बजेट घाटा २० खर्ब डलर घटाउन सकिन्छ : अमेरिकी सभामुख
असार २६, वाशिङगटन (अमेरिका) । अमेरिकी प्रतिनिधि सभाका सभामुख जोन बोहनरले बजेट घाटा २० खर्ब डलर घटाउन सकिने बताएका छन् । राष्ट्रपति बाराक ओबामासँगको शनिवारको भेटपछि बोहनरले एक प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । वक्तव्यमा अमेरिकी सरकारले कर वृद्धि नगरी ऋण घटाउने योजनामा सहमति जनाउने सम्भावना कम रहेको उनले उल्लेख गरेका छन् । साथै यसअघि उप-राष्ट्रपति जो बाइडेनसँग भएका वार्ताहरूमा गरिएका सहमतिहरूलाई लागू गरिए समस्या समाधान गर्न सहयोग पुग्ने पनि उनले बताएका छन् । राष्ट्रपति ओबामासँगको शनिवारको भेटमा बोहनरले बजेट घाटा २० खर्ब डलरले कम गर्न सकिने आफ्नो सोचाइ बढी यथार्थवादी भएको बताएका थिए । रिपब्लिकन पार्टीका तर्फबाट सभामुख भएका बोहनर सरकार र प्रतिपक्षी रिपब्लिकनहरूसँगको वार्तामा सहभागी हुँदै आएका छन् ।
खर्च कटौती, कर वृद्धि र ऋण सीमा निर्धारण गर्नेजस्ता विषयमा ओबामा प्रशासन र प्रतिपक्षी रिपब्लिकनबीच गम्भीर मतभेद देखिएको छ । कर बढाएर बजेट घाटा कम गर्ने ४० खर्ब डलरको १० वर्षको योजनाको रिपब्लिकनहरूले विरोध गर्दै आइरहेका छन् । यी विषयहरूमा सहमति नभए अमेरिकी सरकार अगष्ट दुईसम्ममा टाट पल्टने चेतावनी अमेरिकी अर्थमन्त्रीले यसअघि नै दिइसकेका छन् । एपी/रासस
कोण्टासको पुन: संरचना कार्यक्रम
असार २६, बेइजिङ (चीन) । अष्ट्रेलियाली विमानसेवा कोण्टासका प्रमुख कार्यकारी एलन जोयसले विमानसेवाको पुन:संरचना गर्ने क्रममा कामदार सङ्ख्यामा कटौती हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गरेनन् । विमानसेवाको अन्तरराष्ट्रिय व्यापारमा सुधारका साथै एशियाली वृद्धिबाट फाइदा लिन कोण्टासले संस्थागत संरचनामा नै परिवर्तन ल्याउने भन्दै आएको छ ।
उता कोण्टासका पाइलटलगायत कर्मचारीहरूले फेरि हडताल गर्ने सम्भावना देखिन्छ । अन्तरराष्ट्रिय व्यापारमा पहिलेदेखि नै घाटा भइरहेकाले त्यसलाई आगामी दिनमा संस्थाले धान्न नसक्ने कोण्टासको भनाइ छ ।विमानसेवाको लगानी र साझेदारीका साथै बढ्दो एशियाली बजारबाट कसरी फाइदा उठाउने भन्नेबारेको रणनीति अगष्ट २४ मा सार्वजनिक गरिने जोयसले बताए । विश्व्यापी वित्तीय सङ्कटका बेला पनि कोण्टासले पाइलटलाई कामविहीन नराखेको तर मन्दीको सामना गर्नका लागि वार्षिक बिदामा बस्न भनिएको जोयसको जिकीर छ । एएफपी/रासस
भारतको अर्थतन्त्रमा भ्रष्टाचार र राजनीतिले समस्या
असार २६, मुम्बई (भारत) केही समय अघिसम्म भारत लगानीकर्ताहरूका लागि एक आकर्षक गन्तव्यका रूपमा रहेको थियो । तर, उच्च मूल्यवृद्धि र व्यापक राजनीतिक भ्रष्टाचारले अहिले भारतमा लगानी गर्न लगानीकर्ताहरू हच्किन थालेका छन् । त्यसैगरी, घट्दो आर्थिक सुधारमा अवरोध, बढ्दो मूल्यवृद्धि र चर्किंदो ब्याजदरको समाचारले लगानीकर्ताहरू झनै त्रस्त बन्न पुगेका छन् ।
