बिहीवार, २८ असोज २०६७
''दीर्घकालीन यातायात नीति आउनुपर्छ'' - ऋषिकेश घिमिरे
सहकोषाध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ
लामो तथा छोटो दूरीका र्सार्वजनिक यातायात सेवाको वर्तमान अवस्था कस्तो छ ?
अहिले दशैँको समय भएका हुनाले लामो दूरीका यातायातमा यात्रुको चाप बढेको छ । यो स्वाभाविक पनि हो । यातायात क्षेत्रको विकासका लागि न त सरकारले सोचेको छ, न अन्यले । यसलाई सबैले मागिखाने भाँडोका रूपमा मात्र लिएका छन् । त्यसकारण नेपालमा सार्वजनिक यातायात सेवा शुरू भएको ५२ वर्षमा यसको जति विकास हुनुपर्ने थियो त्यो हुन सकेन । सरकारले यातायत क्षेत्रबाट १८ प्रतिशत राजस्व सङ्कलन गर्छ । तर, त्यसको १० प्रतिशत पनि यातायात क्षेत्रमा खर्च गर्दैन । सडकको अवस्था नाजूक छ । सवारी साधनको वृद्धि भइरहेको छ, तर त्यसअनुरूपको सेवा र सुविधा सरकारले दिन सकेको छैन ।
हाल नेपालमा लामो तथा छोटो दूरीका सवारी साधनहरू कति छन् ?
यति नै सङ्ख्यामा छन् भन्ने त कुनै तथ्याङ्क छैन । अहिले नेपालमा सार्वजनिक सवारी साधनहरूको सङ्ख्या ८ लाख ५० हजारभन्दा बढी छ । लामो तथा छोटो दूरीका सवारी साधन ३ लाख ५० हजारको सङ्ख्यामा छन् ।
यातायात क्षेत्रका समस्या के छन् ?
पहिलो कुरा त यातायात व्यवसायलाई सुरक्षाको प्रत्याभूति छैन । सरकारले दीर्घकालीन सोच बनाउन सकेको पनि छैन । सवारी साधनहरू अनियन्त्रित रूपले नेपालमा भित्रिरहेका छन् । यातायात क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकारले सोचेको छैन ।
कसरी व्यवस्थित बनाउन सकिन्छ यस क्षेत्रलाई ?
यसका लागि सरकारले कम्तीमा पनि ५ वर्षका लागि सार्वजनिक सवारी साधनहरूको आयात बन्द गर्नुपर्छ । राजस्व सङ्कलन हुने नाममा सवारी साधनको अनियन्त्रित आयात गरिनु हुदँ नै । यसका साथै कसैले पनि आफूखुशी गाडी चलाउन पाउनु भएन । यातायात क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ । जुन देशमा यातायातको विकास भएको छ, त्यहाँ अन्य विकास पनि राम्रो भएको छ । यातायात क्षेत्रको विकासविना अन्य विकास सम्भव छैन । यो कुरा सरकारले बुझ्नुपर्यो । यसका लागि दीर्घकालीन नीति चाहिन्छ । हाम्रो देशमा नीति बनाउँदा मात्र एक वर्षका लागि बनाइन्छ । यातायात क्षेत्रको विकासका लागि कम्तीमा पनि ५० वर्षको दिर्घकालीन नीति बनाउनुपर्छ ।
सरकारले कुनै पनि सेवासुविधा दिएको छैन भन्नुहुन्छ, अनि कसरी चलिरहेको छ यो क्षेत्र ?
निजी क्षेत्रका व्यवसायीहरू एकजूट भएर यातायात क्षेत्रलाई अगाडि बढाउन पहल गरेका छौँ । त्यसकारण आजको समयसम्म यो व्यवसाय राम्रै चलेको छ । सरकारले राजस्व असुल गर्नेबाहेक कुनै पनि जिम्मेवारी लिएको छैन । आज हामी जुन अवस्थामा छौँ , त्यो हाम्रो निजी क्षेत्रको एकल प्रयासले गर्दा भएको हो । पहिले कुनै समयमा २ सयको सङ्ख्यामा चल्ने साझा यातायात र ट्रलीबस के भए ? यसबाट पनि बुझ्न सकिन्छ कि, सरकारले यातायातको क्षेत्रमा कुनै प्रकारको काम गर्न सकेको छैन ।
यातायात व्यवसायीले सिण्डिकेट गरेका छन् भनिन्छ नि ?
त्यस्तो होइन । पहिलो कुरा त सिण्डिकेट भनेको के हो भन्ने राम्रोसँग व्याख्या हुनुपर्यो । हामीले आलोपालो गरेर सवारी साधन चलाइरहेका छौँ । एकाध घटना त भइहाल्छन् । जस्तो काठमाडौँ-पोखरा चल्ने १ हजार ५ सय गाडी छन् । एकै समयमा ७ सय ५० गाडी पोखरादेखि र ७ सय ५० काठमाडौँबाट छुट्ने हो भने अवस्था के हुन्छ ? त्यो सम्भव छैन । सबैले पिक आवरमा मात्र गाडी चलाउन पाउनुपर्यो भनेर हुदैन । त्यसका लागि हामीले एउटा नियम बनाएका छौँ , त्यसअनुरूप चल्नुपर्छ । अहिले एकाधिकारको समस्या छैन । प्रक्रियाअनुसार जसले जहाँ पनि गाडी चलाउन सक्छ । मात्र नियम पालना गर्नुपर्छ । सिण्डीकेटका बारेमा मानिसहरूले गलतरूपमा व्याख्या गरेका छन् ।
सबै यातायात कम्पनीहरूले बसपार्कको प्रयोग नगरेका हुन् ?
