फेडरल रिजर्भद्वारा ब्याजदर नबढाउने घोषणा
साउन २५, वाशिङटन (अमेरिका) । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले आगामी २ वर्षसम्म ब्याजदर नबढाउने घोषणा गरेको छ । मङ्गलवार अप्रत्याशित घोषणा गर्दै रिजर्भले आगामी २ वर्षसम्म ब्याजदर शून्य प्रतिशतमै राख्ने प्रतिबद्धता गरेको हो । रिजर्भले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकाको आर्थिक वृद्धिका लागि थप कदम अघि बढाउन यसले सहयोग गर्ने बताइएको छ ।
रिजर्भले अमेरिकी अर्थतन्त्रको अवस्था राम्रो नरहेको र आर्थिक वृद्धि आफूहरूले सोचेभन्दा कमजोर रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा मुद्रास्फीतिको वृद्धि रोक्नुपर्ने र त्यसबाट अमेरिकामा हाल ९ दशमलव १ प्रतिशत रहेको बेरोजगारी दर घटाउन मद्दत पुग्ने पनि बताइएको छ । फेडरल रिजर्भको सन् २०१३ सम्म ब्याजदर नबढाउने घोषणाको वालस्ट्रिटले सकारात्मक प्रतिक्रिया दिएको छ । रिजर्भको उक्त घोषणापछि विश्वका प्रमुख शेयर सूचकाङ्क बढेका छन् । अमेरिकाको प्रमुख शेयर सूचकाङ्क डाउ जोन्स मङ्गलवार ४ प्रतिशत अर्थात् ४ सय २९ दशमलव ९२ अङ्क वृद्धि भई ११ हजार २ सय ३९ मा बन्द भएको थियो । यसैगरी अर्को सूचकाङ्क एस एण्ड पी ५०० मा विगत २ वर्षकै सबैभन्दा उत्साहजनक कारोबार भएको बताइएको छ । मङ्गलबार एस एण्ड पी ४ दशमलव ७४ प्रतिशतले बढेर ५३ दशमलव ७ अङ्कका साथ १ हजार २ सय ३९ दशमलव ५३ अङ्कमा बन्द भएको थियो । त्यसैगरी नाष्डाक कम्पोजिट इण्डेक्स ५ दशमलव २९ प्रतिशतले बढ्दै २ हजार ४ सय ८२ दशमलव ५२ अङ्कमा पुगेको थियो । अघिल्ला केही हप्तामा अमेरिकी अर्थतन्त्रबारेको अनिश्चयले गर्दा ती शेयर सूचकाङ्कमा २० प्रतिशतको ठूलो कमी आएको बताइन्छ ।
यूरोपका शेयरबजारहरूमा पनि रिजर्भको घोषणाको सकारात्मक प्रभाव परेको छ । बेलायतको एफटीएसइ-१०० १ दशमलव ३ प्रतिशतले बढेको छ भने जर्मनीको डीएक्स २ दशमलव ३ प्रतिशतले बढेको छ । त्यसैगरी फ्रान्सको सीएसी-४० १ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । बुधवारको कारोबारमा एशियाली शेयरबजारहरू पनि सन्तोषजनक रहे । चीनको साङ्र्घाई कम्पोजिट शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएर २ हजार ५ सय ४९ अङ्कमा बन्द भएको छ । त्यसैगरी हङकङको ह्याङशेङमा २ दशमलव ३ प्रतिशतले बढेर १९ हजार ७ सय ८३ अङ्क कायम भएको थियो । बुधवारको कारोबारमा जापानको निक्केइ १ दशमलव १ प्रतिशतले बढेर ९ हजार ३८ दशमलव ७४ अङ्कमा बन्द भयो । निक्केइमा डलरको तुलनामा येन बलियो हुँदा कारोबार अपेक्षाकृत भने नभएको बताइएको छ । यसैगरी बुधवार यूरोपको मूल्यमा २ प्रतिशतले वद्धि भएको थियो ।तेलको मूल्यमा भने अघिल्ला दिनको तुलनामा केही सुधार आएको छ । बुधवार न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जमा तेलको सेप्टेम्बर महीनाको डेलिभरी मूल्य ८१ दशमलव ८२ अमेरिकी डलर कायम भएको थियो । एजेन्सी
