शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आणविक ऊर्जाको विकल्प खोज्न आह्वान


असार २९, टोकियो (जापान) । जापानका प्रधानमन्त्री नाओतो कानले हालैको आणविक सङ्कटबाट पाठ लिँदै आणविक ऊर्जामाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिएका छन् । आणविक ऊर्जाको जोखिम निकै ठूलो रहेकाले सौर्यऊर्जा, वायुऊर्जा र बायोमासबाट प्राप्त ऊर्जा नै जापानको आगामी ऊर्जा नीति हुनुपर्ने कानको विचार छ । त्यसका साथै ऊर्जाको संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने कानले औंल्याएका छन् ।

'हामीले यस्तो समाजको निर्माण गर्नुपर्छ, जो आणविक ऊर्जामा निर्भर नहोस्’ कानले भने । त्यस्तै क्रमबद्ध र प्रणालीगत रूपले आणविक केन्द्रको आवश्यकता नै नरहने खालको समाज निर्माण गरिनुपर्नेमा कानको जोड छ । पर्याप्त सुरक्षा अपनाउन सके आणविक ऊर्जा लाभदायक हुन सक्ने आफ्नो विचारमा हालैको सङ्कटले परिवर्तन ल्याइदिएको कानले स्वीकार गरे । साथै, परम्परागत सुरक्षा अवधारणा प्रयोग गरेर आणविक केन्द्रहरूलाई नियन्त्रण गर्न नसकिने उनको दाबी छ ।गत मार्च ११ मा आएको भूकम्प र सुनामीपछि फुकुशिमा दाइची आणविक केन्द्र क्षेतीग्रस्त भएपछि विश्वभरि नै आणविक ऊर्जाको विकल्प खोज्नुपर्ने माग उठेको छ ।          एपी/रासस

अन्तरिक्षको फोहोरबाट बच्न सुरक्षात्मक कार्यक्रम

असार २९, केप कार्निभल (फ्लोरिडा) । अमेरिकी वायु सेनाले अन्तरिक्षमा फैलिएको फोहोरबाट बच्न साढे तीन अर्ब डलर खर्च गर्ने भएको छ । अन्तरिक्षमा फैलिएको फोहोरका कारण अन्तरिक्ष यान र उपग्रहहरूलाई खतरा रहेको बताउँदै  वायुसेनाले 'स्पेस फेन्स' नामक सुरक्षात्मक कार्यक्रम निर्माण गर्न लागेको होे ।वायुसेनाको  उक्त कार्यक्रम निर्माण गर्न अन्तरिक्ष र सुरक्षा उपकरणहरू बनाउने कम्पनीहरू 'लकहिड मार्टिन' र 'रेथियन' लागिपरेका छन् । ती कम्पनीहरूले वायुसेनाबाट स्पेस फेन्स कार्यक्रमको ठेक्काका लागि प्रतिस्पर्धा गर्ने बताइएको छ । उक्त कुराको जानकारी 'लकहिड मार्टिन'का कार्यक्रम निर्देशक जोन मोसले जानकारी दिएका हुन् । उनले अन्तरिक्षमा तैरिरहेका सोभियतकालीन समयका उपग्रहका भागहरू र चट्टानलगायत अन्य फोहोरबाट अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र, अन्तरिक्ष यान र उपग्रहहरूलाई ठूलो खतरा रहेको बताएका छन् । उनले उक्त कार्यक्रममा अन्तरिक्षमा रहेको फोहोर पत्ता लगाउने अत्याधुनिक राडार प्रणाली बनाउने र त्यसबाट अन्तरिक्षयानको बाटोमा आउने अवरोधबारे पूर्वसूचना दिने उल्लेख गरेका छन् ।

