शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

जी-२० पछि पनि चीन र अमेरिकाको जुहारी यथावत्

कात्तिक २७, योकोहामा (जापान) । राष्ट्रपति बाराक ओबामाले चीनजस्ता बचतमा रहेका अर्थतन्त्रलाई निर्यातमा आधारित आर्थिक वृद्धिमा भर पर्ने अवस्थाको अन्त्य गर्न आह्वान गरेका छन् । तर, उनका चिनियाँ समकक्षीले सचेत गराउँदै भने, आर्थिक नीतिहरूमा गरिने परिवर्तन क्रमिक रूपले आउनुपर्दछ ।ओबामा र चिनियाँ राष्ट्रपति हु जिन्ताओ सोलमा भएको जी-२० बैठकको एक दिनपछि एशिया प्रशान्त क्षेत्रका व्यापार सञ्चालकहरूलाई सम्बोधन गर्दै थिए । जी-२० का प्रमुख अर्थतन्त्रहरूले सोल बैठकमा विश्व अर्थतन्त्रमा देखिएको सुस्त सुधारमा तीव्रता ल्याउने दिशामा अस्पष्ट प्रतिबद्धता मात्र गर्न सकेका थिए ।

त्यसपछि उनीहरूले एशिया प्रशान्त क्षेत्रीय आर्थिक सहयोग (एपेक) का नेताहरूसँग संसारकै तीव्र आर्थिक वृद्धि भइरहेको क्षेत्रमा सन्तुलित वृद्धि कायम गर्न र व्यापकस्तरको खुला व्यापार क्षेत्र निर्माण गर्ने नीतिहरूबारे छलफल गरे ।'आर्थिक सङ्कटले दिएको एउटा महत्वपूर्ण पाठ के हो भने अमेरिकी उपभोक्ता तथा एशियाली निर्यातमा निर्भर आर्थिक वृद्धिको निश्चित सीमा छ’ ओबामाले भने । ओबामाले भारत, इण्डोनेशिया र दक्षिण कोरियासहितको १० दिने भ्रमण टुङ्ग्याउँदै भने, 'आगामी दिनमा कुनै पनि देशले नठानून् कि अमेरिकामा निर्यात गर्नुले नै समृद्धिको बाटो खुल्दछ ।’

अमेरिका र चीन अन्तरराष्ट्रिय व्यापारमा कसले बढी हानि पुर्याउँदै छ भन्ने विषयमा विवाद गर्दैआएका छन् । वाशिङ्टनको आरोप छ कि युआनको न्यून मूल्यले चीनको निर्यातमा फाइदा पुर्याएको छ, उता बेइजिङको तर्क छ कि निर्यात वृद्धि गर्न डलरलाई कमजोर बनाउने उद्देश्य राखेर अमेरिकी फेडरल रिजर्भको सजिलो मुद्रानीति आएको छ ।ओबामापछि व्यापार मञ्चलाई सम्बोधन गर्दै हु जिन्ताओले भने, 'चीन घरेलु मागमा वृद्धि गर्न चाहन्छ र अहिलेका पहलहरूलाई यथावत् राखेर आफ्नो मुद्रा विनिमयदर सुधार गर्न प्रतिबद्ध छ । चीन सन्तुलित अन्तरराष्ट्रिय भुक्तानी सन्तुलनमार्फत अर्थतन्त्रमा बृहत् सुधार ल्याउन प्रयासरत रहनेछ ।'

जी-२० का देशहरू प्रमुख अर्थतन्त्रहरू ठूलो विनाशको सम्भावना भएको संरक्षणवादतर्फ नजाउन् भन्ने उद्देश्यले अति ठूलो बचत र घाटा कम गर्ने दिशामा प्रयासरत छन् ।क्षेत्रीय सुरक्षा तनाव...
सम्मेलनलाई आयोजक जापान तथा चीन र रूसबीच छिमेकी टापुहरूका सम्बन्धमा रहेको तीव्र विवादले पनि प्रभाव पारेको छ । एपेकको शिखर बैठकअघि दिइएको रात्रिभोजमा जापानका प्रधानमन्त्री नाओटो कानसँग हात मिलाउँदा हु त्यति प्रसन्न देखिएनन् ।पछि जापान सरकारले जानकारी गराएअनुसार हु र कानबीच २२ मिनेट वार्ता भएको थियो । यसलाई सेप्टेम्बरमा शुरू भएको सीमाविवादपछिको पहिलो औपचारिक वार्ता बताईएको थियो ।  इस्ट चाइना सीस्थित तेल र ग्यासको विशाल भण्डारनजीक रहेको टापुहरूसम्बन्धी विवादले एशिया का दुई सबभन्दा ठूला अर्थतन्त्रबीचको सम्बन्ध चिसिएको छ । हालै बाहिर आएको एक भिडियो प्रकरणले जनआक्रोश बढेको थियो । यसमा एउटा चिनियाँ माछा मार्ने डुङ्गा जापानी गस्ती जहाजतर्फ बढ्दै गरेको देखाइएको थियो ।चीनको सामाज्यवादी नीतिको विरोध भन्दै जापानको सबैभन्दा ठूलो चिनियाँ मूलका मानिसको बाहुल्य भएको बन्दरगाह शहर योकोहामामा शनिवार हजारौँ जापानी सडक प्रदर्शनमा ओर्लिएका थिए । यसमा विश्वव्यापारीकरण विरोधी कार्यकर्ता, हेल्मेट लगाएका वामपन्थी विद्यार्थी तथा अन्य राष्ट्रवादी समूह सहभागी थिए । रोयटर्स


