शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतमा भ्रष्टाचार आरोपित मन्त्रीको राजीनामा स्वीकृत

असार २८, नयाँ दिल्ली (भारत) । भारतका प्रधानमन्त्री मनमोहन सिंहले भ्रष्टाचार आरोप लागेका कपडामन्त्री दयानिधि मारनको राजीनामा मङ्गलवार स्वीकृत गरेका छन् । मारनमाथि उनी सञ्चारमन्त्री रहेका बेला अख्तियार दुरूपयोग गरेको आरोप लागेको थियो । त्यसैगरी, गत राष्ट्रमण्डल खेलका बेला भ्रष्टाचारको आरोप लागेका खेलमन्त्री एमएस गिलको राजीनामा पनि सिंहले स्वीकृत गरेका छन् । तर, मन्त्रीमण्डलमा मङ्गलवार गरिएको पुनर्गठनमा अर्थ, सुरक्षा, गृह, र विदेश मामिलालगायतका प्रमुख मन्त्रालयमा भने कुनै हेरफेर गरिएको छैन ।  भ्रष्टाचारमाथि नियन्त्रण गर्नुपर्ने र युवा राजनीतिकर्मीलाई प्रोत्साहन दिनुपर्ने मागबीच सिंहले यस्तो कदम चालेका हुन् । भ्रष्टाचार नियन्त्रणमा सिंह सरकार असफल भएको भन्ने व्यापक जनगुनासो छ । त्यसैले, तुलनात्मक रूपले यस्तो सानो हेरफेरले सरकारले गुमिसकेको विश्वास पाउन गाह्रै हुने देखिन्छ ।     एपी/रासस

जापानको आर्थिक वृद्धि घट्ने

असार २८, टोकियो (जापान) । जापानको केन्द्रीय बैङ्क 'बैङ्क अफ जापान'ले देशको आर्थिक वृद्धि घट्ने जानकारी दिएको छ । गत मार्च महीनामा गएको विनाशकारी भूकम्प, सुनामी र आणविक सङ्कटको चपेटामा परेको जापानको आर्थिक वृद्धि यो वर्षशून्य दशमलव चार प्रतिशत मात्रै हुने बैङ्कले बताएको छ । यसअघि उसले वृद्धिदर शून्य दशमलव ६ प्रतिशत रहने पूर्वानुमान गरेको थियो ।तर, सन् २०१२ मा जापानको आर्थिक वृद्धिदर २ दशमलव ९ प्रतिशत हुने र चालू आर्थिक वर्षको ६ महीनापछि स्थितिमा केही सुधार हुने पूर्वानुमान पनि बैङ्कले गरेको छ । साथै बैङ्कले यसअघि तय गरेको ब्याजदर पनि शून्यदेखि शून्य दशमलव एक प्रतिशतमै रहने बताएको छ । भूकम्प र सुनामीपछि बैङ्कले जापानको अर्थतन्त्रलाई स्थिर राख्न १ सय २५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ । जापानमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो विपत्तिका रूपमा हेरिएको भूकम्प, सुनामी र आणविक सङ्कटका कारण उत्पादन र आर्थिक गतिविधि ठप्प भएको थियो ।               एजेन्सी   

चीनको विदेशी मुद्रा सञ्चिति ३ दशमलव २ खर्ब डलर


असार २८, बेइजिङ (चीन) । मौद्रिक नीतिमा कडाइ गरेपछि चीनको विदेशी मुद्रा सञ्चिति बढेर ३ दशमलव २ खर्ब अमेरिकी डलर पुगेको छ । चीनको केन्द्रीय बैङ्कले मङ्गलवार जारी गरेको चौमासिक प्रतिवेदनमा विदेशी मुद्रा सञ्चिति अघिल्लो वर्षको भन्दा ३० दशमलव ३ प्रतिशतले बढेर जुनको अन्त्यसम्म ३ दशमलव २ खर्ब अमेरिकी डलर पुगेको उल्लेख छ ।प्रतिवेदनमा पछिल्ला ३ महीनामा मुद्रा सञ्चिति १ सय ५७ अर्ब डलर बढेको बताइएको छ । निर्यातबाट हुने आम्दानी र लगानीले चिनियाँ मुद्रा युआनमाथि दबाब बढाएपछि त्यससँग जुध्न चीनले ठूलो परिणाममा विदेशी मुद्रा खरीद गर्दै आएको छ । पछिल्ला केही महीनायता व्यापारघाटा, मुद्रास्फीति र विनिमय दरको असन्तुलन भोग्दै आएको चीनले आफ्नो मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । एपी/रासस