सेक्युरेन्सीका एजेण्ट घूस काण्डमा पक्राउ
साउन २५ । भियतनामका एक अधिकारीलाई घूस खुवाएको र मलेसियामा जाली विवरण दिएको आरोप लागेका एक अष्ट्रेलियाली नागरिकलाई पक्राउ गरिएको छ । क्लिफोर्ड जोन गेराथी नाम गरेका ६० वर्षीय ती व्यक्तिलाई बैङ्क नोट जालसाजी काण्डमा पक्राउ गरिएको हो ।मुद्रा छाप्ने कम्पनी सेक्युरेन्सीसँग सम्बन्धित घूसकाण्डमा समातिने गेराथी सातौं अष्ट्रेलियन नागरिक हुन् । उनीमाथि भियतनामका एक एजेण्टलाई १ करोड ७८ लाख डलर कमिशन खुवाएको र मलेशियाको एक ठेक्काको सन्दर्भमा जाली विवरण दिएको आरोपमा मुद्दा चलाइने प्रहरीले बताएको छ । सेक्युरेन्सीलाई बैङ्क नोट छाप्ने ठेक्का दिलाउने सन्दर्भमा उनले ती गैरकानूनी काम गरेको आरोप लागेको हो । उक्त कम्पनीमा अष्ट्रेलियाको केन्द्रीय बैङ्कको आंशिक स्वामित्व रहेको छ ।
विदेशी सरकारी अधिकारीलाई घूस खुवाएको आरोप प्रमाणित भएमा उनलाई १० वर्षजेल सजाय वा ११ लाख अष्ट्रेलियन डलर सजाय हुनेछ । त्यसैगरी, झूटो विवरण दिएकोमा १० वर्षको सजाय हुन सक्नेछ । पोलिमर नोट छाप्ने सेक्युरेन्सीका एजेण्टहरूमाथि ठेक्का पाउनका लागि एशियाली सरकारी अधिकारीलाई घूस खुवाएको आरोप लाग्दै आएको छ । एएफपी/रासस
ब्राजिलको 'जिरो हङ्गर’ कार्यक्रम
साउन २५, साओ पाउलो (ब्राजिल) । ब्राजिलमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमले विश्वकै ध्यान खिच्न सफल भएको छ । गरीब परिवारलाई सोझै नगद उपलब्ध गराउने जस्ता विश्वकै ठूला कार्यक्रमलगायतका व्यवस्थाले ध्यान खिच्न सफल भएको हो । ८ अर्ब डलरको उक्त कार्यक्रमअन्तर्गत गरीब परिवारले छोराछोरी पढाउने जस्ता कार्यका लागि मासिक भत्ता पाउने गर्छन् । बढ्दो महँगीका कारण कतिपय गरीब परिवारले केटाकेटीलाई स्कूलबाटै निकाल्ने गरेको अवस्थामा उक्त कार्यक्रमले ठूलो टेवा दिएको छ ।
विश्वभरि खाद्यवस्तुको मूल्य चर्किंदै गएको र पूर्वी अप्रिmकामा भोकमरीसमेत देखिएकाले ब्राजिलको सामाजिक सुरक्षा कार्यक्रमलाई विश्वभरिबाट चासोका साथ हेरिएको हो । संयुक्त राष्ट्रङ्सघीय खाद्य तथा कृषि सङ्गठनले पनि उसको आगामी प्रमुखमा ब्राजिलकै जोसे ग्रेजिआनो दा सिल्भालाई निर्वाचित गरेको छ । ब्राजिलका पूर्वखाद्यसुरक्षा मन्त्री दा सिल्भाले नै भोकलाई शून्यमा झार्ने 'जिरो हङ्गर’ कार्यक्रम लागू गरेका थिए ।