शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिकी कङ्ग्रेसद्वारा व्यापार सम्झौता पारित
असोज २६, वाशिङटन (अमेरिका) । सरकारले तीन देशसँग गरेको स्वतन्त्र व्यापार सम्झौतालाई अमेरिकी कङ्ग्रेसले पारित गरेको छ । बुधवार भएको मतदानमा तल्लो सदन हाउस अफ रिप्रिजेण्टेटिभ्स तथा माथिल्लो सदन सिनेटबाट दक्षिण कोरिया, कोलम्बिया र पानामासँग भएका व्यापार सम्झौता पारित भएका हुन् । सरकारले प्रस्तुत गरेका ती प्रस्ताव कङ्ग्रेसमा विनाअवरोध पारित भएका थिए । यसबाट ती देशसँग व्यापारिक साझेदारी अझ बढ्ने विश्वास कङ्ग्रेसले लिएको छ ।

प्रस्ताव पारित भएपछि अमेरिकाबाट ती देशमा हुने निर्यात १३ अर्ब अमेरिकी डलरले बढ्ने सरकारको विश्वास छ । साथै, अमेरिकी बेरोजगारी दर घटाउन ती सम्झौता कोसेढुङ्गो बन्ने विश्वास पनि सरकारले लिएको छ । यी सम्झौताका अनुसार अमेरिकाबाट दक्षिण कोरिया, कोलम्बिया र पानामामा हुने निर्यातमा उत्पादकहरूले यसअघि भोग्दै आएको करका उच्चदर (टयारिफ)हरू कम गरिने वा पूर्णरूपले हटाइनेछ । साथै, बौद्धिक सम्पत्तिको सुरक्षा र ती देशमा अमेरिकी नागरिकले लगानी गर्ने सहज मार्ग अवलम्बन गरिने पनि सम्झौताहरूमा उल्लेख छ । यी सम्झौताका साथै कांग्रेशले वैदेशिक प्रतिस्पर्धाका कारण बेरोजगार अमेरिकी कामदारलाई अनुदान दिने अर्को एक प्रस्ताव पारित गरेको छ । कङ्ग्रेसबाट प्रस्ताव पारित भएपछि राष्ट्रपति बाराक ओबामाले यो अमेरिकी व्यापार तथा कामदारहरूको विजय भएको प्रतिक्रिया दिएका छन् । बुधवार राति भएको मतदानमा प्रस्ताव पारित गर्न सत्तापक्ष तथा प्रतिपक्षबीच देखिएको एकताको पनि ओबामाले खुलेर स्वागत गरेका छन् । यसबाट गौरवशाली रूपमा 'मेड इन अमेरिका' लेखिएका सामग्रीहरूले विश्वबजारमा फेरि आफ्नो वर्चस्व जमाउने बाटो खेलिदिएको उनले उल्लेख गरे । तर, केही अमेरिकी ट्रेड युनियनले र सम्झौताका आलोचकहरूले भने यसबाट लगानी अन्य देशमा गएर  अमेरिकी कामदारको रोजगारी बाहिरिन सक्ने आशङ्का गरेका छन् । पारित भएपछि यी सम्झौता विगत ४ वर्षयताकै सबैभन्दा नयाँ बनेका छन् । सन् २००७ मा पेरुसँग सम्झौता गरेयता अमेरिकाले कुनै पनि देशसँग स्वतन्त्र व्यापार सम्झौता गर्न सकेको थिएन । हालसम्म अमेरिकाले विश्वका १७ देशसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ ।      एपी/रासस

स्लोभाकियाले यूरो उद्धार कोषमा रकम नदिने
असोज २६, ब्राटिस्लाभा (स्लोभाकिया) । स्लोभाकियाली संसद्ले यूरो उद्धार कोष (यूरोपियन फाइनान्सियल स्टयाबिलिटी फण्ड)मा रकम नदिने निर्णय गरेको छ । १७ सदस्यीय यूरोजोन समूहको एक सदस्य राष्ट्र स्लोभाकियाको संसद्मा मङ्गलवार भएको मतदानमा बहुमतले यूरो उद्धार कोषको विस्तारलाई अस्वीकार गर्दै रकम नदिने निर्णय गरेको हो ।

