शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सोमालियामा 'विश्वकै खराब’ मानवीय विपत्ति

असार २७, दादाब (केन्या) । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय यूएनएचसीआरले खडेरीग्रस्त सोमालियामा 'विश्वकै सबैभन्दा खराब मानवीय विपत्ति’ देखा परेको बताएको छ । केन्याको दादाबस्थित शरणार्थी शिविर भ्रमणका बेला यूएनएचसीआर प्रमुख अण्टोनिओ ग्युटेराले व्यापक सहयोग जुटाउन विश्वलाई आह्वान गरेका छन् । उक्त शिविरमा मात्रै ३ लाख ८० हजारभन्दा बढी शरणार्थी रहेका छन् । साथै, प्रत्येक हप्ता हजारौं खडेरी र भोकमरी पीडित सोमाली शरणार्थी उक्त शिविरमा आइरहेका छन् ।सोमालियालगायत केन्या र इथियोपियामा पनि कडा खडेरी परेको छ । झण्डै १ करोड मानिसलाई तत्काल मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । त्यसैगरी, २० लाखभन्दा बढी केटाकेटी कुपोषणग्रस्त रहेकाले उनीहरूको जीवन बचाउन तत्काल कदम चालिनुपर्नेमा युनिसेफले पनि जोड दिएको छ । एपी/रासस

अमेरिकन एयरलाइन्सलाई विमान बेच्न एयरबस र बोइङबीच प्रतिस्पर्धा

असार २७, बङ्लोर (भारत) । युरोपेली विमान निर्माता कम्पनी एयरबस र अमेरिकी विमान निर्माण कम्पनी बोइङ्बीच अमेरिकन एयरलाइन्सलाई विमान बेच्न तँछाडमछाड परेको छ । एयरबसले त उक्त एयरलाइन्सलाई ६ अर्ब डलरको विशेष ऋण सुविधासमेत दिने प्रस्ताव गरेको छ । अमेरिकन एयरलाइन्समा हालसम्म बोइङकै विमान प्रयोग गरिँदै आएका छन् । बोइङको त्यस्तो एकाधिकार तोड्न एयरबसले नयाँ कार्यक्रम प्रस्ताव गरेको हो ।त्यसका लागि, एयरबसले ऋणदाताहरूको एउटा टोली नै बनाएको छ । साथै, नयाँ पुस्ताका ए३२० र इन्धनकुशल ए३२० निओसमेत दिने प्रस्ताव एयरबसले राखेको छ । एयरबसको त्यस्तो प्रस्तावमाथि अर्को बुधवारसम्ममा अमेरिकन एयरलाइन्सले निर्णयदिने जानकार व्यक्तिहरूले बताएका छन् । उता बोइङले पनि ७३७-८०० र ७३७-९०० एक्टेण्डेड रेञ्जका विमान दिने प्रस्ताव गरेको जानकारहरूले बताए । तर, बोइङको वित्तीय प्रस्ताव भने अझै स्पष्ट भइनसकेको वाल स्ट्रीट जर्नलले बताएको छ । एयरबसको ए३२० को पुन:संरचनापछि बोइङले पनि उसको सबैभन्दा बढी विक्री हुने ७३७ मोडेलको थप विकास गर्ने रणनीति लिएको छ ।                 एजेन्सी