गतवर्ष विश्वभरि ९२ करोड ५० लाख मानिस कुपोषणबाट पीडित भएको विश्व खाद्य सङ्गठनको प्रतिवेदन छ । १९९० को मध्यतिर त्यस्तो सङ्ख्या ८० करोडभन्दा पनि मुनि थियो । यसरी, विश्वभरि नै कुपोषण र भोकमरीका साथै खाद्यवस्तुको मूल्यसमेत बढिरहेको सन्दर्भमा ब्राजिलको 'जिरो हङ्गर’जस्ता सामाजिक सुरक्षा कार्यक्रमले विश्वको ध्यान खिच्न सफल भएको हो । एपी/रासस
चीनमा गाडी विक्री बढयो, भारतमा घटयो
साउन २५, बेइजिङ (चीन) । चीनमा कारको विक्री सङ्ख्या जुलाईमा १ वर्षअघिको भन्दा ६ दशमलव ७ प्रतिशतले उक्लेको छ । चीन विश्वकै सबैभन्दा ठूलो गाडी बजार हो । उता, भारतमा भने गाडीको विक्री जुलाईमा १५ दशमलव ८ प्रतिशतले घटेको छ । भारत विश्वकै दोस्रो सबैभन्दा ठूलो गाडी बजार हो ।भारतमा गत साढे दुई वर्षमा पहिलोपटक त्यसरी विक्री सङ्ख्या घटेको हो । उच्च ब्याजदर र गाडीमा बढ्दो खर्चले आगामी केही महीनासम्म माग घटिरहने अपेक्षा गरिएको छ । चीनमा भने आउँदो सेप्टेम्बर र अक्टोबरमा गाडीको विक्री अझै बढ्ने विश्लेषकहरूको अनुमान छ । किनभने शरद यामका ती दुई महीनामा चीनमा प्राय: औसतभन्दा बढी विक्री हुने गर्दछ । भारतमा पनि सेप्टेम्बरबाट हिन्दूहरूको ठूलो चाडपर्व शुरू हुने भएकाले त्यसअवधिमा विक्री बढ्ने गरेको छ । चीनमा जुलाईमा कुल १० लाख १० हजारभन्दा बढी सेडान, एसयूभी र मल्टी-परपस गाडी विक्री भएका थिए । भारतमा भने सोही महीनामा १ लाख ३३ हजार ७ सय ४७ ओटा गाडी विक्री भएका थिए । कुनै समय गाडीको ठूलो बजार रहेको चीनमा सरकारले गाडी उद्योगलाई दिँदै आएको नीतिगत सुविधा सन् २०१० को अन्त्यतिर हटाएपछि गाडी बजार चिसिएको छ । एजेन्सी
तेलको माग घट्ने आईईएको पूर्वानुमान
साउन २५, पेरिस (फ्रान्स) । अन्तरराष्ट्रिय ऊर्जा निकाय इण्टरनेशनल इनर्जी एजेन्सी (आईईए)ले यस वर्षको विश्वव्यापी तेल मागबारे गरेको पूर्वानुमानमा कटौती गरेको छ । आर्थिक सुस्तीको बढ्दो प्रमाणहरूले दोहोरो अङ्कको मन्दीको चिन्ता बढाएकाले तेलको खपत पनि कम हुने आईईएले बताएको छ । आईईएको पछिल्लो मासिक प्रतिवेदनअनुसार यस वर्षको विश्वव्यापी तेल माग औसत प्रतिदिन ८ करोड ९५ लाख ब्यारेल हुनेछ, जुन यसअघिको पूर्वानुमानभन्दा ६० हजार ब्यारेलले कम हो । यूरोप र अमेरिकामा ऋणबारेको चिन्ता तथा चीन र भारतको सुस्तिँदो आर्थिक वृद्धिले बजारमा त्रास उत्पन्न भएको र कतिपय क्षेत्रमा त दोहोरो मन्दीको समेत आशङ्का उत्पन्न भएको प्रतिवेदनमा भनिएको छ । त्यसैगरी, आईईएले यस वर्ष र आगामी वर्षका लागि गरेको ४ प्रतिशतको विश्वव्यापी आर्थिक वृद्धि वर्तमान अवस्थामा अलिक आशावादी हुन पुगेको भनिएको छ । एपी/रासस
