इटालीले ऋणपत्र किन्न चीनलाई गुहार्यो
भदौ २७, न्यूयोर्क (अमेरिका) । ऋणसङ्कटको सङ्क्रमणले प्रभावित हुँदै गएको इटालीले चीनलाई आफ्नो ऋणपत्र 'उल्लेख्य परिमाणमा' खरीद गरिदिन आग्रह गरेको थाहा भएको छ । सोमवार 'द फाइनान्सियल टाइम्स' पत्रिकाको अनलाइन संस्करणमा दिइएको समाचारमा गत हप्ता इटाली भ्रमण गरेको एक चिनियाँ प्रतिनिधिमण्डलसँग इटालीका अधिकारीहरूले यस्तो अनुरोध गरेका हुन् । गत हप्ता 'चाइना इन्भेष्टमेण्ट कर्प' (सीआईसी)का अध्यक्ष लु जिवेइको नेतृत्वमा एक प्रतिनिधिमण्डलले इटाली भ्रमणका क्रममा अर्थमन्त्री जिउलियो ट्रिमोण्टीलाई भेटेको थियो । त्यसैगरी दुई हप्ताअघि चीन पुगेको इटालीको एक टोलीले पनि 'सीआईसी' र चीनको विदेशी मुद्रा विनिमय नियन्त्रण गर्ने 'स्टेट एडमिनिष्ट्रेशन अफ फरेन एक्सचेञ्ज' (एसएर्फइ)का अधिकारीसँग यसबारे छलफल गरेको समाचारमा उल्लेख छ । ३ सय अर्ब अमेरिकी डलरको कोष भएको 'सीआईसी' प्रतिनिधिमण्डलले इटालीको प्रस्तावमा छलफल गरिने जवाफ दिएको पनि समाचारमा बताइएको छ । सन् २०११ अप्रिलमा चीनले ऋणसङ्कटमा परेका यूरोजोनका राष्ट्रबाट ऋणपत्र खरीद गर्न सक्ने सङ्केत दिएको थियो । विश्लेषकहरूका अनुसार कुनै निश्चीत सङ्ख्या नभए तापनि चीनले अहिलेसम्म अर्बौं यूरोबराबरका ऋणपत्र खरीद गरिसकेको छ । चीनको ३० दशमलव २ खर्ब अमेरिकी डलरको विदेशी मुद्रा सञ्चितिमा यूरोले एक चौथाइ भाग ओगटेको बताइन्छ ।
यसैबीच चीनको केन्द्रीय बैङ्कका भूतपूर्व उपगभर्नर वु जियाओलिङले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै यूरोपको ऋणसङ्कटका कारण लगानीकर्तालाई आतङ्कित नहुन आह्वान गरेका छन् । उनले चीन सरकार यो अवस्थाको निराकरण गर्दै बजारमा आत्मविश्वास जागृत गर्न अग्रसर रहेको उल्लेख गरे । हाल चीनको विधायिकाका सदस्य रहेका वुले यूरो मुद्राको स्थिरताका लागि यूरोपलाई सहयोग गर्न आफूहरू तत्पर रहेको बताए । यूरोजोनमा बढिरहेको ऋणसङ्कटका कारण यूरो निरन्तर कमजोर भइरहँदा चिनियाँ नेताहरूले एकल मुद्राप्रति आफ्नो दृढ समथन रहेको बताउँदै आएका छन् । सेप्टेम्बरको शुरूमा पनि चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले यूरोजोनको अर्थतन्त्र यूरोमाथि विश्वास रहेको तर त्यहाँका सरकारहरूले चिनियाँ लगानीलाई सुरक्षित गर्नुपर्ने बताएका थिए । रोयटर्स
यूरोजोनको ऋणसङ्कट झनै बल्झियो
