शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अब अति भयो : ओबामा

असार ३०, वाशिङटन (अमेरिका) । बजेटघाटा कम गर्ने र ऋणसीमा तय गर्ने विषयमा सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति दिक्दार भएका छन् । प्रतिपक्षी रिपब्लिकन र सरकारबीच बुधवार भएका वार्ता अनिर्णित  भएपछि उक्त बैठकमा ओबामाले यस्तो भनेका हुन् । बुधवार ह्वाइटहाउसमा भएको वार्तामा प्रतिपक्षीहरू आफ्नो अडानबाट टसमस नभएपछि राष्ट्रपति ओबामा आक्रोशित हुँदै 'अब अति भयो' र 'म तँपाइहरूलाई भोलि भेट्नेछु' भन्दै बैठकबाट हिँडेका ह्वाइटहाउस स्रोतले जानकारी दिएको छ ।

बैठकमा ओबामाले आफ्नो सरकारले बजेटघाटा कम गर्न १० वर्षका लागि ४० खर्ब डलरको योजना प्रस्तुत गरेका थिए । तर, प्रतिपक्षीहरूले कुनै पनि समयसीमा आफूहरूलाई मान्य नहुने भन्दै २० खर्ब डलरको योजना ल्याउनुपर्ने अडान दोहोर्याएका थिए । यसैबीच अमेरिकी फेडरल रिजर्भका अध्यक्ष बेन बर्नाङ्कीले बुधवार बजेटघाटा कम गर्ने योजना र ऋणसीमा तय नभएमा अमेरिका टाट पल्टिन सक्ने भन्दै त्यसले विश्वकै अर्थतन्त्रलाई तहसनहस पार्ने बताएका थिए ।यसैगरी बुधवार नै क्रेडिट रेटिङ एजेन्सी 'मुडिज'ले आफूले अमेरिकी सरकारको क्रेडिट रेटिङ पुनरवलोकन गर्ने बताएको छ । साथै छिटोभन्दा छिटो समस्या समाधान गर्नेतर्फ पाइला नचालिए अमेरिकी सरकार आफ्नै ऋणमा डुबेर टाट पल्टने चेतावनीसमेत दिएको छ । एपी/रासस

अष्ट्रेलियामा  जीएम गहुँबाली नष्ट

असार ३० । ग्रीनपिसका तीन महिला वातावरण अभियन्ताले बिहीवार अष्ट्रेलियाली सरकारको कृषि अनुसन्धान केन्द्रमा जबर्जस्ती प्रवेश गरेर जीएम गहुँ बाली नष्ट गरिदिएका छन् । वंशानुगत रूपले परिवर्तित उक्त जीएम गहुँको जातले सुरक्षा जोखिम बढाएको ती अभियन्ताहरूको आरोप छ । क्यानबेरास्थित अनुसन्धान केन्द्रमा ग्लाइसेमिक इण्डेक्स कम भएको उन्नत गहुँ प्रजातिको प्रायोगिक बाली लगाइएको थियो । एकबिहानै कृषि औजारसहित प्रवेश गरेका ती अभियन्ताले गहुँ बाली नष्ट गरिदिएका थिए ।

सङ्क्रमणबाट जोगिन सुरक्षात्मक पहिरन लगाएर केन्द्रमा प्रवेश गरेका तीनै जना अभियन्ता उक्त परीक्षणको सुरक्षितताबारे चिन्तित रहेका ग्रीनपीसले बताएको छ । वंशानुगत रूपले परवर्तित अर्थात् जेनेटिकल्ली मोडिफाइड (जीएम) खाद्यान्नको सेवन सुरक्षित प्रमाणित नभइसकेकाले त्यस्तो कदम चालिएको एक अभियन्ता लाउरा केलीले बताइन् । जीएम  खाद्यान्नलाई खुला रूपमा परीक्षण गर्दा अन्य बालीमा समेत सङ्क्रमण हुन सक्ने केल्लीले चिन्ता व्यक्त गरिन् । त्यसैले स्वास्थ्य, वातावरण र दैनिक भोजनको सुरक्षाका लागि तिनलाई नष्ट गरिएको केल्लीको दाबी छ । एएफपी/रासस

Admin 2011-07-15