शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विश्वभरिका बोइङ ७३७ मा सुरक्षा जाँच

चैत २६, फिनिक्स (अमेरिका) । अमेरिकाको एरिजोनामा उडिरहेको एउटा बोइङ ७३७ मा आएको गडबडीले आपतकालीन अवतरण गरिएपछि उक्त मोडेलका सयौं बोइङ विमानको परीक्षण गरिने भएको छ । अप्रिल १ को उडानमा रहेको १५ वर्षपुरानो उक्त बोइङ ७३७-३०० विमानको यात्रुकक्षको छतमा प्वाल परेको थियो । १ सय १८ यात्रुमध्ये कसैलाई पनि गम्भीर चोटपटक लागेको थिएन । तर, विमानलाई छिटो तल ओराल्नुपरेकाले यात्रुहरूलाई रिङ्गटा लाग्नुका साथै अक्सिजन मास्क प्रयोग गर्नुपरेको थियो ।    विमानमा सानो र पत्ता लगाउनै गाह्रो आल्मुनियमको परत चर्किएको पाइएको थियो  । त्यसैले सुरक्षाका कारणले उक्त मोडलको सबै विमान जाँच गरिने भएको छ । जापान, इण्डोनेशिया, दक्षिण कोरिया र अन्य देशले बोइङलाई छिटो जाँच गर्न भनेका छन् । त्यसैगरी विश्वका अन्य विमानसेवा कम्पनीले पनि आफ्ना बोइङ ७३७ को जाँच  गरिरहेका छन् । एपी/रासस  

भारतमा कारको विक्रीमा ३० प्रतिशतले वृद्धि

चैत २६, नयाँ दिल्ली (भारत) । गत वर्षभारतमा कारको विक्रीमा दशककै सर्वाधिक ३० प्रतिशतले वृद्धि भएको छ । । मार्च २०११ मा सकिएको वर्षमा कारको विक्री २००० पछिकै सर्वाधिक रहेको छ । यसअघि २००० मा कारको विक्रीमा ६० प्रतिशतले वृद्धि भएको थियो । जापानी लगानी भएको भारतको सबैभन्दा अग्रणी कार निर्माता मारुती सुजुकीको विक्रीमा २६ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, दक्षिण कोरियाको हुण्र्डाई मोटरको विक्रीमा १३ दशमलव ९५ प्रतिशतको वृद्धि भएको छ ।     
 
तर, कच्चा पदार्थको मूल्यमा भइरहेको वृद्धिले आगामी दिनमा कारको विक्रीलाई प्रभावित गर्ने सोसाइटी अफ इण्डियन अटोमोबिल म्यानु फ्यार्क्चस(सिआम)ले बताएको छ । २०१० को वर्षले कारको विक्रीमा सुदृढ आधार तयार गरेको सिआमका प्रेजिडेण्ट पवन गोयन्काले बताए । भारत चीनपछि विश्वकै तीब्र वृद्धि भइरहेको गाडी बजार हो । तर, वस्तुको मूल्यमा भइरहेको वृद्धि र ऋण खर्चमा भएको वृद्धिले यस वर्षको विक्री भने १६ देखि १८ प्रतिशतमा झर्ने गोयन्काले जानकारी दिए । मूल्यस्फीति नियन्त्रणका लागि केन्द्रीय बैङ्कले मौद्रिक नीतिमा कर्डाई गरेकोले ऋण खर्च महँगिएको हो पश्चिमी विकसित देशका बजार संतृप्त हुँदै गएका छन् भने भारतीय बजारमा दिगो विस्तार भइरहेको छ । त्यसैले, अन्तरराष्ट्रिय गाडी निर्माताहरू भारतमा आफ्ना गाडी बेच्न तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । हालसालै, फोर्ड, रेनाँ निसान, जेनरल मोटर्स र भोल्क्सर्वागनले भारतमा नयाँ मोडेलका गाडी  ल्याएका छन् ।   एएफपी/रासस  

