शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतको औद्योगिक उत्पादन जुलाईमा सन् २००९ यताकै कम
भदौ २६, नयाँदिल्ली (भारत) । सन् २०११ को जुलाईमा भारतको औद्योगिक उत्पादन सन् २००९ यताकै सबैभन्दा न्यून बिन्दुमा रहेको छ । भारतीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनमा जुलाई महीनामा औद्योगिक उत्पादन मात्र ३ दशमलव ३ प्रतिशत रहेको बताइएको छ । सन् २०११ को जुनमा भारतीय औद्यागिक वृद्धि ८ दशमलव ८ प्रतिशत थियो । त्यसैगरी, सन् २०१० को जुलाईमा औद्योगिक उत्पादनको वृद्धिदर १० दशमलव ३ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार जुलाईमा पूँजीगत सामान उत्पादन १५ दशमलव २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा भारतको पूँजीगत समान उत्पादन ४० प्रतिशतको हाराहारीमा रहेको थियो ।

तर, सिमेण्ट, तार, धातु र मेशिनरीजस्ता पूँजीगत सामान उत्पादनमा कमी आए पनि दैनिक उपभोग्य सामानको उत्पादनमा भने ६ दशमलव २ प्रतिशतको वृद्धिदर रहेकाले सन्तोषजनक नै ठानिएको छ । नयाँ तथ्याङ्कअनुसार भारतको औद्योगिक उत्पादन मात्र २ दशमलव ३ प्रतिशतले वृद्धि भइरहेको छ । विभागले प्रतिवेदन सार्वजनिक गरेपछि गत हप्ताभरि नै घटेका भारतीय शेयरबजारमा सोमवारको कारोबारमा २ दशमलव ७५ प्रतिशतले कमी आएको थियो । विश्लेषकहरूले तीव्र गतिमा बढरिहेको मुद्रास्फीति नियन्त्रण गर्न प्रयासरत रहेको भारतीय केन्द्रीय बैङ्क (आरबीआई)का लागि औद्योगिक उत्पादनबारे सार्वजनिक भएका तथ्याङ्कहरू थप टाउको दुखाइ बन्ने बताएका छन् । सन् २०१० मार्चयता  आरबीआईले भारतमा  ९ दशमलव २२ प्रतिशत रहेको मुद्रास्फीति नियन्त्रण गर्न ११ पटक ब्याजदर वृद्धि गरिसकेको छ । प्रतिवेदन सार्वजनिक भएपछि एशियाको तेस्रो ठूलो अर्थतन्त्रको वृद्धिदर सन् २०११ मा पहिले अनुमान गरिएभन्दा कम रहने आशङ्का गरिएको छ । गत महीना भारतले सन् २०११ मा कुल गार्हस्थ्य उत्पादन विगत एक दशकयताकै सबैभन्दा कम भएर ७ दशमलव ७ प्रतिशत वार्षिक रहने बताएको थियो ।   एएफपी/रासस

इटालीमा थप खर्च कटौतीको सम्भावना  
भदौ २६, मार्सेइली (फ्रान्स) । इटालीका अर्थमन्त्री गिउलिओ ट्रेमोण्टीले उनको देशले खर्च कटौतीका थप उपाय अवलम्बन गर्नुपर्ने बताएका छन् । अहिले पनि ठूलो मात्राको खर्च कटौती योजनाबारे इटालीको संसद्मा छलफल भइरहेको छ ।

पछिल्ला हप्ताहरूमा इटाली यूरोजोनको ऋणसङ्कटमा अल्झिन पुगेको छ । उसको १० वर्षको बण्डको ब्याजदर फेरि ५ दशमलव ४ प्रतिशत पुगेको छ । पछिल्ला हप्ताहरूमा यूरोपेली केन्द्रीय बैङ्कले ठूलो मात्रामा इटालियन बण्ड खरीद गरे तापनि इटालीको वित्तीय सङ्कट समाधान हुन सकेको छैन ।

