्थानीय प्रहरी प्रमुख तोफाज्जल होसेनका अनुसार राजधानी ढाकाको स्टक एक्सचेञ्ज भवनमा कम्तीमा ३ सय लगानीकर्ताले नाराजुलुस गरेका थिए । प्रदर्शनकारीहरू सङ्गठित हुने प्रयास गरेका तर प्रहरीले त्यसलाई विफल तुल्याएको पनि होसेनले बताए । गत डिसेम्बर १९ मा ६ दशमलव ७२ प्रतिशत झरेपछि लगानीकर्ताहरूले हिंसात्मक प्रदर्शन गरेका थिए । सन् २०१० मा डिजेन परिसूचकाङ्क ८० प्रतिशतले बढेको थियो, तर गत तीन हप्तायता त्यसमा २० प्रतिशतले कमी आएको छ । एएफपी/रासस
अल्जेरियामा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन
पुस २५, अल्जियर्स (अल्जेरिया) । अल्जेरिया सरकारले खाद्यपदार्थको भाउ नियन्त्रण गर्ने उपायबारे छलफल गरिरहेका बेला शनिवार फेरि चर्को महँगीविरुद्ध प्रदर्शन भएको छ । उच्च बेरोजगारी तथा महँगीको विरोध गर्दै अल्जिरियाली जनताले बुधवारदेखि नै हिंसात्मक प्रदर्शन गरिरहेका छन् । हालैका महीनाहरूमा चिनी, खानेतेल तथा पीठोजस्ता अत्यावश्यक खाद्यपदार्थको भाउ दुइ गुनाले बढेको थियो । शनिवार राजधानी अल्जियर्सभन्दा पूर्व 'काबिली' भनिने क्षेत्रमा समेत प्रदर्शन भएको थियो । अल कायदाको बलियो उपस्थिति रहेको मानिने काबिली क्षेत्रमा हुने प्रदर्शन अति संवेदशनील हुने गर्दछ । बिहीबारदेखि देशभरि भएका प्रदर्शनहरूमा अहिलेसम्म दुइ जनाको मृत्यु हुनुका साथै ४ सय जना घाइते भएको बताइएको छ । अल्जेरियाले सरकारले खानेतेल तथा चिनीलगायतका अत्यावश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्न तिनमा सरकारले तोकेको निश्चित नाफामात्र लिन पाइने नियम लागू गर्ने भएको छ । अल्जिरिया तेलको खानी भएको देश हो । तेलको मूल्य लगभग ९० डलर प्रतिब्यारेल भएकाले त्यहाँको सरकारले तेल निर्यात गरेर खाद्यान्नमा अनुदान दिने पैसाको जोहो गर्न सक्छ । रोयटर्स