बङ्गलादेशमा श्रमिक र प्रहरीबीच भिडन्त
मङ्सिर २६, चटगाउँ (बङ्गलादेश) । न्यूनतम ज्यालाको नयाँ दर लागू गर्न माग राख्दै आन्दोलनमा उत्रेका बङ्गलादेशी पोशाक उद्योगका श्रमिक तथा प्रहरीबीच दक्षिणपूर्वी औद्योगिक क्षेत्रमा आइतवार भिडन्त भएको छ । सो भिडन्तमा एक श्रमिकको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएको बङ्गलादेश प्रहरीले बताएको छ ।प्रहरी अधिकृत रेजा अल हसनका अनुसार चटगाउँ निर्यात प्रशोधन क्षेत्रमा हजारौं श्रमिकहरूले कारखानामा आक्रमण तथा गाडीहरू तोडफोड गरेपछि अधिकारीहरूले टियर ग्यास तथा रबरको गोली चलाएका थिए । पोशाक, जुत्ता, तथा साइकल उत्पादन गर्ने करीब ७० विदेशी कम्पनीहरू उक्त क्षेत्रमा सञ्चालित छन् । ती कम्पनीले करीब १ लाख ५० हजार श्रमिकलाई रोजगारी दिएका दिएका छन् ।अधिकारीहरूका अनुसार आइतवार भएको भिडन्त एउटा दक्षिण कोरियाली कम्पनीका कारण भएको थियो । श्रमिकहरूले उक्त कम्पनीका पूर्वाधारमाथि आक्रमण गरेपछि कम्पनीले शनिवार अबेरबाट उसका १३ वटा पोशाक कारखानाको सञ्चालन तत्कालका लागि स्थगित गरेको थियो ।बङ्गलादेश सरकारले २००६ पछि पहिलोपटक गरिएको ज्याला वृद्धिमा न्यूनतम आधिकारिक ज्याला पहिलेको मासिक १ हजार ६ सय ६२ टाका (२५ डलर)बाट बढाएर ३ हजार टाका (४५ डलर) पुर्याएको थियो । नोभेम्बरमा लागू भएको उक्त नयाँ तलबमान धेरै कारखानाहरूले अझै लागू नगरेको श्रमिकहरूले आरोप लगाएका छन् । एपी/रासस
यौनसम्बन्धी डोमेन नेम योजना स्थगित
मङ्सिर २६, बोगोटा (कोलम्बिया) । वेबसाइटको ठेगानामा हुने डोमेन नेम नियमन गर्ने विश्व संस्थाले यौन सामग्रीसम्बन्धी वेबसाइटका लागि डट एक्सएक्सएक्स डोमेन प्रारम्भ गर्ने योजना स्थगित गरेको छ ।क्यालिफोर्नियास्थित इण्टरनेट कर्पोरेशन फर असाइण्ड नेम्ज एण्ड नम्बर्ज (आइक्यान)को कोलम्बियाली बन्दरगाह शहर कार्टाजेनामा भेला भएका नेताहरूले उक्त योजनालाई अनिश्चितकालसम्मका लागि पछि सार्ने निर्णय शुक्रवार गरेको समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बताए ।यौनसामग्रीसँग सम्बन्धित डट एक्सएक्सएक्स डोमेन स्वीकृत भएमा उक्त डोमेन डट कम, इडीयू, एमआईएल, जीओभीलगायतका उच्च तहका डोमेन (टप लेभल डोमेन(टीएलडी) का साथै सम्बन्धित कण्ट्री कोड टीएलडीसँगै उपलब्ध हुनेछ । इण्टरनेटमा प्रस्तुत यौनसामग्रीले विश्वभरमा एक सेकेण्डमा ३ हजार डलरको आम्दानी गर्दछ । अनलाइनमा गरिने खोजीहरूमध्ये 'सेक्स’ शब्द चौथो स्थानमा आउँछ । एएफपी/रासस
ग्यास पाइपलाइन निर्माणमा सहमति
