शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सबैभन्दा तीव्र गतिको कम्प्युटर चीनमा
कात्तिक २८, चीन (बेइजिङ) । 'सुपरकम्प्युटिङ' मा  अमेरिकालाई उछिन्दै चीन एक नम्बरमा पुगेको छ । आइतवार सार्वजनिक गरिएको एक अध्ययनले यहाँको कम्प्युटर विश्वकै सबैभन्दा तेज गतिको भएको देखाएको हो । चीनले निर्माण गरेको तियान्हे (१ -आकाशगङ्गाको चिनियाँ नाम) सुपरकम्प्युटर एक सेकेण्डमा २५ हजार ७ सय खर्ब गणना गर्न सफल भएको छ । यही गतिले नै उसलाई शक्तिशाली ५ सय सुपरकम्प्युटरको सर्भेमा एक नम्बरमा पुर्‍याएको हो । टेनेसी राज्यको अमेरिकी सरकारी केन्द्रमा रहेको जगुआर कम्प्युटर दोस्रो स्थानमा रहेको छ । प्रतिसेकेण्ड १७ हजार ५ सय खर्ब गणना गर्न सक्ने जगुआर गत वर्ष पहिलो स्थानमा थियो । तियान्ह-१ उत्तरी बन्दरगाह शहर तियाञ्जिनस्थित 'नेशनल सेण्टर फर सुपरकम्प्युटिङ' मा रहेको छ । यसका अधिकांश चिपहरू भने अमेरिकी कम्पनीले डिजाइन गरेका हुन् । दक्षिणी शहर सेञ्जेनको 'नेशनल सुपरकम्प्युटिङ सेण्टर' मा रहेको चीननिर्मित अर्को कम्प्युटर, नेबुले, सूचीमा तेस्रो स्थान ओगटेको छ ।

अझै पनि शक्तिशाली ५ सय कम्प्युटरको सूचीमा आधाभन्दा बढी कम्प्युटर  अमेरिकी रहेका छन् । तर, हाल चीनसँग सूचीमा स्थान पाउन सफल ४२ कम्प्युटर रहेका छन् जसले उसलाई जापान, फ्रान्स, जर्मनी र बेलायतभन्दा अगाडि रहन सहयोग गरेका छन् । कुनै एशियाली शक्तिले अमेरिकाको डिजिटल मुकुट खोसेको यो पहिलो अवसर भने होइन । सन् २००२ मा जापानले बनाएको एक कम्प्युटर अमेरिकाका ठूला २० वटा कम्प्युटरको एकीकृत शक्तिभन्दा शक्तिशाली थियो । शक्तिशाली ५ सय सुपरकम्प्युटरको सूची वर्षमा दुईपटक निकाल्ने गरिन्छ । अमेरिका र जर्मनीका विशेषज्ञले कार्यसम्पादनको गतिको आधारमा कम्प्युटरलाई सूचीकृत गर्छन् । एएफपी/रासस


बेलायतमा प्रसन्नता सूचकाङ्क

कात्तिक २८, लण्डन (बेलायत) । बेलायतले जनताको मानसिक र वातावरणीय सन्तुष्टि मापन गर्न 'प्रसन्नता सूचकाङ्क’ लागू गर्ने भएको एक सरकारी स्रोतलाई उद्धृत गर्दै गार्डियन समाचारपत्रले जनाएको छ । प्रधानमन्त्री डेभिड क्यामरुनले सामान्य सन्तुष्टि मापन गर्ने तरीका तयार गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयलाई निर्देशन दिने छन्, यद्यपि यस्तो मापन कहिले थालिने हो, त्यसबारे भने केही खुलाइएको छैन । यसको उद्देश्य आवधिक रूपमा प्रस्तुत गरिने ताजा तथ्याङ्क तयार गर्नु हो जसले बेलायतका जनताको मानसिक र शारीरिक सन्तुष्टिको स्तर मापन गर्नेछ । क्यामरुनले उक्त सूचकाङ्कलाई भविष्यमा हुने नीति निर्माणको केन्द्रमा राख्ने अपेक्षा गरिएको छ । तर, हालसालै सार्वजनिक क्षेत्रको खर्चमा भारी कटौती गरिने सरकारी निर्णयले गर्दा यस्तो सूचकाङ्क भने राम्रो नआउने सम्भावना छ । क्यानडाले त्यस्तै पहल गर्ने सम्भाव्यताको खोजी गर्दै छ भने फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले गत वर्ष देशको आर्थिक प्रगति मापन गर्ने उपायका रूपमा प्रसन्नतास्तरलाई अपनाउने आफ्नो योजना रहेको बताएका थिए । बेलायतले जनताको जीवनप्रतिको सन्तुष्टि मापन गर्न जनमत र्सर्वेक्षण गर्दै आएको छ । अब औपचारिक रूपमै सामान्य प्रसन्नता मापन गर्ने ऊ पहिलो राष्ट्र हुन सक्नेछ । एएफपी/रासस


