कर छलीविरुद्ध विश्व अभियान
माघ २६, डाकार (सेनेगल) । विश्व सामाजिक परिषद् (वर्ल्ड सोसियल फोरम) सँग सम्बद्ध नागरिक समाजले मङ्गलवारदेखि एउटा अभियान सञ्चालन गरेको छ । बहुराष्ट्रिय कम्पनीहरूले कर छलेर लुकाएको सम्पत्तिबारेको गोप्यताको अन्त्य हुनुपर्ने अभियानको माग छ । करमा गरिएको त्यस्तो छलीले विकासशील देशहरूलाई ठूलो नोक्सान भइरहेको मानिन्छ । 'विकासशील देशहरूले अनुदानमार्फत पाउने रकमभन्दा कर छलीबाट गुमाउने रकमको मात्रा निकै ठूलो छ । तर, धेरै कम मानिसलाई मात्र यो कुराको हेक्का छ । कर र विकासकार्यबीच सम्बन्ध सृजना गर्नु अति आवश्यक छ,’ लण्डनस्थित समूह क्रिश्चियन एडकी मारियाना पाओलीले भनिन् । उक्त समूहलगायत अक्सफाम, टटाक्स जस्टिस नेटवर्क अफ्रिका र अन्यले समेत त्यस्तो अभियानमा भाग लिएका छन् । विकसित राष्ट्रका समूह जी२० लाई आर्थिक गोपनीयताको अन्त्य गरी कर छल्ने कार्यलाई निरुत्साहित गर्न अभियानले आह्वान गरेको छ ।
विकासशील देशहरूले कर घाटाबाट प्रत्येक वर्ष१ खर्ब २५ अर्ब यूरो (१ सय ७० अर्ब डलर) गुमाइरहेका ती समूहहरूको अनुमान छ । विकास सहयोगमा दिइने सम्पूर्ण रकमभन्दा पनि यो महत्त्वपूर्ण छ । किनभने आर्थिक सङ्कटका कारण देशहरूको बजेटमा ठूलो कटौती हुन जान्छ । जबकि अझै पनि लाखौं बालबालिका शिक्षाको पहुँचबाट वञ्चित छन्,’ भ्रष्टाचारविरुद्धको मामिला हेर्ने एक पूर्वन्यायाधीश इभा जोलीले भनिन् । यूरोपेली संसद्को विकास समितिका अध्यक्षसमेत रहेकी जोलीका अनुसार, गएको १० देखि १५ वर्षसम्ममा त्यस्तो कर छलीको हानिकारक असरबारे पत्ता लागेको हो । 'हामीले तिनीहरूको सामना गर्न नसक्नुको कारण के हो भने त्यसमा धेरै थरीका शक्तिको बलियो संलग्नता छ,’ जोलीले भनिन् । विश्वव्यापीकरणविरुद्ध लागेका संस्थाहरूको डाकारमा भइरहेको ६ दिने वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जोलीले त्यस्तो विचार राखेकी हुन् । 'बहुराष्ट्रिय कम्पनीहरूलाई कर छल्ने अवसर दिएर सरकारहरूले तिनलाई अनुदान दिइरहेका छन् । उता गरीब देशका नेताहरू भने भ्रष्टाचार गरेर अकूत धन थुपार्न सफल भएका छन्,’ उनले भनिन् । नागरिक समाजको उक्त गठबन्धनले विकासशील देशहरूमा आर्थिक पारदर्शिताका लागि उपायहरू खोज्न जी२० का नेताहरूलाई आह्वान गरेको छ । त्यसका लागि जी२० र त्यसको हाल सभापतित्व गरिरहेका फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीलाई सन्देश पठाउन विश्वभरिका नागरिकलाई सो अभियानले आह्वान गरेको छ । एएफपी/रासस
चीनको मौद्रिक नीतिमा कडाइ जारी
माघ २६, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्कले २०११ को पूर्वार्द्धमा उसको ब्याजदरलाई अझै दुइपटक बढाउने सम्भावना रहेको एक मतर्सर्वेक्षणले देखाएको छ । ब्याजदरलाई पूर्वार्द्धमा कुल ५० आधार अङ्कले बढाएपछि २०११ को बाँकी समयमा त्यसलाई स्थिर राखिनेछ । त्यसैगरी बैङ्कहरूले सञ्चितिमा राख्नुपर्ने रकमलाई अझै तीनपटकसम्म बढाइने सम्भावना छ । मूल्यवृद्धिको कारक रहेको अर्थतन्त्रमा प्रवाहित अतिरिक्त पैसालाई तान्ने उद्देश्यले त्यस्तो गरिनेछ । चीन र विदेशमा रहेका २४ जना अर्थशास्त्रीमाझ गरिएको रोयर्टसको मतसर्वेक्षणले त्यस्तो देखाएको हो । त्यसैगरी