आफूहरूले सन् २०१५ सम्म प्रणाली निर्माण गरिसक्ने र सन् २०२० सम्म चालू गरिसक्ने जानकारी पनि दिएका छन् । फोहोरका कारण बेलाबेलामा अन्तरिक्ष यानहरूलाई समस्यामा पर्ने गरेका छन् । गत हप्ता प्रक्षेपण गरिएको नासाको अन्तरिक्ष यान एटलाण्टिसले आफ्नो मार्गमा फोहरको थुप्रो देखेको बताएको थियो । एजेन्सी

आईएमएफ सहायक प्रमुखमा पहिलो चिनियाँ

असार २९, वाशिङटन (अमेरिका) । चिनियाँ अर्थशास्त्री झु मिन अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सहायक प्रबन्ध निर्देशक पदमा पुग्ने पहिलो चिनियाँ नागरिक हुन सफल भएका छन् । अन्तरराष्ट्रिय अर्थतन्त्रमा चीनको बढ्दो प्रभावलाई आईएमएफले झुको नियुक्तिमार्फत मान्यता प्रदान गरेको छ । त्यसैगरी, ह्वाइटहाउसका सहयोगी डेभिड लिप्टनले निवर्तमान सहायक प्रबन्ध निर्देशक जोन लिप्स्कीलाई विस्थापन गर्नेछन् ।    

आईएमएफका नवनियुक्त प्रबन्ध निर्देशक क्रिष्टिन लागार्दले आफ्ना सहायकहरूको नियुक्तिबारे गरेको यो पहिलो निर्णय हो । आईएमएफको सञ्चालक समिति र व्यवस्थापनमा प्रमुख उदीयमान देशहरूको उचित प्रतिनिधित्वका लागि आफूले पहल गर्ने लागार्दले प्रतिबद्धता गर्दै आएकी थिइन् । चीनको केन्द्रीय बैङ्कका पूर्वपदाधिकारी ५८ वर्षीय झुले २०१० देखि आईएमएफ प्रमुखका विशेष सल्लाहकारका रूपमा काम गरिसकेका छन् । एएफपी/रासस

फिलिपिन्सका बिशपहरूद्वारा एसयूभी गाडी फिर्ता

असार २९, मनिला (फिलिपिन्स) । फिलिपिन्सस्थित रोमन क्याथोलिक चर्चका बिशपहरूले सरकारी चन्दा कोषबाट उपहारस्वरूप पाएका एसयूभी गाडीहरू बुधवार फिर्ता गरेका छन् । चन्दा कोषमा प्राप्त चन्दा रकम दुरूपयोग गरेको आरोप लागेपछि बिशपहरूले त्यस्तो निर्णयगरेका हुन् । पूर्वराष्ट्रपति ग्लोरिया म्याकपागल अरोयोको शासनकालमा उक्त चन्दा रकम दिइएको थियो ।

अरोयोले सार्वजनिक विरोध र सैन्य 'कू'को सामना गर्न बिशपहरूलाई प्रयोग गर्न चाहेको आरोप लाग्दै आएको छ । गतवर्षनै अरोयोले आफ्नो नौवर्षको शासनकाल टुङ्ग्याउँदै राजीनामा दिएकी थिइन् । फिलिपिन्सको सिनेट छानबिन समितिसमक्ष बिशपहरूले चारओटा गाडी फिर्ता गरे भने बाँकी फिर्ता प्रक्रियामा रहेको बताए । आफूहरूले गाडी सुविधा लिनु गैरकानूनी र असंवैधानिक नभए तापनि आशङ्काहरू मेटाउन फिर्ता गरेको आर्चबिशप ओर्लाण्डो क्वेभेडोको दाबी छ ।    एपी/रासस