मङ्सिर २६, अश्गाबा (तुर्कमेनिस्तान)। तुर्कमेनिस्तानबाट अफगानिस्तान, पाकिस्तान हुँदै भारतसम्म प्राकृतिक ग्यास पुर्याउने १ हजार ७ सय किलोमिटर लामो पाइपलाइन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । चारै देशको नामको पहिलो अक्षरबाट नामकरण गरिएको टापी प्रोजेक्ट भनिने उक्त परियोजनाबाट ऊर्जासङ्कट भोगिरहेको दक्षिण एशियाली बजारमा आपूर्ति बढ्नुका साथै पारवहन शुल्कमार्फ अफगानिस्तानले लाभ उठाउने ठानिएको छ ।तर, चार देशहरूबीच भएको उक्त सम्झौताको खाकामा सुरक्षा तथा निर्माण खर्चका बारेमा विस्तृत छलफल गरिएको छैन । पाइपलाइनले तलिबान नियन्त्रित इलाकाका साथै पाकिस्तानको समस्याग्रस्त सीमाक्षेत्र पार गर्नुपर्नेछ ।तुर्कमेनिस्तानले पहिले राखेको प्रस्तावअनुसार उक्त परियोजनामा ३ अर्ब ३० करोड डलर खर्च लाग्ने भनिए पनि अन्य अनुमानहरू अनुसार १० अर्ब डलरसम्म खर्च लाग्न सक्ने बताइएको छ । १९९० को दशकको मध्यतिर योजना बनाउन शुरु गरिएको टापी प्रोजेक्टलाई एशियाली विकाश बैङ्कले सघाएको छ । बीबीसी
ओबामा सम्बन्ध सुधारको प्रयासमा
मङ्सिर २७, वासिङटन् (अमेरिका) । ठूला व्यापारिक समूहहरूसँगको सम्बन्ध सुधारमा तीव्रता ल्याएर आप\mनो आर्थिक नीतिहरूमा समर्थन जुटाउने प्रयास स्वरूप राष्ट्रपति बाराक ओबामाले कर्पोरेट क्षेत्रका प्रमुख कार्यकारीहरूको सम्मेलन बुधवार आयोजना गर्ने भएका छन् ।२० जना व्यापारिक नेताहरूसँगको उक्त भेटघाटबाट ओबामाले उनको आफ्नै पार्टीका सांसद्हरूबाट विरोध गरिएको तथा शक्तिशाली हुँदै गइरहेका रिपब्लिकन सांसद्सामु अघिसारेको एउटा सम्झौता कर योजना अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।गत महीना भएको प्रतिनिधिसभाको चुनावमा उनको पार्टीले नराम्रो पराजय भोगेपछि ओबामाले व्यापारिक क्षेत्रसँग सम्बन्ध सुधार गर्न चाहेका छन् । व्यापारिक समूहहरूले ओबामाको स्वास्थ्यसेवा सुधार, नियमनहरूसम्बन्धी सुधार तथा उच्च बजेट घाटाप्रति चिन्ता व्यक्त गरेपछि ओबामा प्रशासन तथा व्यापारिक समूहहरूको सम्बन्धमा तनाव आएको थियो । रोयर्टस
मार्क मेडफद्वारा आत्महत्या
मङ्सिर २६, न्यूयोर्क (अमेरिका) । ठगीको आरोपमा अदालतबाट सजाय गरिएका बर्नार्ड मेडफका जेठा छोरा मार्क मेडफ न्यूयोर्क सिटीस्थित आफ्नो अपार्टमेण्टमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको पुलिस तथा उनका वकिलले शनिवार बताएका छन् । उनका पिता बर्नार्डलाई २ वर्षअघि गिरफ्तार गरिएको थियो ।पिताको संस्थामा काम गरेका ४६ वर्षीय मार्कले गत २ वर्षदेखि आफूमाथि समाजले लगाउँदै आएको झूटा आरोप तथा घोचपेचबाट उत्पन्न लगातारको दबाब सहन नसकी आत्महत्या गरेको उनका वकिलले भने ।७२ वर्षीय बर्नार्ड विश्व इतिहासमै सबैभन्दा ठूलो वित्तीय ठगी गरेको आरोप स्वीकार गरेपछि १ सय ५० वर्षको जेलसजाय भोगिरहेका छन् ।