शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आईएमएफद्वारा कमजोर बैङ्कलाई सुदृढ बनाउन सुझाव 

वैशाख २९, फ्राङ्कर्फट (जर्मनी) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यूरोपलाई त्यहाँका कमजोर बैङ्कलाई आफ्नो वित्तीय अवस्था सुदृढ बनाउनेतर्फ प्रेरित गर्न भनेको छ । ग्रीस, पोर्चुगल र आयरल्याण्डको जस्तै ऋणसङ्कट यूरोजोनका अन्य अर्थतन्त्रमा फैलिनबाट जोगाउन त्यस्तो कदम चालिनुपर्ने आईएमएफले सुझाव दिएको हो ।

आईएमएफका अनुसार कमजोर बैङ्कहरूलाई स्ट्रेस टेष्टका प्रावधान अँगालेर थप नयाँ पूँजीको जोहो गर्न प्रेरित गरिनुपर्छ । त्यस्तो कदम चाल्नु यूरोजोनका बाँकी अर्थतन्त्रका लागि अति महत्त्वपूर्ण हुनेछ । किनभने, यूरोजोनका कतिपय बैङ्कहरूले ग्रीस, आयरल्याण्ड र पोर्चुगलले लिएको ऋणको बण्ड खरीद गरेका छन्, जसले ती देशको ऋण समस्यालाई झनै जटिल बनाउनेछ । कोषका अनुसार उक्त ऋण डिफल्ट भएमा वा ऋणको पुन:संरचनाबाट ती बैङ्कमाथि  ठूलो समस्या आउनसक्नेछ । फलस्वरूप, बैङ्कहरूले कम्पनीहरूलाई ऋण दिन नसक्दा सम्पूर्ण अर्थतन्त्रमै वित्तीय समस्या आउन सक्ने आईएमएफको चेतावनी छ ।कोषका अनुसार ऋण सङ्कटले समस्या ननिम्त्याएको खण्डमा यूरो मुद्रा प्रचलनमा रहेका १७  देशका अर्थतन्त्रमा यस वर्ष१ दशमलव ७ प्रतिशत र अर्को वर्ष१ दशमलव ९ प्रतिशतको वृद्धि हुनेछ । एपी/रासस

भारतमा औद्योगिक उत्पादनसँगै ब्याजदर बढ्ने सम्भावना

वैशाख २९, नयाँ दिल्ली (भारत) । भारतमा पूँजीगत वस्तुको उत्पादनमा पुनर्बहाली भएबाट  मार्चको औद्योगिक उत्पादन वृद्धिदरले  पूर्वानुमानलाई नाघेको छ । त्यसपछि, हालैका दिनहरूमा अर्थतन्त्रमा सुस्ती आउने आशङ्का केही मत्थर भएको छ । साथै, अब चर्को मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदर अझै बढाउन केन्द्रीय बैङ्कलाई थप सजिलो हुनेछ ।

कारखाना, खानी र अन्य सेवा उद्योगहरूको मार्चको वार्षिक उत्पादन वृद्धिदर ३ दशमलव ६५ प्रतिशतको पूर्वानुमानभन्दा निकै माथि ७ दशमलव ३ प्रतिशत पुगेको छ । पूँजीगत वस्तुको उत्पादन भने ३ महीनासम्म लगातार खुम्चेपछि मार्चमा वार्षिक १२ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । उता, कुल उत्पादनको ८० प्रतिशत ओगट्ने म्यानु फ्याक्चरिङ क्षेत्रको उत्पादन मार्चमा ७ दशमलव ९ प्रतिशतले बढेको छ ।  केन्द्रीय बैङ्कले जुनमा हुने नीतिगत समीक्षाका बेला प्रमुख ब्याजदरलाई २५ आधार अङ्कले बढाउने धेरै अर्थशास्त्रीहरूको अपेक्षा छ । गत हप्तामात्रै बैङ्कले अपेक्षा गरिएभन्दा पछि बढी ५० आधार अङ्कले ब्याजदर वृद्धि गरेको थियो । एजेन्सी

गोल्डम्यानको चीनमा प्राइभेट इक्विटी फण्ड

वैशाख २९, हङकङ (चीन) । वालस्ट्रीट बैङ्क गोल्डम्यान साखले चीनमा एक प्राइभेट इक्विटी फण्ड स्थापनाका लागि ५ विलियन युआन (७७ करोड डलर) उठाउने भएको छ । त्यस सम्बन्धमा गोल्डम्यानले बेइजिङ नगरपालिका सरकारसँग सहमति गरिसकेको एक जानकार स्रोतले बताएको छ । उक्त लगानी घरेलु कोषको क्षेत्रमा गोल्डम्यानको पहिलो लगानी हुनेछ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत लोयड ब्लाङ्कफेइन र मर्चेण्ट बैङ्किङका प्रमुख रिचर्ड फ्राइडम्यानले बेइजिङका मेयर गुओ जिङ्लङसँग एउटा सहमतिमा बिहीवार हस्ताक्षर गरेका छन् ।

अर्को अमेरिकी बैङ्क मोर्गन स्टान्लीले पनि युआनमा प्राइभेट इक्विटी फण्ड आगामी हप्ता स्थापना गर्ने भएको छ । चीनले विदेशी प्राइभेट इक्विटी कम्पनीहरूलाई युआनमा फण्ड स्थापना गर्न प्रोत्साहित गरिरहेको छ । त्यसबाट स्थानीय कर्पोरेट सुशासनमा सुधार आउनुका साथै निजीक्षेत्रमा रकम प्रवाह हुन गई घरेलु अर्थतन्त्रलाई सहयोग पुग्ने चीनको अपेक्षा छ । एजेन्सी

