शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''ग्राहकलाई झुक्याउनेहरु हराउन पनि सक्छन्'' - प्रदीप श्रेष्ठ
वरिष्ठ बजार प्रबन्धक, नेपाल हिलटप इण्डष्ट्रीज प्रालि

प्लाष्टिकका पानीट्याङकीको बजार अवस्था कस्तो छ ?
बजार पहिलेको तुलनामा बढेको छ । यस क्षेत्रमा करीब एक दर्जन उद्योग छन् । नेपालकै उत्पादनले यसको माग धानेको छ । अहिले यसको बजार वाषिर्क करीब २५ प्रतिशतको दरले बढेको छ ।

नेपालमा कहिलेदेखि पानीट्याङ्की उत्पादन हुन थालेको हो ?
शुरू शुरूमा भारतीय उद्योगका ट्याङकीहरू प्रयोग हुने गर्दथे । कतिपय भारतीय कम्पनीहरू पनि नेपालमा थिए । तर अहिले ती कम्पनी नेपालमा छैनन् । नेपाली उद्योगले यस्ता ट्याङ्कीको उत्पादन गर्न थालेको २० वर्षजति भयो ।

नेपालमा पानी ट्याङ्कीको कति रकमबराबरको कारोबार हुन्छ ?
नेपालमा वार्षिक करीब १ अर्ब रुपैयाँबराबरको ट्याङकीको कारोबार हुन्छ ।

यी उद्योगका समस्याहरू केके हुन् र व्यवसायीहरूले सरकारबाट के अपेक्षा गरेका छन् ?
यस उद्योगको मुख्य समस्या भनेको नै कामदारको समस्या हो । नेपालमा दक्ष कामदार पाउनै सकिन्न । कामदारहरू पनि बढीमा ६ महीनासम्म मात्र काम गर्ने गर्दछन् । धेरै मानिसहरू विदेश जाने कारणले पनि यो समस्या भएको हो । सरकारले नेपालमा नै युवाहरूलाई काम गर्न प्रोत्साहन गर्न सक्नुपर्दछ । अरू राजनीतिक समस्याहरू पनि बेलाबेलामा देखिने गरेका छन् । राजनीतिक दलका विभिन्न सङ्घसङ्गठनहरूले पनि विभिन्न समस्या उत्पन्न गर्ने गरका छन् । यी समस्या समाधान हुने हो भने यस्ता उद्योगहरू सजिलै सञ्चालित हुन्छन् ।

उद्योगहरूले कामदारलाई आवश्यक सुविधा नदिएर पनि त समस्या आएको होला नि ?
त्यसो होइन । हाम्रोमा कामदारलाई तलबका साथमा खाने, बस्नेसम्मको सुविधा दिएका छौँ । यति हुँदा पनि एक जनाले ५-६ महीना मात्रै काम गर्दछ । त्यसपछि फेरि हामीले नयाँ मान्छे लिनुपर्दछ । उसलाई सिकाउन नै दुइ महीना लाग्छ । प्रत्येक ६-६ महीनामा यस्तो समस्या दोहोरिइरहेको हुन्छ ।

कुन प्रविधिबाट उत्पादित पानीट्याङ्की बढी गुणस्तरीय हुन्छन् ?
नेपालमा मुख्यतः दुइवटा प्रविधि छन्- रोटोमोल्ड प्रविधि र ओभन प्रविधि । रोटोमोल्ड पुरानो प्रविधि हो । यसबाट भन्दा ओभन प्रविधिबाट उत्पादित ट्याङकी बढी गुणस्तरीय हुन्छन् ।

यी दुइ प्रविधिमा के फरक छ ?
दुवै प्रविधिलाई ताप चाहिन्छ । ओभन प्रविधि धेरै महँगो हुन्छ । रोटोमोल्ड प्रविधिमा सीधै आगाको ताप दिएर सामान तयार गरिन्छ तर ओभन प्रविधिमा इलेक्ट्रिक मेशिनले काम गर्दछ । ओभन प्रविधि चलाउन दुइजना मानिस भए पुग्छ तर ओभन प्रविधिमा कम्तीमा पनि ६ जना चाहिन्छ । नेपालमा केही उद्योगले मात्रै ओभन प्रविधिको प्रयोग गरेका छन् ।

