शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

एशियाली बैङ्कहरूद्वारा फ्रान्समा ऋण कटौती

साउन २६, सिङ्गापुर । एशियाका केही बैङ्कले फ्रान्सका ऋणीहरूलाई ऋण दिन बन्द गर्ने सङ्केत दिएका छन् । यूरोजोनको ऋणसङ्कटका कारण फ्रान्सका बैङ्कहरूलाई असर पर्ने आँकलन भइरहँदा नाम नखुलाइएको एक एशियाली बैङ्कले फ्रान्सका ऋणीलाई ऋण दिन बन्द गरेको बताइएको छ ।विभिन्न स्रोतबाट प्राप्त जानकारीका अनुसार पाँच एशियाली बैङ्कहरूले फ्रान्सेलीहरूसँगको कारोबारको पुनरवलोकन गरिरहेका छन् । उनीहरूले फ्रान्सेलीलाई ऋण दिँदा अर्को पक्षको जोखिम बढ्न सक्ने भएकाले यस्तो निर्णयमा पुग्न सक्ने स्रोतहरूले बताएका छन् । साथै, बुधवार फ्रान्सले अमेरिका जस्तै 'ट्रिपल ए' क्रेडिट रेटिङ गुमाउन सक्ने हल्ला बजारमा छाइरहँदा एशियाली बैङ्क सशङ्कित भएको बताइएको छ । बुधवार चलेका विभिन्न हल्लाका कारण सन् २००८ पछिकै यूरोपको ऋण विक्री सूचकाङ्क (क्रेडिट डिफल्ट स्वाप इण्डेक्स)मा ठूलो वृद्धि भएको थियो ।

बाहिर फैलिएका यस्ता हल्लाले शेयर, कमोडिटी र मुद्राबजारमा नकारात्मक असर फैलिने डरले क्रेडिट रेटिङ एजेन्सीहरूले फ्रान्सको रेटिङ घटाउने विषयलाई बुधवार नै अस्वीकार गरेका थिए । फ्रान्सका बैङ्कहरूले ग्रीसलगायत यूरोजोनको ऋणसङ्कटले ग्रस्त अन्य मुलुकको ऋणपत्र ठूलो परिमाणमा खरीद गरेकाले फ्रान्सको जोखिम बढ्दै गएको विश्लेषकहरूले बताएका छन् ।बजारमा फैलिएका हल्लाले प्रमुख फ्रान्सेली बैङ्कहरूको शेयरमूल्यसमेत केही समययता घट्दै गइरहेको छ । बिहीवार फ्रान्सको सबैभन्दा ठूलो बैङ्किङ समूह बीएनपी पारिबासको शेयरमूल्य ५ प्रतिशतले कम भएको थियो । त्यसैगरी, फ्रान्सको दोस्रो ठूलो बैङ्क सोशिटे जेनेरालको शेयरमूल्यमा पनि ४ प्रतिशतले कमी आएको थियो । एजेन्सी

एशियाली क्षेत्रमा मूल्य नियन्त्रण प्रयास स्थगित : एडीबी

साउन २५, सिङ्गापुर । एशियाली केन्द्रीय बैङ्करहरूले चर्को मूल्यवृद्धि नियन्त्रणका लागि अपनाइएका उपायहरू स्थगित गर्ने भएका छन् । अमेरिका फेरि मन्दीतर्फजान सक्ने आशङ्काले अशान्त भएको विश्वबजार फेरि शान्त नहुन्जेलका लागि नियन्त्रणात्मक उपाय स्थगित गरिने भएको एशियाली विकास बैङ्क (एडीबी)का प्रमुख अर्थशास्त्रीले बताए । गत हप्ता शेयरबजार र कमोडिटिजको मूल्य विश्वव्यापी रूपमा ओर्लेपछि ब्याजदर बढाउने र मुद्रा बलियो बनाउने कार्यलाई तत्कालका लागि स्थगित गरिएको एडीबीका छाङयोङ रीले बिहीवार
बताएका छन् ।जापानबाहेकका अन्य एशियाली अर्थतन्त्रले यस वर्षको पूर्वार्द्धमा एडीबीले पूर्वानुमान गरेको भन्दा पनि बढीले वृद्धि गरेका छन् । तर, ती देशहरूले तीव्र आर्थिक वृद्धिसँगै आएको चर्को मूल्यवृद्धिलाई उच्च ब्याजदर, बलियो मुद्रा आदिजस्ता उपायले नियन्त्रण गर्ने प्रयास गर्दै आएका छन् । एपी/रासस

Admin 2011-08-13