शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनमा फेब्रुअरीको मूल्यस्फीति अपेक्षाभन्दा चर्को

फागुन २८, बेइजिङ (चीन) । चीनको उपभोक्ता मूल्य फेब्रुअरीमा फेरि वृद्धि भएको छ । मूल्यस्फीति नियन्त्रणका लागि सरकारी प्रयास जारी नै रहे तापनि उपभोक्ता मूल्य बढेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू भने मूल्यवृद्धिले सामाजिक अस्थिरता गराउन सक्नेतर्फ चिन्तित देखिएका छन् ।  गएको हप्ता बेइजिङले बहुसङ्ख्यक गरीब जनताका लागि ज्यालादर तथा अनुदान बढाउनेतर्फ प्रभावकारी कदम चालिने भनेको थियो । तर, मूल्यस्फीति जारी नै रहेमा जनताका आर्थिक लाभ घट्न गई त्यस्तो कदमको प्रभावकारितालाई न्यून बनाउनेछ ।फेब्रुअरीको मूल्यस्फीति ४ दशमलव ९ प्रतिशतकै उच्च दरमा रहेको छ । त्यसबाट विश्लेषकको पूर्वानुमान तथा ४ प्रतिशतको सरकारी लक्ष्यभन्दा मूल्यस्फीति दर माथि पुगेको देखिन्छ । खाद्यवस्तुको मूल्यस्फीति पनि जनवरीको १० दशमलव ३ प्रतिशतबाट बढेर ११ प्रतिशतमा पुगेको छ । त्यसैगरी, आगामी महीनामा मूल्यस्फीति ५ प्रतिशतभन्दा माथि पुग्ने देखिएको छ । यस वर्षको उत्तरार्धदेखि भने मूल्यस्फीति दर घट्दै जाने पनि अर्थशास्त्री झाङ जिन्फाकाको भनाइ छ । तर, मध्यपूर्वको तनाव, तेलको उच्च मूल्य र सम्भावित अमेरिकी डलरलाई कमजोर बनाउने कदमले भने मूल्यस्फीति झनै बढ्न सक्ने झाङ्को मूल्याङ्कन छ । एपी/रासस

बजारलाई सघाउने बैङ्क अफ जापानको प्रतिबद्धता

फागुन २८, टोकियो (जापान) । बैङ्क अफ जापानले बजारमा तरलता कायम राख्न र वित्तीय बजारको स्थायित्वका लागि हरसम्भव प्रयास गर्ने बताएको छ । शुक्रवार जापानको इतिहासमै सबैभन्दा ठूलो भूकम्प आएपछि बैङ्कले त्यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । ८ दशमलव ९ रेक्टर स्केलको भूकम्प र त्यसपछि आएको सुनामीबाट हजारौंको मृत्यु भएको अनुमान छ । टोयोटा, निशान, सोनीलगायतका प्रमुख जापानी उत्पादनकर्तासमेतले आफ्ना कारखाना बन्द गर्न बाध्य भएका छन् । त्यसबाट अल्पकालीन रूपमा भए पनि देशकै अर्थतन्त्रमा असर पर्ने देखिएको छ ।  'जति ठूलो सामाजिक र आर्थिक क्षति हुन्छ, त्यति नै वित्तीय सङ्कट प्रतिरोध गर्ने सरकारी क्षमतामा कमी आउनेछ,’ एक परामर्शदाता संस्था क्यापिटल इकोनोमिक्सले भनेको छ । भूकम्प आएको केही समयपछि नै केन्द्रीय बैङ्कले आपतकालीन व्यवस्थापन टीम स्थापना गरेको छ । उक्त टीमको नेतृत्व बैङ्क अफ जापानका गभर्नर मासाकी शिराकावाले गरेका छन् । एएफपी/रासस

विश्व बैङ्कद्वारा जापानलाई सहयोग प्रस्ताव

फागुन २८, वाशिङटन (अमेरिका) । जापानलाई भूकम्प र सुनामीको क्षतिबाट उद्धार कार्यमा विश्व बैङ्कले सघाउने भएको छ । त्यसका लागि उद्धार र पुनर्निर्माणमा सघाउन विशेषज्ञहरूलाई बैङ्कले परिचालन गर्ने भएको छ ।'प्रकोप जोखिम व्यवस्थापनको क्षेत्रमा विश्व बैङ्कसँग व्यापक अनुभव छ,’ बैङ्कले एक विज्ञप्तिमा भनेको छ । 'हामी जापान र त्यस क्षेत्रको उद्धार र पुनर्निर्माणमा सघाउन विशेषज्ञहरूलाई छिटो परिचालन गर्न सक्छौं,’ बैङ्कको भनाइ छ ।  जापान संसारकै धनीमध्येको एउटा देश भएकोले १९६०को दशकदेखि नै उसले विश्व बैङ्कबाट सहयोग पाएको छैन् । तर, हालको क्षतिबाट पार पाउन जापानलाई सहयोग गर्ने विषयमा बैङ्कले प्रधानमन्त्री नाओतो कानलाई सहयोगको औपचारिक प्रस्ताव राखेको छ ।प्रकोपपछिको क्षति र नोक्सानको मूल्याङ्कन कार्यमा बैङ्कसँग लामो अनुभव रहेको अधिकारीहरूले बताएका छन् । गतवर्ष२ लाख २० हजार जनाको मृत्यु हुने गरी हाइटीमा आएको भूकम्पपछि आपत्कालीन पुनर्निर्माण कार्यमा पनि बैङ्कले आफ्ना टीमहरूलाई पठाएको थियो । एएफपी/रासस

