शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दोहा बैठक असफलताको प्रश्न एक प्राज्ञिक जिज्ञासा : लामी

जेठ ३०, जकार्ता (इण्डोनेशिया) । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)का प्रमुख पास्कल लामीले व्यापार वार्ताको दोहा बैठक मृतप्राय: भइसकेको भन्ने टिप्पणीको खण्डन गरेका छन् । केही साना देशहरूका समूहले भारत, चीन र अमेरिकालाई सहमतिका लागि मनाउन सफल हुने लामीको धारणा छ । त्यसैगरी एक दशकसम्म छलफल गरिएको धेरैजसो व्यापारसम्बन्धी विषयहरू निर्णया लागि परिपक्व भइसकेको लामीको मूल्याङ्कन छ । साथै, सहमति भएका विषयमा निर्णय गर्न र अप्ठयारा विषयलाई पछिका लागि थाँती राख्न पनि लामीले सदस्य देशहरूलाई सुझाव दिएका छन् । डब्ल्यूटीओमा १ सय ५३ सदस्य देश आबद्ध छन् ।

दोहा बैठक असफल भयो भने के गर्ने भन्ने प्रश्न ज्यादै प्राज्ञिक प्रश्न हुने लामीले बताए । पूर्वी एशियाका लागि विश्व आर्थिक मञ्च अर्थात् वर्ल्ड इकोनोमिक फोरम फर इष्ट एशियाको जकार्तामा भइरहेको छलफललाई सम्बोधन गर्दै लामीले त्यस्तो टिप्पणी गरेका हुन् ।'अन्तरराष्ट्रिय वार्ताहरू कहिल्यै असफल हुन्नन्, कहिल्यै मर्दैनन् । तिनीहरू मात्र लम्बिन्छन्,’ लामीले यसो भन्दा हाँसो गुञ्जिएको थियो ।

दश वर्षसम्मको वार्तापछि पनि वस्तु र सेवाको खुला व्यापारको क्षेत्रमा खासै सहमति हासिल हुन सकेको छैन । विकसित र उदीयमान देशहरूबीच आफ्ना बजारलाई खुला छोड्ने विषयमा विवाद कायमै रहँदा दोहा वार्तामा समस्या आइपरेको हो । दक्षिणपूर्वी एशिया र ल्याटिन अमेरिका क्षेत्रका कतिपय देशका सामूहिक दबाबले भने प्रमुख अर्थतन्त्रहरूलाई सहमतिमा आउन बाध्य गर्ने लामीको मूल्याङ्कन छ । त्यसैगरी, विकसित र उदीयमान दुवै थरीको प्रमुख अर्थतन्त्रसँग साना देशहरूको व्यापार सम्बन्ध रहेकाले उनीहरूले त्यसलाई सन्तुलित बनाउनेतर्फप्रयास गर्नुपर्ने लामीको सुझाव छ ।         एजेन्सी

भारतमा जस्तै चीनमा पनि भ्रष्टाचार विरोधी वेबसाइट

जेठ ३०, बेइजिङ (चीन) । भारतमा भ्रष्टाचारविरूद्ध वेबसाइट अभियानमा पनि निकै विस्तार भएको छ । अचेल थुप्रै भारतीयहरूले आफूले घूस दिनुपरेको घटना वेबसाइटमार्फत सार्वजनिक गरिरहेका छन् । भारतको त्यस्तो अभियानबाट प्रेरित भएर चीनका इण्टरनेट प्रयोगकर्ताहरूले पनि त्यस्तै अभियान चलाउन थालेका छन् । यसमा मानिसहरूले कसरी आफू घूस खुवाउन बाध्य हुनुपर्यो भन्ने कुराको विस्तृत जानकारी दिएका छन् ।

चिनियाँ जनताहरू निश्चय पनि भारतमा रहेको चरम गरीबीलाई सरकारको कमजोरीका रूपमा हेर्ने गर्छन् । तर, पछिल्ला दिनहरूमा भारतीय जनताले भ्रष्टाचारविरूद्ध देखाएका तीव्र आक्रोशबाट चिनियाँ जनतासमेत प्रभावित भएका देखिन्छन् । भारतीयहरूले खोलेका 'मैले घूस तिरेँ’ भन्ने शीर्षकको वेबसाइट (आईपेडब्राइब डट कम) निकै चर्चित छ । चिनियाँहरूले पनि त्यस्तै वेबसाइट 'मैले घूस ख्वाएँ’ (आईमेडब्राइब डट कम) खोलेका छन् ।  भारतीयहरूको वेबसाइटमा जस्तै चिनियाँहरूको वेबसाइटमा पनि आफूले घूस दिएका घटना सार्वजनिक गर्न आग्रह गरिएको छ ।