गत हप्ता अन्तरराष्ट्रिय व्यापार सूचना एजेन्सी डुन एण्ड ब्राडशिटले भारतको व्यापारिक आशावादिता परिसूचक त्रैमासिक रूपमा २२ प्रतिशतले घटेको छ । जनवरीदेखि मार्चसम्मको त्रैमासमा आर्थिक वृद्धि ७ दशमलव ९ प्रतिशतमा रहेको छ, जुन पाँच त्रैमासकै सुस्त वृद्धिदर हो । सोही अवधिमा प्रमुख म्यानुप\mयाक्चरिङ क्षेत्र मात्र ५ दशमलव ५ प्रतिशतले बढेको छ, जुन १८ महीनाकै सुस्त दर हो । त्यसैगरी, गतवर्षको तुलनामा त्रैमासिक खुद प्रत्यक्ष कर सङ्कलनमा पनि १७ प्रतिशतले कमी आएको छ । २०१० को मार्चपछि १० पटक ब्याजदर बढाउँदा पनि महँगी अझै बढिनै रहेको छ । पछिल्ला दिनहरूमा खाद्य र ऊर्जाका साथै म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि मूल्यवृद्धि भइरहेको छ । बढ्दो भ्रष्टाचार काण्डको सामाना गरिरहेको भारतको सरकारको अर्का एक मन्त्रीले समेत राजीनामा दिनुपरेपछि व्यापारिक आशङ्का झनै बढेको छ । राजनीतिक समस्याले गर्दा सरकारलाई आर्थिक चुनौतीका मुद्दामा ध्यान केन्द्रित गर्न अप्ठेरो देखिएको उक्त एजेन्सीका भारतस्थित प्रमुख कौशल सम्पतले बताए । एएफपी/रासस
बेलायतमा 'विन अ बेबी’ विवादमा
असार २६, लण्डन (बेलायत) । नि:सन्तान दम्पतिहरूलाई २५ हजार पाउण्डबराबरको गर्भधारण उपचार जित्न प्रोत्साहित गर्ने यौटा खेल बेलायतमा विवादमा परेको छ । सञ्चारमाध्यमहरूले 'विन अ बेबी' नाम दिएको उक्त खेलमा विजयीहरूलाई अत्यन्त महँगो गर्भधारण उपचार दम्पतिहरूको आवश्यकताअनुसार गराइने बताइएको छ । सन् २०११ जुलाई ३० बाट शुरू गरिने उक्त खेललाई सरकारले च्यारिटीको मान्यता प्रदान गरेको थियो । खेलमा सहभागिताका लागि अनलाइनका माध्यमबाट २० पाउण्डको टिकट किन्नुपर्ने बताइएको छ । तर, उक्त खेलका विरोधीहरूले यसलाई अनैतिक र प्राकृतिक गर्भधारण विरुद्ध भएको आरोप लगाएका छन् । बेलायतको गर्भधारण र प्रजनन नियामक संस्था 'द ह्युमन फर्टिलाइजेशन एण्ड एम्ब्रियोलोजी अथोरिटी'ले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त खेललाई गलत र अनुपयुक्त भएको बताएको छ । त्यसैगरी प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत अभियानकर्ताहरूले पनि मान्छेको जन्मलाई जुवामा परिणत गर्न नहुने भन्दै विरोध गरेका छन् ।एक अध्ययनका अनुसार हाल बेलायतमा सातमध्ये एक दम्पति नि:सन्तान रहेका छन् । सन् २००८ यता बेलायतमा कृत्रिम गर्भधारणबाट ४० हजारको उपचारबाट १५ हजार शिशु जन्मिएका थिए । एजेन्सी
सुडानी तेलमा चिनियाँ चासो
