शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पाकिस्तानलाई मूल्यवृद्धि नियन्त्रणको सुझाव

फागुन २९, वाशिङटन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले शुक्रवार मूल्यवृद्धि नियन्त्रणका लागि थप कदमहरू चाल्न पाकिस्तानलाई आह्वान गरेको छ । तेलको बढ्दो मूल्यले अर्थतन्त्रमा आउने उतारचढाव थेग्न मूल्यस्फीति नियन्त्रण गर्नुपर्ने आईएमएफको सुझाव छ । आईएमएफको टोलीको पाकिस्तान भ्रमण शुक्रवार सकिएको छ । भ्रमणक्रममा सरकार र केन्द्रीय बैङ्कका अधिकारीहरूसँग रचनात्मक वार्ता भएको आईएमएफले बताएको छ । आर्थिक स्थायित्व पुनर्बहाली गर्ने र संरचनगत सुधारमार्फत सार्वजनिक वित्तक्षेत्रमा सुधार ल्याउने विषयमा वार्ता भएको हो ।'आर्थिक वर्ष२०११/१२ मा मूल्यस्फीति घटाउन र ऋण सामर्थ्य कायम राख्न वित्तीय सुदृढीकरणतर्फ विशेष कदम चालिनुपर्छ । बजेट घाटा कम भएमा त्यसले तेलको उच्च मूल्यका कारण अर्थतन्त्रमा पर्ने असरलाई पनि व्यवस्थापन गर्न सकिनेछ,’ टोली नेता अदनान माजारेईले एक विज्ञप्तिमा भने । पाकिस्तानको आर्थिक वर्ष जुलाई १ बाट शुरू हुन्छ ।आईएमएफले २००८ को नोभेम्बरमा पाकिस्तानका लागि एउटा उद्धार कार्यक्रम अनुमोदन गरेको थियो । पाकिस्तानलाई ३० वर्षयताकै उच्च मूल्यस्फीति, धार्मिक कट्टरता र तीव्र रूपले सकिँदै गइरहेको सञ्चितिको अवस्थामा सहयोग गर्ने कार्यक्रमले उद्देश्य राखेको थियो । गत डिसेम्बरमा आईएमएफको कार्यकारी बोर्डले पाकिस्तानको उक्त ऋण कार्यक्रममा नौ महीनाले म्याद थपेर २०११ को सेप्टेम्बर ३० सम्म पुर्‍याएको थियो । त्यसका साथै, केन्द्रीय बैङ्कबाट ऋण लिने कार्यलाई अझै घटाउनुपर्ने आईएमएफको पाकिस्तान सरकारलाई सुझाव छ । एएफपी/रासस    

भारतको निर्यातमा वृद्धि

फागुन २९, नयाँ दिल्ली (भारत) । भारतको औद्योगिक उत्पादन जनवरीमा गतवर्षको सोही अवधिमा भन्दा झण्डै ४ प्रतिशतले बढेको छ । यसप्रकार, अपेक्षा गरेभन्दा राम्रो औद्योगिक उत्पादन भएको शुक्रवार प्रकाशित तथ्याङ्कबाट देखिएको छ ।उच्च निर्यात र म्यानुफ्याक्चरिङबाट उत्पादनशीलतामा वृद्धि भएको हो । यसबाट, उच्च मूल्यस्फीति नियन्त्रणका लागि कडा मौद्रिक नीति ल्याइए पनि अर्थतन्त्र वृद्धिउन्मुख रहेको देखिन्छ । भारत एशियाकै तेस्रो ठुलो अर्थतन्त्र हो ।खानी, कारखाना र दैनिक उपयोगका वस्तुको उत्पादनमा ३ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । जबकि २ दशमलव ९ प्रतिशतले मात्र वृद्धि हुने पूर्वानुमान गरिएको थियो । डिसेम्बरमा भने संशोधित तथ्याङ्कअनुसार २ दशमलव ५ प्रतिशतको वृद्धि भएको थियो । फेब्रुअरी महीनाको मालसामान निर्यात पनि गतवर्षको सोही अवधिको भन्दा ५० प्रतिशतले बढेर २३ अर्ब ६० करोड डलर पुगेको छ ।त्यसका साथै, मूल्यस्फीति पनि लक्ष्यभन्दा धेरै माथि झण्डै ८ दशमलव ५ प्रतिशतमा रहेको छ । चर्को मूल्यस्फीति नियन्त्रणका लागि फेरि ब्याजदर बढाउने विषयमा आगामी हप्ता केन्द्रीय बैङ्कको बैठक बस्ने भएको छ । एएफपी/रासस