अमेरिकी शहरमा उमेरमैत्री कार्यक्रम

असार २८, न्यूयोर्क (अमेरिका) । अमेरिकी शहरहरूमा एउटा नयाँ जनसाङ्ख्यिक प्रवृत्ति देखिएको छ । एकातिर उमेर पुगेका वरिष्ठ नागरिक अर्थात् पाकाहरूको जनसङ्ख्या बढदैछ भने शहरी समाज अझै पनि यौवन केन्द्रित नै छ । त्यसो त विश्वकै जनसङ्ख्यामा पनि पाकाहरूको सङ्ख्या तीव्र रूपले बढिरहेको छ, जसलाई 'सिल्भर बूम' पनि भन्न थालिएको छ ।जस्तो कि, न्यूयोर्क सिटीको तीव्र गतियुक्त समाजमा स्कूले बच्चाभन्दा पनि पाकाहरूको जनसङ्ख्या बढिरहेको छ । मानिसहरूको उमेर बढ्दै छ तर हरेक काम छिटोछिटो गर्नुपर्ने भएको छ । अर्थात्, तन्नेरीका लागि बनाइएको समाजमा पाका उमेरका मानिसहरूले आफूलाई ढाल्न अप्ठयारो महसूस गरिरहेका छन् । त्यसैले त्यस्ता शहरहरूलाई उमेरमैत्री अर्थात् पाकाहरूका लागि पनि काम गर्न सजिलो हुने वातावरण  बनाउनुपर्ने हुन्छ । यसले गर्दा पाका उमेरका मानिसले घरै बसेर पनि स्वतन्त्र र सक्रिय जीवन बिताउन सकून् ।

त्यसैले न्यूयोर्क शहरले पाकाहरूप्रति केन्द्रित एउटा भिन्नै खालको कार्यक्रम सञ्चालन गरेको छ । जसअनुसार स्कूल बसहरूले बच्चाहरूलाई स्कूल ल्याउने लैजाने गरिसकेपछि अब पाकाहरूलाई पनि किनमेल स्थल अर्थात् ग्रोसरी स्टोर पुर्याउनेछन् । त्यसैगरी, एटलाण्टाले पनि 'आजीवन समाज’ स्थापना गरिरहेको छ । फिलाडेल्फियाले पनि कस्तो समाजमा पाका उमेरका मानिसले आफूलाई स्वस्थ्य महसूस गर्न सक्छन् भन्नेबारे अध्ययन गर्दै छ । ओरेगनमा पनि नयाँ आवास क्षेत्रमा वरिष्ठ नागरिकलाई प्राथमिकता दिनेबारे सोचिँदै छ ।पाको उमेरप्रतिको विद्यमान अवधारणमा समेत परिवर्तन ल्याउनुपर्ने न्यूयोर्कका सहायक मेयर लिण्डा गिब्सको विचार छ । किनभने वृद्धावस्थालाई 'जीवनको अन्तिम अवस्था’ भन्ने अवधारणाले अब काम दिँदैन । साथै, उमेरमैत्री समाज बनाउँदा त्यो पाकाहरूका लागि मात्र नभई सबैका लागि सजिलो हुने पोर्टल्याण्ड स्टेट युनिभसिटीकी प्राध्यापक मार्गरेट निलले बताइन् ।अमेरिकाका अन्य क्षेत्रमा प्राय: गैरनाफामूलक र सरकारी कार्यक्रमले मात्र पाकाहरूप्रति ध्यान केन्द्रित गरेका छन् । तर, न्यूयोर्क शहरले भने निजीक्षेत्रलाई पनि शहरलाई उमेरमैत्री बनाउनेतर्फ प्रेरित गरिरहेको छ ।                एपी/रासस