भदौ २७, बर्लिन (जर्मनी) । ग्रीसबाट शुरू भएको ऋणसङ्कटले यूरोजोनका समस्या थपिँदै गएका छन् । बजेट घाटा र आन्तरिक तथा बाह्य विशाल ऋण भारले थिचेर ग्रीस टाट पल्टिने सम्भावना बढेकाले त्यसबाट यूरोजोन झनै प्रभावित हुन सक्ने आशङ्का बढेको हो । जर्मन अधिकारीहरूले ऋणसङ्कट छिटोभन्दा छिटो समाधान नहुने हो भने ग्रीसलाई यूरोजोनबाट निष्कासन गरिनुपर्ने बताएपछि यो आशङ्कमा थप बल पुगेको छ । कञ्जरभेटिभ दैनिक 'डाई वेल्ट' मा छापिएको एक लेखमा जर्मन अर्थमन्त्री फिलिप्प रोजलरले ग्रीस टाट पल्टिने समयसम्म यूरोपेली देशहरूले कुर्न नसक्ने बताएका थिए । गत सोमवार ग्रीसका अर्थमन्त्रीले एक टेलिभिजन अन्तरवार्तामा आफ्नो देशसँग आगामी केही हप्तालाई मात्र पुग्ने रकम रहेको बताएका थिए ।
ग्रीसबाट फैलिएको ऋणसङ्कटका कारण सोमवारको कारोबारमा यूरोको मूल्य जापानी येनको तुलनामा विगत १० वर्षयताकै सबैभन्दा न्यून विन्दुमा पुगेको थियो । त्यसैगरी यसअघि नै कमजोर रहेको यूरोपेली शेयर बजार गत हप्ता "इसीबी'का बोर्ड सदस्य जुअर्जेन स्र्टार्कले नीतिगत असहमतिका कारणले दिएको राजीनामापछि थप घटेको थियो। त्यसैगरी एकल मुद्रा भएकाले ग्रीस टाट पल्टिएको खण्डमा यूरोजोनभरि नै त्यसको असर फैलन नदिन जर्मन अधिकारीहरू सक्रिय रहेको बताइन्छ । साप्ताहिक पत्रिका 'डेर स्पिजेल'ले टाट पल्टिएपछि ग्रीसलाई पुरानै मुद्रा 'ड्राच्मा' चलाउन दबाब दिन जर्मन अधिकारीहरूले योजना बनाइरहेको बताएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सोमवार यूरोजोनको ऋणसङ्कट विश्वको आर्थिक सुधार र पुनरोत्थानको मार्गमा बाधक भएको बताएका थिए ।
यसैबीच ऋणसङ्कटग्रस्त ग्रीस टाट पल्टिन लागेको आशङ्काले शेयर बजार तथा यूरोको मूल्य लगातार तल ओर्लिरहँदा जर्मन र 'ईयू' अधिकारीहरूले लगानीकर्तालाई शान्त रहन अपील गरेका छन् । बर्लिनमा यूरोजोनको ऋणसङ्कटबारे 'ईयू' र जर्मन अधिकारीहरूबीच भएको बैठकपछि अधिकारीहरूको यस्तो भनाइ आएको हो । एएफपी/रासस
बैङ्क अफ अमेरिकामा ३० हजार कर्मचारी कटौती
भदौ २७, न्यूयोर्क (अमेरिका) । अमेरिकाको सबैभन्दा ठूलो बैङ्क 'बैङ्क अफ अमेरिका' (बीओए)मा कार्यरत ३० हजार कर्मचारी हट्ने भएका छन् । सोमवार बैङ्कले जारी गरेको एक विज्ञप्तिमा खर्च कटौती योजनाअन्तर्गत सो सङ्ख्यामा कर्मचारी हटाइने उल्लेख छ । विज्ञप्तिमा यसबाट बैङ्कलाई ५ अर्ब अमेरिकी डलर बचत हुने बताइएको छ । 'बीओए'का कार्यकारी प्रमुख ब्रायन मोएनिहानले लगानीकर्ताको एक सम्मेलनमा बैङ्कका रणनीतिबारे बताएलगत्तै 'बीओए'ले यो घोषणा गरेको हो । पनि 'बीओए' ले सन् २०११ म्ा ६ हजार कर्मचारी कटौती गर्ने यसअघि नै बताएको थियो । जुन ३० सम्मको तथ्याङ्कअनुसार बैङ्कमा २ लाख ८७ हजार कर्मचारी कार्यरत छन् । त्यसैगरी केही दिन अघिमात्र बैङ्कले व्यवस्थापकीय सुधारअन्तर्गत कारोबारलाई आमग्राहक सेवा र व्यावसायिक ग्राहकसेवा गरी दुई छुट्टै एकाइमा विभाजन गरिने घोषणा गरेको थियो । सन् २०१० मा बैङ्क सुधार कार्यक्रम 'प्रोजेक्ट न्यू बीएसी'अन्तर्गत नै यी घोषणा गरिएका हुन् । यो कार्यक्रम आगामी केही वर्षसम्म जारी रहने बताइएको छ । 