असार २६, बेइजिङ (चीन) । दक्षिण सुडानले विश्वको नयाँ देशको रूपमा स्वतन्त्रता प्राप्त गरेपछि त्यहाँको तेल खानीमा पहुँच बढाउन देशहरूबीच प्रतिस्पर्धा बढेको छ । यसै क्रममा, सुडानी तेल खानीमा अझ बढी पहुँच बढाउन प्रयासरत चीनले पनि स्वतन्त्रता प्राप्त गरेकोमा दक्षिण सुडानलाई बधाई दिएको छ । चीन सुडानी तेलको प्रमुख खरिदकर्ता भएकाले सुडान दुई देशमा विभाजित भएपछि उत्पन्न हुन सक्ने अस्थिरताप्रति चिन्तित देखिएको छ । दुई पक्षबीचको भीडन्तले दुवै देशमा रहेको आफ्नो स्वार्थलाई पनि धक्का लाग्ने हो कि भनेर चीन सचेत भएको हो ।
चीनको खार्तुम सरकारसँग लामो समयदेखि नै नजिकको सम्बन्ध रहिआएको छ । तर, स्वतन्त्रापछिको दक्षिण सुडानसँग पनि सम्बन्ध राम्रो बनाउन चीन प्रयासरत देखिन्छ । किनभने पुरानो एकीकृत सुडानका बहुसङ्ख्यक तेल खानी अब दक्षिण सुडानभित्र पर्नेछन् । त्यसैले पनि प्राय: अन्य देशको मामिलामा मौन रहन चाहने चीनका राष्ट्रपति हु जिन्ताओले पनि दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरलाई टेलिफोनमार्फत बधाई दिएका हुन् । साथै, स्वतन्त्रतापछि बनेका दुई छिमेकी सुडान र दक्षिणी सुडान असल छिमेकी, साझेदार, र दाजुभाइजस्तै मिलेर बस्न चीनले शुभकामना व्यक्त गरेको छ । एजेन्सी
चीनको निर्यात घटयो आयात बढयो
असार २६, बेइजिङ (चीन) । चीनको निर्यात व्यापारको वृद्धि २० महीनायता सबैभन्दा कम भएको छ । केन्द्रीय बैङ्क (पिपुल्स बैङ्क अफ चाइना'ले आइतवार सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०११ को जुन महीनामा निर्यात व्यापारको वृद्धिदर १९ दशमलव ३ प्रतिशत मात्रै देखिएको थियो । सन् २०११ को मे महीनामा यो २८ दशमलव ४ प्रतिशत रहेको थियो । निर्यात व्यापारमा देखिएको सुस्तता मुख्यरूपले चीनका उत्पादनहरूको ताइवानबाट हुने मागमा आएका कमीले गर्दा भएको बताइएको छ । तर, केन्द्रीय बैङ्कले जारी गरेको तथ्याङ्कमा चीनको आयात व्यापार जुन महीनामा अहिलेसम्मकै बढी १ सय ६२ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ । निर्यात व्यापार भने घटेर १ सय ३९ दशमलव ७ अर्ब डलरमा झरेको उल्लेख छ । साथै, गत जुन महीनाको मूद्रास्फीति ३ वर्षकै उच्च भएको पनि खबरमा बताइएको छ ।बढ्दो मूद्रास्फीति र मूल्य वद्धिसँग जुध्न केन्द्रीय बैङ्कले सन् २०११ को जुन महीनासम्ममा ब्याजदर तीनपटक वृद्धि गरिसकेको छ । यसले गर्दा धेरै विश्लेषकहरूले विगतको दशकमा चीनले हासिल गरेको दुई अङ्कको आर्थिक वृद्धि घट्ने आशङ्का गरिरहेका छन् । एजेन्सी
अष्ट्रेलियाका कोइला उद्योगीहरूद्वारा कार्बन करको विरोध