स्टारबक्सले कर्मचारीहरुलाई 'टिप्स’ बाँड्नु नपर्ने


असार २८, न्यूयोर्क (अमेरिका) । विश्वको सबैभन्दा ठूलो कफी हाउस चेन 'स्टारबक्स'ले आफ्ना कामदारलाई ग्राहक सेवाबापतको 'टिप्स' बाँड्नु नपर्ने भएको छ । न्यूयोर्क जिल्ला अदालतमा दायर मुद्दामा सोमवार न्यायाधीश लौरा टेलरले यस्तो फैसला सुनाएकी हुन् । सन् २००८ मा 'स्टारबक्स'का ५ पूर्वसहायक स्टोर प्रबन्धकहरूले कफी हाउसमा काम गर्ने कर्मचारीलाई ग्राहकले दिएको टिप्स कम्पनी आफैले राखेको भन्दै मुद्दा दायर गरेका थिए ।उनीहरूले कम्पनीले कामदारलाई ठगेको भन्दै ग्राहकले खुशी भएर दिएको पैसा कर्मचारीलाई नै बाँड्न माग गरेका थिए । तर, सोमवारको उक्त फैसलामा न्यायाधीशले मुद्दाका बादीहरूले 'पेक्सिग्लास बक्स'मा ग्राहकहरूले खसाल्ने 'टिप्स' कम्पनीले कामदारसँग बाँडनुपर्ने कुनै कारण देखाउन नसकेको बताएकी थिइन् । साथै बादीहरूले कम्पनीले 'टिप्स' जबर्जस्ती लगेको कुनै प्रमाण देखाउन नसकेको फैसलामा उल्लेख थियो ।अमेरिकाको सियाटलमा मुख्यालय रहेको विश्वको सबैभन्दा ठूलो कफी हाउस चेन स्टारबक्स विश्वका ५० देशमा सञ्चालित छ । १ लाख ३७ हजार कर्मचारी रहेको उक्त कम्पनीले सन् २०१० मा १० दशमलव २० अर्ब डलर आम्दानी गरेको बताइन्छ । एजेन्सी

सुडानमा सार्वजनिक खर्चमा कटौती

असार २८, खार्तुम (सुडान) । सुडानका राष्ट्रपति ओमार अल-वशिरले देशको विभाजनपछि तेलबाट हुने आम्दानी घटेकाले सार्वजनिक खर्च कटौती गरिने बताएका छन् । संसद्मा बोल्दै उनले देशमा नयाँ मुद्रा प्रचलनमा ल्याइने जानकारी पनि दिएका छन् । देशको विभाजनपछि प्रमुख तेल भण्डारहरू दक्षिणी सुडानमा परेकाले उत्तरी सुडानको तेल उत्पादन ७५ प्रतिशतले कम भएको छ । सुडान एकीकृत हुँदा त्यहाँ दैनिक ५ लाख ब्यारेल कच्चा तेल निकालिने गरिन्थ्यो । तर, देश विभाजनपछि प्रमुख स्रोत घटेपछि उत्तरी सुडानमा विदेशी मुद्राको कमी र उच्च मुद्रास्फीति रहेको छ । उत्तरी सुडानले विभाजनपछिको अवस्थामा तेलमाथिको निर्भरता घटाउने प्रयास गर्दै आए पनि ठोस नीतिहरू ल्याउन सकेको छैन । संसद्मा राष्ट्रपति वशिरले ३ वर्षका लागि आपत्कालीन कार्यक्रम र खर्च कटौतीका कार्यक्रम ल्याउने बताएका थिए ।               एजेन्सी

'सिस्को’को १० हजार कर्मचारी कटौती गर्ने योजना

असार २८, सानफ्रान्सिस्को (अमेरिका) । सूचनाप्रविधि नेटवर्किङसम्बन्धी बहुराष्ट्रिय कम्पनी 'सिस्को सिष्टम्स इङ्क'ले आफ्ना १० हजार कर्मचारी कटौती गर्नसक्ने एक प्रतिवेदनमा बताइएको छ । वित्तीय सेवा कम्पनी 'ब्लूमबर्ग'ले प्रकाशित गरेको प्रतिवदेनमा 'सिस्को'ले सन् २०११ अगष्टसम्म ७ हजार र त्यसपछि ३ हजार कर्मचारी हटाउने उल्लेख छ । 'ब्लूमबर्ग' को उक्त रिर्पोटमा सिस्कोका नाम नखुलाइएका दुई उच्च अधिकारीलाई उद्धृत गर्दै यस्तो बताइएको हो ।