बेइजिङ आफ्ना क्रमबद्ध नीतिगत कडाइको बाटोमा प्रतिबद्ध रहनेछ । जुनमा मुद्रास्फीति सबैभन्दा उच्च बिन्दुमा पुग्नुअघि नै बेइजिङले कदम चाल्नेमा सर्वेक्षणमा सहभागी अर्थशास्त्रीहरू एकमत छन् । गत मङ्गलवार चीनले झण्डै ६ हप्ताभित्र दोस्रोपटक ब्याजदर बढाएको थियो । अर्थतन्त्रमा भइरहेको तीव्र वृद्धिसँगै बढेको मुद्रास्फीतिको सामना गर्न चीनले ब्याजदर बढाएको हो । चीनका नागरिकहरूले उनीहरूको बैङ्क खातामा भएका रकमलाई जग्गा र सुनमा लगानी गर्न थालेपछि बढेको मुद्रास्फीति नियन्त्रण गर्न बैङ्कले ब्याजदर बढाएको हो । रोयटर्स
खडेरीको सामना गर्न १ अर्ब डलर
माघ २६, बेइजिङ (चीन) । चीनले उसको उत्तरी क्षेत्रको ठूलो हिस्सामा परेको खडेरी सामना गर्न झण्डै १ अर्ब डलर खर्च गर्ने भएको छ । गहुँको मूल्यमा लगातार वृद्धि भइरहँदा र जाडोयाममा बालीमा भएको नोक्सानबाट गम्भीर परिणाम आउन सक्ने चेतावनी हालै संयुक्त राष्ट्रसङ्घले दिएको थियो । कतिपय क्षेत्रमा गत ६ दशककै खराब खडेरी परेको छ । त्यसैगरी कतिपय अन्न उत्पादन हुने क्षेत्रमा ३ महीनादेखि खासै पानी परेको छैन । सरकारले प्रभावित क्षेत्रमा पानीको आपूर्ति गर्न, आपत्कालीन कुवाहरूको निर्माण गर्न र सिँचाइ सुविधालगायत अन्य उपायहरूका लागि कम्तीमा ६ अर्ब युआन (९१ करोड १० लाख डलर) खर्च गर्नेछ । खडेरीको असरबारेको चिन्ताले झेङ्ग्झोउ कमोडिटी एक्सचेञ्जमा गहुँको मूल्यमा चर्को वृद्धि भएको छ । एएफपी/रासस
भारतीय दूरसञ्चार काण्डमा अधिकारी पक्राउ
माघ २६, नयाँ दिल्ली (भारत) । भारतका केन्द्रीय अनुसन्धानकर्ताहरूले दूरसञ्चार काण्डमा संलग्न रहेको आरोपमा मुम्बईस्थित एक अधिकारीलाई पक्राउ गरेका छन् । दूरसञ्चारको अनुमतिपत्रसम्बन्धी उक्त काण्डमा भारत सरकारलाई अर्बौं डलरको घाटा लागेको छ । शहीद बल्वा नामक ती अधिकारीलाई मङ्गलवार पक्राउ गरिएको सीबीआईका प्रवक्ता आरके गौडले बताए । त्यसपछि उनलाई सोधपूछका लागि नयाँ दिल्ली ल्याइएको थियो । भारतका पूर्वदूरसञ्चार मन्त्री अण्डीमुथु राजा र दुइ अन्य अधिकारीलाई पक्राउ गरेको एक हप्तापछि नै बल्वालाई सीबीआईले हिरासतमा लिएको छ । राजा र मन्त्रालयका एक पूर्वअधिकारी तथा राजाका सचिवमाथि केही दूरसञ्चार कम्पनीलाई फाइदा दिलाउन अख्तियार दुरुपयोग गरेको आरोप छ । एस्तिलात डीबीका उपप्रमुख बल्वालाई फोर्ब्स पत्रिकाले भारतको ५०औं धनी व्यक्ति घोषित गरेको छ । एएफपी/रासस
टाटाको आगलागीबाट तीनको मृत्यु
माघ २६, मुम्बई (भारत) । भारतको एक उच्च व्यापारिक घराना टाटा ग्रूपको मुम्बईस्थित प्रधान कार्यालयमा बुधवार भएको आगलागीबाट तीन जनाको मृत्यु भएको छ । चार जना घाइतेलाई अस्पताल पुर्याइएकोमा तीन जनाको मृत्यु भएको घोषणा अस्पतालका अधिकारीले गरेका थिए । चौथो व्यक्तिको अवस्था तत्काल जानकारी हुन सकेको छैन ।कम्पनीका उच्च अधिकारी बस्ने बम्बे हाउस भनिने एउटा घरको जमीनमुनिको तलामा आगलागी भएको थियो । सो तलामा चमेनाघर रहेकाले मृत्यु हुने त्यहाँका कर्मचारी हुन सक्ने सम्भावना व्यक्त गरिएको छ । आगलागीको कारणबारे छानबिन शुरू गरिएको छ । टाटा ग्रूपका अध्यक्ष रतन टाटा उक्त भवनमा नरहेको बेला आगलागी भएको एउटा समाचार च्यानलले बताएको छ । एएफपी/रासस