बर्नार्डले दशकौंसम्म सञ्चालित पोञ्जी स्किम भनिने योजनामार्फत लगानीकर्ताहरूलाई झुक्याएर अर्बौं डलर डुबाइदिएका थिए । 'मार्क मेडफले आफ्नो जीवन आफै समाप्त गरेका छन्, यो भयानक तथा अनावश्यक दुखान्त हो । मार्क आफ्ना पिताको अपराधका निर्दोष शिकार हुन पुगे,’ मार्कका वकिल तथा उनका भाइ एण्ड्रिउले एक संयुक्त विज्ञप्तिमा भने । रोयटर्स
अष्ट्रेलियामा बैङ्क सुधार कार्यक्रम
मङ्सिर २६, क्यानबेरा (अष्टे्रलिया) । अष्ट्रेलिया सरकारले बैङ्कहरूबीच प्रतिस्पर्धा बढाउन आइतवार सुधार कार्यक्रमको घोषणा गरेको छ । उक्त योजनाअर्न्तर्गत पहिलो पटक ऋणदाताहरूलाई सुरक्षित 'कभर्ड बण्ड' जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।'कभर्ड बण्ड' भनेको सरकारी ऋण वा मर्गेज ऋणअनुसार आउने नगदप्रवाहमा आधारित ऋणपत्र हो । भने, ब्याजदर सङ्केत गर्ने कार्यलाई ब्याजदरको प्रतिस्पर्धा घटाउन बैङ्कहरूबीच हुने मिलेमतो भनेर बुझिन्छ ।घरजग्गा बन्धकी राखेर पाइने ऋण (मर्गेज)मा लाग्ने बढ्दो ब्याजदरप्रति मतदाताहरूको आक्रोश शान्त पार्न ब्याजदर सङ्केत गर्ने कार्यमाथि पनि नियन्त्रण गर्ने व्यवस्था उक्त योजनामा रहेको छ ।
उक्त सुधार योजनाबाट हाल घरजग्गा ऋण बजारमा वर्चस्व राख्ने ठूला चार बैङ्कमाथि ग्राहकहरूको निर्भरता घट्न जानेछ, जसले गर्दा सदस्यहरूकै स्वामित्व भएको वित्तीय संस्थाहरू (म्युचूअल क्रेडिट युनियन) तथा निर्माण संस्थाहरू (बिल्डिङ सोसाइटीज)लाई अष्ट्रेलियाली वित्तीय क्षेत्रको पाँचौं खम्बा बनाउन सहयोग गर्ने अष्ट्रेलियाका अर्थमन्त्री बेन स्वानले बताए ।सूचीकृत नभएका क्रेडिट यूनियन तथा बिल्डिङ सोसाइटीहरूको स्रोत तथा ग्राहकसम्मको पहुँच सजिलो बनाउने सुधार योजनाले लक्ष्य राखेको छ । तर, त्यसले प्रमुख बैङ्कहरूको नाफा कमाउने क्षमता तथा शेयर मूल्यलाई खासै नोक्सान गर्ने सम्भावना भने नरहेको विश्लेषकहरूले बताएका छन् ।नयाँ घोषणा गरिएका भनिएकामध्ये धेरैजसो कुरा पहिले नै सङ्केत गरिएकाले त्यस्तो खासै नौलो वा महत्वपूर्ण केही नभएकाले खासै ठूलो प्रतिक्रियाको अपेक्षा पनि आफूले नगरेको रोयल बैङ्क अफ स्कटल्याण्डका बैङ्क विश्लेषक जोन बुनाक्कोर्सीले बताए । तर, कभर्ड बण्ड सस्तो पूँजी भएकाले समयक्रममा यसले घर ऋण सस्तो हुन गए पनि खासै ठूलो अन्तर भने नपर्ने पनि उनले बताए ।११ खर्ब डलरमा रहेको अष्ट्रेलियाली घरेलु ऋण बजारको ८७ प्रतिशत हिस्सा चार प्रमुख अष्ट्रेलियाली बैङ्कहरू कमनवेल्थ बैङ्क अफ अष्ट्रेलिया, नेशनल अष्ट्रेलिया बैङ्क, अष्ट्रेलिया एण्ड न्युजिल्याण्ड बैङ्किङ ग्रुप तथा वेष्टप्याकले ओगटेका छन् । रोयटर्स