चिनियाँ कम्पनी जीएमको हिस्सेदार

कात्तिक २७, डेट्रोइट/न्युयोर्क (अमेरिका) । चीनको एसएआईसी मोटर कम्पनीले जनरल मोटर्सको एउटा हिस्सा लिन स्वीकृति जनाएको छ । चीनका नियमनकर्ताहरूले यी दुई गाडी निर्माता कम्पनीबीचको एकतालाई अझ गाढा बनाउने प्रस्ताव अनुमोदन गरेमा उक्त कदम चालिने भएको यस विषयसँग जानकार चार जनाले बताएका छन् । स्रोतका अनुसार जनरल मोटर्स (जीएम) को शेयरप्रति लगानीकर्ताहरूले देखाएको उत्साहकै भागका रूपमा एसएआईसीको सम्भावित लगानी आउने भएको छ । यस उत्साहले गर्दा जीएमको शेयर मूल्य २९ डलर निर्धारित हुने अपेक्षा छ ।

अर्का एक स्रोतका अनुसार जीएमको लगभग १ प्रतिशत हिस्सा एसएआईसीले खरीद गर्नेछ । एसएआईसी चीनमा जीएमको साझेदार हो । गत वर्ष जीएम सङ्कटग्रस्त भएपछि उसलाई उद्धार गर्न सरकारी सहयोग दिइएको थियो, जसको फलस्वरूप जीएमको प्रमुख शेयर होल्डर अमेरिकी अर्थ मन्त्रालय भएको छ । यस हप्ता हुने आईपीओको प्रस्तावित मूल्यको रेञ्जमध्ये माथिल्लो मूल्यलाई आधार मान्ने हो भने जीएमको १ प्रतिशत शेयर खरीद गर्न ५० करोड डलरभन्दा केही बढी लगानी चाहिन्छ । यसले चीनभित्रको साझेदारी मजबुत बनाउनुका साथै यूरोपलगायत अन्य देशमा रहेको जीएमको विक्री सञ्जालमा पहचुँ बढाउन एसएआईसीले चाहेको एक स्रोतले रोयर्टसलाई बतायो ।जीएमको आईपीओमा भाग लिनुभन्दा पहिले एसएआईसीको लगानीलाई चीन सरकारले बुधवारभित्र अनुमोदन गर्नुपर्नेछ ।

जीएमले कुनै प्रतिक्रिया जनाएको छैन भने एसएआईसीका प्रतिनिधिले प्रतिक्रिया जनाउन अस्वीकार गरे । यस सम्बन्धमा चीनको वाणिज्य मन्त्रालयसँग सम्पर्क हुन सकेन । गतहप्ता अमेरिकी र चिनियाँ अधिकारीहरू जीएम र एसएआईसी बीचको छलफलमा सहभागी भएका थिए । दुवै गाडी निर्माता कम्पनीमा तिनका सरकारहरूको स्वामित्व भएकाले यस्तो भएको हो । यसले अमेरिकी उद्योगको एक नमुनाका रूपमा रहेको जीएममा चिनियाँ लगानीप्रति अमेरिकाको राजनीतिक संवेदनशीलतालाई पनि देखाउँछ ।उक्त आईपीओमा ३५ भन्दा बढी प्रत्याभूतिकर्ता छन् । तिनमा मोर्गन स्टान्ली, जे पी मोर्गन, सिटी, बैङ्क अफ अमेरिका आदि छन् भने चीनका आईसीसी र सीआईसीसी पनि छन् । रोयटर्स


जापानी अर्थतन्त्र फैलियो

कात्तिक २८, टोकियो (जापान) । जापानको अर्थतन्त्र तेस्रो चौमासिकमा विस्तार भएको छ । कार खरीदकर्ताहरू म्याद सकिन लागेको अनुदान प्रयोग गर्न हतारिएका र धूमपान गर्नेहरू कर बढ्नुअघि नै चुरोट थुपार्न थालेको तथ्याङ्कहरूले देखाएका छन् । तर, विश्लेषकहरूले अगाडि रहेको जोखिमबारे चेतावनी दिएका छन् । अहिलेसम्मकै सबैभन्दा तातो गृष्मऋतुले एयर कण्डिशनरजस्ता सामग्रीको विक्री पनि बढेको थियो जसले अर्थतन्त्र वृद्धिमा सहयोग पुर्‍याएको थियो । तर, अर्थतन्त्रलाई टेवा दिने उपायहरूप्रतिको आशङ्का र देश फेरि आर्थिक मन्दीतर्फजाने चर्चाबीच चौथो त्रैमासिकमा आएर अर्थतन्त्र फेरि पछाडि पर्ने खतरा पनि औंल्याइएको छ  । गत जुलाइ-सेप्टेम्बर अवधिमा अर्थतन्त्र वार्षिकदरकै हाराहारीमा ३ दशमलव ९ प्रतिशतले बढेको थियो, जबकी त्यो भन्दा पहिलेको चौमासिकमा वृद्धि दर १ दशमलव ८ प्रतिशत रहेको थियो । सोमवार सार्वजनिक गरिएको तथ्याङ्क बजारले गरेको २ दशमलव ५ प्रतिशतको अनुमान भन्दा बढी छ । चौमासिक आधारमा तुलना गर्दा पहिलेको ० दशमलव ४ प्रतिशतको दाजोमा अर्थतन्त्र ० दशमलव  ९ प्रतिशतले बढेको छ । एएफपी/रासस