युनुसको मुद्दा सर्वोच्च अदालतमा
फागुन २६, ढाका (बङ्गलादेश) । बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले आफूलाई ग्रामीण बैङ्क प्रमुखबाट बर्खास्त गरिएको निर्णयविरुद्ध त्यहाँको सर्वोच्च अदालतमा चुनौती दिएका छन् । केन्द्रीय बैङ्कले आफूलाई बर्खास्त गरेको निर्णयाई तत्काल खारेज गर्न पनि युनुसले अदालतलाई अनुरोध गरेका छन् । १९८३ मा युनुसले नै ग्रामीण बैङ्कको स्थापना गरेका थिए ।ग्रामीण बैङ्कले कुनै धरौटीविना नै गरीब उद्यमीलाई लघुकर्जा दिने गर्छ । बङ्गलादेशको ग्रामीण क्षेत्रमा उक्त बैङ्कका ८० लाख ऋणीहरू छन् । सत्तरी वर्षीय युनुसले लघुवित्त नगद ऋणबाट गरीबी निवारणमा योगदान पुर्याएकाले विश्वप्रसिद्ध छन् । केही समय अघिदेखि युनुस र प्रधानमन्त्री शेख हसिनाको सम्बन्धमा तनाव आएको थियो । त्यसका कारण युनुसमाथि राजनीतिक प्रतिशोध लिइएको उनका समर्थकहरूको दाबी छ ।
हालै मात्र उच्च अदालतले युनुसलाई बर्खास्त गर्ने केन्द्रीय बैङ्कको निर्णयाई सदर गरेको थियो । 'उच्च अदालतको निर्णयाथि पुनरवलोकन गर्न तथा केन्द्रीय बैङ्कको निर्णयखारेजीका लागि सर्वोच्च अदालतमा निवेदन पेश गरिएको छ,’ युनुसका एक वकिल तनिम हुसेन शावनले भने । युनुसलगायत ग्रामीण बैङ्क सञ्चालक समितिका नौ सदस्यले पनि त्यस्तो निवेदन दिएका छन् । सर्वोच्च अदालतको पूर्ण इजलासले मार्च १५ मा उक्त निवेदनमाथि सुनुवाई गर्ने शावनले बताएका छन् । यसैबीच मङ्गलवार अमेरिकी विदेशमन्त्री हिलारी क्लिण्टनले पनि युनुसलाई टेलिफोन गरेर उनीप्रति आफूहरूको समर्थन रहेको सङ्केत गरेकी छिन् । रोयटर्स
द. कोरियाली बैङ्कले ब्याजदर फेरि बढायो
फागुन २६, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको केन्द्रीय बैङ्कले तीन महीनाभित्रै दोस्रोपटक प्रमुख ब्याजदरहरूमा वृद्धि गरेको छ । हालको मूल्यस्फीति गत २ वर्षयताकै उच्च हुन पुगेकाले बैङ्कले बिहीवार पुनः ब्याजदर बढाएको हो । बैङ्कले आधारभूत ब्याजदरलाई २ दशमलव ७५ प्रतिशतबाट बढाएर ३ प्रतिशत पुर्याएको छ । ब्याजदरमा वृद्धि गरिएपछि धेरै प्रकारका ऋणमा लाग्ने खर्चहरू प्रभावित हुनेछन् । तिनमा वित्तीय संस्थाहरूबीचको ऋणदेखि घरजग्गा कर्जा र क्रेडिट कार्डको ऋणसम्म पर्छन् । दक्षिण कोरियाको उपभोक्ता मूल्य परिसूचक फेब्रुअरीमा सन् २००८ को नोभेम्बरपछिकै उच्च हुन पुगेको थियो । त्यस्तो मूल्यस्फीतिले लगातार दोस्रो महीनासम्म केन्द्रीय बैङ्कको लक्षित मूल्यस्फीतिलाई नाघेको थियो । त्यसैले अपेक्षा गरेअनुरूप नै बैङ्कले फेरि ब्याजदर बढाएको छ । उच्च मूल्यस्फीतिका कारण दक्षिण कोरियालगायत चीन, भारत, ब्राजिल र थाइल्याण्डले पनि हालै ब्याजदर बढाएका छन् । एपी/रासस