कामदार फिर्तीले बङ्गलादेशको अर्थतन्त्र प्रभावित

फागुन २८, ढाका (बङ्गलादेश) । लिबियामा रहेका हजारौं बङ्गलादेशी कामदार स्वदेश फर्किन थालेकाले त्यसबाट अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्ने आशङ्का व्यक्त गरिएको छ । बङ्गलादेशले जुनमा अन्त्य हुने आर्थिक वर्षमा ६ दशमलव ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । तर, लिबियालगायत अरब क्षेत्रका अन्य तनावग्रस्त देशबाट कामदार र्फकन थालेकाले त्यसबाट आर्थिक वृद्धिदर समेत प्रभावित हुने भएको छ ।लिबियामा मात्रै ११ हजार ५ सयभन्दा बढी बङ्गलादेशी कामदार स्वदेश फर्किसकेका अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन(आईओएम)का विदेश सचिव मोहम्मद मिजारुल क्वेजले बताए । त्यसका साथै, इजीप्ट, टयुनिशिया, बहरेन र सउदी अरेयिबा लगायतका क्षेत्रबाट पनि कामदार फर्केकाले बङ्गलादेशको कमजोर अर्थतन्त्रमा दूरगामी प्रभाव पर्ने विश्लेषकहरूको अनुमान छ । लाखौं बङ्गादेशी कामदार रहेका देशहरूको अस्थिरताले हाम्रो अर्थतन्त्रमा पनि अल्पकालीन र दीर्घकालीन दुष्प्रभाव पर्नेछ,’ बङ्गलादेशको एक विद्वत् परिषद् सेण्टर फर पलिसी डायलोगका प्रमुख कार्यकारी मुस्तफिजुर रहमानले भने । रोयटर्स

मिति नाघेको मासु बेचेकोमा क्षमायाचना

फागुन २८, साङ्र्घाई (चीन) । विश्वकै सबैभन्दा ठूलो खुद्रा विक्री सञ्जाल वालमार्टले चीनमा म्याद नाघेको हाँसको मासु बेचेकोमा क्षमा मागेको छ । उक्त अमेरिकी कम्पनीले दक्षिणपश्चिमी चीनको चोङ्किङ क्षेत्रमा मिति नाघिसकेको हाँसको मासु बेचेको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ ।जिउलोङ्पो जिल्लाको एउटा पसलमा मिति नाघिसकेको हाँसको मासु बेचिरहेको बेला स्थानीय बजार नियामकले समातेको थियो । सिन्ह्वाका अनुसार, फेब्रुअरीको अन्तिमतिर एक उपभोक्ता बजार नियामकलाई त्यसबारे सूचना दिएका थिए । जरीवानास्वरूप वालमार्टले मासुको परल मूल्यभन्दा १० गुणा बढी क्षतिपूर्ति पीडितहरूलाई दिने भएको छ । जनवरीमा पनि चीनले वालमार्ट र फ्रान्सको कारुफर सुपरमार्केट सञ्जाललाई आफ्ना सामानको मूल्य ढाँटेको आरोपमा जरीवाना गरेको थियो ।रोयटर्स

एप्पलको आईप्याड-२ विक्रीमा

फागुन २८, सान फ्रान्सिस्को (अमेरिका) । अमेरिकामा एप्पलको नयाँ आईप्याडको विक्री शुरू गरिएको छ । आईप्याड खरीद गर्न एप्पलका फ्यानहरू पसलअगाडि लाम लागेका देखिन्थे । एप्पलका प्रमुख कार्यकारी स्टीभ जब्सले गत हप्ता नै आईप्याड-२ भनिने उक्त नयाँ संस्करणको अनावरण गरेका थिए । शुक्रवार देखि भने एप्पलका अमेरिका भरि रहेका २३६ ओटा पसलका साथै अनलाइनमार्फत पनि विक्री शुरू गरिएको थियो । पछिल्लो पटकभन्दा यसपटक एप्पलका आईप्याडहरू बढी सङ्ख्यामा विक्री गरिने एक विश्लेषक भान बेकरले बताए ।बजार अन्य कुनै प्रतिस्पर्धी नरहेकाले एप्पलको वर्चस्व कायमै रहने उनको अनुमान छ । न्यूयोर्कस्थित एप्पलको फिफ्थ एभेन्यु स्टोरमा कतिपय खरीदकर्ताहरू कुर्सी,छाता र बर्साती ओढेर रातभरि नै लाम लागेका थिए ।  गतवर्ष नै एप्पलले १ करोड ५० लाख ओटा आईप्याड विक्री गरेको थियो । त्यसबाट उसलाई १० अर्ब डलरको आम्दानी भएको थियो । थुप्रै अन्य कम्पनीले पनि एप्पलको जस्तै उत्पादन ल्याउने प्रयास गरिरहेका छन् । तर, एप्पलको आईप्याड-२ ले भने अन्य प्रतिस्पर्धीलाई सजिलै उछिन्ने देखिएको छ । एएफपी/रासस

Admin 2011-03-13