शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

इटालीमा खर्च कटौती योजना पारित

साउन २९, रोम (इटाली) । यूरोपमा जारी ऋणसङ्कटको प्रभाव देशको अर्थतन्त्रमा देखिन थालेपछि सरकारले कडा प्रवधानसहितका सार्वजनिक खर्च कटौतीको घोषणा गरेको छ । शनिवार मन्त्रिपरिषद्को एक आपत्कालीन बैठकले सरकारी खर्चमा २० अर्ब यूरो कटौती गर्ने निर्णयगरेको थियो । बैठकले सन् २०१२ मा थप २५ दशमलव ५ अर्ब यूरो कटौती गरेर बजेट असन्तुलन घटाउने निर्णयपनि गरेको थियो । यो निर्णयसँगै सरकारले वार्षिक आम्दानी ९० हजार यूरोभन्दा बढी भएकाहरूलाई ५ प्रतिशत र १ लाख ५० हजार यूरोभन्दा बढी वार्षिक आम्दानी भएकाहरूलाई १० प्रतिशत विशेष कर लगाउने पनि घोषणा गरेको छ ।

सरकारको उक्त करवृद्धिको घोषणा बढी तलब पाउने राजनितिज्ञहरूप्रति लक्षित भएको बताइएको छ । साथै, वित्तीय आम्दानी (लगानीबाट प्राप्त आम्दानी)मा पनि हालको १२ दशमलव ४ बाट बढाएर २० प्रतिशत पुर्याइएको छ । यूरोपियन सेण्ट्रल बैङ्कले इटालीको सरकारमाथि सार्वजनिक खर्च घटाउन र कर वृद्धि गर्न दबाब दिइरहेको थियो । बैङ्कले इटालीका ऋणपत्र खरीद गर्न सरकारले बजेट घाटामा सन्तुलन ल्याउनुपर्ने शर्त अघि सारेको थियो । इटालीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले शनिवार सार्वजनिक खर्च कटौती र कर वृद्धिको घोषणा गर्दै यसबाट हुने बचतले अर्थतन्त्रका समस्याको समाधान गर्न सहयोग गर्ने बताएका छन् । उनले यस्तो घोषणा गर्दा आफू अत्यन्त दु:खित भएको उल्लेख गरेका छन् । बर्लुस्कोनीले यसअघि सार्वजनिक रूपमै आफ्नो सरकारले 'करदाताहरूको खल्तीमा हात नहाल्ने' बताउँदै आएका थिए ।

तर, विश्लेषकहरूले सार्वजनिक खर्चमा गरिएका कटौती र कर वृद्धिले इटालीको अर्थतन्त्रमा खासै योगदान नगर्ने बताएका छन् । विश्वको सबैभन्दा ठूलो आर्थिक विश्लेषक र परामर्शदाता 'आईएचएस ग्लोबल इन्साइट'का अर्थशास्त्री रेज बादिआनीले कर वृद्धिको घोषणाले आर्थिक वृद्धिमा कुनै सहयोग नगर्ने बरु उपभोक्ताहरूको खस्किरहेको आत्मविश्वासलाई अझै तल झार्ने बताएका छन् । उनले मूल समस्या अर्थतन्त्रको सुधारसँग सम्बन्धित भएको र सेवाक्षेत्र तथा श्रम बजारमा देखिएका समस्यालाई समाधान गर्न समयसीमा आवश्यक भएको उल्लेख गरेका छन् ।अर्थतन्त्रमा देखिएका समस्याहरूले आर्थिक वृद्धिमा तीव्र दबाब सृजना गरेपछि इटाली सरकारले सन् २०१२ मा आर्थिक वृद्धि १ दशमलव ३ प्रतिशत रहने बताएको छ । तर, पारमर्शदाता संस्था बार्कलेज क्यापिटलले भने हालै इटालीको आर्थिक वृद्धि शून्य दशमलव ७ प्रतिशत मात्र रहने जानकारी दिएको थियो ।    एजेन्सी