स्लोभाक प्रधानमन्त्री इवेता राडिकोभाले यूरो उद्धार कोषमा रकम दिन आग्रह गर्दै संसद्मा प्रस्ताव पेश गरे पनि बहुमतले अस्वीकार गरेको हो । आफूले ल्याएको प्रस्ताव असफल भएपछि प्रधानमन्त्री राडिकोभाले पदबाट राजीनामा दिएकी छन् । पदबाट राजीनामा दिए पनि राडिकोभाले अन्तरिम सरकारले यसबारे उचित निर्णय गर्ने बताइन् । राडिकोभाले नेतृत्व गरेको गठबन्धनमा सामेल एक पार्टीले यूरो उद्धार कोषमा रकम दिने प्रस्तावमा साथ नदिएपछि उनले राजीनामा दिनुपरेको हो । अलोकप्रिय भए तापनि जर्मनी, फ्रान्स र इटालीलगायत अन्य यूरोजोन राष्ट्रको आग्रहपछि प्रधानमन्त्री राडिकोभाले यो प्रस्ताव संसद्मा पेश गरेकी थिइन् ।

स्लोभाकियामा यूरो उद्धार कोषमा रकम दिने निर्णयअत्यन्त अलोकप्रिय देखिएको छ । त्यहाँका आमनागरिक, बुद्धिजीवी तथा राजनीतिक दलमा अन्य यूरोपेली राष्ट्रले गरेका आर्थिक गल्तीको भुक्तान स्लोभाकियाले कोषमा रकम दिएर गर्न नहुने विचार व्याप्त छ । स्लोभाकहरूले गरेको यस्तो निर्णययूरोजोनको ऋणसङ्कट समाधान गर्ने मार्गमा आएको अवरोध भएको विश्लेषकहरूले बताएका छन् । स्लोभाकियाबाहेक अन्य १६ ओटै यूरोजोन राष्ट्र यसअघि नै यूरो उद्धार कोषको आकार बढाउन सहमत भइसकेका छन् ।

यसैबीच यूरोग्रूपका अध्यक्ष जाँ-क्लाउडे जन्करले यूरोजोनको ऋणसङ्कट समाधान गर्न दशबुँदे योजना अघि सारेका छन् । जर्मनीको एक प्रमुख आर्थिक अखबार 'ह्याण्डेल्सब्लाट'मा बुधवार प्रकाशित एक अन्तरवार्तामा जन्करले वित्तीय रूपले अनुत्तरदायी सरकारहरूमाथि स्वत: नाकाबन्दी लगाइनुपर्ने, यूरोपियन कमिशनको क्षेत्राधिकार बढाउनुपर्ने र सङ्कटग्रस्त वित्तीय संस्था तथा बैङ्कहरूलाई उद्धार गर्न रकम दिने राष्ट्रका करदातालाई ती संस्थाको लाभांश बाँडिनुपर्नेलगायतका उपाय सुझाएका छन् । अन्तरवार्तामा उनले उद्धारका लागि कसैलाई पनि त्यत्तिकै रकम दिइनु नहुनेमा जोड दिएका छन् ।                  एपी/रासस

'सन् २०१० मा ६ करोड डलर आम्दानी गरेँ’ : बफेट
असोज २६, न्यूयोर्क (अमेरिका) । अर्बपति अमेरिकी लगानीकर्ता वारेन बफेटले सन् २०१० मा ६ करोड अमेरिकी डलर आम्दानी गरेको बताएका छन् । बफेटले रिपब्लिकन पार्टीका कङ्ग्रेस सदस्य टिम ह्युलेस्काम्पलाई मङ्गलवार पठाएको एक पत्रमा आफूले गतवर्ष६ करोड २८ लाख ५५ हजार ३८ डलर आम्दानी गरेको बताएका हुन् । पत्रमा उनले सो अवधिमा आफ्नो करयोग्य आम्दानी ३ करोड ९८ लाख १४ हजार ७ सय ८४ डलर रहेको उल्लेख गरेका छन् । साथै, सन् २०१० मा बफेटले १५ हजार ३ सय डलर तलब ज्याला वितरण कर तिरेको पनि बताएका छन् । पत्रमा उनको करयोग्य आम्दानीमा १७ दशमलव ४ प्रतिशत अर्थात् ६९ लाख २३ हजार ४ सय ९४ डलर कर तिर्न सङ्घीय निकायहरूले 'बिल' पठाएको पनि बफेटले पत्रमा लेखेका छन् ।

