पाकिस्तानको निजीकरण कार्यक्रम
मङ्सिर २७, लण्डन (बेलायत) । पाकिस्तानले सरकारी व्यवसायहरूको निजीकरण कार्यक्रम शुरू गर्न लागेको छ । यसबाट कमजोर अवस्थाबाट गुज्रिरहेका राज्यको स्वामित्वका उद्योगहरूमा सुधार आउने लक्ष्य राखिएको निजीकरण मन्त्री वकार अहमद खानले एक अन्तर्वार्तामा बताएका छन् । विदेशी व्यवस्थापन विशेषज्ञ भियभयाएर अन्तरराष्ट्रिय बजारको उपयोगमार्फत यो प्रक्रिया सबल बनाउने योजना छ । आगामी १ वर्षभित्र यससम्बन्धी पाँच वा छवटा सम्झौता हुने छन् । पहिलो सम्झौता जनवरीमा हुने अपेक्षा गरिएको खानले आइतवार बताए । विगतमा पाकिस्तानमा भएका निजीकरणहरूमा भ्रष्टाचार भएको तथा अति सस्तोमा सरकारी कम्पनीहरू निजीक्षेत्रलाई बेचिएको आरोप लाग्दै आएको छ । कम्पनीहरूमा भएको सरकारको अल्पमत शेयर बेच्ने वा परिवर्तनीय प्रतिज्ञापत्र -कन्भर्टिवल बण्डस् जारी गरेर विदेशी संस्थाहरूलाई लगानी गर्न आकषिर्त गरिनेछ । ठूला हिस्साहरू बेच्नुअघि कम्पनीहरूको साख बढाउन व्यवस्थापनमा विशेषज्ञ विदेशी परामर्शदाता राख्ने लक्ष्य सरकारले राखेको खानले बताए । पाकिस्तानले राज्यको स्वामित्वमा भएका संस्थाहरू किन्न अभिरुचि राख्ने एक दुइवटा त्यस्ता विदेशी कम्पनी वा रणनीतिक साझेदार फेला पारेको घोषणा आगामी वर्षको शुरूमा गर्ने अपेक्षा राखेको छ । यस्तो घोषणाले सम्पूर्ण प्रक्रियालाई नै विश्वसनीयता प्रदान गर्ने मन्त्री खानले बताए । यहाँका वित्तीय संस्थाहरूसँग भेटघाट गर्न लण्डन आएका खानले निजीकरण अभियानबारे सरकारले दलहरूबीच सहमति प्रयास गरिरहेको हुनाले उक्त प्रक्रिया बीचमा नरोकिने आश्वासन दिएका थिए । रोयटर्स
क्यारी ट्रेडमा डलर लोकप्रिय
मङ्सिर २७, लण्डन (बेलायत) । ब्याजदर थपघटबाट नाफा खाने व्यापार (क्यारी ट्रेड )का लागि डलर छनोटको मुद्रा बन्न पुगेको छ । सो कुरा बैङ्क अफ इण्टरनेशनल सेटलमण्ट (बीआईएस)ले आफ्नो त्रैमासिक समीक्षामा उल्लेख गरेको छ । अमेरिकामा ब्याजदर कम हुने अपेक्षाका साथै डलरमा गरिने कारोबार एकतर्फी रूपले बढ्दै जाँदा डलरको लोकप्रियता बढेको हो । क्यारी ट्रेड अन्तर्गत लगानीकर्ताले कम ब्याजदर भएको मुद्रा सापट लिन्छन् । र उक्त रकम बढी ब्याजदर आउने मुद्रा अथवा बढी प्रतिफल दिने स्टक तथा वस्तुमा लगानी गर्दछन् । परम्परागत रूपमा यस्तो व्यापारमा जापानी येन तथा स्वीस फ्रयाङ्क प्रयोग गरिँदै आएको छ । तर, अमेरिकी केन्द्रीय बैङ्कले ब्याजदर शून्यको आसपासमा राख्ने तथा परिमाणात्मक खुकुलोपन (क्वान्टिटेटिभ इजिङ्) क्युइ गर्ने अपेक्षाबीच अगस्तदेखि नोभेम्बरको शुरूमा डलर यस्तो व्यापारका लागि प्रमुख छनोटको मुद्रा बनेको थियो ।बीआईएसका अनुसार उच्च वृद्धिको सम्भावना तथा ब्याजदरको अन्तर बढी भएको देशको मुद्रामा अधिमूल्यनका लागि दबाब बढी रहने गर्दछ । अमेरिकी डलरसँग पूर्ण वा आंशिक रूपमा विनिमय दरको निर्धारण गरिने मुद्राहरूका लागि भने अधिमूल्यन कम हुने गर्दछ । रोयटर्स
वेदान्तबारे निर्णय मार्चसम्ममा
मङ्सिर २७, नयाँदिल्ली (भारत) । भारतले बेलायती खनिज उत्खनन कम्पनी केयर्न इनर्जीको बहुमत शेयर अर्को यस्तै कम्पनी वेदान्त रिसोर्सेजलाई बेच्न दिने अनुमतिबारे निर्णय दिन थप एक महीना ढिलो हुने भएको छ । यसअघि फेबु्रअरीमा आउने भनिएको त्यो निर्णय मार्चसम्ममा गर्ने तेलमन्त्री मुरली देवडाले बताएका छन् । थुप्रै जटिलता रहेको उक्त विषयमा सावधानीपूर्वक कदम चाल्नुपर्ने भएकाले यस आर्थिक वर्ष अन्त्यसम्ममा निर्णय गरिने देवडाले संवादाताहरूलाई सोमवार बताए । भारतको आर्थिक वर्ष अप्रिल शुरूदेखि मार्च अन्त्यसम्मको हुन्छ । केयर्न इनर्जीले अगष्टमा उसको भारतीय शाखा केयर्न इण्डियामा रहेको ४० देखि ५१ प्रतिशतसम्मको शेयर ९ अर्ब ६० करोड डलर मूल्यसम्ममा वेदान्तलाई बेच्न सहमत भएको थियो । भारत सरकारले फेब्रुअरी महीना सकिनुअघि नै निर्णय दिने तेल मन्त्रालयका एक उच्च अधिकारी एस सुन्दरेशनले गत महीना बताएका थिए केयर्न इण्डियाको १० वटा तेल तथा ग्यास ब्लकमा रहेको बहुमत शेयर हिस्सा वेदान्तलाई हस्तान्तरण गर्ने अनुमतिका लागि भारतीय तेल मन्त्रालयमा आवेदन दिएको छ । रोयटर्स