जापानबाट आयातित खाद्यमा विश्वभरि सतर्कता

चैत २६, बेइजिङ (चीन) । चीनले जापानबाट आयातित खाद्यवस्तु तथा उत्पादनमाथिको प्रतिबन्धलाई थप विस्तार गरेको छ । मार्च ११ मा आएको भूकम्प र सुनामीबाट क्षतिग्रस्त आणविक केन्द्रबाट विकिरण प्रदूषण भएको आशङ्कामा प्रतिबन्ध लगाइएको हो । शुक्रवार जारी हालको नयाँ प्रतिबन्ध अनुसार, फुकुशीमा आणविक केन्द्र नजिकका १२ प्रान्तबाट खाद्यपदार्थ, कृषि उत्पादन, र पशुदानाको आयातमाथि प्रतिबन्ध लगाइएको छ । यसअघि फुकुशिमा नजिकका पाँचओटा प्रान्तबाट आयातित वस्तुमा मात्र प्रतिबन्ध लगाइएको थियो । साथै, जापानको अन्य क्षेत्रबाट आयातित खाद्यवस्तुले पनि विकिरणमुक्त रहेकोबारे प्रमाणपत्रका साथै उदगमस्थलबारे पनि जानकारी दिनुपर्नेछ ।

क्षतिग्रस्त आणविक केन्द्र नजिकका क्षेत्रबाट आयातित खाद्यपदार्थमा रूस, अमेरिका, दक्षिण कोरिया, ताइवान र सिङ्गापुरले पनि प्रतिबन्ध लगाइसकेका छन् । यूरोपियन युनियनले पनि शुक्रवार जापानबाट आयातित खाद्यवस्तुमा विकिरण मापदण्डलाई कडाइ गरेको छ । उता भारतले भने जापानभरिबाटै गरिने खाद्य पदार्थको आयातमा तीनमहीने प्रतिबन्ध लगाएको छ । यसप्रकार, जापानभरिबाट आउने खाद्यमा प्रतिबन्ध लगाउने भारत पहिलो देश हुन पुगेको छ । तीन महीना वा विकिरणको तह सुरक्षित अवस्थामा आइपुगेको प्रमाण उपलब्ध नभएसम्मको लागि जापानबाट हुने खाद्य पदार्थको आयातमा प्रतिबन्ध लगाइएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।  रोयटर्स/एएफपी/रासस

आईएमएफद्वारा तेलको आपूर्ति घटने र मूल्य बढ्ने चेतावनी

चैत २६, वासिङ्गटन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले तेलको मूल्यमा अझै चर्को वृद्धि हुनसक्ने सम्भावना रहेकोले त्यसका लागि देशहरूलाई तयार रहन सचेत गराएको छ । तेलको आपूर्तिमा कमी हुनुका साथै खासगरी उदीयमान अर्थतन्त्रमा माग बढेकोले भाउ अझै चर्किने चेतावनी आईएमएफले दिएको हो । 'गत दशकमा तेलको मूल्यमा लगातार वृद्धि भइरहेबाट अन्तरराष्ट्रिय तेल बजार अभावको चरणमा प्रवेश गरेको देखिन्छ,’ आईएमएफको प्रतिवेदनले भनेको छ । प्रतिवेदनका प्रमुख लेखक टमस हेलब्लिङले तेलको आपूर्तिमा ओरालो लागिरहेको जानकारी दिएका छन् ।  अर्कोतर्फ विश्वकै धेरै जनसङ्ख्या भएका उदीयमान देशमा तेलको माग बढिरहेको छ । हाल चीन विश्वकै सबैभन्दा ठूलो ऊर्जा खपतकर्ता हो । तर, अझै पनि चीनको तेल खपत अमेरिकाको भन्दा आधा मात्र छ ।  

अमेरिकाजस्ता उच्च आम्दानी भएका देशहरूले ऊर्जा खपतमा थोरै वा नगण्य मात्राले बढाएर दिगो आर्थिक वृद्धि कायम राख्न सक्छन् । तर, मध्यम र न्यून आम्दानी भएका अर्थतन्त्रमा प्रतिव्यक्ति आम्दानीसँगै ऊर्जा खपत पनि बढ्दै जानेछ । तेलको आपूर्तिमा अचानक एकैचोटी कमी नआएर विस्तारै घट्दै जानेमा आईएमएफले जोड दिएको छ । त्यसले व्यापार असन्तुलन पनि बढ्नुका साथै विश्वव्यापी स्थिरतामा पनि जोखिम आउने मुद्रा कोषको मूल्याङ्कन छ । साथै, तेलको अभाव हुन नदिन वैकल्पिक ऊर्जा स्रोतको विकासमा जोड दिनुपर्नेमा आईएमएफको जोड छ ।  एएफपी/रासस  

