बङ्गलादेशमा ग्रामीण बैङ्कमाथि छानबिन
पुस २९, ढाका (बङ्गलादेश) । बङ्गलादेशले नोबेल पुरस्कार समेत प्राप्त गरेको लघुकर्जादाता ग्रामीण बैङ्कमाथि लागेको आरोपबारे बुधवारदेखि छानबिन शुरू गरेको छ । एउटा नर्वेली टेलिभिजन डकुमेण्ट्रीमा उसको कर विवरणमाथि शङ्का व्यक्त गरिएपछि सहायता रकमलाई अवैध रूपमा अन्त सारेको अभियोग बैङ्कमाथि लागेको छ । नर्वेली सहायता नियोगबाट १९९० को दशकमा प्राप्त रकमको कानूनी स्वरूपमा बैङ्कले कर छल्ने उद्देश्यले परिवर्तन गरेको गतवर्ष प्रसारित डकुमेण्ट्रीमा भनिएको थियो । ग्रामीण बैङ्कको नेतृत्व २००६ को नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गरेका छन् । गरीब महिलाहरूलाई लगभग १० अर्ब डलरबराबरको लघुकर्जा दिन सफल बैङ्कका अध्यक्ष युनुसको उक्त डकुमेण्ट्री प्रसारित भएपछि देशभित्र र बाहिर आलोचना भएको थियो ।
छानबिनका लागि सरकारले बुधवार गठन गरेको आयोगले तत्काल काम थाल्ने अधिकारीहरूले बताएका छन् । समाचारपत्रहरूका अनुसार आयोगलाई तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिन भनिएको छ । छानबिनको उद्देश्य कुनै व्यक्ति वा संस्थाको छवि धमिल्याउनु नभई अस्पष्टताहरूलाई प्रस्टयाउनु तथा सत्यतथ्य प्रकाशमा ल्याउनु रहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । ढाका विश्वविद्यालयका प्राध्यापक एकेएम मोनोवारुद्दिन अहमदले आयोगको अध्यक्षता गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले युनुसमाथि कर छल्ने 'जुक्ति’ निकालेको आरोप गत हप्ता लगाएकी थिइन् । युनुसले भने आरोपमा हुने छानबिनको स्वागत गर्ने भन्दै आयोगले छिटोभन्दा छिटो सत्यतथ्य जनतासमक्ष ल्याउने अपेक्षा व्यक्त गरेका छन् । रोयटर्स
इन्फोसिसको नाफामा वृद्धि
पुस २९, बैङ्गलोर (भारत) । भारतको सफ्टवेयर निर्यातकर्ता इन्फोसिसले एकीकृत खुद नाफामा १४ दशमलव १ प्रतिशतले वृद्धि भएको बिहीवार बताएको छ । वैदेशिक माग बढे तापनि बलियो भारतीय रुपैयाँ का साथै ज्यालादरमा भएको वृद्धिका कारण पूर्वानुमान गरिएको भन्दा खुद नाफामा केही कमी आएको छ । अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा सूचीकृत इन्फोसिसको अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महीनामा खुद नाफा बढेर १७ अर्ब ८० करोड भारू. (३९ करोड ७० लाख डलर) पुगेको छ । भारतको दोस्रो ठूलो सफ्टवेयर कम्पनी इन्फोसिसको त्रैमासिक नाफामा १८ प्रतिशत वृद्धि हुने विश्लेषकहरूले बताएका थिए । गतवर्षको सोही अवधिमा उक्त कम्पनीले १५ अर्ब ६० करोड भारू. खुद नाफा गरेको थियो ।
