दक्षिण कोरियाले पनि खाद्यवस्तुको आपूर्ति बढाउने
पुस २७, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले खाद्यपदार्थको मूल्यवृद्धिसँग जुझ्न नयाँ कदमहरू चालिने मङगलवार घोषणा गरेको छ । मुद्रास्फीतिका कारण विश्व अर्थतन्त्रमा भइरहेको सुधार फेरि अवरुद्ध हुन सक्नेतर्फसंसारभरिका नीतिनिर्माताहरूले चिन्ता व्यक्त गरिरहेका बेला दक्षिण कोरियाले पनि त्यस्तो घोषणा गरेको हो । दक्षिण कोरियाको उपभोक्ता मूल्यसूचीको १५ प्रतिशत हिस्सा खाद्यवस्तुले ओगटेको छ । जनवरीको अन्त्यमा शुरू हुने कोरियाली नयाँ वर्षको बिदाअघि नै तरकारी, मासु तथा माछाको आपूर्ति बढाउने घोषणा सरकारले गरेको छ ।
बैङ्क फर इण्टरनेशनल सेटलमेण्ट्सको आयोजनामा भइरहको केन्द्रीय बैङ्करहरूको सम्मेलनमा तीव्र वृद्धि भइरहेका अर्थतन्त्रहरूमा हुने मूल्यवृद्धिले समस्या सृजना गरेको भन्दै मुद्रास्फीति नियन्त्रणका लागि जोड दिइएको छ । जी२० ले पनि खाद्यवस्तुको उच्चमूल्यलाई नियन्त्रण गर्ने उपायको खोजीतर्फकदम चाल्ने गत हप्ता आश्वासन दिएको थियो । ब्राजिल, चीन तथा भारतजस्ता देशहरूमा खाद्यवस्तुको मूल्यवृद्धिदर दोहोरो अङ्कमा पुगिसकेको छ भने इण्डोनेशियाका कृषकहरू महँगो खुर्सानी बालीको अहोरात्र सुरक्षा गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले २००८ को खाद्यसङ्कटको बेलामा भन्दा पनि खाद्यवस्तुको भाउ महँगिसकेको तर्फसचेत गराएको छ । त्यतिखेर खाद्यवस्तु महँगिएकाले थुप्रै देशमा दङ्गा भएको थियो भने कतिपयले खाद्यवस्तुको निर्यातमा प्रतिबन्ध लगाएका थिए । रोयटर्स
श्रीलङ्काको केन्द्रीय बैङ्कद्वारा ब्याजदर कटौती
पुस २७, कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काको केन्द्रीय बैङ्कले ५ महीनाअघि तोकेको ब्याजदरमा मङ्गलवार कटौती गरेको छ । बैङ्कऋण सस्तो पारेर राम्रो गुणस्तरको कर्जामा वृद्धि गर्नुका साथै निजीक्षेत्रबाट लगानी बढाउन त्यस्तो कदम चालेको बैङ्कले बताएको छ । केन्द्रीय बैङ्कले सरकारी ऋणपत्र धितोमा बैङ्कहरूले आफूसँग लिने ऋणको ब्याजदर (रिपो रेट)मा २५ आधार बिन्दुले कटौती गर्दै ७ प्रतिशतमा झारेको छ । साथै रिभर्स रिपो रेटमा ५० आधार बिन्दुले कटौती गर्दै ८ दशमलव ५० प्रतिशतमा झारेको छ । नयाँ दरहरू २००४ को नोभेम्बरपछिकै न्यून हुन् । 'आर्थिक वृद्धि तथा न्यून मुद्रास्फीतिको अपेक्षित बाटोमा अग्रसर छौं भन्ने आत्मविश्वास हामीले व्यक्त गर्न चाहेका हौं’, जनवरीको मौद्रिक नीति समीक्षा प्रकाशनपछि केन्द्रीय बैङ्कका गभर्नर अजिथ निवार्ड काब्रालले भने । श्रीलङ्काको अर्थतन्त्र सन् २०१० मा गत ३२ वर्षकै उच्च ८ प्रतिशतले विस्तार भएको अनुमान छ । सन् २००९ मा भने पछिल्लो ८ वर्षकै न्यून ३ दशमलव ५ प्रतिशतले मात्र विस्तार भएको थियो । सन् २०११ मा ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि तथा ४ देखि ६ प्रतिशतबीचको मुद्रास्फीति हुने केन्द्रीय बैङ्कको पूर्वानुमान छ । रोयटर्स
लाओसमा स्टक एक्सचेञ्ज शुरू