५९ अर्ब डलरका सफ्टवेयर प्रतिलिपि चोरी

वैशाख २९, वाशिङटन (अमेरिका) । गतवर्ष सफ्टवेयरको अनधिकृत प्रतिलिपि चोरीका घटनामा १४ प्रतिशतले वृद्धि भएर कुल कारोबार ५९ अर्ब डलरमा पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी प्रतिलिपि चोरीका घटनाहरू उदीयमान अर्थतन्त्रमा हुने गरेको देखिन्छ । विश्वभरिका व्यापारिक गृह तथा उपभोक्ताले २०१० मा ९५ अर्ब डलरबराबरको सफ्टवेयर वैधानिक रूपमा खरीद गरेका थिए । तर, सोही वर्ष५८ अर्ब ८० करोड डलरबराबरको चोरीका सफ्टवेयर प्रयोग गरिएका बिजनेश सफ्टवेयर एलाएन्स (बीएसए)ले बताएको छ । त्यसमध्ये ३१ अर्ब ९० करोड डलरबराबरको प्रतिलिपि चोरी भने उदीयमान अर्थतन्त्रहरूमा भएको बीएसएको आठौं विश्वव्यापी सफ्टवेयर चोरी अध्ययनले देखाएको छ ।

गतवर्ष विश्वभरि खपत भएका जम्मा पसनल कम्प्युटर(पीसी)मध्ये आधाजति उदीयमान अर्थतन्त्रहरूमा खपत भएका थिए । तर, तीनै उदीयमान अर्थतन्त्रमा २० प्रतिशतभन्दा पनि कम शुल्क तिरेर सफ्टवेयर प्रयोग गरिएका थिए । तर, सफ्टवेयर प्रतिलिपि चोरीको मूल्य बढे तापनि त्यस्तो चोरीका दर भने २०१० मा एक प्रतिशतले घटेर ४२ प्रतिशतमा ओर्लेको छ । सबैभन्दा बढी प्रतिलिपि चोरीका दर मध्य र पूर्वी यूरोप तथा ल्याटिन अमेरिकामा रहेका छन् । ती क्षेत्रमा प्रयोग गरिएका ६४ प्रतिशत पीसी सफ्टवेयर प्रतिलिपि चोरी हुन् । त्यसपछि, एशियाप्रशान्त क्षेत्रमा ५८ प्रतिशत, मध्यपूर्वमा ६० प्रतिशत, र पश्चिमी यूरोपमा ३३ प्रतिशत सफ्टवेयर प्रतिलिपि चोरी गरिएका छन् । सबैभन्दा कम उत्तर अमेरिकामा २१ प्रतिशत सफ्टवेयर प्रतिलिपि चोरीमार्फत प्रयोग गरिएका छन् । एएफपी/रासस

अमेरिकी स्कुलमा चिनी मिसाइएका दूध प्रतिबन्ध

वैशाख २९, लस एञ्जलस (अमेरिका) । अमेरिकामा चकलेट मिल्क अर्थात् चकलेट मिसाइएको दुग्ध पेय केटाकेटीमाझ निकै लोकप्रिय छ । तर, केटाकेटीहरूमा मोटोपना पनि  महामारीकै रूपमा बढ्दै गएकाले अमेरिकी स्कूलहरूले चकलेट मिल्कमाथि प्रतिबन्ध लगाउनेबारे सोचिरहेका छन् । किनभने त्यस्ता चकलेट मिल्कमा चिनी पनि थपिएको हुन्छ र चिनीले मोटोपना बढाउँछ । स्कूलमा खाने केटाकेटीहरूलाई स्वस्थ्य खानेकुरा मात्र दिनुपर्ने दबाब स्कूलहरूमाथि बढेकाले त्यसबारे सोचिएको हो । स्कूलको भान्सामा बन्ने खानेकुराहरूमा चिनीको मात्रा घटाउनुपर्ने निरीक्षकहरूले निर्देशन दिएका छन् ।

कतिपय स्कूलले त सुगन्धित वा प्रशोधित दूधमाथि नै प्रतिबन्ध लगाइसकेका छन् । फ्लोरिडाले त्यस्ता राज्यभरिका स्कूललाई त्यस्ता दूधको प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ । अन्य कतिपय क्षेत्रले भने मध्यमार्गी बाटो लिएका छन् । अर्थात् चिनीको तुलनामा प्राकृतिक मानिने गुलियो पदार्थ अर्थात् उच्च फ्रुक्टोजयुक्त कर्न सिरप प्रयोग गर्नुपर्ने निर्देशन जारी गरेका छन् ।  

यसै क्रममा अमेरिकाको दोस्रो ठूलो स्कूल क्षेत्र लस एञ्जलस युनिफाइड पनि त्यस्तो प्रतिबन्ध लगाउने पछिल्लो स्कूल क्षेत्र भएको छ ।यसै गृष्मयाममा स्कूलको भान्साबाट चकलेट र स्ट्रबेरी मिल्कलाई हटाइने सुपरिटेण्डेण्ट जन डिजीले बताए । तर, खानेकुराको स्वस्थतामा चासो राख्ने कतिपय विशेषज्ञ र संस्थाले भने चिल्लो कम भएका र तर निकालिएका त्यस्ता दूध अन्य दूधभन्दा बढी स्वस्थ्य हुने तर्क गरेका छन् । एपी/रासस

Admin 2011-05-13