अन्तरराष्ट्रिय लेखापालन मापदण्डअनुसारको उसको आम्दानी २४ प्रतिशतले बढेर ७१ अर्ब ६० लाख भारू. पुगेको मुम्बई स्टक एक्सचेञ्जमा दिएको तथ्याङ्कमा इन्फोसिसले बताएको छ । आम्दानीको घोषणा गरेपछि कारोबार शुरू हुँदा इन्फोसिसको शेयर ३ दशमलव २ प्रतिशत घटेर ३ हजार २ सय ६८ भारू. रहन पुगेको छ । इन्फोसिसको शेयरमूल्यलाई भारतको प्रविधिक्षेत्रकै मापकका रूपमा लगानीकर्ताहरूले लिने गरेका छन् । उक्त त्रैमासमा इन्फोसिसले ४० ओटा थप ग्राहक पाएको छ भने सोही अवधिमा ५ हजार ३ सय ११ जना कर्मचारी थपिएका छन् । एएफपी/रासस
द कोरियामा ब्याजदर वृद्धि, बेलायत र ईयूमा यथावत्
पुस २९, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको केन्द्रीय बैङ्क, बैङ्क अफ कोरियाले तीन महिनाभित्र दोस्रोपटक आफ्नो प्रमुख ब्याजदरमा बिहीबार अनपेक्षित वृद्धि गरेको छ । सरकारले बढ्दो महँगी नियन्त्रणका उपायहरू घोषणा गरेका बेला बैङ्कले पनि मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयासस्वरूप सो कदम चालेको हो । दक्षिण कोरियाली केन्द्रीय बैङ्कले मौद्रिक नीतिको मासिक समीक्षा गर्ने एक बैठकमा सरकारी ऋणपत्रको धितोमा बैङ्कहरूले केन्द्रीय बैङ्कबाट लिने ऋणको ब्याजदर (रिपो रेट) २ दशमलव ५ प्रतिशतबाट बढाएर २ दशमलव ७५ प्रतिशतमा पुर्याएको छ । बलियो अर्थिक वृद्धिको सम्भावना व्यक्त गरिएका बेला आएको बैङ्कको उक्त कदमलाई आश्चर्यजनक मानिएको छ । बैङ्क अफ कोरिया तथा एशियाका अन्य केन्द्रीय बैङ्कहरूले ब्याजदर बढाएर अथवा बैङ्कको सञ्चिति कोषमा राख्नुपर्ने रकमको मात्रा बढाएर मौद्रिक नीतिहरूमा कडाइ गर्दै आएका छन् ।
बेलायतमा भने केन्द्रीय बैङ्कले मुद्रास्फीतिको डर हुँदाहुँदै पनि ब्याजदरलाई शून्य दशमलव ५ प्रतिशतको गत २२ महीनदेखि रहिआएको अति न्यून तहमा यथावत् राख्दै थप आर्थिक उत्प्रेरणाका लागि लगानी नबढाउने बताएको छ । बेलायतको मुद्रास्फीति २ प्रतिशतको सरकारी लक्ष्य नाघेर ३ दशमलव ३ प्रतिशतमा पुगेको छ । यस महीनादेखि त्यहाँ मूल्य अभिवृद्धि कर १७ दशमलव ५ प्रतिशतबाट बढेर २० प्रतिशतमा पुगेपछि मुद्रास्फीति झन् बढ्ने अनुमान छ । यूरोपेली केन्द्रीय बैङ्कले पनि आफ्नो प्रमुख ब्याजदर गत २० महीनादेखि रहिआएको १ प्रतिशतमै यथावत् राखेको छ । एपी/रासस
२०११ मा वृद्धिदर घट्ने, २०१२ मा बढ्ने
