शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''ठूलो लगानीको उद्योग स्थापना गर्दैछौं'' ? पार्वती कुमारी शर्मा
सञ्चालक, फेवा साबुन उद्योग, पोखरा

पोखरामा साबुन उद्योगको अवस्था कस्तो छ ?
पोखरामा साबुन उद्योगको अवस्था अरू उद्योगको तुलनामा निकै राम्रो छ । तर पनि पोखरामा साबुनका नयाँ उद्योगहरू खुल्न सकेका छैनन् । यहाँ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नै छैन । सामान उत्पादन गर्न सकेमा एक क्षणमै त्यसको बजार व्यवस्थापन गर्न सकिन्छ ।

पोखरामा कस्ता खालका साबुनको माग धेरै छ ?
साबुनको माग त प्रायः सबै ठाँउमा एउटै प्रकारको हुन्छ । तर पनि पोखरामा नुहाउने साबुनमा कम केमिकल प्रयोग गरेका साबुनको माग बढी छ । त्यसैले होला आजभोलि हर्बलयुक्त साबुनको माग बढिरहेको छ । यस्तै लुगाधुने चाहिँ कम पग्लने खालका साबुन बढी खपत हुन्छन् । तर, पोखरामा आउने प्रायः साबुनहरूले पोखरेलीको माग र आवश्यकता अनुसारको स्तर दिन सकेका छैनन् ।

तपाईं आफै साबुन उद्योगी भएर यो मागलाई सम्बोधन गर्न किन सक्नुभएन ?
हेर्नुस्, म साबुन उद्योगी हुँ, तर मैले घरेलु उद्योगका रूपमा सञ्चालन गरेकी छु, बृहत्रूपमा उत्पादन गर्न सकेकी छैन । मेरो उद्योगको क्षमता नै सानो छ । तर, खोइ किन हो आजसम्म पोखरामा कुनै पनि उद्योगीले साबुन उद्योग स्थापना गर्ने सोच बनाएका छैनन् ।

पोखरामा किन साबुन उद्योग स्थापना नभएको जस्तो लाग्छ ?
पोखरामा साबुनको बजार राम्रो भए पनि यहाँ साबुनका लागि आवश्यक पर्ने कच्चापदार्थको अभाव र यसको ढुवानीमा बढी खर्च लाग्नु, दक्ष प्राविधिकको कमी र यसका बारेमा उद्योगीहरूमा उचित ज्ञानको अभावले पोखरामा साबुन उद्योग स्थापना नभएजस्तो लाग्छ ।

तपाईंले घरेलु स्तरबाट साबुन उद्योग सञ्चालन गर्नुभएको छ । यसलाई ठूलो उद्योगका रूपमा विस्तार गर्ने सोच छैन ?
छ । मैले पोखरामा साबुन उद्योगको भविश्य उज्जवल देखेकी छु । अबको ६ महीनाभित्र पोखरामा ठूलो लगानीमा साबुन उद्योग स्थापना गर्ने तयारीमा लागेकी छु । हेरौं, पोखराको मागलाई धान्न सक्छु कि सक्दिन । तर एउटा आत्मविश्वास के छ भने मेरो गोदाममा साबुन स्टकमा रहँदैन । जति उत्पादन हुन्छ, त्यति बजार व्यवस्थापन गर्न सक्छु ।

यहाँको उद्योगमा उत्पादित साबुनको गुणस्तर कस्तो छ ?
आफ्ना उद्योगका साबुनको गुणस्तर म आफैंले बयान गर्ने होइन । तर एउटा कुरा भन्छु, हाम्रो साबुन दिनभरि पानीमा राख्दा पनि पग्लिएर सकिँदैन, एसको अर्थ कपडा धुँदा फीँज आउँदैन भन्ने होइन । कपडामा घोट्दा फीँज आउँछ, साबुन नचलाउँदा पानीमै राखे पनि पग्लँदैन । अहिलेसम्म मेरो उद्योगका साबुन प्रयोग गर्ने ग्राहकले अरू साबुन प्रयोग गरेको मैले थाहा पाएकी छैन ।

उद्योगमा त महिला कर्मचारी मात्र छन् । किन ?
हो, मेरो उद्योगमा महिला कर्मचारी मात्रै छन् । हेर्नुस्, जबसम्म महिलालाई उद्यामशील बनाउन सकिँदैन, तबसम्म देशमा दीर्घकालीन विकास सम्भव छैन । त्यही सोचेर मैले पोखरामा उद्योग सञ्चालन गरेकी हुँ र उद्योगमा महिला मात्रै कर्मचारी राखेकी हुँ । नेपालमा महिलालाई देखाएर पुरुषले उद्योग सञ्चालन गरेका छन्, तर मैले आफैं दर्ता गरेर आफ्नो सूरले उद्योग सञ्चालन गरेकी हुँ । तपाईंलाई अझ अर्को रहस्य खोलौं म पोखराकै प्रथम साबुन उद्यमी महिला हुँ ।

