शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

एशियामा चर्को मूल्यवृद्धिको चिन्ता

पुस २८, नयाँदिल्ली (भारत) । एशियाभरि नै खाद्यवस्तुमा भइरहेको चर्को मूल्यवृद्धिका कारण २००८ कै जस्तो खाद्यसङ्कट आउन सक्नेबारे सरकारहरू चिन्तित भएका छन् । सन् २००८ को खाद्यसङ्कटका कारण एशियालगायत विश्वका धेरै क्षेत्रमा दङ्गासमेत भएको थियो ।   संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले खाद्यवस्तुको मूल्य सूचकाङ्क २००८ को भन्दा माथि पुगिसकेको गत हप्ता बताएको थियो । हालसम्मकै चर्को मूल्यवृद्धिका कारण लाखौं मानिसहरू जोखिममा रहेको पनि सङ्गठनले चेतावनी दिएको थियो । त्यस्तै चेतावनी विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकले आफ्नो भारत भ्रमणका क्रममा दिएका छन् । विश्वकै आर्थिक वृद्धि तथा सामाजिक स्थायित्वका लागि चर्को मूल्यवृद्धि चुनौती भएको जोलिकको धारणा छ । चर्को मूल्यवृद्धिले एशियाका तीन सबैभन्दा धेरै जनसङ्ख्या भएका देशहरू चीन, भारत तथा इण्डोनेशियामा गम्भीर अस्थिरता उत्पन्न गरिरहेको छ । यी देशहरूमा आगामी दिनमा मुख्य खाद्यपदार्थ चामल तथा गहुँको मूल्यमा अझै वृद्धि हुने देखिएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो प्रमुख मन्त्रीहरूलाई मूल्यवृद्धिबारेको समस्यामा छलफल गर्न मङ्गलवार डाकेका थिए । भारतमा खाद्यवस्तुको महँगी १८ प्रतिशत नाघेको छ भने दक्षिणी भारतमा बेमौसममा परेको पानीले बालीमा नोक्सान पुर्‍याउने सम्भावना छ । एएफपी/रासस

एशियामा चामलको माग बढयो, भाउ बढेन

पुस २८, बैङ्कक (थाइल्याण्ड) । फिलिपिन्स तथा इण्डोनेशियाबाट चामलको ताजा माग भए तापनि यस हप्ता एशियाली चामलको मूल्यमा खासै परिवर्तन हुन सकेन । बाली भित्र्याउने बेला भएकाले आगामी हप्ताहरूमा थाइल्याण्ड तथा भियतनामजस्ता चामलका उच्च उत्पादक देशहरूमा ठूलो मात्रामा चामल उत्पादन हुनेछ ।   थाइल्याण्डको शतप्रतिशत 'बी' ग्रेड सेतो चामलको मूल्य यस हप्ता पनि गत हप्ताको जस्तै प्रतिटन ५ सय ३५ डलरमा यथावत् रहेको निर्यातकर्ताहरूले बुधवार बताएका छन् । जनवरीदेखि मार्च अन्त्यसम्म इण्डोनेशियाले १ लाख ७० हजार टन थाई चामल थाइल्याण्डबाट आपूर्ति हुने अपेक्षा गरेको छ । त्यसैगरी घरेलु बजारमा चामलको मूल्य नियन्त्रण गर्न फिलिपिन्सले पनि फेब्रुअरीमा चामल खरीद गर्ने बताएको छ ।  फिलिपिन्स तथा इण्डोनेशियाबाट आएको मागका कारण अन्ततः चामलको मूल्य बढ्ने भए तापनि थाइल्याण्ड तथा भियतनाममा प्रशस्त चामल भण्डारण रहेकाले हाललाई मूल्यमा परिवर्तन नहुने बैङ्ककका एक व्यापारीले बताए । रोयटर्स




दक्षिण कोरियाको हाइटीमा लगानी

पुस २८, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको कपडा उत्पादक कम्पनी से ए ट्रेडिङले हाइटीमा एउटा कपडाको कारखाना खोल्न ७ करोड ८० लाख डलर लगानी गर्ने बुधवार बताएको छ  । २० हजार जनासम्मलाई रोजगार दिने उक्त कारखाना हाइटीमा सबैभन्दा ठूलो निजीक्षेत्रको रोजगारदाता हुनेछ । नर्थ इण्डष्ट्रियटल पार्क भनिने उक्त कारखाना उत्तरी तट नजिकको प्रमुख कपडा उत्पादन उद्योग हुनेछ । जम्मा २ अर्ब ५० करोड डलरको लागत खर्चमा निर्माण हुने सो कारखानालाई हाइटी सरकार, अमेरिकी सरकार, तथा इण्टर अमेरिकन डेभलपमेण्ट बैङ्कले संयुक्त रूपमा विकास गर्नेछन् । गतवर्ष आएको विनाशकारी भूकम्पपछि हाइटीको  पुनर्निर्माणमा सहयोग गर्ने प्रयासस्वरूप कारखाना निर्माण गरिने भएको हो । एएफपी/रासस