चीनको व्यापार घाटा सात वर्षपछि सबैभन्दा धेरै
फागुन २५, बेइजिङ (चीन) । चीनलाई फेब्रुअरीमा ७ अर्ब ३० करोड डलर व्यापार घाटा भएको छ । उक्त परिमाणको व्यापार घाटा ७ वर्षयताकै सबैभन्दा धेरै हो । यत्रो परिमाणको व्यापार घाटालाई चिनियाँ बजारमा आश्चर्यजनक मानिएको छ । गत वर्षको मार्चपछिकै पहिलो व्यापार घाटा फेबु्रअरीमा भएको छ । त्यसैगरी हालको व्यापार घाटा २००४ को फेब्रुअरीपछिको सबैभन्दा ठूलो व्यापार घाटा पनि हो । अर्थशास्त्रीहरूले ४ अर्ब ९५ करोड डलरको व्यापार नाफा हुने अनुमान गरेका थिए । त्यसैले हालको घाटालाई उनीहरूले अस्थायी प्रकृतिको बताएका छन् । 'हामीले गत महीना निर्यात घट्ने अपेक्षा गरेका थियौं । तर, यति कम निर्यात होला भन्नेचाहिँ अपेक्षा गरेका थिएनौं,’ सङ्र्घाईका एक विश्लेषकले भने । निर्यात र आयात दुवै क्षेत्रमा केही सुस्ती आउनुलाई बजारमा आर्श्चर्यजनक मानिएको छ ।तर, हालको व्यापार घाटा चीन सरकारका लागि कम्तीमा दुई किसिमले फाइदाजनक हुनेछ । पहिलो, मुद्रास्फीतिजन्य दबाबलाई कम गर्न सहयोग पुग्नेछ । त्यस्तै, युआनलाई बलियो बनाउन गरिएको आग्रहलाई टार्न पनि सजिलो हुनेछ । विगतका वर्षहरूमा ठूलो व्यापार नाफाले गराएको नगदको आप्रवाहले हाल चीनमा मूल्यस्फीति गराइरहेको छ । रोयटर्स
कृषिवस्तुको व्यापारमा नियमनको आह्वान
फागुन २६, जेनेभा (स्वीट्जरल्याण्ड) । कृषि वस्तुको व्यापारमा नियमनका लागि खाद्य अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विशेषज्ञहरूले मङ्गलवार आह्वान गरेका छन् । खाद्यवस्तुको मूल्यमा कृत्रिम वृद्धि गराइरहेको सट्टेवाजीलाई रोक्न नियमन गर्नुपर्ने विशेषज्ञहरूको सुझाव छ । तेलको उच्च मूल्यले अवस्था झनै चर्किन सक्ने संयुक्त राष्ट्रसङ्घका खाद्य अधिकार विशेष प्रतिनिधि ओलिभियर डे शुट्टरले चेतावनी दिएका छन् । 'तेलको मूल्य र खाद्यवस्तुको मूल्यबीच नजिकको सम्बन्ध छ । त्यसैले आगामी केही महीनाहरू अत्यन्त कठिन हुनसक्ने देखिएको छ,’ शुट्टरले भने । हेज फण्ड र पेन्सन फण्डले कृषि वस्तुको बजारमा सट्टेवाजी गराएको शुट्टरको मूल्याङ्कन छ । त्यसबाट बजार अस्थिर हुन गई कृत्रिम रूपले खाद्यवस्तुको मूल्यवृद्धि भइरहेकोमा शुट्टरले चिन्ता व्यक्त गरेका छन् । एएफपी/रासस
फेसबूकका ६ जना अर्बपति
गूगलका संस्थापक २४औं स्थानमै