पुस २९, वासिङटन (अमेरिका) । विश्व अर्थतन्त्रमा २०११ मा पनि २००८ को जस्तै सङ्कट आउन सक्ने विश्व बैङ्कले चेतावनी दिएको छ । आर्थिक वृद्धिमा सुस्ती आउनुका साथै उपभोग्य सामग्रीको मूल्यमा भइरहेको वृद्धिका कारण अर्थतन्त्रमा फेरि सङ्कट आउन सक्ने चिन्ता बैङ्कले गरेको हो । सन् २००९ को मन्दी तथा २०१० को सुधारपछि २०११ मा विश्व अर्थतन्त्र सुस्तिने बैङ्कले अनुमान गरेको छ । सन् २०१० मा ३ दशमलव ९ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र २०११ मा ३ दशमलव ३ प्रतिशतले मात्र बढ्ने बैङ्कको पछिल्लो प्रक्षेपण छ । सन् २०१० मा ७ प्रतिशतमा रहेको विकासशील तथा उदीयमान देशहरूको आर्थिक वृद्धि २०११ मा ६ प्रतिशतमा झर्ने बैङ्कको पछिल्लो 'विश्व आर्थिक सर्वेक्षण' प्रतिवेदनमा भनिएको छ । सन् २०१२ मा भने विश्व अर्थतन्त्रको वृद्धिदर केही बढेर ३ दशमलव ६ प्रतिशतमा पुग्ने बैङ्कको
अनुमान छ । एएफपी/रासस
चीनमा दूधकाण्डमा ९६ जना पक्राउ
पुस २९, बेइजिङ (चीन) । चीनमा ९६ जनालाई पाउडर दूधमा विषालु रसायन मेलामाइन मिसाएको आरोपमा प्रहरीले पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले बिहीवार बताएको छ । सन् २००८ मा दूधमा भएको त्यस्तै मिसावटबाट थुप्रै बच्चाहरूको मृत्यु भएको थियो । चीनको गान्सु तथा छिङहाई प्रान्तमा गत जुलाई महीनामा लिइएको पाउडर दूधको नमूनामा स्वीकृत मात्राभन्दा ५०० गुणासम्मले बढी मेलामाइन पाइएको थियो । त्यसबाट चीनको खाद्यसुरक्षासम्बन्धी कानूनमा रहेको कमजोरी उजागर भएको थियो ।
पक्राउ भएकामध्ये १७ जनालाई दोषी पाइएको, ३८ जनामाथि मुद्दा चलाउन बाँकी रहेको तथा दुइ जनालाई आजीवन कारावासको सजाय दिइएको राज्य परिषद्को खाद्यसुरक्षा आयोगलाई उद्धृत गर्दै सिन्ह्वाले बताएको छ । बाँकी ४१ जना माथि प्रहरी हिरासतमा अनुसन्धान भइरहेको बताइएको छ । साथै चिनियाँ अधिकारीहरूले मेलामाइन मिसावट भएको २ हजार १ सय ३२ टन पाउडर दूध जफत गरेका छन् । सन् २००८ मा मेलामाइन मिसावट भएको दूध सेवन गरेका बालबालिकामध्ये ६ जनाको मृत्यु भएको थियो भने झण्डै ३ लाख बालबालिका बिरामी परेका थिए । रोयटर्स
ब्ल्याकबेरीमा भारतीय सुरक्षा चिन्ता समाधान
पुस २९, नयाँ दिल्ली (भारत) । ब्ल्याकबेरीको क्यानेडियन निर्माता रिसर्च इन मोशन (रिम)ले उसको स्मार्टफोनमा भएको विशेष प्रकारको एन्त्रिmप्टेड मेशेज प्रणालीमा भारतीय सुरक्षा निकायको पहुँच बढाउने विषयमा समाधान निकालेको बिहीवार बताएको छ । तर, कर्पोरेट ईमेल सेवाहरूलाई सुरक्षा निकायको पहुँचमा पुर्याउने विषयमा भने अझै समाधान निस्कन नसकेको रिमले एक विज्ञप्तिमा भनेको छ । भारतले स्मार्टफोनभित्र विशेष कोडमा रहने इन्त्रिmप्टेड डाटा सुरक्षा निकायले सुपरिवेक्षण गर्न मिल्ने गरी समाधान