सार्कोजीद्वारा बजेटघाटा कटौतीको पुन: प्रतिबद्धता
साउन २५, पेरिस (फ्रान्स) । फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले बजेटघाटा कटौती गर्ने लक्ष्यप्रति प्रतिबद्ध रहेको बताएका छन् । अमेरिकापछि फ्रान्सको पनि ट्रिपल ए क्रेडिट रेटिङ खस्किन सक्ने आशङ्काबीच सार्कोजीको प्रतिबद्धता आएको छ ।फ्रान्स विश्वकै पाचौं ठूलो अर्थतन्त्र र यूरोजोनको अग्रणी अर्थतन्त्र हो । तर, आफ्नैवृद्धिदर घटिरहेका बेला फ्रान्सले गरीब यूरोपेली देशको ऋणोद्धार खर्च वहन गर्न नसक्ने कतिपय विश्लेषकले चेतावनी दिएका छन् ।
यूरोपेली बजारमा आशङ्का छाएका बेला सार्कोजीलगायतका यूरोपेली नेताहरू भने बिदा मनाउन बसेको भन्दै उनीहरूको आलोचना भइरहेको छ । त्यसैले पनि आफ्नी गर्भवती पत्नीसँग बिदा मनाइरहेका सार्कोजीले बिदा छोट्टयाउँदै वित्तीय सङ्कटबारे मन्त्रीहरूको आपत्कालीन बैठक डाकेका हुन् । कुनै नयाँ उपायको घोषणा नभए तापनि बजेटघाटा कटौती गर्ने प्रतिबद्धता पूरा गरिने वाचा गरे । त्यसका साथै, सार्कोजीले सन्तुलित बजेटका लागि संवैधानिक परिवर्तन गर्नुपर्ने आफ्नो आह्वानलाई फेरि दोहोर्याएका छन् । एपी/रासस
एओएल’लाई दोस्रो त्रैमासमा घाटा
साउन २५, न्यूयोर्क (अमेरिका) । अमेरिकी इण्टरनेट र मिडिया कम्पनी 'एओएल'ले दोस्रो त्रैमासमा थोरै नोक्सानी बेहोरेको छ । मङ्गलवार प्रकाशित दोस्रो त्रैमासिक प्रतिवेदनमा कम्पनीले १ वर्षअघि तिरेको ठूलो लेखा खर्चले गर्दा केही घाटा भएको उल्लेख छ । दोस्रो त्रैमासिक अवधिमा एओएलको कुल घाटा १ करोड १८ लाख डलर भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको भन्दा यो घाटा निकै कम हो । सन् २०१० को दोस्रो त्रैमासिक अवधिमा कम्पनीले १ दशमलव ६ अर्ब डलर घाटा बेहोरेको थियो । उक्त समयमा सामाजिक सञ्जाल साइट ँबेबो' खरीद गरेको एओएललाई उक्त साइटको मूल्यमा ठूलो कमी आएपछि घाटा भएको थियो । तर, कम्पनीले सन् २००८ पछि विज्ञापनबाट हुने आम्दानीमा भने वद्धि भएको बताएको छ । एओएलको विज्ञापन आम्दानीमा दोस्रो त्रैमासिक अवधिमा ५ प्रतिशतले वृद्धि भई ३१ करोड ९० लाख डलर आर्जन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । एपी/रासस
दङ्गाका कारण लण्डनको आर्थिक गतिविधि ठप्प