अमेरिकाद्वारा पाकिस्तानलाई दिने
सैनिक सहायता स्थगित


असार २७, वाशिङटन (अमेरिका) । संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई दिने भनिएको ८ करोड डलरबराबरको सैनिक सहायता स्थगित गरेको छ । अमेरिकी राष्ट्रपतिका प्रमुख सल्लाहकार विलियम डेलीले आइतवार एक अन्तरवार्तामा पाकिस्तानसँग बिग्रिएको सम्बन्ध सुधार गर्न प्रयास भइरहेको तर स्थितिमा सुधार नभएसम्मका लागि सहायता रोक्ने बताएका थिए । सहयोग रोक्काको यो घोषणा अमेरिकी सेनाप्रमुख माइक मुलेनले गतहप्ता दिएको प्रेस विज्ञप्तिको पृष्ठभूमिमा आएको छ । विज्ञप्तिमा सेनाप्रमुख मुलेनले गत जुन महीनामा मारिएका पाकिस्तानी पत्रकार सलिम सहजादको हत्या त्यहाँका सुरक्षाबलले गरेको हुन सक्ने उल्लेख गरेका थिए । तर, मुलेनको उक्त आरोप पाकिस्तानी सेना र गुप्तचर  निकायले अस्वीकार गरेका थिए । ८ करोड डलरको उक्त सैनिक सहयोग पाकिस्तानलाई प्रदान गरिने २ अर्ब डलरको ४० प्रतिशत भएको खबरमा उल्लेख छ ।

अमेरिकी सेनाको कारबाहीमा अलकायदा प्रमुख ओसामा बिन लादेन मारिएपछि अमेरिका-पाक सम्बध तनावग्रस्त बनेको थियो । पाकिस्तानलाई आर्थिक र सामरिक सहयोग गरिरहेको अमेरिकाको यो पछिल्लो निर्णयबाट द्विपक्षीय सम्बन्ध झनै जटिल बन्ने विश्लेषकहरूको अनुमान छ । सन् २०११ यता अमेरिकाले आतङ्कवादविरुद्ध लड्न २१ अर्ब डलर दिइसकेको बताइन्छ ।
एपी/रासस

नेस्लेद्वारा चीनमा बजार विस्तार 

असार २७, जेनेभा (स्वीट्जरल्याण्ड) । विश्वकै सबैभन्दा ठूलो खाद्य तथा पेयपदार्थ निर्माता कम्पनी नेस्ले एसएले सोमवार चिनियाँ बजारमा पनि ठूलो फड्को मारेको छ । चीनको क्याण्डी निर्माता हसु फु चीको ६० प्रतिशत हिस्सा १ अर्ब ७० करोड डलरमा खरीद गर्ने नेस्लेले घोषणा गरेको छ ।  स्वीस कम्पनी नेस्ले नेस्काफे कफी, किटक्याट चकलेट बार, ड्रेयर्स आइसक्रिमजस्ता प्रसिद्ध खाद्य ब्राण्डको उत्पादक हो । बाँकी ४० प्रतिशत हिस्सा भने हसु परिवारकै हुनेछ भने वर्तमान प्रमुख कार्यकारी र अध्यक्ष हसु छेन आफ्नो पदमा यथावत् नै रहनेछन् ।  

'हसु फु ची'मा गर्न लागिएको लगानी उसको मूल्यभन्दा बढी नै भए तापनि नेस्लेले चीनको ठूलो बजारलाई ध्यानमा राखेर रणनीतिक कदम चालेको एक विश्लेषकले बताए । खासगरी, हसु फु चीको चीनभरि रहेको वितरण प्रणालीबाट फाइदा उठाउन नेस्ले इच्छुक देखिन्छ ।हालको साझेदारीले चीनमा आफूहरूको उपस्थिति झनै सुदृढ हुने नेस्लेका प्रमुख कार्यकारी अधिकृत पल बल्केले बताए । अप्रिलमा पनि नेस्लेले एउटा चिनियाँ खाद्यवस्तु उत्पादक यिन्लु फुड्स ग्रूपको ठूलो हिस्सा खरीद गरेको थियो ।           एपी/रासस

ल्युक डोनाल्ड स्कटिस ओपन च्याम्पियन

असार २७, क्यासल स्टुआट (स्कटल्याण्ड) । गोल्फका विश्व नं. १ इङल्याण्डका ल्युक डोनल्डले स्कटिस ओपन च्याम्पियनशिप जितेका छन् । पानी परेर भिजेको क्यासल स्टुआट लिङ्क्स गोल्फ मैदानमा उत्कृष्ट प्रदशन गर्दै डोनाल्डले १९ अण्डर १ सय ९७ स्कोर बनाए । यो जीतसँगै उनले ५ लाख ५० हजार २ सय ५० पाउण्ड पुरस्कार हात पारेका हुन् । यस्तै स्वीडेनका फ्रेडरिक एण्डरसन हेड १५ अण्डर २ सय १ सहित दोस्रो भएका छन् । उनले ३ लाख ६६ हजार ८ सय ३० पुरस्कार पाएका छन् ।

