असोज २७, मलेसिया (गुरुन) । मलेसियाको उत्तर-पश्चिमी क्षेत्रको एउटा भव्य औद्योगिक क्षेत्रमा सयौँ कामदार पुजो २०७ कार बनाउँदै छन् । यो कार दक्षिण- पूर्वी एशिया, अष्ट्रेलिया र दक्षिण अप्रिmकामा विक्री गरिनेछ ।थाइल्याण्डसँग सीमा जोडिएको केदाह राज्यस्थित १५ करोड ६ लाख अमेरिकी डलर लागतको नाजा अटोमोटिभ म्यानुफ्याक्चरिङ कम्पनीमा किया कार तयार गरिँदै छन् । यी इण्डोनेशिया निर्यात हुनेछन् । यो कार कारखाना मलेसियाली सरकारको सपना थियो । केही महिनाअघि मात्र मलेसिया टोयोटा र फोक्सवागनजस्ता ठूला सवारी निर्मातालाई त्यहाँ कार एसेम्बलिङ प्लाण्ट बनाउनका लागि फकाउन सफल भएको थियो ।
तर, बेलैमा औद्योगिक उदारीकरणका लागि उपयुक्त कदम नचालेमा क्षेत्रीय सवारीसाधन उत्पादन केन्द्र बन्ने मलेसियाको आकाङ्क्षा धुमिल हुने विशेषज्ञहरूले चेतावनी दिएका छन् । यसका लागि उसले छिमेकी थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ, जो हाल दक्षिण-पूर्वी एशियाको सबैभन्दा ठूलो सवारीसाधन निर्माता मुलुक हो । गुरुनको २०७ एसेम्बलिङ प्लाण्टमा झण्डै ८ सय दक्ष कामदार फ्रान्सेली इञ्जिनीयरहरूको प्रत्यक्ष निगरानीमा काम गरिरहेका छन् । उनीहरू कामदारहरूलाई मलेसियाली सरकार र कारनिर्माता पीएसए पुजो सिट्रोनसँग भएको सम्झौताअनुरूपको प्राविधिक ज्ञान दिइरहेका छन् । यो प्लाण्टले प्रति वर्ष२० हजार कार उत्पादन गर्छ । तर, राम्रो अर्थव्यवस्था भएका दक्षिण-पूर्वी एशियाली मुलुकहरूबाट ठूलो माग आएकाले आगामी तीन वर्षमा यसको क्षमतालाई बढाएर ५० हजार प्रति वर्ष पुर्याउने लक्ष्य लिइएको छ ।
युरोपको सबैभन्दा ठूलो सवारी निर्माता भोक्सवागनले मलेसियाको एक सरकारी कम्पनीसँग सहकार्य गरेको छ । यसले सन् २०१२ बाट उत्पादन शुरू गर्नेछ । हाल थाइल्याण्डमा 'क्याम्री' मोडलको कार उत्पादन गरिरहेको टोयोटाले पनि आगामी दुइ वर्षमा मलेसियामा 'एसेम्बलिङ प्लाण्ट' खोल्ने बताएको छ । सरकारले अन्य पाँच विदेशी उत्पादक पनि मलेसिया आउन इच्छुक रहेको बताएको छ । दक्षिण-पूर्वी एशियाको मलेसिया सबभन्दा ठूलो 'प्यासेञ्जर कार' बजार हो । स्थानीय उत्पादन 'प्रोटोन'लाई सहयोग गर्नका निम्ति विगतमा यसले सवारी उद्योगलाई संरक्षण गर्दै आएको थियो । तर, त्यस्तो संरक्षणले गर्दा मलेसियाको सवारी उद्योगले आफ्नो वार्षिक १० लाख कार उत्पादन गर्ने क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्दै आएको छ ।
तर, आवश्यक लगानी भियभयाउने उद्देश्यले गत वर्ष घोषणा गरिएको सुधार नीतिअनुरूप १ दशमलव ८ लिटरभन्दा बढी क्षमता र १ लाख ५० हजार रिङ्गिट -झण्डै ३६ लाख रुपैयाँ भन्दा बढी मूल्य भएका कार निर्माण गर्ने प्लाण्टको पूर्ण स्वामित्व विदेशी लगानीकर्ताले लिन पाउने भएका छन् । सन् २०२० देखि सरकारले सवारीसाधन आयात गर्न अनुमति लिनुपर्ने प्रणाली खारेज गर्नेछ । भ्रष्टाचार बढाएको र प्रतिस्पर्धा घटाएको भन्दै यस प्रणालीको आलोचना भइरहेको छ ।तर, उदारीकरण अझै व्यापक रूपमा अगाडि बढ्नुपर्ने आलोचकहरूले बताएका छन् । यसका लागि प्रतिबन्धात्मक भन्सार कर हटाउन र साना तथा मझौला कारका लागि यो क्षेत्र खोल्न आवश्यक रहेको उनीहरूको सुझाव छ । एएफपी
युआनको मूल्य बढयो
असोज २७, चीन (शाङ्र्घाई) । सेप्टेम्बरमा चीनको निर्यात निकै राम्रो गरी बढेकाले चिनियाँ केन्द्रीय बैङ्कले चिनियाँ युआनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुर्याएपछि बुधवार 'स्पट' बजारमा पनि चिनियाँ मुद्राको मूल्य बढयो तर गत सोमवारको उच्चतम तह भने छुन सकेन ।यसको अर्थ चिनियाँ केन्द्रीय बैङ्कले युआनको मूल्य थप बढाउन सक्तैन भन्ने बजारले विश्वास गर्न थालेको छ । तैपनि धेरै मुद्रा व्यापारीहरू आगामी केही हप्तामा १ डलरबराबर ६ दशमलव ६० युआनसम्म पुग्ने आशामा छन् । त्यो भनेको गत जुन १९ पछिको ३ दशमलव ४ प्रतिशत वृद्धि हो । जुन १९ का दिन चिनियाँ केन्द्रीय बैङ्कले डलरसँग युआनको आबद्धता (पेगिङ) छुटाएको घोषणा गरेको थियो । एकपटक ६ दशमलव ६० को तह छोएपछि युआनको मूल्य थप नबढ्ने बजारको अपेक्षा छ । अमेरिकामा नोभेम्बरको शुरूमा हुने काङ्ग्रेसको चुनाव सकिएपछि र मध्यनोभेम्बरमा जी-२० राष्ट्रको सोलमा हुने बैठकपछि चीनमाथि युआनको मूल्य बढाउने दबाब घट्ने बजारको अपेक्षा छ ।बुधवार दिउँसो युआनको कारोबार १ डलरबराबर ६ दशमलव ६६८ युआनमा भइरहेको थियो । मङ्गलवार बजार बन्द हुँदा यो ६ दशमलव ६७३४ थियो । बुधवार कारोबार शुरू हुनुअघि केन्द्रीय बैङ्कले यसको मध्यम मूल्य बिन्दु ६ दशमलव ६६९३ तोकेको थियो । केन्द्रीय बैङ्कले तोकेको मध्यम बिन्दुभन्दा बजार मूल्य शून्य दशमलव ५ प्रतिशत तलमाथि गर्न पाउँछ । रोयटर्स