'बीओए'ले सन् २०१४ सम्म २७ अर्ब डलर खर्च बचत गर्ने लक्ष्य राखेको छ । बैङ्कले गरेका यी नयाँ घोषणापछि 'बीओए'का शेयरमा १ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । सन् २०११ जनवरी यता 'बीओए'को शेयरमूल्य ४८ प्रतिशतले घटिसकेको छ । एजेन्सी
जापानी प्रधानमन्त्रीद्वारा अर्थतन्त्र 'खोक्रो’ हुँदै गएको चेतावनी
भदौ २७, टोकियो (जापान) । जापानका प्रधानमन्त्री योशिहिको नोडाले बलियो येनले जापानको औद्योगिक मुटुलाई 'खोक्रो’ पार्ने चेतावनी दिएका छन् । नयाँ सरकारको नीतिबारे संसद्मा भाषण गर्दै नोदाले मार्चको प्राकृतिक विपत्तिपछि पुनर्बहाली भइरहेको अर्थतन्त्र फेरि अप्ठयारोमा पर्न सक्ने चेतावनी दिए । नोदाले जापानको आणविक ऊर्जामाथिको निर्भरता घटाउने प्रतिबद्धता पनि व्यक्त गरे । झण्डै दुई हप्ताअघि मात्र निर्वाचित भएका प्रधानमन्त्री नोदाले यस वर्षको अन्त्यसम्ममा अर्थतन्त्रलाई पुनर्जीवन दिनेबारेको रणनीति ल्याउनुका साथै विपत्तिपछिको पुनर्बहालीलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रतिबद्धता धेरै रहेको तर लक्ष्य थोरै मात्र रहेको आफ्नो भाषणमा नोदाले आगामी गृष्मसम्ममा जापानको सम्पूर्ण ऊर्जा नीतिमा पुनर्विचार गरिने बताए । तर, आणविक ऊर्जामाथिको निर्भरता घटाए पनि आफ्ना पूर्ववर्ती नाओतो कानलेझैं भविष्यमा आणविक ऊर्जा विस्थापन नै गर्ने नीति भने नोदाको छैन । हाल मर्मतका लागि बन्द गरिएका आणविक भट्टीलाई पुन: सञ्चालनमा ल्याइने नोदाले बताए । साथै, जापानको वित्तीय स्वास्थ्य पुनर्बहाली गर्ने प्रयासमा सरकारको विश्वसनीयतासमेत सङ्कटमा परेको नोदाको चेतावनी छ ।
येनको बढ्दो मूल्यले घरेलु उद्योग र रोजगारलाई क्षति पुग्नुका साथै विपत्तिपछिको पुनर्निर्माणमा पनि बाधा पुग्न सक्ने नोदाले आशङ्का व्यक्त गरे । गत महीना यूरोपेली र अमेरिकी अनिश्चितताका कारण जापानी मुद्रा येन दोस्रो विश्वयुद्धपछिकै बलियो हुन पुगेको थियो । एएफपी/रासस
यूएस ओपन उपाधि जोकोभिकलाई
भदौ २७, न्यूयोर्क (अमेरिका) । सन् २०११ को यूएस ओपन ग्राण्डस्लाम टेनिस पुरुषतर्फको उपाधि सर्बियाली खेलाडी तथा विश्व नं १ नोभाक जोकोभिकले जितेका छन् । सोमवार भएको पुरुषतर्फको फाइनल खेलमा जोकोभिकले विश्व टेनिस वरीयतामा दास्रो स्थानमा रहेका स्पेनी राफेल नाडाललाई हराएका थिए । सोमवारको अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा जोकोभिकले नाडाललाई ६-४, ६-२, ६-७ र ६-१ को सेटमा पराजित गरेका थिए ।