त्यसैगरी दक्षिण अप्रिmकाका जर्ज कोइटेजजी (१४ अण्डर २०२), अर्जेण्टिनाका एञ्जेल काबेरा (१४ अण्डर २०२), बेल्जियमका निकोलास कोल्सेटस (१४ अण्डर २०२), इटालीका लरेञ्जो गाग्ली (१४ अण्डर २०२), स्कटल्याण्डका स्कट जेमिसन (१४ अण्डर २०२), चिलीका मार्क टुल्लो (१४ अण्डर २०२), अष्ट्रियाका माटिन विजेले (१४ अण्डर २०२) सहित संयुक्त रूपमा तेस्रो भएका छन् । प्रतियोगितामा तेस्रो भएका उनीहरू प्रत्येकले १ लाख २६ हजार १ सय १७ पाउण्ड पुरस्कार हात पारेका छन् । एजेन्सी

भारतमा कारको विक्री दुई वर्षमा सबैभन्दा कम

असार २७, (दिल्ली) भारत । भारतमा कारको विक्री वृद्धिदर २ वर्षयता सबैभन्दा कम भएको छ । कार विक्रीको वृद्धिदर सन् २०११ जुन महीनामा १ दशमलव २६ प्रतिशत रहेको थियो । जुन महीनामा १ लाख ४३ हजार ३ सय ७० कारहरू विक्री भएका थिए । कार विक्रीको वृद्धिदर घटेको जानकारी 'सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरस’ (सियाम)ले दिएको हो । सियामले कार विक्रीको वृद्धिदर सन् २०१२ मार्चसम्म १० देखि १२ प्रतिशत वार्षिक रहने  बताएको छ । यो उसले यसअघि गरेको १२ देखि १५ प्रतिशत रहने पूर्वानुमानभन्दा कम हो । उसले बढ्दो ब्याजदर र इन्धनको मूल्यमा आएको वृद्धि नै कार विक्री घट्नुको मुख्य कारण रहेको बताएको छ । सियामका अध्यक्ष पवन गोयन्काले आफूहरूले ३ महीनाअघि सोचेभन्दा ब्याजदर निकै बढेको र खरीदकर्ताहरू पछि हटेको बताएका छन् । यसरी नै ब्याजदर बढ्दै गएमा कार उद्योग धराशयी हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । सन् २००९ पछि हालको वृद्धिदर सबैभन्दा कम हो । भारतको केन्द्रीय बैङ्क 'रिजर्भ बैङ्क अफ इण्डिया’ले यो महीनाको अन्तिमसम्म ब्याजदर फेरि बढाउने बताइन्छ ।       एपी/रासस

डेभिड फेररद्वारा मार्डी फिस पराजित

असार २७, अष्टिन (अमेरिका) । अमेरिकामा जारी डेभिस कप टेनिस प्रतियोगितामा डेभिड फेररले मार्डी फिसलाई पराजित गरेका छन् । आइतवार भएको क्वाटरफाइनलको स्पर्धामा टेनिसका विश्व नं ६ फेररले अमेरिकाका मार्डी फिसलाई ७-५, ७-६, ५-७ र ७-६ को सेटमा पराजित गरेका हुन् । ४ घण्टा ११ मिनेट चलेको प्रतिस्पर्धात्मक खेल जितेपछि फेरर सेमिफाइनलमा प्रवेश गरेका छन् ।अमेरिकी भूमिमा डेभिस कप स्पर्धाको खेल कुनै स्पेनी खेलाडीले जितेको यो प्रथमपटक हो । स्पेनी टोलीका कप्तान अर्ल्बट कोष्टाले यो जित ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । स्पेनले पछिल्ला ४ वर्षमा तीनपटक डेभिस कप जितिसकेको छ । सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै छन् । एपी/रासस

