विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन अस्तव्यस्त
भदौ २९, सोल (दक्षिण कोरिया) । बेमौसमको गर्मीले बिहीवार दक्षिण कोरियाभरि नै आवश्यक विद्युत्को अभाव हुन पुगेको छ । विद्युत् आपूर्तिमा कटौती भएपछि सयौं मानिसहरू लिफ्टमै अडकिएका थिए भने ट्राफिक बत्तीसमेत निभेका थिए । त्यसैगरी, देशभरिका ३ लाख घरको विद्युत् आपूर्ति प्रभावित हुनुका साथै विद्युत् आपूर्ति नहुँदा कारखानाहरू पनि बन्द भएका थिए ।
बिहीवार राजधानी सोलको तापक्रम दुई हप्तायताकै उच्च ३१ डिग्री सेण्टिग्रेड पुगेको थियो । अचानक विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल फोन पनि बन्द हुनुका साथै झण्डै १ हजार जना लिफ्टमा अड्किएका थिए । तर, सामसुङ इलेक्ट्रोनिक्स र पोस्कोजस्ता प्रमुख कम्पनीको काममा भने बाधा नपुगेको एक सञ्चारमाध्यम याईटीएनले बताएको छ । गर्मीले गर्दा बिहीवार औसतभन्दा ३ दशमलव २ किलोवाट बढी विद्युत्को मागलाई राज्यनियन्त्रित विद्युत् कम्पनीले आपूर्ति गर्न नसकेपछि अचानक विद्युत आपूर्ति बन्द भएको थियो । विद्युत्को उच्च माग भएकै बेला कतिपय उपकरण मर्मत गर्नुपर्ने भएकाले आपूर्तिमा बाधा पुगेको राज्य नियन्त्रित विद्युत् कम्पनी कोरिया पावर एक्सचेञ्जले बताएको छ । एपी/रासस
विश्वमा मन्दी दोहोरिने खतरा बढ्दो
भदौ २९, रोक्ल (पोल्याण्ड) । सन् २००७-०८ को मन्दीको असरबाट मुक्त भइनसकेको विश्वमा फेरि अर्को मन्दी आउन सक्ने आशङ्का गर्न थालिएको छ । यूरोजोनको ऋणसङ्कटबारे छलफल गर्न यो सप्ताहान्तमा पोल्याण्डमा भेला हुन लागेका यूरोपेली अर्थमन्त्रीहरूको ध्यानाकर्षण गर्न 'यूरोपियन युनियन' (ईयू)को आर्थिक तथा वित्तीय समितिले तयार गरेको एक प्रतिवेदनमा आर्थिक खतराबारे अवगत गराइएको छ । उक्त प्रतिवेदनमा विज्ञहरूले ऋणसङ्कटका कारण यूरोप र समग्र विश्वकै अर्थ व्यवस्थामा सङ्कट आउन लागेको बताइएको छ । रोयटर्स समाचार संस्थालाई बुधवार प्राप्त उक्त प्रतिवेदनमा १७ राष्ट्रसदस्य भएको यूरोजोन 'सार्वभौम ऋण, बैङ्कहरूको तरलता र ऋणात्मक आर्थिक वृद्धि'को खतरनाक भुमरीमा फँस्दै गइरहेको उल्लेख छ । यूरोजोनको ऋणप्रणालीमा तनाव बढिरहेको त्यसले बैङ्कको लगानीमा गम्भीर असर पुर्याइरहेको प्रतिवेदनमा उल्लेख छ । ऋणसङ्कटको सङ्क्रमण यूरोजोनका सबै बजार तथा देशमा फैलिसकेकाले यो समस्या समग्र यूरोपकै अर्थ प्रणालीमा फैलिएको बताइएको छ । समस्या समाधानका उपायहरू दिँदै प्रतिवेदनमा बैङ्क तथा वित्तीय संस्थाका स्रोतहरूमा वृद्धि गर्दै तरलता र पूँजी बढाउन सुझाव दिइएको छ । यो प्रतिवेदन ग्रीसलाई टाट हुनबाट बचाउने उद्देश्यले जर्मनी, फ्रान्स र ग्रीसका नेताहरूबीच भइरहेको त्रिपक्षीय टेलि-कन्फ्रेन्स वार्तालगत्तै आएको छ ।
त्यसैगरी आर्थिक मन्दी दोहोरिने आशङ्कामा थप बल प्रदान गर्दै विश्व बैङ्कका प्रमुख रोबर्ट जोल्लिकले बुधवार 'विश्व आर्थिक खतराको नयाँ क्षेत्र'मा प्रवेश गरेको बताएका छन् । अमेरिकाको जर्ज वाशिङटन युनिभसिटीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अमेरिका, यूरोप र जापानजस्ता प्रमुख राष्ट्रले विश्व अर्थतन्त्रलाई थप जटिलतामा नधकेल्न गम्भीर र दूरगामी निर्णय रू गर्नुपर्ने उल्लेख गरे । ती राष्ट्रले ठोस र गम्भीर निर्णय गर्न धेरै ढिलाइ गरेको र अहिले थोरै र पीडादायी विकल्पहरू मात्र बाँकी रहेको उनको कथन थियो । उदाउँदो आर्थिक शक्ति भएकाले चीनलाई एक विश्वको जिम्मेवार सरोकारवालाका रूपमा प्रस्तुत हुन पनि जोल्लिकको आग्रह थियो । आगामी हप्ता वाशिङटनमा विश्वका आर्थिक, वित्तीय र विकास क्षेत्रका विज्ञहरूको यूरोजोन र ग्रीसको सङ्कटबारे गरिन लागिएको बैठकअघि जोल्लिकको यस्तो धारणा आएको हो । कार्यक्रममा यूरोजोनको ऋणसङ्कटबारे बोल्दै उनले यूरोपेली मुलुकहरू अहिले आफ्ना साझा उत्तरदायित्वहरूप्रति उदासीन रहेको बताए । त्यसैगरी जापानको आर्थिक र सामाजिक सुधार नहुनु तथा अमेरिकामा देखिएको राजनीतिक झगडा आर्थिक सुधार तथा पुनरोत्थानको मार्गमा देखिएका अवरोध भएको जोल्लिकले उल्लेख गरे । विकसित देशहरूले अरूलाई वित्तीय अनुशासन सिकाउने गरेको तर उनीहरूका आफ्नै बजेट घाटा सम्हाल्नै नसक्ने गरी बढेको विरोधाभासपूर्ण अवस्था रहेको उनको भनाइ थियो । एजेन्सीहरु
Admin 2011-09-16