तर, आफूले तिरेका करको दर अन्य अमेरिकी र आफ्नै निजी सहायकभन्दा निकै कम भएकाले बढाउन पनि बफेटले ह्युलेस्काम्पलाई आग्रह गरेका छन् । अमेरिकी काङ्ग्रेसका सदस्य तथा आफ्नै कार्यालयका कर्मचारीहरूले ३० प्रतिशतका दरले आयकर तिरिरहेकोमा उनले तिरेको कर निकै थोरै भएको उनको गुनासो थियो । बफेटका करसम्बन्धी दृष्टिकोणका आलोचक रहेका ह्युलेस्काम्पले केहीअघि सोधेका प्रश्नको उत्तर दिँदै उनले यस्तो पत्र पठाएका हुन् । केही समययता अर्बपतिहरूले पनि अरूजस्तै कर तिर्नुपर्ने कुरा उठाउँदै आएका बफेटलाई टिम ह्युलेस्काम्पले सार्वजनिक रूपमै आफ्नो आम्दानी घोषणा गर्न चुनौती दिँदै आएका थिए ।

कङ्ग्रेस सदस्य ह्युलेस्काम्पलाई लेखेको पत्रमा उनले न्यूजकर्पका मालिक रुपर्ट मुर्डक तथा अन्य अमेरिकी अर्बपतिहरूलाई आफ्नो वास्तविक आम्दानी घोषणा गर्दै यथोचित कर तिर्न चुनौती दिएका छन् । अर्बपतिहरूले पनि अरूजस्तै कर तिरेमा अमेरिकी कर प्रणालीमा सुधार आउने उनको भनाइ थियो ।            एजेन्सी

भिडियो गेम विकासका अभियन्ता
हेइदो कोजिमा
निर्देशक, कोजिमा प्रडक्सन्स
उनले निर्माण गरेका भिडियो गेमहरू अहिले विश्वभर निकै लोकप्रिय छन् । सन् १९७० को दशकमा विकसित भिडियो गेमलाई नयाँ परिभाषा प्रदान गर्दै विश्वभरि फैलाउन उनको महत्त्वपूर्ण योगदान छ । विश्वभर वार्षिक झण्डै ६६ अर्ब अमेरिकी डलर कारोबार भएको भिडियो गेम उद्योगमा उनी सबैभन्दा सफल, प्रभावशाली र नवीन सोचका भिडियो गेम निर्देशक तथा लेखक मानिन्छन् । उनी हुन्- 'कोजिमा प्रडक्सन्स'का निर्देशक हेइदो कोजिमा । कोजिमा विश्वको एक प्रमुख तथा जापानको सबैभन्दा ठूलो भिडियो गेम निर्माता 'कोनामी कम्प्युटर इण्टरटेन्मेण्ट'का उपाध्यक्षसमेत हुन् ।

सन् १९७० को दशकमा विकास भएको भिडियो गेमलाई 'गेमिङ कल्चर' (खेल संस्कृति)को तहसम्म विकास गर्न कोजिमाले अथक् प्रयास गरेका छन् । जापानको राजधानी टोकियोमा सन् १९६३ अगष्ट २४ मा जन्मेका उनी ३ वर्षको हुँदा आमाबुबाको कामका सिलसिलामा दक्षिणी जापानको कावानिशी शहरमा आएका थिए । उनको बाल्यकाल एकान्तमै बितेको थियो । एक अन्तरवार्तामा उनले आफ्नो बाल्यकालको सम्झना गर्दै आमाबुबा काममा जाने र आफूचाहिँ घरमा एक्लै बस्ने गरेको बताएका छन् । स्कूलबाट फर्केपछि सधैं घरमा एक्लै हुने भएकाले टेलिभिजन मात्रै त्यो समयमा आफ्नो साथी थियो, उनले भने । एकान्तमा हुर्किएका कोजिमाको बाल्यकालमै चित्रकलातर्फ आकर्षण बढेको पाइन्छ । चित्रकारिताका साथै उनले छोटा कथाहरू पनि लेखे । विद्यालयीय शिक्षा प्राप्त गरेपछि सन् ८० को दशकको मध्यतिर विश्वविद्यालयमा अर्थशास्त्र अध्ययन गर्ने क्रममा उनमा भिडियो गेम खेल्ने नयाँ शौख उत्पन्न भयो । त्यसबेला उनी आफ्नो पढाइपछिको समय जापानी भिडियो गेम हार्डवेयर निर्माता निण्टेण्डो कर्पोरेशनद्वारा निर्मित 'फेमिकम गेम कन्सोल'मा घण्टौं गेमहरू खेल्ने गर्दथे । कोजिमाको लक्ष्य भने त्यो समयमा फिल्म निर्देशक बन्ने थियो । तर, आफ्ना साथीलाई अचम्मित पार्दै भिडियो गेमको अत्यधिक आकर्षणले उनले भिडियो गेम उद्योगमा प्रवेश गर्ने निधो गरे । विश्वविद्यालयमा पढ्दा आफूले खेलेका 'सुपर मारियो ब्रोस' र 'पोर्टोपिया'जस्ता भिडियो गेमले आफूलाई सो उद्योगमा आउन प्रेरणा दिएको उनले बताए ।