खोज्न रिमलाई जनवरी ३१ सम्मको समय दिएको थियो । उग्रवादीहरूले स्मार्टफोनका सेवा प्रयोग गरेर आक्रमणका योजना बनाउने तथा कार्यान्वयन गर्न सक्ने चिन्ता भारतीय सुरक्षा निकायले गरेपछि रिमलाई उसको प्रविधिमा परिवर्तन गर्न भनिएको थियो । नयाँ गरिएको परिवर्तनपछि ब्ल्याकबेरीको मेसेञ्जर तथा पब्लिक ईमेल सेवालाई भारतीय सुरक्षा निकायले सुपरिवेक्षण गर्न सक्नेछ । तर, कर्पोरेट ईमेलमा सुरक्षा निकायको अझै पनि पहुँच नहुने रिमको विज्ञप्तिमा भनिएको छ । एएफपी/रासस
चीन र भारतप्रति अमेरिकी गुनासो
पुस २९, जेनेभा (स्वीट्जरल्याण्ड) । विश्व व्यापार सङगठनको दोहा बैठकमा चीनको धारणाले निराश पारेको सङ्गठनका लागि अमेरिकी दूत माइकल पुन्केले बिहीवार बताएका छन् ।भारत भने 'कहिले एक कदम अगाडि कहिले एक कदम पछाडि’ गरिरहेको अमेरिकी सरकारको व्यापार प्रतिनिधि निकायको उपप्रमुखसमेत रहेका पुन्केको धारणा छ । सदस्य राष्ट्रहरू अर्थपूर्ण वार्ताहरूमा सहभागी भएनन् भने यसवर्ष लामो समयदेखि अवरुद्ध रहेको वार्ता टुङगिने चेतावनी पनि पुन्केले दिएका छन् ।
जी२० बैठकपछिको सन्दर्भमा घनिभूत रूपमा वार्ता हुने अपेक्षा आफूहरूले राखेको तर चीनले भने पहिलेकै कुराहरू दोहोर्याएको पुन्केले बताएका छन् । भारतले भने 'मिश्रति सङ्केत’ दिएर स्पष्ट धारणा नराखेको पनि पुन्केले गुनासो गरेका छन् ।सन् २००१ मा शुरू भएको दोहा बैठक वार्ताहरू विकसित तथा विकासशील देशहरूबीच औद्योगिक उत्पादनको बजारमा पहुँच तथा कृषि अनुदानजस्ता विवादले अवरुद्ध हुँदै आएको छ । एएफपी/रासस
यूरोलाई जसरी पनि बचाउने दाबी
पुस २९, लण्डन (बेलायत) । यूरो क्षेत्रको स्थायित्वका लागि आवश्यक पर्ने जे पनि गर्न फ्रान्स र जर्मनी तयार रहेको फ्रान्सेली प्रधानमन्त्री फ्राँस्वाँ फिलनले बिहीवार लण्डनमा दिएको भाषणमा भनेका छन् । सन् २००७ मा फ्रान्सको प्रधानमन्त्री भएपछि बेलायतको पहिलो औपचारिक भ्रमणको शुरूमा फिलनले त्यस्तो विचार राखेका हुन् । बेलायत भ्रमणमा रहँदा फिलनले बेलायती प्रधानमन्त्री डेभिड क्यामरोन तथा उपप्रधानमन्त्री निक क्लेगसँग वार्ता गर्नेछन् । यूरोपेली मुद्रा यूरो यूरोपकै मौद्रिक मुटु भएकाले त्यसको सुरक्षा यूरोपियन युनियनको प्रमुख राजनीतिक तथा आर्थिक प्राथमिकता रहेको फिलनको धारणा छ । गतवर्ष ग्रीस र आयरल्याण्डमा देखिएको ऋणसङ्कट पोर्चुगल हुँदै ठूला यूरोपेली अर्थतन्त्रहरू स्पेन, बेल्जियम तथा इटालीमा पनि फैलिन सक्ने लगानीकर्ताहरूको चिन्तालाई आश्वस्त पार्ने क्रममा फिलनको त्यस्तो धारणा आएको हो । एएफपी/रासस