पुस २७, बैङ्कक (थाइल्याण्ड) । कम्युनिष्ट मुलुक लाओसले मङ्गलवार एउटा मध्यमस्तरको शेयरबजार स्थापना गरेको छ । शेयरबजारमार्फत ठूला आयोजनाहरूमा लगानी आकर्षित गरेर विश्वकै सबैभन्दा गरीब देशहरूमध्ये एक लाओसले आफ्नो अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेको छ ।लाओ सेक्युरिटिज एक्सचेञ्जले शुरूमा दुइ राज्यनियन्त्रित कम्पनीहरूको शेयरमा कारोबार शुरू गरेको छ । ती दुइ कम्पनीमा एउटा देशको प्रमुख ऊर्जा कम्पनी इलेक्टि्रसिटे डु लाओस जेनेरेशन कम्पनी हो भने अर्को बाङ्के पुर ले कमर्श एक्सटेरिअर लाओ भनिने सरकारी बैङ्क हो । दक्षिण कोरियाको कोरिया एक्सचेञ्जले लाओसको स्टक एक्सचेञ्जमा ४९ प्रतिशत अर्थात् ९८ लाख डलर लगानी गरेको छ, जसमध्ये धेरैजसो प्रविधि तथा तालीममा खर्च हुने बताइएको छ । लाओसको केन्द्रीय बैङ्क, बैङ्क अफ लाओसले भने ५१ प्रतिशत अर्थात् १ करोड २ लाख डलरको लगानी गरेको छ । यसमा छिमेकी थाइल्याण्डले पनि सहयोग गर्ने बताएको छ । एपी/रासस
बङ्गलादेशको शेयरबजार फेरि उकालो लाग्यो
पुस २७, ढाका (बङ्गलादेश) । बङ्गलादेशको शेयरबजार मङ्गलवार शुरू हुने वित्तिकै तीव्र रूपले उकालो लागेको छ । सोमवार शेयबजारमा हालसम्मकै सबैभन्दा कमी आएर ८ दशमलव ९ प्रतिशतले तल झरेपछि थप ओर्लिन नदिन कारोबार स्थगित गरिएको थियो । आइतवार पनि ६ दशमलव ७ प्रतिशतले शेयरको मूल्य झरेको थियो । शेयर कारोबारमा तीव्र ओरालो लागेपछि लगानीकर्ताहरूले हिंसात्मक सडक प्रदर्शन गरेका थिए । मङ्गलवार भने ढाका स्टक एक्सचेञ्जको परिसूचकाङ्क १५ प्रतिशतले बढेको छ । शुरूको व्यापारमा २ सय २६ ओटा कम्पनीका शेयरमूल्य बढेको थियो भने तीन कम्पनीको शेयर मूल्य घटेको थियो । शेयरबजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले शेयर खरीदकर्ताले दलालसँग लिने ऋणसम्बन्धी नियम खुकुलो पारेपछि लगानीकर्ता उत्साहित भएको विश्लेषकहरूले बताएका छन् । त्यसैगरी केन्द्रीय बैङ्कले औद्योगिक क्षेत्रबाट पूँजीबजारतर्फ स्थानान्तरण गरिएका ऋणहरू समायोजित गर्न बैङ्कहरूलाई दिइएको समयसीमा थप गरेकाले पनि शेयरबजारमा उत्साह बढेको थियो । रोयटर्स
चीनको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च
चीनले २०१० को अन्त्यमा उसको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च हुन पुगेको मङ्गलवार बताएको छ । यसैबीच आधिकारिक रूपमा लक्षित गरिएको भन्दा बढी ऋण प्रवाह भएर अर्थतन्त्रमा तरलता पनि अत्यधिक बढेकाले बेइजिङलाई समस्या सृजना हुन सक्ने देखिएको छ । चीनसँग २००९ मा पनि विश्वमै सबैभन्दा धेरै मात्रामा विदेशी मुद्राको सञ्चिति थियो । त्यसमा पनि यस वर्ष१८ प्रतिशतले बढेर डिसेम्बर अन्त्यमा २ खर्ब ८४ अर्ब ७० करोड डलर पुगेको केन्द्रीय बैङ्कले एक विज्ञप्तिमार्फ बताएको छ । राज्यनियन्त्रित बैङ्कहरूले २०१० मा ७ खर्ब ९५ अर्ब युआन (१ खर्ब २० अर्ब डलर)बराबरको नयाँ ऋण दिएका थिए । सरकारले भने वर्षभरिमा ७ खर्ब ५० अर्ब युआनसम्म मात्र ऋण दिने लक्ष्य राखेको थियो । तैपनि गतवर्षको भन्दा यो वर्ष दिइएको ऋण रकम थोरै नै छ । एएफपी/रासस