कोजिमाले शुरूमा भिडियो गेम उद्योगमा आउन थुप्रै प्रयत्न गरे तापनि सफल हुन सकेनन् । उनले बनाएका गेमका डिजाइन र स्त्रिmप्ट अस्वीकृत भए । असफलताबाट हरेश नखाई आफ्ना डिजाइन र स्क्रीप्टहरूमा सुधार ल्याएपछि अन्तत: सन् १९८६ मा भिडियो गेम निर्माता कोनामीले उनलाई लियो । तर, भिडियो गेम निर्माण गर्न आवश्यक प्रोग्रामिङको ज्ञान नभएकाले शुरूमा निक्कै अप्ठयारो भएको उनले बताए । काम गर्दै जाने क्रममा सन् १९८७ मा उनले निर्माण गरेको 'मेटल गियर' नामक गेमले कोजिमालाई भिडियो गेम उद्योगमा स्थापित गरायो । कम्प्युटरमा खेलिने भिडियो गेम त्यति प्रचलनमा नआइसकेको त्यस समयमा 'मेटल गियर' विश्वभर अत्यन्त सफल रह्यो । सन् १९८७ यता 'मेटल गियर' २५ ओटा भिडियो गेम बजारमा आइसकेका छन् । कोजिमाको प्रत्यक्ष संलग्नतामा निर्माण भएका 'मेटल गियर' शृङ्खलाका गेमहरू हालसम्म विश्वभरि ४० लाख ३३ हजारको सङ्ख्यामा विक्री भइसकेको बताइन्छ । सो विक्रीबाट कोनामीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । विश्लेषकहरूले यो गेमको निर्माण भिडियो गेम उद्योगको एक कोसेढुङ्गा भएको बताएका छन् । एकै प्रकार र एकै ढाँचाका गेम निर्माण भइरहेको त्यस समयमा कोजिमाको प्रयत्नले भिडियो गेम उद्योगलाई नै नयाँ विषयवस्तु, डिजाइन, नवीन सोच र खोजतर्फ आकर्षित गरेको विश्लेषकहरूले बताएका छन् । त्यसैगरी 'मेटल गियर' शृङ्खलाबाहेक उनीद्वारा निर्मित 'स्न्यानचर', 'पुलिसनट्स', 'जोन अफ एर्ण्र्डस', 'बोक्ताई', 'काष्टेलभानिया : द लर्ड अफ स्याडोज' पनि उत्तिकै सफल गेम शृङ्खला हुन् । यसैगरी कोनामी कर्पोरेशनले सञ्चालन गरिरहेका सबै महत्त्वपूर्ण परियोजनामा पनि उनी उत्तिकै सक्रियतापूर्वक लागिरहेका छन् । कोजिमाका यिनै प्रयासका कारण सन् २०१० मा कोनामीले ३ अर्ब २४ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । प्रसिद्ध अमेरिकी पत्रिका न्यूजविकले कोजिमालाई सन् २००२ का विश्वका सर्वाधिक प्रभावशाली १० व्यक्तिको सूचीमा राखेको थियो । सन् २०११ अप्रिल १ देखि उनी कम्पनीका उपाध्यक्ष भएका छन् । साथै, भिडियो गेम तथा मल्टिमिडिया उत्पादन एवम् अनुसन्धान गर्ने 'कोजिमा प्रडक्सन'का निर्देशकसमेत रहेका छन् ।

12Next »Last »