भूमध्यसागरमा 'जलयुद्ध’
जेठ २८, भूमध्यसागर । शनिवार सबेरै भूमध्यसागरमा वातावरणविद् र 'टुना' माछा मार्ने मछुवाराहरूबीच घम्साघम्सी भएको छ । वातावरणविद्हरूले लिबियाको उत्तरतर्फको हवाई निषेधित क्षेत्रमा अवैधरूपले माछा मारिरहेकाहरूको गतिविधिलाई अवरुद्ध गर्ने प्रयास गरेका थिए ।मछुवाराहरूले स्टिभ इर्विन नामक अमेरिकाको सी शेर्फड कञ्जर्भेशन सोसाइटीको स्वामित्वमा रहेको जहाजमाथि गह्रौं धातुका सिक्री फालेर आक्रमण गरेका थिए । उनीहरूले वातावरणविद्हरूको डुङ्गाअगाडि डोरी फालेर यसलाई निष्क्रिय पार्न प्रयास गरे । वातावरणविद्हरूले अग्नी समन गर्ने पानीका फोहोरा र 'स्टिङ्क बम' गन्हाउने हावा छोडेर प्रतिकार गरेका थिए । केही सय फिटमाथि फ्रान्सेली फाइटर जेटले चक्कर लगाएको थियो । त्यो जेट मछुवाराहरूले आफूले माछा मार्ने ठूला जालहरू वातावरणविद्हरूले काट्न लागेको गलत जानकारी दिएर मगाएका थिए ।
१ सय ९५ फिट लामो स्टिभ र्इर्वीन अष्ट्रेलियाका संरक्षणविद्को नाममा बनाइएको जहाज हो । ईर्वीनको सन् २००६ मा मृत्यु भइसकेको छ । यो जहाज शुक्रवार अमेरिकाको सिराक्युस बन्दरगाहबाट अर्को सानो जहाज ब्रिजिट बार्डोडलाई सघाउन उत्तरी लिबियातर्फहिँडेको थियो । बार्डोडले २० ओटा र्'पस सिनस'मार्फत त्यसक्षेत्रमा माछा मारिरहेको जानकारी दिएपछि थप जहाज आएका थिए । पस सिनस एक प्रकारका डुङ्गा हुन्, जसले ठूलो क्षेत्रमा जाल फैलाउँछ र थैलीको मुख बाँधेझैं माछालाई सोहोर्दै समुद्री तटसम्म ल्याइपुर्याउँछ । सी शेर्फड (समुद्री गोठालो) नामक संस्था अवैधरूपले माछा मार्ने क्रियाकलापमा संलग्न डुङ्गाहरूलाई अवरोध गर्ने कार्यमा सक्रिय छ । भूमध्यसागरमा नीलो टुना जातको माछाको सङ्ख्या दू्रत गतिमा घट्दै गएको छ र विशेषज्ञहरू यो छिट्टै लोप हुने सङ्घारतर्फ उन्मुख भएको बताउँछन् ।
यो शनिवारको घम्साघम्सी शनिवारै बिहान समुद्रमा सूर्यको किरण पर्दै शुरू भएको थियो । यतिबेला १० ओटा पस सिनर डुङ्गा स्टिभ इर्वीनबाट केही माइलको दूरीमा थिए भने त्यसको विपरीत दिशामा ५ ओटा अरू तैरिरहेका थिए । जहाजका कप्तान पल वाट्सन, जो सी शेर्फडका संस्थापक पनि हुन् । उनले भने, 'उनीहरू अवैधरूपले माछा मार्नेहरूको गतिविधिलाई नियन्त्रण गर्ने कुरामा मात्र केन्द्रित छन् ।' अन्तरराष्ट्रिय आन्द्रमहासागरीय टुना संरक्षण आयोगले निर्धारण गरेको कोटाभन्दा बढी मछुवाराहरूले माछा समातेको र समातिएकामध्ये धेरै भुरा माछा भएकोले अवरोध गर्नुपरेको उनको भनाइ छ । एपी/रासस
आईएमएफ प्रमुखमा लागार्द र कार्टेबीच प्रतिस्पर्धा
जेठ २८, वासिङ्टन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) प्रमुखमा अन्तत: फ्रान्सकी क्रिष्टिन लागार्द र मेक्सिकोका अगष्टिन कासर्टेन्सबीच प्रतिस्पर्धा हुने भएको छ । अन्य दुई प्रतिस्पर्धी काजाखस्तानका ग्रिगोरी मार्चेङ्को र दक्षिण अफ्रिकाका ट्रेभोर म्यानुएलले अन्तिम क्षणमा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । त्यसपछि, लागार्द र कासर्टेन्स अन्तिम प्रतिस्पर्धीका रूपमा देखिएका हुन् । सोमवार बस्ने भएको कोषको बैठकमा योग्य उम्मेदवार छान्ने विषयले भन्दा पनि कठिन राजनीतिक निर्णयगर्नुपर्ने देखिन्छ ।
