शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आईएमएफद्वारा एशियाली अर्थतन्त्रबारे चेतावनी

चैत २९, न्यूयोर्क (अमेरिका) । एशियाली देशहरूले अर्थतन्त्र अति तात्ने (ओभरहिटिङ) दबाबलाई सम्बोधन हुने गरी नीतिहरूमा समयानुकूल नबनाएको  खण्डमा ती देशले असन्तुलित आर्थिक वृद्धिको सामना गर्नुपर्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को पछिल्लो विश्व आर्थिक प्रतिवेदनले भनेको छ । आर्थिक मन्दीपछिको समयमा विश्वलाई वृद्धि र स्थायित्वतर्फ डोर्‍याइरहेका उदीयमान बजारहरू आफै जोखिमका रूपमा देखा परेका आईएमएफको चेतावनी छ । चीनको ऋण र घरजग्गाको व्यापार क्षेत्रमा अचानक सुस्ती आएमा त्यसले उक्त क्षेत्रलाई नै नोक्सान गर्नेछ । चीनको ऋण वृद्धि नियन्त्रण गर्ने प्रयासलाई त्यहाँका बैङ्कका वित्तीय नवप्रवर्तन र वासलातमा नदेखिने क्रियाकलापबाट ओझेलमा पार्न सक्छ । त्यस्तै प्रवृत्ति अन्य उदीयमान एशियाली अर्थतन्त्रमा पनि देखिन सक्ने आईएमएफको चेतावनी छ ।

२०११ र २०१२ मा विकासशील एशियाली अर्थतन्त्रको औसत वृद्धिदर ८ दशमलव ४ प्रतिशतमा रहनेछ । आईएमएफको हालको पूवानुमान उसले जनवरीमा गरेको जस्तो नै छ । चीन, भारत र अन्य एशियाली अर्थतन्त्रहरूले ब्याजदर बढाए पनि तिनका वित्तीय र मौद्रिक नीति मूलतः प्रतिक्रियात्मक नै रहेको आईएमएफको मूल्याङ्कन छ । साथै एशियाली क्षेत्रको तीव्र आर्थिक वृद्धिको तुलनामा तिनका वित्तीय प्रत्याहारको गति पनि सुस्त नै रहेको छ ।त्यसैले धेरैजसो एशियाली क्षेत्रमा महँगी बढि नै रहनेछ । महँगीको सबैभन्दा स्पष्ट चित्र भारतमा देखिनेछ, जहाँ यस वर्ष७ दशमलव ५ प्रतिशतको मूल्यस्फीति रहने सम्भावना छ । मूल्यस्फीति नियन्त्रणका लागि वित्तीय नीतिमा गरिने कडाइ मात्र पर्याप्त नहुने आईएमएफको धारणा छ । त्यसैले, वित्तीय नीतिमा कडाइ गरिनुका साथै विनिमय दरलाई पनि लचिलो बनाउनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । रोयटर्स

बैङ्क अफ कोरियाद्वारा ब्याजदर यथावत्

चैत २९, सियोल (दक्षिण कोरिया) । बैङ्क अफ कोरियाले आफ्नो मासिक नीतिगत समीक्षा बैठकका बेला प्रमुख ब्याजदरलाई यथावत् नै राखेको छ । मूल्यस्फीति बढिरहेको भए तापनि जापानको भूकम्पलगायतका सम्भावित विश्वव्यापी चुनौतीलाई ध्यानमा राख्दै बैङ्कले त्यस्तो निर्णय गरेको हो । अपेक्षा गरेअनुरूप नै प्रमुख ब्याजदरलाई हालकै ३ प्रतिशतको आधार दरमा यथावत् राख्ने बैङ्कले निर्णयगरेको छ । बढ्दो महँगी नियन्त्रणका लागि गत ३ महीनाभित्र बैङ्कले दुईपटक ब्याजदर बढाइसकेको छ ।तर, मूल्यस्फीति अझै चुनौतीकै रूपमा रहेकाले आउँदा महीनामा ब्याजदर अझै बढाउन सकिने बैङकले सङ्केत गरेको छ । दक्षिण कोरियाको उपभोक्ता मूल्य परिसूचक मार्चमा अघिल्लो वर्षको सोही अवधिभन्दा बढेर ४ दशमलव ७ प्रतिशत पुगेको बैङ्कले बताएको छ । यसअघि २००८ को अक्टोबरमा उक्त परिसूचक ४ दशमलव ८ प्रतिशत पुगेको थियो । यसरी मार्चको उपभोक्ता मूल्य परिसूचक २००८ को अक्टोबरपछिकै उच्च बिन्दुमा पुगेको बैङ्कले बताएको छ ।       एएफपी/रासस