ईयूमा आर्थिक समन्वयको नयाँ युग प्रारम्भ

पुस २८, ब्रसेल्स (बेल्जियम) । यूरोपेली मुद्रा यूरोमा समस्या सृजना गर्ने बजेट घाटा तथा ऋणसमस्याको समाधान गर्न यूरोपमा बुधवारदेखि नयाँ प्रचलन लागू भएको छ । त्यसअनुसार अबदेखि यूरोपेली देशहरूले आफ्नो राष्ट्रिय बजेट लागू गर्नुअघि यूरोपियन युनियन (ईयू)बाट सुपरिवेक्षण गराउनु पर्नेछ । हाल पोर्चुगल तथा स्पेनलगायत यूरोक्षेत्रमा देखिएको ऋणसङ्कटबाट पाठ सिक्दै विचलित मनस्थितिको बजारलाई आश्वस्त पार्न चाल्नुपर्ने कदमका बारे ईयूका राष्ट्रहरू सहमत भएका छन् । त्यस्ता भावी कदममा 'यूरोपियन सेमेष्टर’ भनिने एउटा नयाँ कार्यक्रम बुधवारदेखि शुरू हुँदैछ । उक्त कार्यक्रमले गतवर्ष ग्रीस तथा आयरल्याण्डमा भएको जस्तो वित्तीय दुर्घटनाका बेला आर्थिक तथा बजेटसम्बन्धी नीतिहरूमा समन्वय गर्नेछ । त्यस्तो कार्यक्रम आएबाट एउटै आर्थिक सरकारअन्तर्गत ईयू राष्ट्रहरूको अर्थतन्त्र सञ्चालन गर्ने ईयूको लक्ष्यमा सदस्य राष्ट्रहरू नजिकिएका छन् । आफ्नो वित्तीय स्वतन्त्रता गुमाउन नचाहने  बेलायतजस्ता राष्ट्रहरूलाई आश्वस्त गरेपछि गत सेप्टेम्बरमा उक्त सुधार कार्यक्रमको औपचारिक अनुमोदन भएको थियो । साझा मुद्रा यूरो लागू गरेपछि २७ देशले २७ थरीका बजेट नीति सञ्चालन गर्न नसकिने इटालीका अर्थमन्त्री गिउलिओ ट्रेमण्टीले भनेका छन् । ईयूमा निर्यातनिर्भर जर्मनी, कृषिनिर्भर फ्रान्स तथा पूर्व कम्युनिष्ट पोल्याण्डजस्ता २७ अन्त्यन्त विविधता भएका यूरोपेली राष्ट्रहरू आबद्ध छन् । एएफपी/रासस

चिनियाँ बैङ्कको न्यूयोर्कमा युआन सेवा आरम्भ


पुस २८, बेइजिङ (चीन) ।  एक चिनियाँ सरकारी बैङ्कले उसको न्यूयोर्क शहरस्थित शाखाबाट चिनियाँ मुद्रा युआनमा कारोबार गर्न मिल्ने खाता प्रचलनमा ल्याउने भएको छ । अन्तरराष्ट्रिय कारोबारमा युआनको प्रचलन बढाउने चीन सरकारको योजनाअन्तर्गत बैङ्कले त्यस्तो कदम चालेको हो । चिनियाँ राष्ट्रपति हु जिन्ताओको आगामी हप्ता हुने भएको वासिङ्टन भ्रमणअघि बैङ्क अफ चाइनाले त्यस्तो घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति बराक ओबामाले चीनको मौद्रिक नियन्त्रणबारे अमेरिकी गुनासाहरू हुसँगको वार्तामा राख्ने ह्वाइट हाउसले बताएको छ  । चीनले युआनलाई न्यून मूल्यमा राखेर आफ्नो अर्बौं डलरको नाफामा रहेको व्यापार झनै बढाउने मौद्रिक नीति लिएको आलोचकहरूले भन्दै आएका छन् । बेइजिङ्ले भने डलरमाथिको निर्भरता घटाएर आफ्नो मुद्रा युआनलाई प्रवर्द्धन गर्न चाहेको छ । चीनले आफ्नो छुट्टै मुद्रा भएको चिनियाँक्षेत्र हङ्कङलाई मुख्यभूमि चीनबाहिर विदेशीहरूका लागि युआनमा कारोबार गर्ने बजारका रूपमा विकास गर्न खोजिरहेको छ । एपी/रासस