दिल्लीको पानीमा खतरा कीटवंशाणु


चैत २६, लण्डन (ब्रिटेन) । नयाँ दिल्लीबाट लिइएका पानीका नमूनामा अतिखतरनाक कीटवंशाणु (जीन) फेला परेका छन् । उक्त वंशाणुले धेरै प्रकारका ब्याक्टेरियालाई अतिसङ्क्रामक (सुपरबग) बनाउन सक्छन् । नयाँ दिल्लीको खानेपानी र गल्लीका पानीका नमूनामध्ये एक तिहाइमा त्यस्तो वंशाणु फेला परेका हुन् । नयाँ दिल्लीकै नाममा उक्त वंशाणुको नाम पनि राखिएको छ । एनडीएम-१ भनिने ती नयाँ वंशाणुमाथि औषधीले पनि काम गर्दैन । नयाँ दिल्लीको वातावरणमा व्यापक रहेका ती वंशाणु विश्वभरि नै फैलिन सक्ने आशङ्का गरिएको छ । त्यस्तो वंशाणु भएको ब्याक्टेरियाविरुद्धको उपचारमा एकदमै महँगो र विषालु एण्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । २००८ मा सबैभन्दा पहिले पत्ता लागेको उक्त वंशाणु अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, क्यानडा र स्वीडेनमा पनि देखा परिसकेको छ । खासगरी भारत, पाकिस्तान र बङ्गलादेश भ्रमण गरेका व्यक्तिमा त्यस्तो सङ्क्रमण पाइएको थियो ।   'यो भविष्य आइपर्ने समस्या होइन् । यस्ता सङ्क्रमणले अहिले पनि मानिसको मृत्यु भइरहेको छ,’ एक वैज्ञानिक तथा ब्रिटेनका स्वास्थ्य सुरक्षा निकायका अध्यक्ष डेभिड हेम्यानले भने । कतिपय भारतीय वैज्ञानिकले भने त्यस्तो वंशाणु जताजतै पाइने भएकाले अनावश्यक त्रास सृजना नगर्न आग्रह गरेका छन् । एपी/रासस

भ्रष्टाचारविरुद्ध हजारेको विजय

चैत २६, नयाँ दिल्ली (भारत) । भारतका वयोवृद्ध अभियन्ता अन्ना हजारेले आफ्नो पाँच दिन लामो भोकहडताल शनिवार तोडेका छन् । भ्रष्टाचारविरोधी विधेयकलाई अझ कडा बनाउने उनको शर्तलाई भारत सरकारले स्वीकार गरेपछि हजारेले भोकहडताल तोडेका हुन् । सात दशक उमेर नाघिसकेका हजारेको समर्थनमा देशव्यापी रूपमा हजारौंले ऐक्यबद्धता प्रकट गरेका थिए । हजारेले भ्रष्टाचारविरोधी स्वतन्त्र निकाय स्थापना गरिनुका साथै उक्त निकायलाई मन्त्री, उच्चपदस्थ कर्मचारी, र न्यायाधीशसमेतलाई कारबाही गर्न सक्ने अधिकार दिनुपर्ने माग गरेका थिए । त्यसका लागि 'जन लोकपाल’ भनिने भ्रष्टाचारविरोधी विधेयकमा स्वतन्त्र अभियन्ताहरूलाई पनि समावेश गर्नुपर्ने हजारेको माग थियो ।

