शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कोण्टासको एशियामा नयाँ विमानसेवा

साउन ३१, सिड्नी (अष्ट्रेलिया) । कोण्टास एयरवेजले उसको अन्तरराष्ट्रिय सञ्चालनमा सुधारका लागि झण्डै १ हजार रोजगार कटौती गर्नुका साथै एशियामा आधारित  एउटा नयाँ विमानसेवा सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियाको ध्वजाबाहक कोण्टासले उसको अन्तरराष्ट्रिय उडानमा भइरहेको घाटा नियन्त्रण गर्ने प्रयासअन्तर्गत उक्त योजना ल्याएको हो । त्यसका लागि कोण्टासले पुराना विमान थन्क्याउने र १ सय ६ देखि १ सय १० ओटा नयाँ एयरबस ए३२० विमान खरीद गर्ने योजना बनाएको छ ।

साथै, ६ ओटा एयरबस ए३८० सुपरजम्बोको डेलिभरीलाई आगामी ६ वर्षसम्मका लागि स्थगित गर्ने भएको छ । लण्डनतर्फो जस्तो लामो दूरीको उडानका लागि कोण्टासले ए३८० चलाउने योजना बनाएको थियो । २०११ को वित्तीय वर्षमा कोण्टासले २१ करोड डलरको घाटा पूर्वानुमान गरेको छ । चर्को प्रतिस्पर्धा र इमिरेट्सजस्ता प्रमुख प्रतिस्पर्धीको भन्दा २० प्रतिशत बढी महँगो भएकाले त्यस्तो घाटा हुनपुगेको हो ।  त्यसैले घाटा पूर्ति गरी फेरि नाफा कमाउन विमानसेवामा आधारभूत संरचनागत परिवर्तन गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत एलन जोयसले बताए । योजनाअन्तर्गत, कोण्टासले एशियामा एउटा नयाँ विमानसेवा सञ्चालन गर्नेछ, जुन अर्कै नाममा हुनेछ । त्यसैगरी, जापानमा पनि उसले जापान एयरलाइन्स र मित्सुबिशीसँगको साझेदारीबाट जेटस्टार जापानको नामबाट बजेट विमानसेवा सञ्चालन गर्नेछ ।             एपी/रासस   

रोजगारी वृद्धिका योजना ल्याउँदै ओबामा

साउन ३१, आयोवा (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्न नयाँ योजनाहरूको घोषणा गर्न लागेका छन् । मतदाताहरूसँग प्रत्यक्ष भेटघाटको क्रममा मध्य अमेरिकाको आयोवा राज्यस्थित डेकोरा शहरमा बुधवार हुने एक कार्यक्रममा ओबामाले यस्तो घोषणा गर्न लागेको बताइएको छ ।बुधवारको कार्यक्रममा उनले आयोवामा आगामी ५ वर्षभित्रमा साना व्यापारमा गर्न लागिएको ३० करोड ५० लाख डलर लगानीबारे घोषणा गर्ने समाचारमा उल्लेख छ । त्यसैगरी ओबामाले ग्रामीण अर्थतन्त्रमा वृद्धि गर्ने, रोजगारीका अवसरहरू सृजना गर्ने र ग्रामीण स्वास्थ्यसेवामा सुधार ल्याउने विभिन्न कार्यक्रमको घोषणा गर्ने अनुमान गरिएको छ । अमेरिकाको क्रेडिट रेटिङ 'ट्रिपल ए'बाट 'डबल ए प्लस'मा झरेपछि लोकप्रियता गुमाउँदै गएका ओबामाको यो यात्रा प्रतिपक्षी रिपब्लिकनहरूमाथि गरिएको प्रत्याक्रमण भएको विश्लेषकहरूले बताएका छन् । सत्तापक्षीय डेमोक्रयाटहरूले मुलुकको अर्थतन्त्रलाई सही मार्गमा ल्याउन ओबामा आम अमेरिकीहरूसँगको प्रत्यक्ष अन्तरक्रियामा सामेल भएको बताएका छन् ।             एजेन्सी

