आईएमएफबाट श्रीलङ्काको प्रशंसा
मङ्सिर २८, कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काले आफ्नो वित्तीय कार्यक्रमलाई अझ बढी धान्न सक्ने र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण प्रगति गरेको अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मङ्गलवार बताएको छ । कोषले सुधार कार्यक्रम पूर्ण रूपले लागू गर्न तथा त्यस दिशामा अझ प्रभावकारी कदमहरू चाल्न सुझाव दिएको छ । आईएमएफले श्रीलङ्कालाई दिएको २ अर्ब ६० करोड डलर ऋणअन्तर्गत थियो । छैटौं किस्ता निकासा गर्नुअघि ऋण कार्यक्रमको प्रगति समीक्षाबारे गत हप्ता सकिएको आईएमएफ मिसनको अन्त्यमा त्यस्तो सुझाव दिइएको हो । श्रीलङ्का सरकारलाई उसको विनिमय दर नीति खुकुलो पार्न कोषले फेरि घचघच्याएको छ । तर, २०११ को बजेटमा व्यवस्था गरिएको कर, वित्तीय, तथा लगानीसम्बन्धी सुधार नीतिहरूको भने कोषले प्रशंसा गरेको छ । उक्त बजेट श्रीलङ्काको संसद्ले शुक्रवार पारित गरेको थियो । रोयटर्स
जापानमा कर्पोरेट कर घटयो, अझै घटाउनुपर्ने माग
मङ्सिर २८, टोकियो (जापान) । जापानी व्यवसायीहरूले मङ्गलवार सरकारद्वारा घोषित कर्पोरेट कर घटाउने योजनाको स्वागत गरेका छन् । साथै रोजगारी बढाउन तथा क्षेत्रीय प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न सरकारको सहयोग अझ बढी चाहिएको व्यवसायीहरूले बताएका छन् । प्रधानमन्त्री नाओतो कानले आगामी अप्रिलदेखि लागू हुने गरी करको दरमा ५ प्रतिशत बिन्दुले कटौती गर्न सोमवार आदेश दिएका थिए । त्यस्तो व्यवस्थाले व्यवसायीहरूलाई घरेलु लगानी बढाउन, थप रोजगार सिर्जना गर्न, तथा तलब वृद्धि गर्न सहयोग पुर्याउने कानले बताएका थिए । सरकारले अनुसन्धान तथा पूजी लगानीका लागि कर मिनाहा गर्नुपर्ने,बलियो जापानी मुद्रा येनलाई सहयोग गर्नुपर्ने तथा स्वतन्त्र व्यापार सम्झौताहरूलाई अघि बढाउनुपर्ने माग व्यवसायीहरूले गरेका छन् । त्यसो नगरिएमा जापानी कम्पनीहरूले दक्षिण कोरियाली कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने खासगरी गाडी तथा इलेक्ट्रोनिक्स उद्योगका कार्यकारी अधिकृतहरूले चेतावनी दिएका छन् ।
कर्पोरेट करको दरलाई ४० प्रतिशतबाट ३५ प्रतिशतमा झार्दा पनि अन्य विकसित देशहरूको तुलनामा सो दर अझै उच्च रहेको व्यवसायीहरूले बताएका छन् । त्यस्तो करको दर ब्रिटेनमा २८ प्रतिशत, जर्मनीमा २४ दशमलव ९ प्रतिशत, तथा दक्षिण कोरियामा २४ दशमलव २ प्रतिशत रहेको छ । जापानको तुलनामा करको दर कम भएकाले नै दक्षिण कोरियाले कार तथा इलेक्ट्रोनिक्सको समुद्रपार व्यापारमा जापानको भाग खोस्न सफल भएको जापानी व्यवसायीहरूको गुनासो छ ।जापानको एक उच्च व्यावसायिक समूह निप्पोन केइडान्रेनले सरकारी घोषणाको स्वागत गर्दै अब व्यवसायीहरूले आर्थिक वृद्धि विषयक सरकारी रणनीति सफल बनाउन घरेलु लगानी बढाउने तथा रोजगार निर्माण गर्ने बताएको छ । तर, थुप्रै जापानी कम्पनीहरू अझै पनि देशभित्रको बजारमा निर्भरता घटाउन देशबाहिर लगानी गर्न बढी इच्छुक देखिएका छन् । कम्पनीहरूको त्यस्तो नीतिले गर्दा जापानको बेरोजगार दर ५ दशमलव १ प्रतिशतमै रहेको छ । रोयर्टस
याहूका कर्मचारी कटौती
मङ्सिर २८, सान फ्रान्सिस्को (अमेरिका) । इण्टरनेट कम्पनी याहू इन्कले व्यवसायमा भइरहेको कमजोर वृद्धिका कारण ६ सयदेखि ७ सय कर्मचारी कटौती गर्ने भएको छ । त्यसबारे कर्मचारीहरूले मङ्गलवारदेखि नै जानकारी पाउने सम्भावना रहेको याहूको योजनासँग जानकार एक व्यक्तिले बताएका छन् । उक्त कटौती याहूको कुल कर्मचारी सङ्ख्या १४ हजार १ सयको लगभग ५ प्रतिशत हो । विगत ३ वर्षमा याहूले सामूहिक रूपमा कर्मचारी कटौती गर्न थालेपछि अहिलेको कटौती चौथोपटकको हो । गुगल, फेसबुकजस्ता याहूका प्रतिस्पर्धी इण्टरनेट कम्पनीहरूले राम्रो व्यापार गरिरहेका छन् । यस वर्षको पहिलो नौ महीनामा याहूको आम्दानी २ प्रतिशतले मात्र बाढेर ४ अर्ब ८० करोड डलर रहेको थियो । सोही अवधिमा गुगलको आम्दानी २३ प्रतिशतले बढेर २१ अर्ब डलर लर पुगेको थियो । रोयटर्स