इटालीमा सार्वजनिक खर्च कटौती कार्यक्रम

असार २९, मिलान (इटाली) । ग्रीसबाट शुरू भएर यूरोजोनभरि फैलिँदै गइरहेको ऋणसङ्कटबाट बच्न इटालीले सार्वजनिक खर्चहरूमा कटौती गर्ने भएको छ । इटालीका अर्थमन्त्री गिउलियो  ट्रिमोण्टीले बुधवार एक कार्यक्रममा बोल्दै यसबारे जानकारी दिएका हुन् ।रोममा आयोजित बैङ्कर एशोसिएशनको कार्यक्रममा बोल्दै उनले खर्च कटौती कार्यक्रम शुक्रवारसम्म संसद्का दुवै सदनबाट पारित गरेर कडाइका साथ लागू गर्ने बताएका छन् । उनले ऋणसङ्कट कुनै एक देशको मात्र नभएर त्यसले यूरोपकै संरचनामा समस्या पार्नसक्ने उल्लेख गरेका छन् । साथै सन् २०१४ सम्म खर्च कटौती कार्यक्रमबाट इटालीको बजेटमा सन्तुलन ल्याइने पनि बताएका छन् ।सरकारले लागू गर्न लागेको खर्च कटौती कार्यक्रमप्रति इटालीको शेयरबजारले सकारात्मक प्रतिक्रिया देखाएको छ । यससम्बन्धी समाचार आएपछि मिलान स्टक एक्सचेञ्जको शेयर सूचकाङ्क १ दशमलव ४ प्रतिशतले बढेर १८ हजार ७ सय ६५ अङ्क पुगेको थियो ।         एपी/रासस  

'मेडफ ठगी प्रकरण’का पीडितलाई क्षतिपूर्ति

असार २९, न्यूयोर्क (अमेरिका) । अमेरिकी इतिहासमै सबैभन्दा ठूलो ठगी मानिएको 'मेडफ ठगी प्रकरण'का पीडितहरूले क्षतिपूर्ति पाउने भएका छन् । अमेरिकाको एक अदालतका न्यायाधीशले मङ्गलवार ठगी प्रकरणका पीडितहरूलाई पहिलो किस्तामा २ सय ७२ करोड डलर क्षतिपूर्ति दिनुपर्ने आदेश सुनाएका हुन् ।न्यायाधीश बर्टन लिफल्याण्डले गत मे महीनामा ठगी प्रकरणका पीडितहरूका तर्फबाट ईर्भिङ पिर्काडले दायर गरेको मुद्दामा क्षतिपूर्तिका लागि अन्तरिम व्यवस्था गर्न उक्त फैसला सुनाएका हुन् । फैसलामा न्यायाधीशले २ दशमलव ६ अर्ब डलरको कोष खडा गरेर रकम जम्मा गर्दै सबै पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश दिएका छन् ।

अदालतको उक्त आदेशबाट १ हजार २ सय २४ पीडितले प्रतिव्यक्ति औसतमा २ लाख २२ हजार डलर पाउनेछन् । पिर्काडले दायर गरेको बर्नाड मेडफ र उनका सहयोगीहरूबाट ७ दशमलव ६ अर्ब डलर फिर्ता गराउन माग गरिएको थियो ।  इर्भिङ पिकार्डले यसबाहेक मेडफलाई सघाएकोमा वाल स्ट्रीट बैङ्क जेपी मोर्गन र न्यूयोर्क बेसबल टीम मेट्सका सञ्चालकहरूविरुद्ध पनि मुद्दा दायर गरेका थिए ।मेडफबाट ठगिएकाहरूमा उनलाई विगत २० वर्षदेखि पैसा दिने च्यारिटी, ठूला बैङ्क र हलिउड मुगलहरू रहेका छन् । बर्नाड मेडफले पिरामिड स्किम भन्दै लगानीकर्ताहरूबाट ६५ अर्ब डलर ठगी गरेका थिए । सन् २००८ मा समातिएपछि ७२ वर्षमा मेडफ हाल १ सय ५० वर्षको जेलसजाय भोगिरहेका छन् । एएफपी/रासस

