अमेरिकामा यस वर्षको ६४औं बैङ्क बन्द
साउन २८, वाशिङटन (अमेरिका) । अमेरिकी नियामकहरूले क्यान्ससस्थित फर्ष्ट नेशनल बैङ्क अफ ओलाथेलाई बन्द गरिदिएका छन् । यस वर्षबन्द गरिएकामध्ये उक्त बैङ्क ६४औं हो । कमजोर आर्थिक पुनर्बहालीले अमेरिकाको बैङ्किङ प्रणाली र खासगरी साना स्थानीय बैङ्कमाथि दबाब बढेको छ ।फर्ष्ट नेशनलको सम्पत्ति ५३ करोड ८० लाख डलर थियो भने कुल निक्षेप ५२ करोड ४० लाख डलर थियो । यस वर्षक्यान्ससमा बन्द गरिएको यो पहिलो बैङ्क हो । फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले फर्ष्ट नेशनलका ६ ओटा शाखा शनिवार मिसाउरीस्थित इण्टरप्राइज बैङ्क एण्ड ट्रष्टमातहत फेरि खुल्ने बताएको छ ।सन् २०१० मा १ सय ५७ ओटा र २००९ मा १ सय ४० ओटा बैङ्क असफल भएका थिए । विगतका २ वर्षको दाँजोमा यस वर्षथोरै बैङ्क बन्द हुने सम्भावना रहेको कर्पोरेशनले बताएको छ । एजेन्सी
सेरेना टोरण्टो टेनिसको सेमिफाइनलमा
साउन २८, टोरण्टो, क्यानडा । अमेरिकाकी सेरेना विलियम्स टोरण्टोमा भइरहेको डब्ल्यूटीए हार्डकोर्ट टुर्नामेण्टमा लुसी साफारोवालाई ४-६, ६-३, ६-४ को सेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी छन् । खुट्टाको चोटपटक र बिमारीका कारण लामो समय खेलबाट बाहिर रहेकीले सेरेना हाल सीड वरीयताक्रममा रहेकी छैनन् ।उनी अब चौथो सीडकी बेलारुसकी भिक्टोरिया अजारेङ्कासँग भिड्नेछिन् । अजारेङ्काले १ सय ३५औं वरीयताक्रममा रहेकी काजाकिस्तानकी गेलिना भोस्कोबोएभालाई ६-१, ६-२ ले हराएकी थिइन् । अष्ट्रेलियाका सामन्था स्टोसरले भने रोबर्टा भिन्सीलाई ६-४, ६-१ ले हराएकी थिइन् । स्टोसरले अब पोल्याण्डकी अग्निएस्ज्का रादवान्स्काको सामना गर्नेछिन् । रादवान्स्काले जर्मनीकी एण्ड्रिया पेत्कोभिकलाई ६-४, ६-३ ले हराएकी थिइन् ।अजारेङ्का हाल मैदानमा रहेकीमध्ये सबैभन्दा उच्च वरीयताकी सीड हुन् । भोस्कोबोएभा आफू पराजित भए पनि टेनिसका दिग्गज खेलाडीलाई हराउन सफल भइन्, जसमा नवौं वरीयताकी मारिओन बार्तोली, २५औं वरीयताकी फ्लेभिया पेन्नेट्टा र यूएस ओपनकी पूर्वविजेता मारिया सारापोभा पनि थिए । एएफपी/रासस
टाइगर उड्स पीजीएबाट बाहिर
जोन्स क्रीक (अमेरिका) साउन २८ । पूर्व विश्व नं १ गोल्फर टाइगर उड्स यहाँ भइरहेको पीजीए च्याम्पियनशिपबाट बाहिरिएका छन् । शुक्रवार भएको दोस्रो दिनको खेलमा आवश्यक स्कोर (४ ओभर) गर्न नसकेपछि 'कट’मा परेका कारण उनी बाहिरिएका हुन् । उनीसँगै अरू पनि धेरै उच्च स्तरीय खेलाडी 'कट’मा परेका छन् ।त्यसमध्ये डिफेण्डिङ च्याम्पियन मार्टिन केमर र ब्रिटिश ओपन विजेता डेरेन क्लार्क प्रमुख छन् । त्यस्तै लुइस उस्त हुइजन, ग्रेइभ म्याक्डवेल र अर्नी एल्स पनि बाहिरिएका छन् । शुक्रवारको खेलको अन्त्यमा अमेरिकी गोल्फरद्वय कीगन ब्रेड्ली र ज्यासोन डफ्नर ५ अण्डरको स्कोरसहित संयुक्त रूपमा प्रथम स्थानमा थिए भने अमेरिकाकै जिम फुरिक, स्कट भर्प्लाङ्क र डीए प्वाइण्ट्स ४ अण्डर स्कोरसहित अष्ट्रेलियाका जोन सेण्डेनसँगै सयुक्त रूपमा तेस्रो स्थानमा थिए ।
Admin 2011-08-14