शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

प्राकृतिक विपत्तिले आर्थिक भार बढ्दै गएको चेतावनी

वैशाख २७, जेनेभा (स्वीट्जरल्याण्ड) । विश्वभरि नै प्राकृतिक विपत्तिका कारण मृत्युको सम्भावनामा कमी आए पनि आर्थिक क्षतिका घटनाहरू बढ्दै गइरहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलवार चेतावनी दिएको छ । निम्न र मध्यम आम्दानी भएका देशमा स्कूल, स्वास्थ्य केन्द्र, सडक, पुलजस्ता पूर्वाधारमा क्षति बढिरहेको प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रसङ्घको अन्तरराष्ट्रिय प्रतिवेदनले भनेको छ । यसै वर्षको अष्ट्रेलियाको बाढी तथा जापान र न्यूजील्याण्डको भूकम्पजस्ता घटनाबाट धनी देशहरूमा पनि त्यस्तो क्षतिको जोखिम बढिरहेको प्रतिवेदनले औंल्याएको छ । 'जापानमा भएको हालैको घटनाले नयाँ र विनाशकारी जोखिमको सम्भावनाप्रति तयार हुनुपर्ने देखाएको छ,’ महासचिव बान कि मुनले प्रतिवेदनमा भनेका छन् ।

विपत्तिले यस वर्षमात्रै हालसम्म ३ खर्ब डलर नोक्सान गरिसकेको छ जुन २०१० को वर्षभरिकै क्षतिबराबर रहेको सङ्घकी एक प्रवक्ताले बताइन् । एशियामा बाढी र समुद्री आँधीजस्ता मौसमजन्य विपत्तिका घटना बढी हुने गरेका छन् । तर, त्यस्ता विपत्तिबाट हुने मृत्युदर भने घटिरहेको पनि उक्त प्रतिवेदनले उल्लेख गरेको छ । फेरि, भूकम्पबाट हुने मृत्युदर भने बढिरहेको १ सय ३० ओटा देशको तथ्याङ्कको विश्लेषणपछि प्रतिवेदनका प्रमुख लेखक एण्ड्रियु मास्क्रेले बताए । त्यसका साथै विकासशील देशका १० प्रतिशतभन्दा पनि कम सम्पत्तिहरूको प्रकोप बीमा गरिएको मास्क्रेले जानकारी दिएका छन् । साथै, विपत्तिका समयमा मानिसहरूलाई उद्धार र चेतावनीको प्रणालीमा सुधार भए तापनि धेरै देशले अझै पनि जमीन को प्रयोग, भवन निर्माणसंहिता, तथा प्रकोपपछिको उद्धारतर्फपर्याप्त काम गर्न नसकेको प्रतिवेदनले औंल्याएको छ । एजेन्सी

पश्चिम बङ्गालमा छेलोखेलो बिजुली

वैशाख २७, कोलकाता (भारत) । भारतको पश्चिम बङ्गाल राज्यमा १ करोडभन्दा पनि बढी विद्युत् प्रयोगकर्ता छन् । त्यहाँ पनि विद्युत् वितरण प्रणालीमा समस्या आइरहनु सामान्य नै मानिन्छ । तर, यस वर्षभने पश्चिम बङ्गालका विद्युत् उपभोक्ताले लोडशेडिङ भोग्नु नपर्ने देखिएको छ । विगतका वर्षहरूमा ग्रीष्मयाममा उक्त राज्यले प्रत्येक दिन सयौं मेगावाटबराबर विद्युत् अभाव बेहोर्नुपथ्र्यो । तर, यस वर्षभने पश्चिम बङ्गाल राज्यमा आवश्यकताभन्दा पनि बढी विद्युत् शक्ति रहेको छ । 'यस वर्षहामीसँग यति धेरै  विद्युत् छ कि हाम्रा सबै विद्युत् केन्द्र आफ्नो पूर्ण क्षमतामा चलिरहेका छैनन्,’ अधिकारीले भने ।  कतिसम्म भने ९ सय मेगावाटको पुरुलिआ पम्प स्टोरेज प्रोजेक्ट हालसम्म एक दिन पनि पूर्णक्षमतामा चलेको छैन । त्यसैले राज्यका अधिकारीहरू विद्युत् निर्यात गरेर आम्दानी बढाउने सम्भावनाको खोजी गरिरहेका छन् ।

विगतको तुलनामा गर्मीयाम केही शीतल भएकाले पनि यस वर्षविद्युत् छेलोखेलो भएको अधिकारीहरू बताउँछन् । तर, त्यसको मुख्य कारण भने गतवर्ष राज्यको विद्युत् निकायले लागू गरेको २ अर्ब भारूबराबरको मरम्मत आयोजना रहेको भनिएको छ । अघिल्ला वर्षहरूमा औसत १६ सयदेखि २२ सय मेगावाट विद्युत् उत्पादन हुने गरेकोमा उक्त आयोजनापछि यसपालि ३ हजार मेगावाटभन्दा पनि बढी विद्युत् उत्पादन भइरहेको अधिकारीहरूको दाबी छ । त्यसैगरी यसै वर्षको मेमा २ सय ५० मेगावाटको सन्थदिह ऊर्जा केन्द्र र जुनसम्ममा चिनियाँ निर्माणको दुर्गापुर प्रोजेक्ट्स लिमिटेडको स्थापनापछि विद्युत् उत्पादनमा झनै वृद्धि हुनेछ । त्यसपछि, हाल औसत १ सय ५० मेगावाटमा रहेको जलविद्युत् ऊर्जाको उत्पादन जुनसम्ममा ७ सय मेगावाट नाघ्ने पनि अधिकारीहरूले अपेक्षा गरेका छन् । (बिजनेश लाइन)