सहायता कटौतीप्रति पाकिस्तानी प्रधानमन्त्रीको चिन्ता

असार २९, इस्लामाबाद (पाकिस्तान) । पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानीले अमेरिकाले आफ्नो देशलाई दिँदै आएको सैनिक सहायता कटौतीप्रति चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानलाई दिँदै आएको सैन्य सहायतालाई एक तिहाइ अर्थात् ८० करोड डलरभन्दा पनि बढीले कटौती गर्ने अमेरिकाले आइतवार घोषणा गरेको थियो ।अमेरिकाले पाकिस्तानको अबोट्टाबादस्थित एक सैन्य केन्द्र नजिकै ओसामा विन लादेनलाई मारेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण हुन पुगेको हो । अमेरिकाले गरेको सहायता कटौतीबाट पाकिस्तानको इस्लामिक कट्टरताविरूद्धको अभियान कमजोर हुने गिलानीको भनाइ छ । यसबाट विश्वलाई नै खतरा बढ्ने उनको आशङ्का छ ।अमेरिकी सहायता कटौतीबाट पाकिस्तानको नागरिक सरकार र नेताहरू चिन्तित रहेको गिलानीको भनाइबाट सङ्केत मिलेको छ । किनभने पाकिस्तानी सेना लगभग नागरिक नियन्त्रणबाट बाहिर नै छ र उसले सैन्य सहायता मुद्दालाई खासै महत्त्व दिएको छैन । सहायता नआए पनि आफ्नै स्रोतले उग्रवादीहरूसँग लड्ने पाकिस्तानी सेनाले बताएको छ । एपी/रासस

ब्रिटिश ओपनमा  हावाहुरीको आशङ्का

असार २९, स्याण्डविच, इङल्याण्ड) । बिहीवारबाट इङल्याण्डको स्याण्डविचमा शुरू हुने ब्रिटिश ओपन हावाहुरीका कारण प्रभावित हुन सक्ने देखिएको छ । ३० माइल प्रतिघण्टाले चलिरहेको हावाका कारण बिहीवार हुने पहिलो चरणको खेलमा 'टी'हरू सार्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन् । हावाका कारण केही 'फेयरवेज' र 'लङ पार-३' धेरै खेलाडीका लागि पहुँचबाहिर हुन सक्छन् । गोल्फ कोस रोयल एण्ड एन्सियण्टका प्रमुख कार्यकारी पिटर डसनका अनुसार नं. ७, पार फाइव र नं ११ लगायतका होललाई छोटो बनाउनुपर्ने हुन सक्छ ।               एपी/रासस

श्रीलङ्काले बेलायती अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने

असार २९, कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काले बेलायती उच्च अदालतले स्टयाण्डर्ड  चार्टर्ड बैङ्कलाई पेट्रोलियम 'हेजिङ' कारोबार विवादमा १ सय ६२ करोड अमेरिकी डलर तिर्न दिएको आदेशविरुद्ध पुरनावेदन गर्ने भएको छ । श्रीलङ्काको राज्य नियन्त्रित 'सिलोन पेट्रोलियम कर्प' (सीपीसी)ले मङ्गलवार बेलायती अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न महान्याधिवक्ता कार्यालयलाई आग्रह गरेको थियो ।

अदालतका न्यायाधीशले स्टयाण्डर्ड चार्टर्ड बैङ्कले दायर गरेको मुद्दामा सीपीसीले बैङ्कलाई ब्याजसहितको रकम तिर्नुपर्ने फैसला सुनाएका थिए । तर, सीपीसीले अदालतको उक्त आदेश  स्टयाण्डर्ड चार्टर्डर्बैङ्कको पक्षमा भएको भन्दै दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको थियो । अदालतको आदेशमा सीपीसीले हेजिङ कारोबारको सम्झौताका नियमहरूको उल्लङ्घन गरेको उल्लेख छ ।सीपीसी र बैङ्कबीच सन् २००७ मा उक्त सम्झौता भएको थियो । त्यसबेला अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको थियो । एएफपी/रासस

Admin 2011-07-14