भूकम्पबाट जापानी अर्थतन्त्रमा ठूलो क्षतिः सरकार

फागुन २९, टोकियो (जापान) । शुक्रवार आएको भूकम्प र सुनामीबाट जापानी अर्थतन्त्रमा ठूलो क्षति पुगेको अनुमान त्यहाँको सरकारले गरेको छ । विश्लेषकहरूले पनि देश र अर्थतन्त्रमा भएको क्षतिबाट पार पाउन हप्तौं लाग्ने बताएका छन् । क्षतिको वास्तविक तस्वीर विस्तारै प्रस्ट भइरहँदा त्यस्तो अनुमान गरिएको हो ।सरकारले कम्तीमा १ हजारको मृत्यु भएको अनुमान गरेको छ । तर, नराम्रो सँग क्षतिग्रस्त मियागी क्षेत्रका प्रहरी प्रमुखका अनुसार, १० हजारभन्दा बढीको मृत्यु भएको हुनुपर्छ ।भूकम्प र सुनामीबाट प्रमुख बन्दरगाह बन्द भएका छन् । भूकम्प आउनेबित्तिकै बन्द गरिएका केही विमानस्थल फेरि खोलिएको छ । तर, उत्तरपूर्वी क्षेत्रको सडक यातायात भने अवरुद्ध नै रहेको छ । टोयोटा, मित्सुबिशी, सुजुकी, सोनीलगायत थुप्रै ठूला जापानी कम्पनीले उत्पादन बन्द गरेका छन् । यस्तै, आणविक भट्टी पनि क्षतिग्रस्त भएपछि विद्युत् आपूर्तिमा पनि सङ्कट आउने सरकारले चेतावनी दिएको छ । उता केन्द्रीय बैङ्क, बैङ्क अफ जापानले भने बजारमा तरलता कायम राख्न र वित्तीय स्थिरताका लागि भरमग्दूर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एएफपी/रासस

सोमालियामा हैजाको महामारी

फागुन २९, मोगादिशु (सोमालिया) । सोमालियाको राजधानी मोगादिशुमा हैजाको महामारीबाट २० जना भन्दा बढीको मृत्यु भइसकेको छ । एक अस्पतालका डाक्टरले उनको अस्पतालमा १ सय ५० भन्दा बढी बिरामी भर्ना भइसकेका बताएकी छिन् ।त्यसका साथै अस्पतालमा आवश्यक सामग्रीको अभाव हुनुका साथै स्वास्थ्य कार्यकर्तालाई दिनुपर्ने तलव पनि अपुग भएको छ। सोमालियामा गत २० वर्षदेखि नै प्रणालीगत सरकार छैन् । त्यहाँ अहिले खडेरी परेको हुनाले स्वच्छ खानेपानीको अभाव छ । त्यसैले गर्दा नै पानीबाट सर्ने रोगको सङ्क्रमण बढेको हुनसक्ने विशेषज्ञहरूले बताएका छन् । एएफपी/रासस

एशियाका आकाशमा सुलभ दरका विमानसेवा

फागुन २९, हङकङ (चीन) । एक दशक अघिसम्म पनि लामो दूरीको यात्रा गर्दा एशियाका धनाढयहरूले समेत दिक्कलाग्दो यात्रा गर्नुपर्ने हुन्थ्यो । किनभने, त्यतिखेर हवाई यात्रा सुलभ नहुनुका साथै अति खर्चिलोसमेत हुने गर्दथ्यो । तर, अब कम मूल्यका विमानसेवाहरूको विस्तारबाट त्यस्तो समस्या हट्ने भएको छ । खासगरी, दक्षिणपूर्वी एशियामा हवाई सेवा धेरैको पहुँचभित्र पुग्न थालिसकेको छ ।सन् २००१ स्थापित मलेशियास्थित एयरएशिया एशियाको आकाशसम्म सामान्यजनको पहुँच पुर्‍याउने पहिलो विमानसेवामध्ये एक हो । 'प्लेन कहिल्यै नदेखेका ग्रामीण जनतासमेतले अचानक हवाई यात्रा गर्न थालेका थिए । त्यसअघि उनीहरूले १२ घण्टासम्मको बस यात्रा गर्नुपथ्र्यो,’ एयरबसका एशिया प्रतिनिधि सिन ली ले भने ।चीन, भारत र इण्डोनेशियाजस्ता विशाल जनसङ्ख्या भएका देशमा पनि त्यस्तै हुने हो भने हवाई बजारमा ठूलो व्यापार सम्भावना रहने लीले बताए । त्यो बजार यति ठूलो हुनेछ कि एयरबसको आगामी २० वर्षसम्मको विमान विक्रीमध्ये एक तिहाइ एशियाबाट हुने अनुमान गरेको छ । एएफपी/रासस