चीनमा मुद्रास्फीतिको चिन्ताले वाल स्ट्रीट खस्कियो

कात्तिक २७, न्युयोर्क । अमेरिकाको वाल स्ट्रीटमा शेयर मूल्य शुक्रबार तल झर्यो । अघिल्लो पाँच हप्तासम्म यहाँ शेयर मूल्य लगातार बढिरहेको थियो । चीनमा ब्याजदर वृद्धि हुने खतरा देखेर लगानीकर्ताहरूमा शेयर बेचेर तुरून्तै नाफा आर्जन गर्ने र बुलिश पोजिसन पुनः मूल्याङ्कन गर्ने प्रवृत्ति देखिएर यस्तो भएको हो ।चीनमा ऋण लिन कठिन बनाइँदै गएकाले लगानीकर्ताहरू चिन्तित भएका छन् । यसले गर्दा कमोडिटिजको माग घट्ने भयले प्राकृतिक स्रोतसाधन र ऊर्जासम्बन्धी कम्पनीका शेयरहरूको मूल्यमा कमी आयो । यी दुई क्षेत्रले गर्दा एस एण्ड पी परिसूचकमा निकै कमी आयो ।

आयरल्याण्डको ऋणसम्बन्धी समस्यालगायतका विश्वव्यापी चिन्ताको लहरले गर्दा लगानीकर्ताहरूलाई बुलिश पोजिसनको पुनः मूल्याङ्कन गरेको र संरक्षणात्मक 'अप्सन्स' खरीद गरी आफ्नो जोखिमलाई सीमित गरेको टीडी अमेरिट्रेडका प्रमुख डेरिभेटिभ रणनीतिकार जो किनाहानले बताएका छन् ।सीबीओई भोलाटिलिटी परिसूचक १० दशमलव ६ प्रतिशत बढेर २० दशमलव ६१ प्रतिशत पुगेको छ । अक्टोबरको अन्त्यपछि यो परिसूचक २० भन्दा माथि पुगेको यो पहिलो पटक हो । सीबीओई नास्डाक १०० भोलाटिलिटी परिसूचक पनि १६ प्रतिशत बढेर २२   दशमलव ५५ प्रतिशतमा पुगेको छ । यसरी भोलाटिलिटी परिसूचक बढ्नुको अर्थ किनहानका अनुसार मानिसहरू 'अप्सन्स' बजारमा गएर सुरक्षा खोज्न थालेका छन् ।

डाउ जोन्स इण्डष्ट्रियल एभरेज ११ हजार १ सय ९२ दशमलव २१मा बन्द भयो । त्यस्तै, नास्डाक कम्पोजिट परिसूचक ३७ दशमलव ३१ अङ्क अर्थात् १ दशमलव ४६ प्रतिशत तल झरेर २ हजार ५१८ दशमलव २१मा आइपुग्यो । एस एण्ड पी ५०० सेप्टेम्बरपछि पहिलोपटक यसको २० दिने मुभिङ एभरेजभन्दा तल झरे पनि शुक्रवार बजार बन्दा हुँदा सो परिसूचक २० दिने मुभिङ एभरेजभन्दा माथि नै रहेको छ । अमेरिकी स्टक बजारमा चलेको दुईमहिने र्यालीले गत हप्ता शेयरबजार सबभन्दा माथि पुगेको थियो । तर, सन् २००८ को सेप्टेम्बरमा लेहम्यान ब्रदर्शको पतन भएयता डाउ र नास्डाक त्यति माथि देखिएका थिएनन् ।

गत हप्तामा डाउ र एस एण्ड पी दुवै २ दशमलव २ प्रतिशत खस्किए भने नास्डाक २ दशमलव ४ प्रतिशत तल झरेको छ । सबैभन्दा मूल्य घट्नेमा वित्तीय क्षेत्र (४ प्रतिशत) र सूचनाप्रविधि क्षेत्र (३ दशमलव २ प्रतिशत) रहे । अमेरिकामा डिसेम्बर महीनामा सेटल्मेण्ट हुने कच्चा तेलको फ्युचर्स मूल्यमा गत शुक्रवार ३ दशमलव ३ प्रतिशत र तामाको मूल्यमा झण्डै ३ प्रतिशतले गिरावट आएको छ ।साङ्र्घाई कम्पोजिट परिसूचक ५ दशमलव १६ प्रतिशत झरेको छ । यो करीब एक वर्षभरिकै सबभन्दा धेरै प्रतिशतको गिरावट हो । चीनको केन्द्रीय बैङ्कले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने सम्भावना देखिएकाले साङ्र्घाई परिसूचक घटेको हो । रोयटर्स