ब्रिक्सको शिखर बैठक प्रारम्भ

चैत २९, बेइजिङ (चीन) । विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाले यसै हप्ता चीनको उत्तरी टापुस्थित सान्यामा शिखर बैठक गर्ने भएका छन् । ब्रिक्ससमूह भनिने ती देशहरूले अन्तरराष्ट्रिय मामिलामा विकासशील देशहरूको भूमिकालाई अझ सशक्त बनाउने विषयमा छलफल गर्नेछन् । चीनका राष्ट्रपति हु जिन्ताओले बैठकको अध्यक्षता गर्नेछन् । ब्राजिलकी राष्ट्रपति डिल्मा रूसेफ, दक्षिण कोरियाका ज्याकोब जुमा र रूसका दिमित्री मेद्भेदेभका साथै भारतका प्रधानमन्त्री मनमोहन सिंह पनि बैठकमा सहभागी हुनेछन् ।   

बैठकले पश्चिमा देशहरूको गठबन्धनलाई विकासशील देशहरूले कसरी सन्तुलित गर्नसक्छन् भन्नेबारे बहस गर्नेछ । त्यसको लागि शिखर बैठकले चीनलाई विकासशील अर्थतन्त्रको नेतृत्वकारी भूमिका प्रदान गर्नसक्नेछ । बैठकले लिबियाको द्वन्द्वलगायत थुप्रै अन्तरराष्ट्रिय विषयमा छलफल गर्नेछ । तर, चीनको विनिमय दरवारे भने बैठकमा कुनै बहस नगरिने विश्लेषक तथा अधिकारीहरूले बताएका छन् ।गोल्डम्यान साखले २००१ मा पहिलोपटक 'ब्रिक’ भन्ने शब्दावली प्रयोगमा ल्याएको थियो । विश्वका चार सबैभन्दा ठूला अर्थतन्त्रको बढ्दो प्रभाव व्याख्या गर्नेक्रममा उक्त शब्द प्रचलनमा आएको हो । ती देशका नामको पहिलो अक्षरको संयोजनबाट 'ब्रिक’ समूह बनेको हो । यसपालिदेखि दक्षिण अफ्रिका पनि उक्त समूहमा आबद्ध भएपछि समूहलाई 'ब्रिक्स’ भन्न थालिएको हो । एएफपी/रासस

बैङ्कहरूले अझै सुधार गर्नुपर्छः आईआईएफ

चैत २९, लण्डन (ब्रिटेन) । बैङ्कहरूले जोखिम लिने र अत्यधिक तलब दिने प्रवृत्तिलाई नियन्त्रण गर्न थप कदम चाल्नुपर्ने एक अन्तरराष्ट्रिय प्रतिवेदनले भनेको छ ।२००८ को वित्तीय सङ्कटअघि बैङ्कहरूमा त्यस्तो प्रवृत्ति देखिएको उक्त प्रतिवेदनले औंल्याएको छ । इन्षिटच्युट अफ इण्टरनेशनल फाइनान्स(आईआईएफ)को लागि अर्न्स्ट एण्ड यङले तयार गरेको प्रतिवेदनमा त्यस्तो सुझाव दिइएको हो ।उक्त प्रतिवेदन ६२ ओटा कम्पनीमाथि गरिएको उक्त सर्वेक्षणमा आधारित छ । आईआईएफ बैङ्क, लगानी प्रबन्धक तथा अन्य वित्तीय संस्थाको अन्तरराष्ट्रिय पहलकर्ता समूह हो ।