इटालीको सार्वजनिक ऋण उसको आर्थिक उत्पादनको झण्डै १ सय २० प्रतिशत रहेको छ, जुन यूरोजोनकै उच्चमध्ये हो । तर, यूरोजोनको तेस्रो ठूलो देश भएकाले ग्रीस, आयरल्याण्ड र पोर्चुगलकै जस्तो ऋणमोचन कार्यक्रम अनुपयुक्त देखिन्छ ।

बजारको बढ्दो दबाब रईसीबीको बण्ड खरीदको पूर्वशर्तका कारण इटालीले गत महीना ऋण घटाउने नयाँ उपायहरू चालिने प्रतिबद्धता गरेको थियो । ३ वर्षभित्र ७० अर्ब डलरभन्दा बढीले खर्च कटौती गर्ने कार्यक्रमलाई सिनेटले पारित गरेपछि आगामी हप्ता तल्लो सदनमा जाने भएको छ ।  एपी/रासस

ग्रीससँग अक्टोबरसम्मका लागि मात्र पुग्ने रकम
भदौ २६, एथेन्स (ग्रीस) । ऋणसङ्कटले ग्रस्त ग्रीससँग आगामी महीनासम्मका लागि मात्र पुग्ने रकम रहेको त्यहाँका सहायक अर्थमन्त्रीले बताएका छन् । सोमवार अर्थमन्त्री फिलिप्पो साचिनीडिसले एक टेलिभिजन अन्तरवार्तामा यस्तो जानकारी दिएका हुन् । साचिनीडिसका भनाइले केही दिनअघि नाम उल्लेख नगर्ने शर्तमा ग्रीससँग केही हप्तालाई मात्र पुग्ने रकम रहेको बताउने एक उच्च सरकारी अधिकारीको भनाइलाई पुष्टि गरेको छ । अन्तरवार्तामा सहायक मन्त्री आफूहरू यो गम्भीर समस्याको समाधान गर्न लागिपरेको बताए । सहायक मन्त्रीको भनाइले आगामी महीना यूरोपियन युनियन र्(इयू) र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट थप आर्थिक सहायता खोजिरहेको ग्रीसको दयनीय अवस्था स्पष्ट भएको विश्लेषकहरूले
बताएका छन् ।

यसैबीच ग्रीसले बजेटघाटा कम गर्ने सार्वजनिक खर्च कटौती कार्यक्रमअन्तर्गत आइतबार घरजग्गा करमा वृद्धि गरेको छ । अर्थमन्त्री इभाञ्जेलोस भेनिजेलोस ले त्यसबारे जानकारी दिँदै ग्रीसको मन्त्रिपरिषद्को यो निर्णयबाट सरकारी कोषमा २ अर्ब यूरो थपिने र बजेटघाटा कम हुने बताए । यसबाट ग्रीसको बजेटघाटा देशको कुल गार्हस्थ्य उत्पादनको ८ दशमलव १ प्रतिशतमा झर्ने उनको कथन थियो । आफूले यसअघि गरेका प्रतिबद्धताहरू पूरा नगरे यूरोजोनबाट निष्कासन गरिने जर्मनी र फ्रान्सले बताइरहँदा ग्रीसमाथि ठूलो दबाब पर्दै आएको छ ।  एजेन्सी

यूएस ओपनको महिला उपाधि सामन्था स्टोसुरलाई
भदौ २६, न्यूयोर्क (अमेरिका) । सन् २०११ को यूएस ओपन ग्राण्डस्लाम टेनिसको महिला उपाधि अष्ट्रेलियाकी सामन्था स्टोसुरले हात पारेकी छन् । आइतवार न्यूयोर्कमा भएको फाइनल स्पर्धामा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराउँदै स्टोसुरले यूएस ओपन कप जितेकी हुन् । २७ वर्षीया सामन्थाले सेरेनालाई अत्यन्त रोमाञ्चक खेलमा ६-२ र ६-३ को सोझो सेटमा पराजित गरेकी थिइन् । विजयपछि कोर्टमा अत्यन्त हषिर्त मुद्रामा बोल्दै उनले यो आफ्नो जीवनकै सबैभन्दा राम्रो दिन भएको र न्यूयोर्कस्थित कोर्टमा यो दिन देख्न पाएकोमा आफू भाग्यमानी रहेको प्रतिक्रिया दिइन् । आफ्नी प्रतिस्पर्धी सेरेनालाई धन्यवाद दिँदै उनी एक महान् खेलाडी रहेको र टेनिसमा उनले धेरै चमत्कारहरू गरेको स्टोसुरले बताइन् ।