असार २६, सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाका कोइला उद्योगीहरूले सरकाद्वारा ल्याइएको नयाँ कार्बन करको विरोध गरेका छन् । अष्ट्रेलियामा प्रभावशाली मानिएका कोइला उद्योगीहरूले प्रदूषण कम गर्ने उद्देश्यले भनिल्याइएको नयाँ करले आफूहरूको व्यवसाय र श्रमिकहरूको रोजगार खतरामा परेको भन्दै विरोध गरेका हुन् । साथै सरकारको कदमले उपभोक्ताहरूलाई कोइला महँगोमा बेच्नुपर्ने बाध्यता आउने उनीहरूले बताएका छन् । अष्ट्रेलियाको सबैभन्दा ठूलो कोइला उद्योग 'एक्सट्राटा' ले सरकारी निर्णय दु:खद र अवास्तविक भएको प्रतिक्रिया दिएको छ । यस्तै 'अष्ट्रेलियन कोल मार्इनस एशोसिएशन' का प्रमुख कार्यकारी राल्फ हिलम्यानले देशको प्रमुख निर्यात उद्योग र साना व्यापारीहरूको हितलाई सरकारले वास्ता नगरेको टिप्पणी गरेका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले कोइला, स्टील र एल्मुनियमजस्ता मुख्य प्रदूषकहरूले प्रतिटन उत्पादनबापत २३ अष्ट्रेलियन डलर कार्बन कर तिर्नुपर्ने र सन् २०१५ सम्म यसलाई २५ दशमलव ४० डलर पुर्याउने बताएकी थिइन् ।विश्वको सबैभन्दा ठूलो कोइला निर्यातकर्ता अष्ट्रेलिया आफ्नो ८० प्रतिशत विद्युत् उत्पादन कोइलामै निर्भर रहेको छ । सन् २०१० मा उसले ४९ अर्ब ५० करोड अमेरिकी डलरको कोइला निर्यात गरेको थियो । अष्ट्रेलियाको कोइला उद्योगमा ४० हजारले प्रत्यक्ष र १ लाखले अप्रत्यक्ष रोजगारी पाइरहेको बताइन्छ । एजेन्सी
एप्पलका उत्पादनहरूमा सुरक्षा कमजोरी भेटियो
असार २६, सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकाको एप्पल इङ्कका विख्यात उत्पादनहरू आईपड, आईफोन र आईप्याडमा सुरक्षा कमजोरी भेटिएका छन् । प्रविधि विशेषज्ञहरूले 'सुरक्षा छिद्र' नाम दिएका त्यस्ता कमजोरीहरूले सबैभन्दा बढी नाम कमाएका उच्चप्रविधिका यन्त्रहरूलाई 'ह्याकर' हरूबाट धेरै खतरा रहेको बताइएको छ ।जर्मनीको सूचनासुरक्षासम्बन्धी सङ्घीय कार्यालयले 'ह्याकर' र इण्टरनेट अपराधीहरूले त्यस्ता छिद्रहरूबाट शङ्कास्पद सफ्टवेयरहरू पठाई 'पीडीएफ' फाइलमार्फत प्रयोगकर्ताहरूलाई झुक्याई डाटा चोरी गर्न सक्ने खतरा उच्च भएको बताएको छ । साथै उसले प्रयोगकर्ताहरू र निर्माता कम्पनी एप्पल इङ्कलाई यसतर्फसचेत रहन पनि आग्रह गरेको छ । 'एप्पल आई-ओएस' अपरेटिङ सिष्टमको यो नै सबैभन्दा ठूलो खतरा भएको पनि उसले जानकारी दिएको छ । इण्टरनेट जडित मोबाइल फोन र टचस्क्रीन डिभाइसहरू सुरक्षाको दृष्टिले कम्प्युटरभन्दा कम जोखिममा रहे पनि भविष्यमा अपराधीहरूले निसाना बनाउँदै लाने सम्भावना प्रबल रहेको उसले बताएको छ । एप्पल इङ्कले भने गत बिहीवार प्रयोगकर्ताहरूको सूचनाको सुरक्षा गर्न आफूहरू लागिपरेको बताएको थियो । एपी/रासस
Admin 2011-07-11