फागुन २६, न्यूयोर्क (अमेरिका) । सामाजिक सञ्जाल फेसबूकका ६ जना संस्थापक तथा लगानीकर्ता यस वर्षको अर्बपति सूचीमा आउन सफल भएका छन् । फोर्ब्स पत्रिकाले बुधवार प्रकाशित गरेको यस वर्षको सबैभन्दा धनीहरूको सूचीमा ६ जना फेसबूकबाट सूचीकृत भएका छन् । फेसबूकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरवर्ग विश्वको सबैभन्दा धनीहरूमध्ये ५२औं स्थानमा छन् । २०१० मा मार्क २१२औं स्थानमा थिए । त्यसपछि उनको सम्पत्तिमा ४ अर्ब डलरले वृद्धि भएर हाल १३ अर्ब ५० करोड डलर पुगेको छ । फेसबूकका सहसंस्थापक डष्टिन मोस्कोभिच सबैभन्दा कम उमेरका अर्बपति हुन् । उनी मात्र २६ वर्षका छन् ।त्यसैगरी एडुआर्डो साभरिन तथा फेसबूकका लगानीकर्ताहरू सिन पार्कर र युरी मिल्नर पहिलो पटक अर्बपतिमा सूचीकृत भएका छन् । फेसबूकका अर्का लगानीकर्ता पिटर थिएल भने पहिलेको ८२८औं स्थानबाट झरेर ८३३औं स्थानमा पुगेका छन् । तर, उनको सम्पत्ति भने १ अर्ब २० करोड डलरबाट बढेर १ अर्ब ५० करोड डलर पुगेको छ ।
त्यसैगरी गूगलका संस्थापक सेर्गेई ब्रिन र लारी पेज दुवै जना यसअघिकै २४ औं स्थानमा यथावत् रहेका छन् । तर, उनीहरूको सम्पत्ति भने प्रत्येकको १७ अर्ब ५० करोड डलरबाट बढेर १९ अर्ब ५० करोड पुगेको छ । त्यसैगरी, चिनियाँ सच इञ्जिन बाइडूका सञ्चालक रोबिन लीको सम्पत्ति ९ अर्ब ४० करोड डलरमा मापन गरिएको छ । चीनकै व्यापार कारोबार गर्ने साइट अलिबाबा डटकमका संस्थापक ज्याक माको सम्पत्ति भने १ अर्ब ६० करोड डलर छ ।
रोयटर्स
उद्योगपति र बैङ्क अधिकारी पक्राउ
फागुन २६, लण्डन (ब्रिटेन) । ब्रिटेनको प्रहरीले दुईजना धनाढय उद्यमीसहित नौजनालाई पक्राउ गरेको छ । उनीहरूमाथि २००८ मा विश्वव्यापी वित्तीय सङ्कटका बेला धोखाधडी गरेर आइसल्याण्डको कप्थिङ बैङ्कलाई धराशयी बनाएको आरोप छ । ब्रिटेनको गम्भीर धोखाधडी अनुसन्धान निकाय सिरियस फ्रड अफिसका अनुसार लण्डनस्थित दुई व्यवसाय र आठओटा घरमा छापा मारेर सातजनालाई पक्राउ गरिएको छ । अन्य दुईजनालाई पनि आइसल्याण्डको राजधानी रेकजाभिकबाट पक्राउ गरिएको छ । उद्योगपति रोबर्ट र भिन्सेण्ट चेन्गुइजले आफूहरूलाई लण्डनबाट पक्राउ गरिएको स्वीकार गरेका छन् । साथै, अनुसन्धानमा आफूहरूले सघाइरहेको पनि बताएका छन् । आइसल्याण्डका सञ्चारमाध्यमले कप्थिङ बैङ्कका अध्यक्ष सिगुर्डुर एइनासनलाई पनि लण्डनबाट पक्राउ गरिएको बताएका छन् । विश्वव्यापी सङ्कटको शुरूतिरै कप्थिङ बैङ्कलगायत अन्य प्रमुख बैङ्कहरू ठूलो ऋणका कारण धराशयी भएपछि आइसल्याण्डको अर्थतन्त्र सङ्कटमा परेको थियो । एपी/रासस
Admin 2011-03-11