शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विश्वभरिका शेयर बजारमा उत्साहको लहर

वैशाख २८, लण्डन (बेलायत) । व्यापारगृहहरूको एकआपसमा विलयन र बढ्दो आम्दानी विवरणले विश्वबजारमा सुधार आइरहेको बुधवार सङ्केत मिलेको छ । त्यसपछि यूरोपका लगानीकर्ताहरूमा ग्रीसलगायत देशको कमजोर वित्तप्रति रहेको चिन्ता कम भइरहेको छ । माइक्रोसफ्टले ८ अर्ब ५० करोड नगदमा इण्टरनेट टेलिफोन सेवा स्काइप खरीद गर्ने समाचारबाट कम्पनीहरूले खर्च गर्न थालेको देखिन्छ । त्यसबाट शेयर मूल्यमा समेत फेरि वृद्धि हुने विश्वास बढेको छ ।

स्काइप खरीद योजना माइक्रोसफ्टको ३६ वर्षको इतिहासमै सबैभन्दा ठूलो हो । मार्चमा पनि एटी एण्ड टी इङ्कले ३९ अर्ब डलरमा टी मोबाइल यूएसए निर्णय गरेको थियो । त्यस्तै अप्रिलमा जन्सन एण्ड जन्सनले २१ अर्ब ३० करोड डलरमा सिन्थेस खरीद गर्ने निर्णयगरेको थियो । माइक्रोसफ्टको स्काइप खरीद गर्ने निर्णये नोकियाको शेयर मूल्य पनि बढेको छ । नोकियाले माइक्रोसफ्टसँग मिलेर स्मार्टफोन बनाउने निर्णयकेही दिनअघि मात्र गरेको हो । त्यसैगरी, जर्मनीकाई अन एजी, अष्ट्रियाको ओएमभी एजी र डेनमार्कको एपी मोलर मेस्कजस्ता ऊर्जा कम्पनीका शेयरले पनि बुधवार राम्रो प्रदर्शन गरेका छन् ।
ब्रिटेनको एफटीएसइ १०० परिसूचक, जर्मनीको डीएएक्स, फ्रान्सको सीएसी-४०, अमेरिकाको दाओ र एस एण्ड पी फयुचस, जापानको निक्केइ २२५, दक्षिण कोरियाको कोस्पी परिसूचकमा पनि बुधवार वृद्धि भएको छ ।                        एपी/रासस   

इरानको बजेटमा ३१ प्रतिशतले वृद्धि

वैशाख २८, तेहरान (इरान) । इरानले सन् २०१२ को मार्चमा सकिने आर्थिक वर्षको बजेटका लागि गतवर्षको भन्दा ३१ प्रतिशतले वृद्धि गरी ४ खर्ब ८४ अर्ब डलर पुर्याएको छ । तेलको बढ्दो मूल्य र अनुदान कटौतीबीच बजेटमा त्यस्तो वृद्धि गरिएको बुधवार प्राप्त समाचारबाट देखिएको छ । झण्डै २ महीना ढिलो गरी प्रस्तुत गरिएको बजेटलाई इरानी संसद्ले पारित गरेको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल ८१ दशमलव ५ डलरको औसतलाई आधार मानेर बजेट तयार गरिएको छ ।इरान ओपेकको दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता देश हो । यस वर्षइरानले गर्ने तेलको आम्दानीमा २० प्रतिशतले वृद्धि भई ६५ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । अनुदान कटौतीपछि इरानको खर्चमा ५० देखि ६० अर्ब डलरले बचत हुने विशेषज्ञहरूले अनुमान गरेका छन् । तर, अनुदान कटौती गरिए पनि जनतालाई राहत दिन ३८ अर्ब डलरबराबरको प्रत्यक्ष नगद सरकारले दिनेछ । एएफपी/रासस