चीनको लागि अमेरिकी ऋणपत्र अझै सुरक्षित

साउन ३१, बेइजिङ (चीन) । चीनको विदेशी मुद्रा सञ्चिति लगानी गर्न अमेरिकी ऋणपत्र अझै पनि सुरक्षित गन्तव्य रहेको छ । क्रेडिट रेटिङ एजेन्सी स्ट्याण्डर्ड एण्ड पुअर्सले अमेरिकाको क्रेडिट रेटिङ झारे तापनि अमेरिकी ऋणपत्रको आकर्षण अझै कायम रहेको चाइना कन्ष्ट्रक्शन बैङ्कका अध्यक्ष गुओ शुकिङले बताए ।गुओ चीनको विदेशी मुद्रा सञ्चिति निकाय स्टेट एडमिनिष्ट्रेशन अफ फरेन एक्सचेञ्ज (सेफ)मा २००३ देखि २००५ सम्म प्रमुख पनि रहिसकेका छन् । ऐतिहासिक र यथार्थवादी कारणले गर्दा चीनले आफ्नो धेरैजसो विदेशी मुद्रा सञ्चिति डलरमा राखेको गुओले बताएका छन् ।  अमेरिकी ऋणपत्रमा केही जोखिम रहेको गुओले स्वीकार गरेका छन् । तर, अस्थिर विश्व अर्थतन्त्र र यूरोजोनको अप्ठयारो अवस्थाका बेला अमेरिकी ऋणपत्र सुरक्षा र प्रतिफलका दृष्टिले अझै पनि उत्तम छनोट रहेको गुओको विचार छ ।

गएको जुन महीनामा ३ दशमलव २ ट्रिलियन डलरमा पुगेको चीनको विदेशी मुद्रा सञ्चिति विश्वकै सबैभन्दा ठूलो परिमाणको हो । चीनको केन्द्रीय बैङ्क पिपल्स बैङ्क अफ चाइना र सेफले भने हालसम्म अमेरिकी क्रेडिट रेटिङ खस्किएकोमा कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।त्यसैले गुओको विचारले वर्तमान निर्णयर्ताहरूलाई प्रतिनिधित्व नगरे पनि बेइजिङले अमेरिकी ऋणपत्र तुरुन्तै नहटाउने सरकारी सल्लाहकार र विश्लेषकहरूको अनुमान छ । चिनियाँ अधिकारीहरूले डलरमा रहेको विशाल सञ्चितिलाई विविधीकरण गर्ने प्रतिबद्धता गरे पनि त्यस्तो प्रक्रिया क्रमबद्ध रहेको छ ।           एजेन्सी

आर्थिक सङ्कट नयाँ क्षेत्रमा फैलने : रोबर्ट जोल्लिक

साउन ३१, क्यानबेरा (अष्ट्रेलिया) । विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोल्लिकले विश्वव्यापी आर्थिक सङ्कट नयाँ क्षेत्रहरूमा फैलने चेतावनी दिएका छन् । मङ्गलवार एक कार्यक्रममा बोल्दै जोल्लिकले आगामी केही हप्तामा आर्थिक मन्दीको असरबाट नयाँ क्षेत्रहरू प्रभावित हुन सक्ने
बताएका छन् ।अष्ट्रेलियाका उपप्रधान तथा अर्थमन्त्री वेन स्वानसँग मङ्गलवार एक संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले आर्थिक मन्दीले राष्ट्रहरूको आत्मविश्वासमा पुर्याइरहेको असरको प्रभाव र सरकारहरूका योजना मूल्याङकन गर्नु महत्त्वपूर्ण भएको बताए । जोल्लिकले आर्थिक मन्दी नयाँ क्षेत्रमा फैलन नदिन यूरोपका सरकारहरूले आफ्नो देशको अर्थतन्त्रको पुन:संरचना गर्नुपर्ने र वित्तीय बजारमा आत्मविश्वास पुन:स्थापित गर्न प्रयासहरू केन्द्रित गर्नुपर्ने बताएका छन् । जोल्लिकले  यूरोजोनमा फैलिरहेको ऋणसङ्कट र अमेरिकामा ऋणसीमासम्बन्धी विवादले सृजित राजिनीतिक झगडाले  विश्व अर्थतन्त्रमा अनिश्चितता र चिन्ताको वातावरण निर्माण गरिरहेको उल्लेख गरेका छन् ।

जोल्लिकले ऋणभारले थिचिएका इटाली र स्पेनको २२ अर्ब यूरोबराबरका ऋणपत्रहरू यूरोपियन केन्द्रीय बैङ्कले खरीद गरेको समाचारको पनि स्वागत गरे । तर, उनले बैङ्कको उक्त कदम अल्पकालीन भएको र बढ्दो ऋण समस्याजस्तो प्रमुख समस्या समाधान गर्न भने पर्याप्त नभएको बताएका छन् । साथै ऋण समस्याबाट ग्रस्त यूरोपेली राष्ट्रहरूले केही आधारभूत संरचनात्मक विषयहरू सम्बोधन गर्न नसकेको पनि उल्लेख गरे । उनले आफू सबैलाई मान्य हुने बाटो पहिल्याउन लागिरहेको बताएका छन् । पत्रकार सम्मेलनमा जोल्लिकले 'द फाइनान्सियल टाइम्स'मा प्रकाशित लेखका लागि अष्ट्रेलियालगायत अन्य मुलुकका अर्थमन्त्रीलाई धन्यवाद दिँदै आत्मविश्वासमा आउने सङ्कट कुनै पनि आर्थिक अवरोधभन्दा ठूलो चुनौती भएको उल्लेख  गरेका छन् ।             एजेन्सी

Admin 2011-08-17