साउन २५, लण्डन (बेलायत) । सन् १९८० पछि बेलायतमा फैलिएको सबैभन्दा खराब हिंसाका कारण राजधानी लण्डनको आर्थिक गतिविधि ठप्प भएको छ । उत्तरी लण्डनको टोटन ह्यामका मार्क डुग्गन नामक एक २९ वर्षीय अश्वेत युवकको प्रहरी कारबाहीमा गत बिहीवार मृत्यु भएपछि शनिवारदेखि लण्डनमा व्यापक दङ्गा फैलिएको हो ।गत शनिवार टोटन ह्यामबाट शुरू भएको दङ्गा राजधानीबाहिरका लिभरपुल, ब्रिष्टो, लिड्स, ब्रिङह्याम, वुल्भर ह्याम्पटन, म्यानचेष्टरलगायतका प्रमुख शहरमा समेत फैलिएको छ । दङ्गाका कारण विश्वको प्रमुख आर्थिक केन्द्र लण्डनमा व्यापक लुटपाट भएको र दर्जनौं डिर्पाटमेण्ट स्टोर, कार्यालय, रेष्टुराँ र गोदामघरहरूमा आगो लगाइएको र लुटपाट भएको बताइएको छ । उत्तरी लण्डनस्थित इनफिल्डमा भएको सोनी कम्पनीको गोदाम र शोरूमहरुमा लुटपाट र आगजनी भएका छन् । उक्त स्थानमा भएको आगजनी सबैभन्दा ठूलो भएको र त्यसबाट दशौं लाख पाउण्डबराबरको क्षति भएको सोनी कम्पनीले बताएको छ । यसकै कारणबाट जापानको निक्केइ शेयर सूचकाङ्कमा मङ्गलवार सोनी कम्पनीको शेयरमूल्यमा २ प्रतिशतले कमी आएको थियो ।
बेलायती बीमा एशोसिएशन (एशोसिएशन अफ ब्रिटिश इन्सुरर)का प्रवक्ताले दङ्गाबाट भएका क्षतिबारे पूर्ण विवरण नआइसके पनि दशौं लाख पाउण्डबराबरको क्षति भएको हुन सक्ने जानकारी दिएकी छन् । बुधवार लण्डनको स्थिति केही शान्त देखिए पनि लण्डनबाहिर भने दङ्गा फैलिँदै गइरहेको बताइएको छ । बेलायतको दोस्रो ठूलो शहर ब्रिङह्याममा बुधवार भएको प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको छ । गत शनिवारदेखि बन्द भएका लण्डनका कार्यालय, डिर्पाटमेण्ट स्टोर र सार्वजनकि यातायात भने बुधवारदेखि विस्तारै सञ्चालन हुन थालेका छन् ।
दङ्गाकारीहरूले युवक हत्याको विरोध गरिरहे पनि विश्लेषकहरूले आर्थिक मन्दी र सरकारको सार्वजनिक खर्चमा भारी कटौती गर्ने घोषणाको प्रतिक्रियास्वरूप हिंसा भड्किएको बताएका छन् । दङ्गा प्रभावित क्षेत्रहरूमा व्यापक प्रहरी तैनाथ गरिए पनि व्यक्तिगत र सार्वजनिक सम्पत्ति, पसल, व्यापारिक केन्द्रहरूमा आगजनी र लुटपाट जारी नै रहेका छन् । यसले गर्दा सन् २०१२ मा लण्डनमा हुने गृष्मकालीन ओलम्पिकको तयारी पनि प्रभावित भएको बताइएको छ । दङ्गाकै कारण बुधवार वेम्बली स्टेडियममा हुन लागेको इङल्याण्ड र नेदरल्याण्डबीचको खेलसमेत रद्द गरिएको छ । प्रहरीले हालसम्म दङ्गामा संलग्न ७ सय जनालाई गिरफ्तार गरिसकेको छ ।देशमा सुरक्षाको अवस्था नाजुक भएपछि इटालीमा छुट्टी मनाइरहेका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन मङ्गलबार नै स्वदेश फर्किएका थिए । बुधवार उनले विशेष सुरक्षा समितिलाई निर्देशन दिँदै दङ्गाकारीहरू आपराधिक तत्त्व भएको र उनीहरूलाई जसरी भए पनि परास्त गरिछाड्ने दृढता व्यक्त गरेका छन् । एजेन्सी
Admin 2011-08-11