भोपालकाण्डबारे कडा सजायको आग्रह अदालतद्वारा अस्वीकार

वैशाख २८, नयाँ दिल्ली (भारत) । भारतको सर्वोच्च अदालतले भोपालकाण्डका सात अभियुक्तमाथि रहेको कडा आरोपलाई पुनर्बहाली गर्न गरिएको आग्रहलाई बुधवार अस्वीकार गरेको छ ।  भोपालमा  १९८४ मा भएको विशालु ग्यास चुहावटबाट झण्डै १५ हजार मानिसको मृत्यु भएको थियो । दुर्घटनापछि अन्य हजारौंमा अपाङ्गताका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखिएको छ । युनियन कार्बाइडको कारखानामा भएको उक्त दुर्घटनालाई विश्वकै सबैभन्दा खराब औद्योगिक दुर्घटना मानिन्छ । झण्डै ३० वर्षअघिको  उक्त दुर्घटनापछि आफूहरूले अझसम्म पनि न्याय नपाएको पीडितहरूको गुनासो छ ।

अमेरिकी कम्पनी युनियन कार्बाइडको भारतीय कम्पनीका ती सात पूर्वअधिकारीलाई शुरूमा नरहत्याको आरोपमा मुद्दा चलाइएको थियो । तर, पछि १९९६ मा सर्वोच्च अदालतले उक्त आरोपलाई हलुका बनाएको थियो । गतवर्ष उनीहरूमाथि असार्वधानीले मृत्यु गराएको आरोपमा बढीमा दुईवर्षको जेलसजायको फैसला गरिएको थियो । त्यसपछि जनआक्रोश बढेकाले सरकारले अदालतको उक्त आदेशमा पुनरवलोकन गर्न आग्रह गरेको थियो । तर, सरकारको उक्त आग्रहलाई अदालतले बुधवार अस्वीकार गरिदिएको छ ।२००१ मा युनियन कार्बाइडलाई दाओ केमिकल कम्पनीले खरीद गरेको थियो । युनियन कार्बाइडले १९८९ मा  नै क्षतिपूर्तिस्वरूप भारत सरकारलाई ४७ करोड डलर तिरिसकेकाले त्यसबारेको कानूनी मुद्दा समाधान भइसकेको दाओले जिकीर गर्दै आएको छ । एपी/रासस

चीनको महँगीदर केही घटयो, तर अझै पनि उच्च

वैशाख २८, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्कले पटकपटक ब्याजदर बढाउनुका साथै अन्य नियन्त्रणात्मक उपाय अपनाएपछि अप्रिलको मूल्यवृद्धिदरमा केही आएको छ । त्यसपछि अति तातेको(ओभरहिटिङ) चिनियाँ अर्थतन्त्र अब केही चिसिने अपेक्षा गरिएको छ । खाद्यवस्तुमा भएको ११ दशमलव ५ प्रतिशतको चर्को मूल्यवृद्धिले उपभोक्ता मूल्य ५ दशमलव ३ प्रतिशत पुगेको बुधवारको तथ्याङ्कले देखाएको छ । तर, मार्चमा ३२ महीनायताकै सर्वोच्च विन्दु ५ दशमलव ४ प्रतिशतमा रहेको उपभोक्ता मूल्यवृद्धिदर अप्रिलमा केही घटेको छ । तैपनि यस वर्षउपभोक्ता मूल्यवृद्धिदरलाई ४ प्रतिशतमा राख्ने सरकारी लक्ष्य र निजीक्षेत्रको पूर्वानुमानभन्दा त्यो अझै पनि बढी नै छ ।  

'अप्रिलमा आएर मूल्यवृद्धि दर केही घटेको भए तापनि त्यसबाट चीनको समस्या समाप्त भइसकेको भन्ने होइन,’ आईएचएस ग्लोबल इन्साइटका विश्लेषक एलिष्टेयर थोर्नटनले भने । पहिलो त्रैमासमा देखिएको ९ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धिदरलाई केही घटाएर दिगो अवस्थामा पुर्याउने आधिकारिक सरकारी नीति काम गर्न थालेको मूल्यवृद्धिदर घटेबाट देखिन्छ । चर्को मूल्यवृद्धिदरले अस्थिरता निम्त्याउन सक्नेतर्फचिनियाँ नेताहरू चिन्तित देखिन्छन् । त्यसैले मूल्य नियन्त्रण प्रयासस्वरूप गत अक्टोबरपछि चारपटक ब्याजदर बढिसकेको छ । एपी/रासस