जोएल्लिकद्वारा नयाँ जोखिमको चेतावनी

साउन ३०, सिड्नी (अष्ट्रेलिया) । विश्व बैङ्कका प्रमुख रोबर्ट जोएल्लिकले विश्वमा बहुगति अर्थात् भिन्नाभिन्नै तरीकाले पुनर्बहाली भइरहेको आइतवार बताएका छन् । एशिया सोसाइटीको सिड्नीमा भइरहेको वार्षिक भोजका बेला अमेरिकी अर्थतन्त्रबारे सोधिएको प्रश्नको उत्तरमा जोएल्लिकको त्यस्तो धारणा आएको हो ।विश्वव्यापी वृद्धिमध्ये आधा जति उदीयमान देशहरूबाट आउने गरेका छन्, जसका भिन्नाभिन्नै अप्ठयारा रहेको जोएल्लिकले टिप्पणी गरे । उदीयमान देशहरूमा अर्थतन्त्र तात्ने र मूल्यवृद्धिजस्ता समस्या देखिएको उनले थप स्पष्ट गरेका छन् ।

शनिवार भने जोएल्लिकले विश्वव्यापी अर्थतन्त्रमा नयाँ र अझ बढी खतरनाक समय देखिएको बताएका छन् । यूरोप ऋण समस्याले सङ्कटग्रस्त भएको बखत धेरैजसो विकसित देशमा समस्या देखिएको उनले औंल्याएका छन् ।यूरोजोनको सार्वजनिक ऋण समस्या अमेरिकाको 'मध्यम र दीर्घकालीन’ समस्याभन्दा पनि समस्याग्रस्त रहेको जोएल्लिकले बताए । स्ट्याण्डर्ड एण्ड पुअरले गत हप्ता अमेरिकाको रेटिङ झारेपछि विश्व बजारमा नै त्रास उत्पन्न भएको थियो । 'हामी नयाँ र फरक आँधीको पूर्वघडीमा छौं, जुन २००८ को जस्तो छैन’ जोएल्लिकले भने ।  एजेन्सी

चीनमा प्रदूषण विरूद्ध प्रदर्शन

साउन ३०, बेइजिङ (चीन) । उत्तरपूर्वी चीनका अधिकारीहरूले एउटा पेट्रोकेमिकल कारखाना फुजिया केमिकल प्लाण्टलाई तुरून्त बन्द गर्ने आदेश दिएका छन् । उक्त केन्द्रले विषालु रसायन चुहाएको आरोप लगाउँदै हजारौं जनताले प्रदर्शन गरेपछि अधिकारीहरूले कारखाना बन्द गर्ने आदेश दिएका हुन् । लिआओनिङ प्रान्तको बन्दरगाह शहर डालिआनमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भीडन्तसमेत भएको थियो ।

अधिकारीहरूले प्रदर्शनकारीको मागबमोजिम उक्त कारखानालाई अन्यन्त्र सार्ने आश्वासन दिएका छन् । तर, उक्त कारखानालाई कहाँ सारिनेछ भन्नेबारे केही बताइएको छैन । पोलिष्टर बनाउन प्रयोग गरिने एक विषालु रसायनलाई हुरीले उडाएर शहरमा पुर्याएपछि डालियानका बासिन्दा भाग्न बाध्य भएका सरकारी सञ्चारमाध्यमले बताएको छ । कारखानाको उपकरण मर्म्मत गरिसकिएकाले रसायन नचुहिएको बताइएपनि मानिसहरूबीच कारखानाविरूद्ध अझै आक्रोशित देखिन्छन् ।  स्थिरता कायम राख्न अत्यन्त संवेदनशील रहने चिनियाँ नेताहरूका लागि यस्तो जनप्रदर्शन टाउको दुखाइ हुने गर्दछ । चिनियाँ नेतृत्वका लागि स्थिरताका र आर्थिक वृद्धिका साथै वातावरण प्रदूषणबारे बढ्दो जनआक्रोशबीच सन्तुलन मिलाउनुपर्ने देखिएको छ । एजेन्सी