यसको प्रमुख कारण भनेको बसपार्कमा हामीसँग भएका सबै गाडी राख्ने क्षमता छैन । बसपार्क बनाउने समयमा यसलाई लामो समयसम्म चलाउने सोचले निर्माण गरिएन । हाम्रो योजना पनि सबै गाडी बसपार्कबाट चलून् भन्ने हो । त्यसले गर्दा यात्रुहरू ठगिने समस्या रहने थिएन । पहिला बसपार्क सानो बनाइयो । नयाँ बसपार्कको क्षमता भनेको ९ सय ३० गाडीको हो । त्यहाँ दैनिक ३ सय गाडी पार्किङ गर्न सकिन्छ । तर, गाडीको सङ्ख्या त्यसभन्दा निकै धेरै छ । तर, यसका लागि महासङ्घले पहल भने गरिरहेको छ ।
सबै गाडी बसपार्कबाटै छुट्ने बनाउन महासङ्घले के योजना बनाएको छ ?
बसपार्कमा रहेका टिकट काउण्टर सबै महासङ्घको मातहतमा छन् । र यसका लागि हामीले महानगरपालिका, ट्राफिक कार्यालय, बसपार्क व्यवस्थापक, यातायात मन्त्रालय, यातायात विभागसँग सम्मन्वय गरी यसका लागि पहल गरेका छौँ । न्यूनतम पनि लामो दूरीका यातायातहरू बसपार्कबाट चल्नुपर्छ भन्ने हाम्रो धारणा हो । यसका लागि सबै सकारात्मक छन् । तर बसपार्कको क्षमता थोरै भएकाले समस्या आएको हो ।
सेवा र व्यापार दुवै गर्ने भनिए पनि यातायात व्यवसायी व्यापारमा केन्द्रित भएको भन्ने आरोप छ नि ?
त्यस्तो छैन । हामीले जुनसुकै बेला पनि गाडी चलाएका छौँ । हामीलाई राजनीतिक दल र तिनका भ्रातृसङ्गठनहरूले अवरोध गरिरहेका छन् । उनीहरू गाडी बन्द गराउने तथा हाम्रा हकअधिकारहरू खोसेर आफ्नो स्वार्थ परिपूर्ति गर्नलागेका छन् । हामीले विद्यार्थीलाई सरकारले तोकेअनुरूप छूट पनि दिएका छौँ । तर, को विद्यार्थी हो भन्ने एउटा मापदण्ड चाहिन्छ । यसका लागि हामीले यातायात मन्त्रालय तथा विभागसँग बसेर छलफल गरेका छौँ । कपी हुन नसक्ने परिचय पत्र बनाउनुपर्यो । र, त्यही परिचयपत्रका आधारमा कसलाई छूट दिने र कसलाई नदिने भन्ने कुरा निर्धारण हुन्छ । परिचयपत्रमा यातायात विभागको होलोग्राम लगाउनु पर्यो । यो सम्भव छ । यसका लागि हामी सबै मिल्नुपर्छ । हामीले विभिन्न विद्यार्थी सङ्गठनसँग बैठक पनि बसिसकेका छौँ । सरकारले निश्चित कोटा बनाओस् भन्ने हाम्रो चाहना हो ।
दशैँमा यात्रुहरूको अत्यधिक चाप हुन्छ । कसरी व्यवस्थापन गर्नुभएको छ ?
पक्कै पनि यात्रुहरूको चाप बढ्छ । त्यसकारण यात्रुहरूका लागि हामीले सवारी साधन दोब्बर गरेका छौँ । हजारदेखि १ हजार ५ सय थप गाडीहरू हामीले तयारी हालतमा राखेका छौँ । दशैको समयमा यात्रा गर्नेहरूका लागि गाडीमा सीट पाउनेछन् । कोही यात्रु पनि छतमा चढेर जानुपर्ने अवस्था छैन । बाटोको अवस्था जोखिम छ । त्यसकारण यात्रुहरूलाई छतमा बसेर तथा कोच्चिएर नजानुहुन अनुरोध गर्दछौँ ।
पर्यटन वर्ष२०११ लाई सफल बनाउनका लागि यातायात क्षेत्रको के भूमिका हुन सक्छ ?
यो हामी सबैको कुरा हो । यसका लागि सबै क्षेत्र मिल्नुपर्छ । पर्यटन वर्ष सफल बनाउनका लागि यो क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । सरकारको पहलमा हामी एक-दुईपल्ट बैठक पनि बसेका थियौँ तर कुनै पनि निष्कर्ष आउनसकेको छैन । हामी निजी क्षेत्रका व्यवसायीहरू र महासङ्घ मिलेर पर्यटकहरूका लागि कसरी सुरक्षित यात्रा गराउन सकिन्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने भन्नेसम्बन्धमा छलफल गरेका छौँ । यसका साथै महासङ्घले प्रचारप्रसार पनि गरेको छ । तर जति गर्नु पर्ने हो त्यति गर्नसकेका छैनौँ । अहिले ८ वर्षभन्दा पुराना गाडीहरू चलेका छैनन् । सेवा र सुविधामा पनि वृद्धि गर्ने योजना बनाएका छौँ ।
आगामी दिनमा सरकारबाट के अपेक्षा गर्नुहुन्छ ?
दिर्घकालीन यातायात नीति बनाउनुपर्छ । ट्राफिक अझ मजबूत बनाउनुपर्छ । लाइसेन्स व्यावसायिक र निजी प्रयोजनका लागि छुट्टाछुट्टै हुनुपर्छ । निजी लाइसेन्स भएकाले व्यावसायिक गाडी चलाउनु भएन । जनचेतनाका कुराहरू आउनुपर्छ ।