राजारत्नम् दोषी प्रमाणित

वैशाख २८, न्यूयोर्क (अमेरिका) । ग्यालियन ग्रूप हेज फण्डका संस्थापक राज राजारत्नम्लाई उनीमाथि चलाइएको धोखाधडी र षड्यन्त्रका १४ ओटै मुद्दामा दोषी पाइएको छ । त्यसपछि वाल स्ट्रीटमा भविष्यमा हुन सक्ने धोखाधडीप्रति आक्रामक रणनीति लिन अमेरिकी सरकारलाई सजिलो हुनेछ । न्यूयोर्कमा सङ्घीय न्यायाधीशमण्डलले राजारत्नम्लाई नौओटा  धोखाधडी र पाँचओटा षड्यन्त्रका मुद्दामा दोषी ठहर्याएको हो । हेज फण्डसम्बन्धी हालसम्मकै ठूलो धोखाधडीमा काण्ड गरेको आरोप कुनै समयका अर्बपति राजारत्नम्माथि लागेको छ । अमेरिकी केन्द्रीय अनुसन्धान विभाग एफबीआईले  राजारत्नम्का सहयोगी तथा पूर्वमित्रको बयान तथा फोन टयाप गरेर उनीविरुद्धको मुद्दालाई बलियो बनाएको थियो । राजारत्नम्ले २००३ देखि २००९ को मार्चसम्म शेयर बजारमा ठगी गरेर ६ करोड ३८ लाख डलर अवैध आम्दानी गरेको वकिलहरूको आरोप थियो । श्रीलङ्काली मूलका ५३ वर्षीय राजारत्नम्ले अब २५ वर्षसम्मको जेल सजाय भोग्नुपर्नेछ ।         एजेन्सी

टेप्कोको उद्धारका लागि ६२ अर्ब डलर

वैशाख २८, टोकियो (जापान) । जापान सरकारले टोकियो इलेक्ट्रिक पावर कम्पनी(टेप्को)लाई वित्तीय दुर्घटनाबाट बचाउन ६२ अर्ब डलर लगानी गर्ने विचार गरिरहेको छ । टेप्को एशियाकै सबैभन्दा ठूलो सेवाप्रदायक कम्पनी हो । त्यसबारे जापानको मन्त्रिपरिषद्ले आउँदो बिहीवारसम्ममा निर्णय गर्ने भएको छ । टेप्कोका बण्डहोल्डरको सुरक्षाका साथै टेप्कोका शेयरलाई सूचीकृत राखिराख्ने उद्देश्यले त्यस्तो लगानी गरिने भएको हो । तर, आउँदा थुप्रै वर्षसम्म टेप्कोको शेयरबाट कुनै लांभाश नआउने योजनामा काम गरिरहेका सत्ताधारी दलका सांसदहरूले बताएका छन् ।

सरकारी अधिकारी, बैङ्कर तथा टेप्कोका कार्यकारीहरूबीच हप्तौंसम्मको बहसपछि त्यस्तो योजना आएको हो । मार्च ११ मा आएको भूकम्पले फुकुशिमा दाइची आणविक केन्द्रमा क्षति पुगेपछि टेप्कोको सङ्कट गहिरिएको हो । टेप्को र ऋणदाता बैङ्कहरूले भने ठूलो मात्रामा सरकारी सहयोगको माग गरेका छन् । जापानको सबैभन्दा ठूलो कर्पोरेट बण्ड निष्कासनकर्तामा आएको समस्याले वित्तीय बजारलाई नै अस्थिर बनाउने उनीहरूको चेतावनी छ । तर, कतिपय राजनीतिज्ञ र कर्मचारीले भने शेयरहोल्डर र व्यवस्थापनले सङ्कटको जिम्मेवारी लिनुपर्ने तर्क राखेका छन् ।     एजेन्सी

Admin 2011-05-12