इण्डोनेशियामा मासुभन्दा खुर्सानी महँगो
माघ २७, जकार्ता (इण्डोनेशिया) । इण्डानेशियाली खानाहरूमा मसलाको असाध्यै प्रयोग गरिन्छ । हरियो र रातो खुर्सानी मिसाएर बनाइएको अचार 'सम्बल’ त्यहाँको खानाको अभिन्न हो । त्यसैले ताजा खुर्सानीविनाको खानेकुरा त्यहाँ कल्पनासमेत गर्न सकिन्न । तर, हालैका महीनाहरूमा त्यहाँ खुर्सानीको भाउ दश गुणासम्मले बढेको छ । कतिपयले जलवायु परिवर्तनलाई त्यसको कारण मानेका छन् । घरेलु महिलादेखि राष्ट्रपतिसम्म त्यसबारे बहस गर्दै छन् । अत्यधिक पानी परेर बाली नोक्सान भएपछि खुर्सानीको भाउ गाईगोरुको मासु (बीफ)भन्दा पनि चर्किएर प्रतिकिलो १० देखि ११ डलर पुगेको छ । त्यसले मानिसहरूको घरखर्चमै असन्तुलन ल्याइदिएको छ । किनभने इण्डोनेशियाका धेरैजसो जनताको आम्दानी प्रतिमहीना २ सय डलरभन्दा पनि कम छ । तैपनि उनीहरू खुर्सानीमा लाग्ने खर्च कटौती गर्दैनन् ।
'सम्बलविनाको खानाको स्वाद नै हुदैन । मेरा बच्चाहरूले सम्बलविना खानै मान्दैनन्,’ तीन बच्चाकी आमा निनिङले भनिन् । विश्वव्यापी तापक्रममा वृद्धिले मौसममा गराएको परिवर्तनले संसारभरिकै कृषि उत्पादनमा असर पुर्याएको छ । भारतमा चियाको उत्पादनमा कमी आउनुका साथै स्वाद पनि नमिठो हुँदै गएको छ । वाइन लोकप्रिय रहेको फ्रान्समा अङ्गुरमा हानी पुगेको छ । त्यसैगरी बेमौसममा परेको पानीले दक्षिण कोरियाको बन्दाकोपी सखाप भएका छन् । एपी/रासस
अमेरिकामा तेलको विशाल खानी
माघ २७, स्टान्ली (अमेरिका) । जमीनमुनिबाट तेल निकाल्ने एउटा नयाँ डि्रलिङ विधिबाट पहिले उत्खनन गर्न नसकिएको अमेरिकाको पश्चिमी क्षेत्रबाट समेत तेल निकालिने भएको छ । त्यसपछि अमेरिकामा दुइ दशकदेखि घटिरहेको कच्चा तेलको घरेलु उत्पादनमा फेरि सुधार हुनेछ । नर्थ डकोटा, कोलोराडो, टेक्सस र क्यालिफोर्निया क्षेत्रमा छरिएका तेलखानीका लागि कम्पनीहरूले अर्बौं डलरको लगानी गरिरहेका छन् । तेल कम्पनीका कार्यकारी र विश्लेषकका अनुसार, २०१५ सम्ममा ती नयाँ खानीबाट प्रतिदिन २० लाख ब्यारेलसम्म तेल उत्पादन हुन सक्नेछ । तेलको सो परिणाम हाल सम्पूर्ण मेक्सिको खाडीमा उत्पादन हुनेभन्दा पनि बढी हो । नयाँ ड्रिलिङबाट अमेरिकाको तेल उत्पादन आगामी ५ वर्षमा कम्तीमा २० प्रतिशतले बढने अपेक्षा गरिएको छ । 'त्यसैगरी १० वर्षभित्रमा अमेरिकाको तेल आयात हालको भन्दा आधाभन्दा बढीले घट्नेछ । 'ऊर्जा सुरक्षाको लागि त्यसले महत्त्वपूर्ण योगदान दिनेछ,’ क्रेडिज सुइसेका कमोडिटिज अनुसन्धान प्रमुख एड मोर्सले भने । तर, हालका वर्षहरूमा तेल इञ्जिनीयरहरूले वातावरणीय रूपमा संवेदनशील विधि अपनाउन थालेका आलोचकहरूको टिप्पणी छ । एपी/रासस
विश्व शेयरबजारमा गाभिने लहर
माघ २७, सिड्नी/सिङ्गापुर । विश्वभरि शेयर बजारहरूलाई सुदृढ बनाउने लहर चलेको छ । त्यसको प्रभाव एशियामा पनि देखिएको छ । अष्ट्रेलियाको शेयर बजार एएसएक्सले सिङ्गापुर एक्सचेञ्ज खरीद गर्ने भएको छ । ७ अर्ब ९० करोड डलरको त्यस्तो सम्झौतामा सहमतिका लागि एएसएक्सले राजनीतिकर्मीलाई मनाउन चाहेको छ ।जर्मनीको शेयर बजार बोएर्सेले न्युयोर्कको समेत शेयरबजार सञ्चालन गर्ने एनवाईएसई युरोनेक्ष्ट खरीद गरेर विश्वकै सबैभन्दा ठूलो व्यापारिक बजार बनाउने वार्ता निकै अघि बढिसकेको छ । लण्डन स्टक एक्सचेञ्जले पनि क्यानडाको टीएमएक्स खरीद गर्ने भएको छ । त्यसपछि नयाँ शेयरबजारबाट चुनौती सामना गरिरहेका एशियाली शेयरबजारहरू पनि जुर्मुराएका छन् ।दक्षिणपूर्वी एशियाली शेयरबजारहरूले कडा स्वामित्व र राजनीतिक बाधाका कारण एकीकरण अभियानबाट पन्छिँदै आएका थिए । पछिल्ला घटनाक्रमहरूले उनीहरूमाथि पनि दबाब बढ्दै गएको छ । तर, उनीहरूले पनि सीमावारपारको व्यापार अभिवृद्धि गर्नेतर्फ पहल गरिरहेका छन् । वैकल्पिक व्यापार बजारबाट आएको प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्न परम्परागत शेयरबजारहरूले रणनीतिक योजना बनाउनुपर्ने एक विश्लेषकले बताएका छन् । रोयटर्स
द. कोरियामा ३२ लाख गाईबस्तु मारिए
माघ २७, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली दुग्ध उत्पादक किसानहरूले प्रतिदिन २ सय टन दूध फालिरहेका छन् । गाईबस्तुमा लाग्ने रोग फुट एण्ड माउथ डिजिजको सबैभन्दा खराब सङ्क्रमणपछि त्यस्तो अवस्था आएको अधिकारीहरूले बिहीवार बताएका छन् । रोगको प्रकोप पछि त्यहाँ दूधको आपूर्तिमा कमी आउने देखिएको छ ।त्यसैगरी रोग लागेका आशङ्कामा हालसम्म मारिएका ३२ लाख गाईबस्तु गाडने ठाउँको पनि अभाव देखिएको छ । कोरियामा देखिएको हालको प्रकोप त्यस क्षेत्रमा गत ५० वर्षयताकै सबैभन्दा खराब रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले बताएको छ । गाईबस्तु, सुँगुर, खसीबाख्रा र हरिण मार्न, किसानहरूलाई क्षतिपूर्ति दिन एवम् राष्ट्रव्यापी खोप कार्यक्रम सञ्चालन गर्न कृषि मन्त्रालयले हालसम्म १ अर्ब ७० करोड डलर खर्च गरिसकेको छ ।
एएफपी/रासस
Admin 2011-02-11