'सेप्टेम्बर ११'मा मारिएका अग्निनियन्त्रकहरूको सम्झनामा 'एफडीएनवाई' क्याप भिरेर कोर्टमा आएका जोकोभिकमाथि पहिलो सेटको शुरूमा नाडालले २-० ले अग्रता लिन खोजेका थिए । तर, चाँडै सम्हालिएका जोकोभिकले त्यसपछि भने कोर्टमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गए । अर्कोतर्फ रोफेल नाडालले पनि राम्रै प्रदर्शन गरेका थिए । खेल लम्बिएर चार घण्टामा टुङ्गिएको थियो । विजयपछि जोकोभिकले असाधारण र अविश्वसनीय लागिरहेको बताए । सन् २०११ आफ्नो खेलजीवनकै सबैभन्दा अविस्मरणीय वर्षरहेको उनले उल्लेख गरे । नोभाकले एकै वर्षदेखाएको प्रदर्शनको पुनरावृत्ति कसैले पनि गर्न नसक्ने उनको कथन थियो । यो वर्षअष्ट्रेलियन ओपन र विम्बल्डन ग्राण्डस्लाम जितिसकेका जोकोभिकको यो लगातार तेस्रो विजय हो । विम्बल्डनमा उनले नाडाललाई नै हराएर विश्व वरीयतामा नम्बर १ भएका थिए ।
यसैबीच आइतवारको महिलातर्फको फाइनलमा ँचेयर रेफ्री'लाई गाली गरेको आरोपमा यूएस टेनिस एशोसीएशनले सेरेना विलियम्सलाई २ हजार डलर जरीवाना गरेको छ । एजेन्सी
चीनमा दूषित तेल बेच्ने ३२ जना पक्राउ
भदौ २७, बेइजिङ (चीन) । चीनमा ढलमा फालिएको दूषित तेल जम्मा गरेर खाने तेलका रूपमा विक्री गर्ने ३२ जनालाई पक्राउ गरिएको छ । रेष्टुराँ आदिबाट जम्मा गरिएको दूषित तेल खाने तेलका रूपमा विक्री गरिँदै आएको चीनको सरकारी सञ्चारमाध्यमले १ वर्षअघि नै खुलासा गरेको थियो । त्यस्ता तेलले क्यान्सरसमेत गराउन सक्ने विशेषज्ञहरूले भन्दै आएका छन् । बजारमा दूषित तेल रहेकोबारे प्रहरीलाई मार्चमा खबर आएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको छ । ४ महीनासम्मको अनुसन्धानपछि झेजिआङ, शाङदोङ र हेनान प्रान्तका ६ ठाउँबाट ३२ जनालाई पक्राउ गरिएको हो । साथै, १ सय टनभन्दा बढी प्रदूषित तेल पनि फेला पारिएको मन्त्रालयले बताएको छ ।
बायो डिजेल प्रशोधन गर्ने भन्दै ती अभियुक्तले २००९ देखि नै दूषित तेल जम्मा गरी बजारमा बेच्दै आएको मन्त्रालयको भनाइ छ । गत वर्ष प्रदूषित खाने तेलबारेको काण्ड पर्दाफाश भएपछि चिनियाँ जनताले प्रत्येक वर्ष२० देखि ३० लाख टन अवैध तेल खपत गर्दै आएको विशेषज्ञहरूले आँकलन गरेका छन् । सन् २००८ मा पनि दुग्धपदार्थमा औद्योगिक रसायन मेलामाइन मिसाएको पाइएको थियो । खाद्यपदार्थमा मिसावट गर्नेलाई कसुर हेरी मृत्युदण्डसम्मको सजाय दिनुपर्ने गत सेप्टेम्बरमा चिनियाँ अधिकारीहरूले बताएका थिए । एएफपी/रासस
Admin 2011-09-14