ट्रान्सपरेन्सी इण्टरनेशनलको २०१० को सर्वेक्षणमा चीनको भन्दा भारतको भ्रष्टाचार सूचकाङ्क खराब देखिएको छ । भ्रष्टाचार सूचकाङ्कमा समावेश गरिएका १ सय ७८ देशमध्ये चीन ७८औं स्थानमा छ भने भारत ८७ औं स्थानमा छ । भ्रष्टाचारविरूद्ध चीनले निकै कडा नीति अँगालेको भए तापनि भ्रष्टाचारको आरोपमा  थुप्रै व्यक्तिलाई कारबाही भइराख्नुले त्यहाँ पनि व्यापक भ्रष्टाचार रहेको देखिन्छ । एजेन्सी

थाई एयर ४ अर्ब डलरका जहाज थप्दै

जेठ ३०, बैङ्कक (थाइल्याण्ड) । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरले २३ ओटा एयरबस र १४ ओटा बोइङ कम्पनीका नयाँ जहाज किन्ने भएको छ । अहिलेको विनिमयदरका आधारमा ३ अर्ब ९० करोड अमेरिकी डलरमा खरीद गर्न लागिएका ती जहाजले सेवालाई आधुनिकीकरण गर्नेछ । थाई एयर केही अघिदेखि आर्थिक असजिलोमा परेको छ ।यो खरीद योजनालाई थाई एयरको सञ्चालक समितिले स्वीकृति दिइसकेको छ । यी जहाज थपिएपछि कम्पनीको नाफामा अभिवृद्धि हने र गुणस्तर तथा सेवा प्रभावकारितामा थाई एयर एशियाकै उत्कृष्ट तीनमध्ये एक वायुसेवाप्रदायक कम्पनी हुनेछ । यी खरीद गर्ने जहाजमध्ये ६ ओटा बोइङ ७७७-३०० ईआर, चारओटा एयरबस ए३५०-९०० र पाँचओटा ए३२०-२०० हुनेछन् । यी जहाजको मूल्य मात्रै १ अर्ब ६० करोड अमेरिकी डलर पर्नेछ र ती जहाजहरू सन् २०१४ र २०१७ को बीचमा थाई एयरलाई हस्तान्तरण गरिनेछ । कम्पनीको विज्ञप्तिअनुसार उसले २२ ओटा जहाजहरू सन् २०१२  र २०१७ का  बीचमा करारमा लिनेछ । यीमध्ये आठओटा बोइङ-७८७ ड्रिमलाइनर हुनेछन् ।

थाई एयरलाइन्स सन् २००८ को ७० करोड डलर (सवा २१ अर्ब थाई भाट) घाटापछि विस्तारै आर्थिक उन्नतिमा फर्कने क्रममा छ । सो वर्षविश्व आर्थिकसङकट, हवाई इन्धनमा उच्च मूल्य र त्यहाँ भएको राजनीतिक प्रदर्शनका कारण बैङ्कक एयरपोर्ट बन्द भएकाले यस्तो घाटा भएको थियो । तर, सन् २०१० मा एयरलाइन्सको खुद नाफा १ अर्ब ६० करोड भाट रह्यो, जुन सन् २००९ को तुलनामा नाफा तीन गुणा र आम्दानी दुईगुणा हो ।यो नयाँ खरीद योजना एयरलाइन्सले गतवर्ष घोषणा गरेको सन् २०१४ सम्ममा ७ ओटा एयरबस ए३३०-३०० र ८ ओटा बोइङ ७७७-३००ईआरमा थप हो । एएफपी

बङ्गलादेशद्वारा मलेशियासँग हलाल बजारको माग

जेठ ३०, ढाका (बङ्गलादेश) । बङ्गलादेशले ६ खर्ब डलरको विश्वव्यापी हलाल खाद्य बजारमा आफूले पनि पहुँच पाउनुपर्ने माग गरेको छ । मुश्लिम शरिया कानूनअनुरूप मारिएका गाइवस्तु र खसीको मासुलाई हलाल मुश्लिमहरूले हलाल भन्ने गरेका छन् । विश्वभरिका मुश्लिमलगायत थुप्रै गैरमुश्लिमले समेत हलाल गरिएको खाना खासगरी रेड मिट मन पराउँछन् । धार्मिक र स्वास्थ्यका कारणले हलाल गरिएका मासुको माग बढेको छ । हाल हलाल खाद्य बजारमा सबैभन्दा ठूलो हिस्सा मलेशियाले ओगटेको छ ।त्यसैले मलेशियाले सहयोग गरेमा आफूहरूले बढ्दो हलाल बजारमा हिस्सा पाउने बङ्गलादेश-मलेशिया चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका प्रेजिडेण्ट सैयद मोआज्जम होसेनले बताए । दक्षिण  एशियामा भारत र पाकिस्तानपछि बङ्गलादेश मलेशियाको तेस्रो ठूलो साझेदार हो । एजेन्सी