लागार्दका पक्षमा तर्क गर्नेहरूले उनलाई यूरोपेली सङ्कटबारे जानकार, ग्रीसको उद्धार तथा आईएमएफकै प्रणालीमा सुधारका लागि उनले बलियो नेतृत्व दिन सक्ने बताउँछन् । कासर्टन्स भने यसअघि नै आईएमएफको तेस्रो अधिकारी हुनुका साथै कोष प्रमुखमा यूरोपको ६५ वर्षको पकडको इतिहास तोड्नुपर्छ भन्नेहरूको रोजाइमा पर्नेछन् ।तर, लागार्द नै कोष प्रमुखमा निर्वाचित हुने लगभग पक्का नै रहेको कजाखस्तानका केन्द्रीय बैङ्क गभर्नरले बताए । दक्षिण अफ्रिकाका योजनामन्त्री म्यान्युएलले पनि कोष प्रमुखमा जहिलेपनि यूरोप हावी हुने प्रवृत्तिको आलोचना गरे तापनि लागार्दलाई भने निकै योग्य रहेको भन्दै प्रशंसा गरे । एएफपी/रासस
अफगानिस्तान र पाकिस्तानबीच पारवहन व्यापार सम्झौता
जेठ २८, इस्लामावाद (पाकिस्तान) । अफ्गानिस्तान र पाकिस्तानले लामो समयदेखि थाती रहेको पारवहन व्यापार सम्झौता लागू गर्ने सहमति गरेका छन् । सम्झौता लागू गरिएबाट द्वन्द्वका कारण क्षतिग्रस्त अफगानिस्तानको अर्थतन्त्रमा सहयोग पुग्ने पाकिस्तानका सरकारी अधिकारीहरूको भनाइ छ । अफ्गानिस्तानका राष्ट्रपति हमिद कार्जाइको इस्लामावाद भ्रमणकै क्रममा सम्झौता लागू गर्ने सहमति भएको हो । अमेरिकी मध्यस्थतामा २०१० को अक्टोबरमै उक्त सम्झौता गरिएको थियो । तर, अफगानी वस्तुका लागि बैङ्क ग्यारेण्टीको विषयमा दुई देशबीच मतभिन्नता उत्पन्न भएपछि सम्झौता लागू हुन सकेको थिएन ।सम्झौता आइतवारबाटै लागू हुने पाकिस्तानका केन्द्रीय राजस्व ब्युरोका सचिव सलमान सिद्दिकीले बताए । अफगानिस्तानले आयात गरेका मालसामान आफ्नो देशतर्फतस्करी हुने गरेको पाकिस्तानको लामो समयदेखिको गुनासो छ । त्यसैले पाकिस्तानबाट आयात गरिएका मालमासान फेरि पाकिस्तान तर्फै तस्करी नहोस् भन्नेबारे उद्देश्यले पाकिस्तानले बैङ्क ग्यारेण्टी खोजेको हो । एजेन्सी
बैङ्क अफ् इङ्गल्याण्डद्वारा ब्याजदर यथावत्
जेठ २८, लण्डन (ब्रिटेन) । ब्रिटेनको केन्द्रीय बैङ्क, बैङ्क अफ इङ्गल्याण्डले उसको प्रमुख ब्याज दरलाई शून्य दशमलव ५० प्रतिशतमा यथावत् राख्ने भएको छ । बैङ्कले २००९ को मार्चमै ब्याजदरलाई झारेर शून्य दशमलव ५० प्रतिशतमा पुर्याएको थियो । त्यसैगरी, आफ्नो उत्प्रेरणा कार्यक्रमअन्तर्गतको परिणामात्मक खुकुलोपना अर्थात् क्वाण्टिटेटिभ इर्जिङ (ईजी)मा परिवर्तनको प्रस्तावलाई पनि बैङ्कले अस्वीकार गरेको छ ।ईजीअन्तर्गत बैङ्कले २ खर्ब पाउण्ड अर्थात् ३ खर्ब २८ अर्ब डलर अर्थतन्त्रमा प्रवाह गरेको छ ।
ब्रिटेनको अर्थतन्त्र २०११को पहिलो तीन महीनामा शून्य दशमलव ५ प्रतिशतले विस्तार भएको छ । ब्रिटेनले २००९ को अन्त्यतिरबाटै आर्थिक मन्दीबाट पार पाउन थालेको भए पनि अर्थतन्त्रको पुनर्बहाली अनियमित नै रहेको छ । २०१० को अन्तिम त्रैमासमा पनि शून्य दशमलव ५ प्रतिशतले अर्थतन्त्र खुम्चिएको थियो । एएफपी/रासस