आईआईएफले २००८ को सङ्कट चरम विन्दुमा पुग्नुअघि बैङ्कहरूलाई जोखिम व्यवस्थापन गर्न सुझाव दिएको थियो ।२००८ पछि बैङ्कहरूको अवस्थामा सुधार आएको हालको प्रतिवेदनले बताएको छ । जोखिम नीति निर्धारणमा उच्च कार्यकारी र सञ्चालक समिति सदस्य संलग्न हुनुका साथै आन्तरिक स्ट्रेस जाँच मोडल विकास गरिएकोले बैङ्कहरूले प्रगति गरेका हुन् । तर, तलब सुविधाजस्ता क्षेत्रमा जोखिम समायोजित प्रदर्शनअनुरूप व्यवस्था मिलाउन अझै कदम चालिनुपर्नेमा प्रतिवेदनको जोड छ । रोयटर्स

बेलायतमा प्रसन्नता अभियान

चैत २९, लण्डन (ब्रिटेन) । पश्चिमा समाज धनी हुँदै गए तापनि त्यहाँको खुशीको स्तर उस्तै नै रहेको अनुसन्धानहरूले देखाएका छन् । त्यसैले बेलायतमा 'प्रसन्नताको अभियान’ अर्थात् एक्सन फर ह्यापीनेश भनिने नयाँ संस्था स्थापना गरिएको छ । पैसाले खुशी किन्न सकिदैन तर उदारचित्तबाट खुशी पाउन सकिन्छ भन्ने उक्त संस्थाको प्रस्तावना हो । संस्थाले उसको 'प्रसन्न समाजको लागि जन अभियान’को अवधारणा वैज्ञानिक सिद्धान्तमा आधारित रहेको दाबी गरेको छ ।संस्थाका संस्थापकमा प्रख्यात अर्थशास्त्री, पूवसरकारी उच्च अधिकारी र टोनी ब्लेयरका जीवनी लेखक रहेका छन् । आफूहरूको अभियानमा लाखौं मानिस सहभागी हुने संस्थाका सहसंस्थापक रिचर्ड लेयार्डले आशा व्यक्त गरेका छन् । अभियान सहभागीहरूले आफू वरिपरिको विश्वमा प्रसन्नता फैलाउने लेयार्डको दावी छ ।  बेलायती प्रधानमन्त्री डेभिड क्यामरोनले पनि आफ्नो देशको खुशीको स्तर बढाउने प्रण गरेका छन् । त्यसका लागि राष्ट्रिय प्रसन्नता मापन गर्न उनले तथ्याङ्कशास्त्रीहरूलाई निर्देशन दिएका छन् । एपी/रासस

जापानको आणविक दुर्घटना चेर्नोबिलझैँ गम्भीर

चैत २९, टोकियो (जापान) । जापानले भूकम्पबाट क्षेतिग्रस्त आणविक केन्द्रबाट उत्पन्न सङ्कटलाई १९८६ मा युक्रेनको चेर्नोबिलमा भएको दुर्घटनाकै स्तरमा राखेको छ । जापानी आणविक नियामकहरूले मङ्गलवार फुकुशिमा आणविक केन्द्रको दुर्घटना स्तरलाई ५ बाट बढाएर ७ पुर्‍याएका छन् । अन्तरराष्ट्रिय आणविक ऊर्जा निकाय (आईएइए)ले अनुगमन गर्ने त्यस्तो मापन अङ्क सबैभन्दा उच्च जोखिमको हो । क्षेतिग्रस्त केन्द्रबाट चुहिएको विकिरण उच्च मात्राको हुनुका साथै त्यसले हावा, खानेपानी, तरकारी र समुद्रको पानीलाई समेत प्रदूषित गरेकोले त्यस्तो निर्णयगरिएको हो ।  