तर, म्याच हारेकी सेरेनाले फाइनलमा देखाएको उत्तेजक व्यवहारको भने छानबिन हुने भएको छ । सामन्था स्टोसुरसँग दोस्रो सेटको खेल भइरँदा सेरेना 'चेयर अम्पायर' एभा एष्डेराकीसँग बम्कीएकी थिइन् । उनको त्यस्तो व्यवहारप्रति आपत्ति गर्दै उनलाई 'यूएस टेनिस एशोसिएशन'ले मौखिक चेतावनी दिएको छ । साथै, यसबारे छानबिनपछि सेरेनालाई थप कारबाही हुन सक्ने एशोसिएशनका अधिकारीहरूले बताएका छन् । उनलाई जरीवाना र केही खेलमा प्रतिबन्ध लगाउन सक्ने बताइएको छ । पत्रकारहरूसँग कुरा गर्दै उनले यूएस ओपनको यो संस्करणमा आफूमात्रै फाइनलमा पुग्ने अमेरिकी रहेको र 'सेप्टेम्बर ११' मा भएको यो खेलमा जितेर अमेरिकाको शान उँचो पार्ने सपना देखेको बताइन् । आफूले कुनै पनि नियम उल्लङ्घन नगरेको सेरेनाको कथन थियो ।                    एजेन्सी

फ्रान्सका पूर्वराष्ट्रपति र प्रधानमन्त्रीमाथि भ्रष्टाचार आरोप
भदौ २६, पेरिस (फ्रान्स) । फ्रान्सका पूर्वराष्ट्रपति ज्याक शिराक तथा पूर्वप्रधानमन्त्री दोमिनिक दे भिल्पाँले भ्रष्टाचारको मुद्दा खेप्ने भएका छन् । उनीहरूले पश्चिम अप्रिmकी नेताहरूबाट झण्डै २ करोड डलरबराबरको अवैध सम्पत्ति प्राप्त गरेको एक मध्यस्थकर्ता वकिलको दाबी छ । आफूले सन् १९९५ देखि २००५ बीच पैसाले भरिएको सुटकेश ती नेताहरूलाई दिएको कानून व्यवसायी रोबर्ट बोर्जीको भनाइ छ । बोर्जीका अनुसार शिराकको सन् २००२ को राष्ट्रपतीय उम्मेदवारीका लागि सेनेगल, बुर्किना फासो, आइभरी कोष्ट, गेबन र कङ्गोका नेताहरूबाट १ करोड डलर प्राप्त भएको थियो । भिल्पाँ र शिराक दुवैले बोर्जीको दाबी अस्वीकार गरेका छन् ।

शिराकमाथि उनी पेरिसको मेयर रहेकै बेला भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलिरहेको छ । त्यसका साथै, आगामी वर्षहुन लागेको फ्रान्सेली राष्ट्रपतिको निर्वाचन प्रचार तातिरहेकै बेला शिराकमाथि थप आरोप लागेको छ । पछिल्लो आरोपबाट फ्रान्सको उसका पूर्व उपनिवेश तथा तानाशाही सरकारहरूसँगको सम्बन्धबारे पनि प्रश्नचिन्ह उठेको छ । तर, बोर्जीको आरोपको प्रतिवाद गर्दै उनीमाथि मानहानीको मुद्दा हाल्ने शिराकका वकिल जाँ भेलले बताएका छन् ।    एपी/रासस

12Next »Last »