आईएमएफ प्रमुख पदमा फिशरको पनि उम्मेदवारी
जेठ २९, जेरूसेलम (इजरायल) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का पूर्वसहायक प्रमुख तथा बैङ्क अफ इजरायलका गभर्नर स्टान्ली फिशरले कोष प्रमुखको निर्वाचनमा क्रिष्टिन लागार्दलाई चुनौती दिने बताएका छन् । फिशरले १९९४ देखि २००१ सम्म कोषको पहिलो सहायक प्रबन्ध निर्देशकका रूपमा काम गरिसकेका छन् ।पूर्वअमेरिकी अर्थमन्त्री रोबर्ट रूबिनले फिशरलाई १९९० को दशकको विश्व वित्तीय सङ्कटका बेला कुशल तर चर्चामा नआएका व्यवस्थापक भनेका थिए । फिशरले लागार्दसँगै मेक्सिकोका केन्द्रीय बैङ्क प्रमुख अगष्टिन कासर्टेन्ससँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । कोष प्रमुखको पद अन्तरराष्ट्रिय वित्तीय प्रणालीकै सबैभन्दा राम्रो काममध्ये एक भएको फिशरले बताउँदै आएका थिए । तर, उक्त पदमा आफूले पनि प्रतिस्पर्धा गर्नेबारे शनिवारमात्रै बताएका छन् । कुनै पूर्वयोजना नरहे तापनि अभूतपूर्व अवसर आएकाले आफूले कोष प्रमुखको प्रतिस्पर्धामा भाग लिन लागेको फिशरले बताए । उता, हालसम्म प्रबल दाबेदार देखिएकी लागार्द भने कोष प्रमुखमा आफूलाई समर्थन जुटाउने क्रममा सउदी अरेबिया पुगेकी छन् । कोष प्रमुखमा निर्वाचित भएपछि सोभरेन ऋणको समस्या सुल्झाउने विषयलाई आफूले प्राथमिकता दिने सउदी अरेबियाली अधिकारीसमक्ष लागार्दले प्रण गरेकी छन् । एजेन्सी
अष्ट्रियाका दुई चुचुरा विक्रीमा
जेठ २९, भियना (अष्ट्रिया) । अष्ट्रियाले उसका दुइओटा पहाडी चुचुरा विक्रीमा राखेको छ । पूर्वी टाइरोलस्थित २ हजार मिटर उचाइमा रहेका ती दुवै चुचुराको मूल्य भने एकमुष्ट १ लाख ७५ हजार ८ सय डलर राखिएको छ । अष्ट्रियाको केन्द्रीय घरजग्गा कम्पनीले ती दुवै चुचुरा विक्रीका लागि रहेको जानकारी वेबसाइटमा राखेको छ । 'ग्रोस किनिग्याट’ र 'रस्कोफ’ नाम गरेका ती चुचुराबाट कार्निक आल्प्स क्षेत्रका मनोरम दृश्य देखिने वेबसाइटमा भनिएको छ ।
तर, आफ्नो क्षेत्रको पहाडी चुचुरा विक्री गर्ने सरकारी निर्णय्रति स्थानीयवासीले क्रुद्ध प्रतिक्रिया दिएका छन् । ग्रीसमा समुद्री टापु बेचेजस्तै आफ्नो देशमा पनि पहाड नै बेच्न थालेकोमा कार्तिश शहरका मेयर जोसेफ असरलेच्नरले क्रोध व्यक्त गरे । साथै, पहाड नै विक्री गर्ने सरकारी योजनाको आफ्नो शहरले विरोध गरे तापनि रोक्न भने गाह्रो हुने असरलेच्नरले बताएका छन् । तर, जोसुकैले किने पनि त्यस क्षेत्रमा स्थानीयवासीका साथै अन्य पदयात्री तथा आरोहीको पहुँच भने कायमै हुनुपर्ने असरलेच्नरको दाबी छ । एएफपी/रासस
रामदेवले भ्रष्टाचारविरूद्धको अनशन तोडे
जेठ २९, नयाँ दिल्ली (भारत) । स्वामी रामदेवले आठ दिनसम्म जारी भोकहडताल अन्तत: आइतवार तोडेका छन् । अर्का प्रख्यात आध्यात्मिक गुरू श्रीश्री रविशङ्करको आग्रहपछि रामदेवले भोकहडताल तोडेका स्थानीय सञ्चारमाध्यमले बताएका छन् । भ्रष्टाचारविरूद्ध कडा कानूनको माग गर्दै रामदेव आठ दिनसम्म आमरण अनशन बसेका थिए ।