यूएस ओपनमा तीन शीर्षस्थ खेलाडी
जेठ २८, बेथेस्दा (अमेरिका) । यूएस ओपनअन्तर्गतको प्रसिद्ध कङ्ग्रेसनल गल्फ कोस प्रतियोगितामा विश्व वरियता क्रममा रहेका तीन जना शीर्षस्थ खेलाडीले पनि भाग लिने भएका छन्, जसअनुसार, ल्युक डोनल्ड, ली वेष्टउड र मार्टिन केमरले पहिलो दुई राउण्ड खेल्नेछन् । गत नोभेम्बरमा टाइगर उड्सले आफ्नो शीर्षस्थान गुमाएपछि ती तीनै खेलाडी शीर्षस्थानमा रहेका छन् । यस प्रकार यूएस ओपनअन्तर्गत पहिलो, दोस्रो र तेस्रोस्थानका खेलाडीले २००८ पछि पहिलोपटक खेल्ने भएका हुन् । त्यतिखेर टोरेेाइन्समा भएको प्रतियोगितामा तीन शीर्षखेलाडी उड्स, फिल मिकल्सन, र एडम स्कटले भाग लिएका थिए ।
खुट्टाको चोट अझै राम्ररी निको नभइसकेको कारण जनाउँदै उड्सले यसपटक नखेल्ने बताएका छन् । एपी/रासस
सेण्ट ज्युड प्रतियोगितामा कार्लस्सनलाई पछयाउँदै ब्राड्ली
जेठ २८, मेम्पिmस (अमेरिका) । किगन ब्राड्ली पीजीए टुरको विजयपश्चात् फेरि सेण्ट ज्युड आइपुगेका छन् । सेण्ट ज्युड क्लासिकमा हाल ब्राड्लीको कोल्ट नष्टसँग टाई परेको छ भने ३६ होल खेलेपछि उनी स्वीडेनका रोबर्ट कार्लस्सनभन्दा तीन स्ट्रोक पछाडि छन् ।'गत हप्ता मेरो लागि कठिन समय थियो । तर, यस हप्ता म फेरि सामान्य अवस्थामै आइपुगिसकेको छु,’ ब्राड्लीले भने । ब्राड्लीले २५ वर्षपुग्न नौ दिन अघिमात्रै उनको पहिलो प्रोफेशन टाइटल बाइरन नेल्सन जितेका हुन् । तर, उनले हालसम्म पनि नेशनबाइड टुर भने जितेका छैनन् । तर, सेण्ट ज्युड प्रतियोगिता जितेको खण्डमा भने कङ्ग्रेसनलमा हुने यूएस ओपनमा पनि उनले खेल्न सक्नेछन् ।कार्लस्सन भने विश्व वरियताक्रममा २३ औं स्थानमा छन् । उनले ११ ओटा यूरोपियन टुर प्रतियोगिता जितिसकेका छन् । यस वर्षपूर्णकालीन रूपमै पीजीए टुरमा खेल्नेछन् । उनी टीपीसी साउथविण्डमा आइपुगेका छन्, जहाँ उनी फोर होल प्लेअफमा ली वेष्टउडसँग १ वर्षअघि हारेका थिए । एपी/रासस
रोजगार सृजनाका लागि ओबामाको आह्वान
जेठ २८, वासिङ्टन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अझ बढी रोजगार सृजनाका लागि निजीक्षेत्रलाई शनिवार आ⋲वान गरेका छन् । त्यसका साथै व्यावसायिक शिक्षाको प्रवर्द्धनका लागि सरकारले जोड दिने ओबामाको आश्वासन छ । रोजगार सृजनाको प्रमुख इञ्जिन सरकार नभई निजीक्षेत्र नै रहेको ओबामाले आफ्नो साप्ताहिक रेडियो तथा इण्टरनेट सम्बोधनमा भनेका छन् ।तर, प्रत्येक कामदारलाई आवश्यक शीप प्रदान गर्न सरकारले निजीक्षेत्रसँग साझेदारी गर्नेबारे पनि ओबामाको प्रतिबद्धता आएको छ । श्रम विभागले मे महीनाको रोजगार तथ्याङ्क सार्वजनिक गरेपछि ओबामाको त्यस्तो प्रतिक्रिया आएको हो । विभागका अनुसार, मे महीनामा मात्र ५४ हजार थप रोजगार सृजना भएको छ, जुन फ्रेबुअरीदेखि अप्रिलसम्मको दरको एक चौथाई मात्र हो । एपी/रासस
Admin 2011-06-12