माइक्रोसफ्टद्वारा स्काइप खरीद गर्ने निर्णय

माइक्रोसफ्ट कर्पोरेशनले ८ अर्ब ५० करोड डलर नगदमा इण्टरनेट टेलिफोन कम्पनी स्काइप खरीद गर्ने भएको छ । स्काइपमार्फत मोबाइल सेवामा विस्तार गर्न  माइक्रोसफ्टले हालसम्मकै ठूलो खरीद सम्झौता गरेको हो ।हाल घाटामा रहेको स्काइप खरीद गरेर माइक्रोसफ्टलाई तत्काल कुनै फाइदा हुने देखिँदैन । तर, एप्पल इङ्क र गूगल इङ्कसँग प्रतिस्पर्धा गर्न माइक्रोसफ्टले यस्तो निर्णयगरेको छ ।माइक्रोसफ्टले अहिले पनि उसको विण्डोज मेसेञ्जर सेवामार्फत भिडियो च्याटको सुविधा दिइरहेको छ । तर, त्यस्तो सुविधा उसको विण्डोज फोन ७ सफ्टवेयरमा भने उपलब्ध छैन ।हाल स्काइपका सेवाहरू आईफोन, आईप्याड, ब्ल्याकबेरी र एण्ड्रोइड फोनमा पनि प्रयोग गर्न सकिन्छ । एजेन्सी

भारतमा डिजेलको मूल्य बढ्ने सम्भावना

वैशाख २७, नयाँ दिल्ली (भारत) । भारतमा तेलका मूल्य बढाउने विषयमा छलफल गर्न यसै हप्ता हुने भनिएको मन्त्रीस्तरीय बैठक आगामी हप्ता सारिएको तेल मन्त्री एस जयपाल रेड्डीले बताएका छन् । तर, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँभन्दा पनि बढीले वृद्धि गर्न सरकारलाई सिफारिश गरिएको तेल मन्त्रालयसम्बद्ध एक स्रोतले बताएको छ । डिजेलको मूल्यमा त्यस्तो वृद्धि भारतमा झण्डै एक दशककै सबैभन्दा उच्च वृद्धि हुनेछ । भारतको सरकारले तेलमा दिइने सरकारी अनुदानमा कटौती र त्यसबाट उत्पन्न हुन सक्ने जनआक्रोशबीच सन्तुलन मिलाउन खोजिरहेको छ । तेलमा दिइने सरकारी अनुदान खर्चमा कटौती हुने अपेक्षाका साथ आज बुधवार नै तेलको मूल्य बढाउने बारे मन्त्रिपरिषद्को बैठक बस्ने भनिएको थियो । तर, सरकारको त्यस्तो कदमबाट हाल ९ प्रतिशतमा रहेको उच्च महँगी दर झनै बढने आशङ्का पनि गरिँदै आएको थियो ।

डिजेलका साथै करोडौं मध्यम र निम्न वर्गीयले प्रयोग गर्ने खाना पकाउने ग्यास र मट्टीतेलको मूल्य बढाउन पनि सरकारलाई सिफारिश गरिएको उक्त स्रोतले बताएको छ । तर, हाल स्थगित गरिएको मन्त्रीस्तरीय बैठक फेरि कहिले बस्नेछ भन्ने स्पष्ट गरिएको छैन । तेलको मूल्यवृद्धिबारे विकल्पहरूमा छलफल भइरहे तापनि कहिलेकाहीँ राजनीतिक रूपले अप्रिय निर्णयलिन पनि सरकार बाध्य हुने स्रोतले जानकारी दिएको छ ।गतवर्षको जुनमा राज्यनियन्त्रित तेल कम्पनीहरूलाई पेट्रोलको मूल्य अन्तरराष्ट्रिय बजारअनुरूप आफै निर्धारण गर्न सरकारले अनुमति दिएको थियो । तर, गरीब उपभोक्ताको संरक्षण र मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य भने सरकारले आफै निर्धारण गर्दै आएको छ । एजेन्सी

चीनको व्यापार नाफामा व्यापक वृद्धि

वैशाख २७, बेइजिङ (चीन) । चीनको व्यापार नाफा अप्रिलमा ह्वात्तै बढेर ११ अर्ब ४० डलर पुग्नुका साथै निर्यात भने मासिक निर्यातमध्येकै उच्च हुन पुगेको छ । त्यसअघिको महीना मार्चमा भने १३ करोड ९० लाख डलरको मात्र निर्यात भएको थियो । यसरी अप्रिलको निर्यातले दाओ जोन्सले गरेको पूर्वानुमान १ अर्ब डलरलाई भन्दा पनि धेरैले नाघेको छ । चीनबाट हुने निर्यातमध्ये सबैभन्दा बढी अमेरिकातर्फ हुन्छ । चीनको बढ्दो व्यापार नाफाप्रति अमेरिकाले गुनासो गर्दै आएको छ । चीनको घरेलु बजारमा वस्तुको मूल्यमा कमी र मागमा सुस्ती आउनाले आयात कमजोर हुन गई व्यापार नाफा बढेको सिटीग्रूपका अर्थशास्त्री केन पेङले बताए । त्यसका साथै, मेमा अझ बढी व्यापार नाफाको अपेक्षा आफूले गरेको पेङले बताएका छन् । चीनको युआनमाथिको कडा नियन्त्रण र विशाल व्यापार नाफा अमेरिकासँगको व्यापारवार्तामा प्रमुख मुद्दा रहँदै आएको छ । एएफपी/रासस

Admin 2011-05-11