प्रधानमन्त्री मनमोहन सिंहले हजारेको मागलाई स्वीकार गरेका छन् । 'भ्रष्टाचार हामी सबैको लागि अभिशाप हो । सरकारले संसद्को आगामी बैठकमा लोकपाल विधेयक प्रस्तुत गर्नेछ,’ सिंहले एक विज्ञप्तिमा भनेका छन् । उता हजारेले अगस्त १५ सम्ममा भ्रष्टाचारविरोधी उक्त कानून लागू नभए अर्को आन्दोलन शुरू गरिने चेतावनी दिएका छन् । ट्रान्सपरेन्सी इण्टरनेशनलको पछिल्लो भ्रष्टाचार परिसूचकमा भारत ८७औं स्थानमा छ जुन उसको प्रतिस्पर्धी मानिने चीनको ७८औं भन्दा खराब अवस्था हो । रोयटर्स

डाक्टरलाई घूस खुवाएको आरोपमा जरीवाना

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनलाई शुक्रवार ७ करोड डलर जरीवाना गरिएको छ । जोन्सन एण्ड जोन्सन बजारको हिसाबले अमेरिकाको १५औं ठूलो कम्पनी हो । शृङ्गार साधन र औषधि उत्पादन गर्ने उक्त कम्पनीले यूरोपेली डाक्टरहरूलाई घूस खुवाएको र इराकमा संयुक्त राष्ट्र सङ्घबाट ठेक्का पाउन पैसा खुवाएको आरोप छ । अमेरिकाको न्याय विभाग (डिपार्टमेण्ट अफ जष्टिस) तथा सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन(सेक)का अनुसार, उक्त कम्पनीले १९९८ देखि नै ग्रीस, पोल्याण्ड र रोमानियाका डाक्टर र अस्पताल प्रशासकलाई पैसा खुवाउँदै आएको थियो । ठेक्का पाउन तथा आफ्ना औषधि र उपकरण बेच्न उसले पैसा खुवाएको हो । त्यसैगरी, २००० देखि २००३ सम्म संयुक्त राष्ट्रसङ्घीय खाद्यका लागि तेल कार्यक्रमअन्तर्गत १९ ओटा ठेक्काका लागि पनि पैसा खुवाएको थियो । इराकमा सद्दाम हुसेनकै शासन रहेको बेला इराकीहरूलाई मानवीय सहायताअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो  । जोन्सन एण्ड जोन्सनले मुद्दा फछर्योटका लागि ७ करोड डलर तिर्न स्वीकार गरेको छ । त्यसअन्तर्गत, उसले ४ करोड ८६ लाख डलर न्यायविभाग र २ करोड १४ लाख डलर सेकलाई तिर्नेछ । 'यस मुद्दाले स्पष्ट सन्देश दिएको छ । भ्रष्टाचार गरेर गरिएको कुनै पनि फाइदा अन्ततः एउटा भ्रम साबित हुनेछ,’ सेकका एक निर्देशक रोबर्ट खुजामीले भने । एएफपी/रासस

रूसमा स्काइप, जीमेल, हटमेल प्रतिबन्धको प्रस्ताव

चैत २६, मस्को (रूस) । स्काइप, जीमेल र हटमेलले राष्ट्रिय सुरक्षामा जोखिम पुर्याएको भन्दै तिनलाई प्रतिबन्ध लगाइनुपर्ने मागलाई क्रेमलिनका एक अधिकारीले अस्वीकार गरेका छन् । रूसको प्रमुख आन्तरिक सुरक्षा निकाय एफएसबीका एक उच्च अधिकारीले शुक्रवार त्यस्तो प्रस्ताव राखेका थिए । रूसको सबैभन्दा लोकप्रिय ब्लगिङ साइट र एउटा स्वतन्त्र समाचारपत्रको वेबसाइटमा साइबर आक्रमण भएपछि त्यस्तो माग गरिएको थियो ।    क्रेमलिनका एक अज्ञात अधिकारीले साइबर आक्रमणको शनिवार निन्दा गरेका छन् । तर, विदेशी इण्टरनेट सेवालाई नै प्रतिबन्ध लगाउन भने उनले अस्वीकार गरे । तर, रूसी अधिकारीहरूले आउँदो निर्वाचनलाई ध्यानमा राखेर सञ्चारमाध्यममा नियन्त्रण गर्न खोजेको कतिपय विश्लेषकले बताएका छन् । एपी/रासस

Admin 2011-04-10