पीएनएमद्वारा नियामक निकायलाई चुनौती


असार २७, फार्मिङटन (अमेरिका) । अमेरिकाको न्यू मेक्सिको राज्यस्थित सार्वजनिक सेवा कम्पनी अर्थात् पब्लिक सर्भिस कम्पनी (पीएनएम)ले नियामक निकायले दिएको निर्देशनलाई चुनौती दिएको छ । राज्यको नियामक निकायले उक्त कम्पनीलाई वायुऊर्जाबाट प्राप्त विद्युत् ग्राहकलाई वितरण गर्न निर्देशन दिएको थियो । यसअघि भने राज्यको नियामक निकायले वायुऊर्जामा खर्च गर्न दिएको आदेशलाई स्वीकार गर्ने  उक्त कम्पनीकी प्रवक्ताले बताएकी थिइन् । तर, अहिले आएर त्यस्तो आदेशलाई चुनौती दिने कम्पनीले भनेको छ । पीएनएम उक्त राज्यको सबैभन्दा ठूलो सेवाप्रदायक कम्पनी हो ।  नवीकरणीय ऊर्जासम्बन्धी निर्देशनलनाई सेवाप्रदायकहरूले पालना गर्नुपर्ने नियामक निकायको आदेश थियो । त्यसका लागि पीएनएमले वार्षिक ६० लाख डलरसम्म वायुऊर्जाबाट उत्पन्न विद्युत् खरीदका लागि खर्च गर्नुपर्ने निर्देशन दिइएको थियो ।          एपी/रासस

इटाली ऋण सङ्कटमा फस्न सक्ने ईयूको चिन्ता

असार २७, ब्रसेल्स (बेल्जियम) । ग्रीसबाट शुरू भएको ऋणसङ्कटमा इटाली फस्न सक्ने देखिएको छ । यूरोपियन काउन्सिलका अध्यक्ष हर्मन भान रोम्पुले सोमवार बोलाएको सदस्य राष्ट्रहरूको सङ्कटकालीन बैठकमा यसबारेमा छलफल हुने बताइएको छ । बैठकमा ग्रीसको समस्या र इटालीबारेका चिन्ताहरूको छलफल हुने बुझिएको छ । उक्त बैठकमा यूरोपियन केन्द्रीय बैङ्कका अध्यक्ष जाँ-क्लाउड ट्रिचे, यूरोजोनका अर्थमन्त्रीहरूका अध्यक्ष जाँ-क्लाउड जन्कर,ईयू अध्यक्ष जोसे म्यानुअल बारासो रईयूका आर्थिक तथा मुद्रा कमिस्नर आल्ली रेनसमेत सहभागी हुने जानकारी दिइएको छ । तर, भान रोम्पुका प्रवक्ताले सोमवारको बैठक सङ्कटकालीन नभएर समन्वयात्मक मात्रै भएको दाबी गरेका छन् । उक्त बैठक ऋणसङ्कट इटालीमा फैलिन नदिन उठाइने विशेष कदमबारेको छलफलमा केन्द्रित रहने भनिएको छ ।

इटाली सरकारले जारी गरेका १० वर्षको ऋणपत्रहरूको स्प्रेडदर अहिलेसम्मकै उच्च रहेकाले त्यसबाट इटालीको अर्थतन्त्रमा ठूलो दबाब पर्ने हुनाले चिन्ता बढेको हो । अर्को हप्ता यूरोपियन बैङ्कले प्रकाशित गर्ने समीक्षा रिपोटबाट आशङ्कित हुँदै इटालीको मुख्य शेयर सूचकाङ्क गत शुक्रवार ३ दशमलव ५ प्रतिशतले कम भएको थियो । इटाली यूरोपको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ । एजेन्सी