यसपटकको यूएस ओपनमा यूरोपेली वर्चस्वको आशा

जेठ ३०, बेथष्डा (अमेरिका) । यूरोपेली गल्फ खेलाडीहरूले १९२५ यता दुइपटक मात्र यूएस ओपन जितेका छन् । तर, यस वर्षभने विश्व वरीयताक्रममा माथिल्ला १० स्थानमा रहेकामध्ये ६ जना यूरोपेलीले सो टुर्नामेण्टमा भाग लिने भएकाले यूरोपको आशा बढेको छ ।गतवर्ष पेबल बीचमा आयोजना भएको यूएस ओपन उत्तरी आयरल्याण्डका ग्रेम म्याकडोवेलले जितेका थिए । यस परिसणामले उनी सन् १९७० पछि यूएस ओपन जित्ने पहिलो यूरोपेली हुन पुगेका थिए । १९७० मा भने इङल्याण्डका टोनी ज्याकलिन यूएस ओपन जितेर उक्त प्रतियोगिताको इतिहासमै पहिलो यूरोपेली विजेता भएका थिए ।

'यूरोपेली गल्फ अहिले निकै बलियो भइसकेको छ,’ म्याकडोवेलले भने । हालसम्म ६ जनाले मात्र लगातार २ वर्षसम्म यूएस ओपन जित्न सफल भएका छन् । यसमध्ये पछिल्लोपटक कर्टिस स्ट्रेञ्जले १९८८ र १९९९ मा लगातार दुइपटक जितेका थिए । तर, म्याकडोवेलले यस वर्षपनि जितेर लगातार दुइपटक यूएस ओपन जित्ने सूचीमा पर्न सकेनन् भने पनि यूरोपले आशा गर्नसक्ने धेरै खेलाडी छन् ।विश्व वरीयताक्रममा पहिलो स्थानमा रहेका ल्युक डोनाल्ड र दोस्रो स्थानमा रहेका ली वेष्टउडले पनि यस हप्ता शुरू हुने १ सय ११औं यूएस ओपनमा भाग लिनेछन् । इङल्याण्डका ती दुवै खेलाडीको यो पहिलो 'मेजर टाइटल' स्पर्धा हुनेछ । यूएस ओपनमा अन्य यूरोपेली सहभागीमा विश्व नम्बर ३ जर्मनीका मार्टिन केमर, सातौं नम्बरका उत्तरी आयरल्याण्डका रोरी म्याकिल्रोई पनि रहेनेछन्। यस वर्षको यूएस ओपन वासिङटनस्थित कङ्ग्रेशनल कण्ट्री क्लबमा हुँदै छ । एएफपी/रासस

एलपीजीए फार्म क्लासिकमा यानी छेङको विजय

जेठ ३०, स्प्रिङफिल्ड (अमेरिका) । ताइवानकी यानी छेङ एलपीजीए स्टेट फार्म क्लासिक गोल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएकी छन् । छेङ खेलको चौथो तथा अन्तिम दिन ४ अण्डर ६८ बनाएर क्रिष्टी केरलाई हराउन सफल भएकी हुन् । २०१० की विजेता केरले भने ३ अण्डर ६७ बनाउँदै खेलको अन्त्य गरिन् । चार वर्षभित्रको आफ्नो सातौं टुर टाइटलका लागि प्यान्थर क्रीकमा छेङले २१ अण्डर रहेर कुल २ सय ६७ बनाउन सफल भएकी हुन् । छेङले यसै वर्षको सिजन ओपनिङ एलपीजीए थाइल्याण्डका साथै यसै वर्षअन्य तीनओटा अन्तरराष्ट्रिय प्रतियोगिता पनि जितिसकेकी छन् । सन् २००८ को टुर्नामेण्टमा उनले एक होल बाँकी रहँदा एक स्ट्रोकले अग्रता लिइरहेकोमा बोगी बनाएपछि टाइ परेर पहिलो एक्सट्रा होलमा 'थ्री-पट्टङि' गरिन् । त्यसको फलस्वरूप उनी जी यङ ओहसँग पराजित भएकी थिइन् । उक्त टाइटलका प्रायोजक स्टेट फार्म इन्स्योरेन्स कम्पनीजले यस वर्षपछिको टुर्नामेण्टलाई प्रायोजन नगर्ने बताएपछि आगामी वर्षका लागि आयोजकहरूले अर्को प्रायोजक खोज्नुपर्ने भएको छ । तर, उक्त टुर्नामेण्ट आफूलाई मन पर्ने भएकाले आगामी वर्षपनि टाइटल जोगाउन फेरि खेल्न आउने छेङले बताइन् । एपी/रासस

Admin 2011-06-14