गत हप्ता दिल्लीमा शुरू गरेको भोकहडताललाई प्रहरीले हस्तक्षेप गरेपछि रामदेवले आफ्नै आश्रम हरिद्वारमा अनशन जारी राखेका हुन् । प्रहरी कारबाहीको दक्षिण र वामपन्थी दुवैथरिका विपक्षी दलले निन्दा गरेका थिए । नाडीको गति घटेपछि तथा जलवियोजन भएपछि रामदेवलाई शुक्रवार नै अस्पताल भर्ना गरिएको थियो । भ्रष्टाचारविरूद्धको अभियान थालेकोमा रामदेवले व्यापक समर्थन पाएका छन् । तर, पछिल्ला दिनमा आफ्ना समर्थकलाई हतियार उठाउनसमेत आह्वान गरेपछि रामदेवको आलोचना पनि हुन थालेको छ ।भोकहडताल तोडे पनि भ्रष्टाचारविरूद्धको अभियानलाई भने जारी नै राख्ने रामदेवका सहयोगी बालकृष्णले बताएका छन् । आध्यात्मिक गुरू श्रीश्री रविशङ्करले सरकारका तर्फबाट भोकहडताल तोडन आग्रह गरेको सञ्चारमाध्यमले बताएका छन् । एजेन्सी
आईएमएफमा साइबर आक्रमण
जेठ २९, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कम्प्युटर प्रणालीमा साइबर आक्रमण भएको छ । कोषले आफ्ना कर्मचारीलाई गएको बुधवार नै यसबारे जानकारी गराए पनि हालसम्म सार्वजनिक घोषणा भने गरेको छैन् । तर, कोषको दैनिक कार्यसञ्चालन भने यथावत् नै रहेको कोषका प्रवक्ता डेभिड हलीले बताएका छन् । हलीले उक्त घटनालाई 'सूचना प्रविधिको घटना’ भनेका छन् । तर, आक्रमणको क्षेत्र र प्रकृतिबारे भने उनले खासै खुलाउन चाहेनन् । विश्लेषकहरूले यस्तो साइबर 'घटना’लाई संवेदनशील बताउँछन्, किनभने आईएमएफको सूचना प्रणालीमा वित्तीय समस्याग्रस्त देशका संवेदनशील तथ्याङ्क रहेका छन् । कोषका एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै उक्त घटना निकै गम्भीर रहेको न्यूयोर्क टाइम्सले लेखेको छ ।
तर,ह्यारहरूले आईएमएफलाई नै लक्षित गरेको हो/होइन भन्नेबारे स्पष्ट भइसकेको छैन । कतिपय अवस्थामा ह्याकरहरूले तिनका सङ्क्रामक सफ्टवेयर कोडलाई व्यापक रूपमा इण्टरनेटमा प्रवाह गर्छन् । त्यसो गर्दा उनीहरूको कोडले कुन संस्थालाई प्रभावित गर्छ भन्ने थाहा हुन्छ । भर्खरै मात्र स्ट्रस कानविरूद्धको यौन दुर्व्यवहार मुद्दाबाट आईएमएफकै प्रतिष्ठामा आँच आइरहेको बेलामा उक्त विश्वव्यापी वित्तीय संस्थाले अर्को समस्या भोग्नुपर्ने देखिएको छ । एपी/रासस
कोह्ल्सच्रेइबर हल्ले टेनिस टाइटल विजेता
जेठ २९, हल्ले (जर्मनी) । जर्मनीको हल्ले एटीपी टुर्नामेण्टको फाइनल जर्मनीकै फिलिप कोह्ल्सच्रेइबरले जितेका छन् । आइतवार उनले जर्मनीकै फिलिप पेट्जश्नरलाई ७(६(७/५), २(० को सेटमा पराजित गरेका छन् । खेलकै क्रममा फिलिपको ढाडमा चोट लागेपछि उनी खेल परित्याग गर्न बाध्य भएका हुन् । एएफपी/रासस
एलपीजीए टुरमा यानी छेङको अग्रता
जेठ २९, स्प्रिङफिल्ड (अमेरिका) । ताइवानकी यानी छेङले उनको दोस्रो सोझो ६-अण्डर ६६ मार्फत एलपीजीए स्टेट फार्म क्लासिकमा अग्रता लिन सफल भएकी छिन् । उनले अब मिण्डी किमभन्दा एक स्ट्रोकले अग्रता लिएकी छन् । 'मेरो लक्ष्य रमाइलो गर्नु र बर्डिज प्राप्त गर्नु हो,’ छेङले भनिन् । खेलमा आक्रमक हुनुपर्ने बताउँदै अर्को दिन थुप्रै बर्डिज बनाउने छेङले दृढता व्यक्त गरेकी छन् । एपी/रासस
Admin 2011-06-13