हटाउन लागिएका १० हजार कर्मचारी कम्पनीको कुल जनशक्तिको १४ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ । यसबाट कम्पनीलाई १ अर्ब डलर बचत हुने बताइएको छ । घट्दै गइरहेको नाफा र सञ्चालन खर्चमा भइरहेको वृद्धि कामदार कटौतीको मुख्य कारण भएको प्रतिवेदनमा उल्लेख छ । यसका साथै सिस्कोले यसअघिको आम्दानीको पूर्वानुमान १० प्रतिशतमा झार्ने पनि बुझिएको छ । सन् २०११ का लागि उसले आफ्नो आम्दानी १२ देखि १७ प्रतिशतले बढ्ने बताएको थियो ।अमेरिकी बजेटघाटा र यूरोजोनका ऋण सङ्कटको समाचार आइरहँदा सिस्कोको शेयरमूल्य २ प्रतिशतले कम भएर १५ दशमलव ४३ डलर कायम भएको थियो । सन् २००१ मा पनि कम्पनीले खर्च कटौतीका लागि ८ हजार कर्मचारी हटाएको थियो । एजेन्सी

ब्रिटिश ओपन गोल्फको समूह विभाजन

असार २८, बेलायत । बिहीवारदेखि बेलायतको रोयल सेण्ट जर्ज गोल्फ हुने ब्रिटिश ओपनको टी-टाइम र समूह विभाजन तय भएको छ । यसअनुसार यूएस ओपन विजेता तथा विश्व नं. ४ रोरी म्याकइल्रोय, रिकी फउलर र अर्नी एल्स एउटै समूह (१५ नम्बर) मा परेका छन् भने १६ नम्बर समूहमा विश्व नं. १ तथा स्कटिश ओपन विजेता ल्युक डोनाल्डसँगै सर्जियो गासिया र रियो इशिकाव छन् ।त्यस्तै ब्रिटिश ओपनका गतवर्षमा विजेता लुइस उस्त हुइजनसँग विश्व नं. ३ तथा यूएस पीजीए विजेता मार्टिन केमर र विश्व नं. ६ फिल मिकेल्सन परेका छन् भने विश्व नं. २ ली वेष्टवुड गत आइतबार जोन डियर क्लासिक जितेका तथा विश्व नं. ५ स्टिभ स्टिकर यसै वर्षको मास्र्टस टुर्नामेण्टका विजेता चार्ल स्क्वार्टजलसँग एउटै समूहमा छन् ।

यस वर्षको ब्रिटिश ओपन खेल्न नपाउने प्रमुख गोल्फरमा खुट्टाको समस्याले बाहिरै रहेका टाइगर उड्सका साथै राइडर कपका पूर्वकप्तान स्कटल्याण्डका कोलिन मोण्ट गमरी र फ्रेञ्च ओपन विजेता थमस लिभे रहेका छन् । मोण्ट गमरीले स्कटिश ओपनमा कमाएको स्कोर ब्रिटिश ओपनमा भाग लिन आवश्यकभन्दा ५ स्ट्रोक कम थियो भने लिभे फ्रेञ्च ओपनको जितमा हर्षमनाउँदै पौडी पोखरीमा हामफाल्दा खुट्टा भाँच्चिएर खेल्न असमर्थ भएका छन् ।उता यूएस महिला ओपन गोल्फको अन्तिम राउण्डपछि सोमवारको प्ले अफमा दक्षिण कोरियाकी सो इयुन रुइले विजय हासिल गरेकी छन् । प्ले अफमा उनले आफ्नै देशकी हि क्युङ सिओलाई हराइन् । तेस्रो स्थानमा क्रिष्टी कर रहिन् । एजेन्सी

Admin 2011-07-13