ट्याङ्कीमा कति प्रतिशतसम्म क्याल्सियम मिसाउँदा राम्रो हुन्छ ? ट्याङ्कीको गुणस्तर कसरी थाहा पाउन सकिन्छ ?
सकेसम्म यसमा क्याल्सियम मिसाउन नै हुँदैन । कतिपय उद्योगले क्याल्सियम मिसाएका हुन्छन् । अर्को तर्फप्लाष्टिकका सामानलाई पुनः प्रयोग गरेर बनाइएको ट्याङ्कीको गुणस्तर पनि राम्रो हुदैन । राम्रो गुणस्तरका लागि शतप्रतिशत आयातित फुड ग्रेड डे कच्चा पदार्थ प्रयोग गर्नु नै राम्रो हुन्छ । कतिपय कम्पनीले उत्पादन गरेका ट्याङ्कीहरूको आकारको मापदण्ड तोके पनि वास्तविकतामा भने कम आकारको हुने गरेका छन् । तर मूल्य भने बढी आकारको लिने गरेका छन् । ग्राहकले सामान किन्दा यस्ता कुरामा ध्यान दिनुपर्छ । खरीद गर्दा कडा ट्याङ्कीभन्दा नरम खालको रोज्नु राम्रो हुन्छ । कडा भएपछि बाक्लो हुन्छ भन्ने धारणा नेपालीहरूको छ, तर यो गलत हो । यस्ता कडा ट्याङ्कीहरू पुराना ट्याङ्की र प्लाष्टिकका पुराना सामानलाई पुनः प्रयोग गरेर तयार गरेका हुन्छन् । कडा ट्याङ्कीमा क्याल्सियमको मात्रा पनि बढी हुन्छ ।

यस क्षेत्रमा नयाँ उद्योगको भविष्य कस्तो छ ?
उद्योगहरू आउने-जाने क्रम चलिरहन्छ । धेरै उद्योगहरू बन्द पनि भइसकेका छन् । जीवनमरणको प्रक्रिया त चलि नै रहन्छ । जसले उपभोक्ताको विश्वास जित्न सक्छ, जसले गुणस्तरीय सामान उत्पादन गर्छ र जसले उपभोक्तालाई झुक्याउँदैन, त्यो उद्योग नै दीर्घकालीन हुन्छ । नयाँ आउने उद्योगहरूले उपभोक्ताको हितलाई ध्यान दिएर सामानको उत्पादन गर्नसके भविष्य राम्रो छ । छिट्टै कमाउन खोज्नेहरू हराएर जान पनि सक्छन् ।

नेपाटपले कहिलेदेखि उत्पादन शुरू गरेको हो ?
हामीले उत्पादन शुरू गरेको अहिले ११ वर्षपूरा भएको छ ।

नेपाटपका ट्याङ्कीको बजारहिस्सा कति छ ?
नेपालमा हाम्रो उत्पादन ४० प्रतिशत प्रयोग हुन्छ । हामी यस क्षेत्रमा 'मार्केट लीडर' हौँ भन्ने कुरा हामी घमण्डका साथ दाबी गर्न सक्छौँ ।

छोटो समयमा नै यति सफल हुनाको कारण के हो ?
मुख्य कुरा त मार्केटिङ नै हो । अर्कोतर्फ सधैँ हामीले गुणस्तरमा ध्यान दिएका छौँ । ग्राहकलाई कहिल्यै झुक्याएका छैनौँ । नेपालीहरूकै श्रममा नेपालमा नै सामानको उत्पादन गरेर नेपालीलाई नै सामान विक्री गरिरहेका छौँ । ग्राहकको हितलाई पहिलो प्राथमिकता दिएको भएर नै सफल भएको हो जस्तो लाग्छ ।

दैनिक कति ट्याङ्कीको उत्पादन गर्नुहुन्छ ?
हामीले अहिले दैनिक ३ लाख लीटर क्षमताका ट्याङ्कीको उत्पादन गरिरहेका छौँ ।

तपाईंहरूको सामान किनिसकेपछि के सुविधा पाइन्छ ?
हाम्रो सामानमा जीवनभरको ग्यारेण्टी दिएका छ । यदि सामान टुट्यो-फुट्यो भने हामी निःशुल्क मर्मत गरिदिन्छौँ । अर्कोतर्फ अरू कम्पनीहरूले यसरी बिग्रेका सामान ल्याएर पुनः ट्याङकी नै उत्पादन गर्ने गर्दछन् । तर, हामी त्यसलाई कबाडी सामानको रूपमा विक्री गर्ने गर्दछौँ ।