नयाँ मापनबाट फुकुशिमा दाइची आणविक दुर्घटना गम्भीर कोटीको दुर्घटना हुन पुगेको छ । आईर्एइएका अनुसार, त्यस्तो दुर्घटनाबाट वातावरण र स्वास्थ्यमा व्यापक प्रभाव पर्छ । तर, जापानी अधिकारीहरूले भने फुकुशिमा दुर्घटनाबाट स्वास्थ्यमा खासै असर नपर्ने दाबी गरेका छन् । फुकुशिमाको भन्दा चेर्नोबिल दुर्घटना निकै ठूलोस्तरको भएको उनीहरूको दाबी छ ।जापानी प्रधानमन्त्री नाओतो कानले टेलिभिजनबाट प्रसारित राष्ट्रिय सन्देशमा जनतालाई नआत्तिन आग्रह गरेका छन् । 'फुकुशिमा आणविक केन्द्रको अवस्था विस्तारै नियन्त्रणमा आइरहेको छ । विकिरण चुहावटको मात्रा पनि घटिरहेको छ । अहिल्यै आत्तिनुपर्ने अवस्था छैन्,’ कानले भने । एएफपी/रासस

भारतमा आर्थिक वृद्धिसँगै बढ्दो सम्बन्धविच्छेद

चैत २९, नयाँ दिल्ली (भारत) । भारतमा सम्बन्धविच्छेद अथवा पारपाचुके गर्नेहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहेको छ । एक दशकअघिसम्म पनि परम्परागत भारतीय समाजमा पारपाचुकेलाई अशोभनीय शब्दको रूपमा हेरिन्थ्यो । सामाजिक रूपमा एक्लिइनुका साथै आर्थिक निर्भरताले पनि पारपाचुके गर्ने प्रवृत्तिलाई नियन्त्रण गरेको थियो ।  तर, तीव्र आर्थिक वृद्धि सँगै भारतीय समाजमा पनि पारपाचुके गर्ने क्रम ह्वात्तै बढेको छ ।

आर्थिक वृद्धिसँगै भारतीय जीवनका परम्परागत

आधारहरू भत्किँदै गएका छन् । खासगरी शहरिया मध्यमवर्गको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । डेटिङ, प्रेमविवाहसँगै पारपाचुके पनि सामान्य हुँदै गएको छ ।'मैले चिनेका जति सबैले पारपाचुके गरिरहेका जस्तो लाग्छ,’ २८ वर्षीय मोहित दत्तले भने । दत्त आफैले ६ वर्षअघि 'कुनै पनि हालतमा वैवाहिक सम्बन्ध जोगाउन नसकेकाले’ श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए ।भारतमा सम्बन्ध विच्छेदबारे खासै तथ्याङ्क राख्ने चलन छैन् । पश्चिमा समाजको दाजोमा अझै पनि भारतको सम्बन्ध विच्छेद दर निकै कम नै छ । हाल भारतमा लगभग १ प्रतिशत विवाह सम्बन्धविच्छेद टुङ्गिने अनुमान छ । जबकि अमेरिकामा आधा जति विवाह सम्बन्ध विच्छेदमा टुङ्गिन्छ । तर, भारतको त्यस्तो निम्न दर पनि ग्रामीण क्षेत्रमा बस्ने बहुसङ्ख्यक जनताले गर्दा भएको हो । ग्रामीण क्षेत्रमा सम्बन्धविच्छेद गर्नुलाई अझै पनि असामाजिक मानिन्छ । रोयटर्स

Admin 2011-04-13