चिनियाँ बैङ्कको हङकङमा सूचीकृत हुने योजना

फागुन २९, हङकङ (चीन) । चाइना एभरब्राइट बैङ्कले आफ्नो हङकङ शेयरबजारमा सूचीकृत हुने ६ अर्ब डलरको योजना कार्यान्वयनका लागि १० ओटा बैङ्कलाई अधिकार दिएको छ । ती दश बैङ्कमा बैङ्क अफ अमेरिका मेरिल लिङ्क, बीएनपी परिबास, जेपी मोर्गन, मोर्गन स्टान्ली, गोल्डम्यान साखलगायत छन् ।चाइना एभरब्राइट बैङ्क साङ्र्घाईमा सूचीकृत मध्यस्तरको बैङ्क हो । गत महीना उसले १२ अर्बबराबरको हङकङमा सूचीकृत शेयर निष्कासन गर्ने योजना रहेको बताएको थियो । पूँजीको अनुपात पर्याप्त कायम राख्न त्यस्तो गर्न लागिएको बैङ्कको धारणा छ । रोयटर्स

चीनमा ३ हजार व्यापारी पक्राउ

फागुन २९, बेइजिङ (चीन) । चिनियाँ अधिकारीहरूले  नक्कली उत्पादन र उत्पादन चोरीको आरोपमा ३ हजार १ जनालाई पक्राउ गरेका छन् । उनीहरूले नक्कली औषधी, रक्सी, मोबाइललगायत वस्तुको व्यापार गरेको पाइएको अधिकारीहरूले बताएका छन् । नक्कली र चोरी उत्पादनविरुद्ध अक्टोबरदेखि नै अभियान चलाइएको थियो । अमेरिका र अन्य व्यापार साझेदारहरूको गुनासोपछि चीनले त्यस्तो अभियान थालेको हो । चिनियाँ अधिकारीहरूको बारम्बार प्रयास रहँदारहँदै पनि चीन नक्कली उत्पादनको प्रमुख स्रोतमध्ये एक हो ।

हालको अभियानलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले विशेष महत्त्व दिएका छन् । चीनले हालको सस्तो सामानको कारखाना छाडेर नाफामूलक प्रविधिको क्षेत्रतर्फध्यान केन्द्रित गर्न चाहेको छ । त्यसैले पनि उसले सस्ता र नक्कली सामान बनाउनेहरू विरुद्ध अभियान थालेको हो । अनधिकृत प्रतिलिपि चोरीबाट चीनको शिशु अवस्था सफ्टवेयर, सङ्गीत र अन्य रचनात्मक उत्पादन गर्ने कम्पनीहरूलाई ठूलो क्षति पुगेको छ ।   नवप्रवर्तन उन्मुख देश बनाउनका लागि बौद्धिक सम्पत्तिको सुरक्षा आवश्यक छ । त्यसबाट 'चीनमा बनेको’ बाट 'चीनमा आविष्कृत’तर्फको यात्रा सहज हुनेछ’ व्यापार मन्त्रालयको कानून विभागको निर्देशकले बताए । एएफपी/रासस

रक्सी सेवन गरेको अवस्थामा ५७ पाइलट समातिए

फागुन २९, नयाँ दिल्ली (भारत) । भारतमा ५७ जना पाइलट निर्धारित मात्राभन्दा बढी रक्सी सेवन गरेको अवस्थामा समातिएका छन् । यात्रुवाहक विमानको चालककक्षतर्फजाँदै गर्दा उनीहरूलाई समातिएको हो । तर, पछि उनीहरूमध्ये धेरैलाई उडानका लागि छाडिएको थियो ।२००९ को जनवरीदेखि २०१० को डिसेम्बरसम्म त्यसरी उडानअघिको जाँचमा समातिएका मध्ये ११ जनालाई मात्र बर्खास्त गरिएको छ । बाँकीलाई भने नसिहत र जरीवानालगायत सम्बन्धित विमानसेवाले निर्धारण गरेबमोजिमकै सजाय दिइएको छ ।पाइलटहरूमा उडानका बेला रक्सी सेवन गर्ने प्रवृत्ति बढदै गएपछि गतवर्षदेखि सजायका नियम ल्याइएको थियो । पहिलोपटक त्रुटि गर्नेलाई ३ महिना उडान गर्न नदिने र पटकपटक त्यसो गरेमा उडानको लाइसेन्स नै खोसिने व्यवस्था उक्त सजायमा गरिएको छ । रोयटर्स

Admin 2011-03-14