काहनविरुद्ध मुद्दा  चलाइन्छ : फ्रान्सेली अभियोक्ता

असार २७, पेरिस (फ्रान्स) । आईएमएफ पूर्वप्रमुख डोमिनिक स्ट्राउस काहनविरुद्ध यौन दुराचारको अभियोगमा अर्को मुद्दा चलाइने भएको छ । काहनले आफूलाई बलात्कार गरेको भन्दै एक फ्रान्सेली लेखिकाले गत हप्ता पेरिस प्रहरीमा बयान दिएकी थिइन् । ट्रिष्टेन बानोन नाम गरेकी ती लेखिकाले पेरिसको एउटा घरमा काहनको अन्तरवार्ता लिन जाँदा सन् २००३ मा बलात्कृत भएको बयान दिएकी हुन् ।यसका साथै फ्रान्सेली अभियोक्ताहरूले काहनविरुद्ध पेरिसमा मुद्दा चलाउने बताएका छन् । नाम नखुलाइएका एक अधिकारीले फ्रान्सको कानूनअनुसार छानबिन गरिने र मुद्दा चलाइने जानकारी दिएका छन् । आईएमएफ पूर्वप्रमुख काहन यौन दुराचारको अभियोगमा अमेरिकाको न्यूयोर्कमा मुद्दा खेपिरहका छन् ।      एपी/रासस

विश्व अर्थतन्त्रमा सुस्तीको  सङ्केत: ओईसीडी

असार २७, पेरिस (फ्रान्स) । प्रमुख यूरोपेली देशहरू र चीनको अर्थतन्त्रमा सुस्ती आउनुका साथै अमेरिका र जापानको अर्थतन्त्र अधोगतितर्फ जान सक्ने आर्थिक सहायता तथा विकास संस्था (ओईसीडी)ले चेतावनी दिएको छ । फ्रान्स, जर्मनी, चीन र भारतमा सुस्ती देखा परिसकेको ओईसीडीको सूचकाङ्कले देखाएको छ । त्यसैगरी, अमेरिका, जापान र रूसमा एक अवधिसम्म वृद्धि भएपछि फेरि अधोगतितर्फजान सक्ने देखिएको छ । तर, भूकम्पले क्षति पुर्याएको जापानबारेको तथ्याङ्क भने सार्वधानीपूर्वक विश्लेषण गरिनुपर्नेर् ओईसीडीले औंल्याएको छ ।

गत महीना अमेरिकाबाहेक ओईसीडीमा आबद्ध अन्य देशहरूको आर्थिक वृद्धिदर सुस्तिन थालेको सङ्केत पाइएको थियो । ओईसीडीमा आबद्ध ३४ देशमा यस वर्षऔसत ४ दशमलव २ प्रतिशतले वृद्धि हुने मे महीनामा पूर्वानुमान गरिएको थियो । तर, धनी देशहरूमा भने २ दशमलव ३ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने भनिएको छ । एएफपी/रासस

अमेरिकाको बेरोजगारी  प्रतिवेदनले तेलको मूल्य घटयो

असार २७, सिङ्गापुर । अमेरिकी अर्थतन्त्रमा समस्या देखिएको समाचारपछि एशियामा तेलको मूल्य खस्केर सोमवार ९५ डलर प्रतिब्यारेल पुगेको छ । सिङ्गापुर समयअनुसार, दिउँसोतिर न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जमा अगस्तमा डेलिभरी हुने कच्चा तेलको मूल्य १ दशमलव ३३ डलरले घटेर प्रतिब्यारेल ९४ दशमलव ८७ डलर पुगेको छ । यसअघि शुक्रवार पनि कच्चा तेलको मूल्य २ दशमलव ४७ डलरले घटेको थियो । लण्डनको आईसीई फयुचस एक्सचेञ्जमा भने ब्रेण्ट क्रुड ८७ सेण्टले झरेर प्रतिब्यारेल १ सय १७ डलर ४६ मा रहेको छ । शुक्रवार अमेरिकाको श्रम मन्त्रालयले जुनको बेरोजगारी दर बढेर ९ दशमलव २ प्रतिशत पुगेको भनेपछि लगानीकर्ताहरू आशङ्कित भएका हुन् । एपी/रासस

Admin 2011-07-12