महिला कर्मचारी मात्रै राखेर उद्योग चल्न सक्छ ?
चल्ने मात्रै होइन, दगुर्छ । हेर्नुस्, मेरो उद्योग मजाले चलेको छ । अनि महिला सहभागी भएको काम अहिलेसम्म असफल भएको थाहा पाएकी छैन र आजसम्म म असफल पनि भएकी छैन । त्यसैले होला मेरो उद्योगबाट राम्रो साबुनको उत्पादन भएको छ । महिलालाई रोजगारी दिएकी छु । अब खोल्ने ठूलो उद्योगमा पनि महिला मात्रै कामदार रहन्छन् । र, महिलालाई उद्यामशील बनाउन विना धितो ऋण दिने उद्देश्यले चाँडै नै महिला माइक्रो बैङ्क स्थापना गर्ने तयारीमा छु । जे काम गरे पनि मेरो प्रमुख उद्देश्य नै महिलाको सक्रियता बढाउनु हो । मैले गरेका काममा परिवारबाट पनि सहयोग पाएकी छु, हौसला थपिएको छ । अब त कुनै पनि पुरुषबिना उद्योग सञ्चालन गरेर देशकै उदाहरणीय काम गर्ने तयारीमा छु ।
प्रस्तुतिः विष्णु गौतम

''साबुन निर्यातको भविष्य छैन'' ? गौरैरव अग्रव्रवाल
निर्देशक, एमएस गु्रप

नेपालका साबुन उद्योगको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
साबुनको कच्चा पदार्थ पाम आयल हो । विगत ६ महीनादेखि यसको मूल्य करीब ५० देखि ६० प्रतिशतले बढिरहेको छ । कच्चा पदार्थको यति धेरै मूल्य बढ्दा पनि हामीले साबुनको मूल्य २० देखि २५ प्रतिशत मात्रै बढाएका छौं । प्रतिस्पर्धाका कारण मूल्य थोरै मात्र बढाउन सकेका हौं । यसले उद्योगको अवस्था सन्तोषजनक छ भन्न सकिँदैन । हुन त यसको मूल्य कहिले बढ्छ कहिले घट्छ । यो पनि कमोडिटी नै हो । तर, यति धेरै बढ्छ भन्ने कसैको पनि अनुमान थिएन ।

यसरी कच्चा पदार्थको मूल्य बढ्नुको कारण के होला ?
यसको खास कारण त भन्न सकिँदैन, तर अहिले पछिल्लो समयका विश्वका सबै ठाउँमा कमोडिटीको मूल्य बढिरहेको छ । पाम आयल कृषि उत्पादन हो । अहिले कृषिका उत्पादनको मूल्य पनि निरन्तर बढिरहेको छ । यी सबै कारणले कच्चा पदार्थको मूल्य बढेको हो जस्तो लाग्छ ।

यस्तो अवस्थामा आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ ?
गत ६ महीनादेखि मात्र यस्तो समस्या देखिन थालेको हो । आउने ६ महीनामा के हुन्छ हेरौं । हाम्रो विश्लेषणमा यसको मूल्य घट्नु पर्ने हो । अहिले ५० टन उत्पादन गर्ने क्षमता भएका उद्योगले २० टन मात्रै उत्पादन गरिरहेको अवस्था छ । यसले उद्योग चलाउन नै समस्या सिर्जना भएको छ ।

त्यसो भने कही विकल्प त सोच्नु भएको होला नि ?
त्यस्तो केही छैन । यो व्यवसायमा अब दुइवटा विकल्प छन् । कि कच्चा तेलको मूल्य घट्नु पर्‍यो, कि त साबुनको मूल्य बढ्नु पर्‍यो । बजारमा साबुनको मूल्य त विस्तारै बढकै छ । कतिपय कम्पनीहरूले पहिले नै तेल लिएका हुनाले सस्तोमा साबुन उपलब्ध गराइरहेका छन् । तर, यो कति दिन नै टिक्छ र ? त्यसपछि त उनीहरूले पनि बढेको मूल्यमा नै कच्चा पदार्थ किन्नुपर्ने हुन्छ । महँगो मूल्यमा कच्चा पदार्थ किनेपछि स्वाभाविक रूपमा सबैले उत्पादनको पनि मूल्य बढाउनु नै पर्ने हुन्छ । साबुनको प्रयोग त दिनदिनै बढ्दै जान्छ । खपतमा वृद्धि भएपछि समस्या सुल्झिन्छ  भन्ने अपेक्षा गरेका छौँ ।

नेपालमा साबुन कारोबार कति हुन्छ ?
मेरो अनुमानमा नेपालमा करीब रू. ४ देखि ५ अर्ब बराबर साबुनको कारोबार हुन्छ । नेपालमा अहिले ५ वटा ठूला साबुन उद्योग छन् । साना उद्योगहरू त धेरै छन् । उनीहरूको जनशक्ति पनि थोरै छ । उत्पादन पनि थोरै छ । यस्ता उद्योगहरूलाई त खासै असर परेको जस्तो लाग्दैन । ठूला उद्योगलाई भने असर गरेको छ ।

नेपालमा यस उद्योगका समस्याहरू के के छन् ?
नेपालका सीमावर्ती क्षेत्रमा भारतबाट आएका र नेपालकै साबुनको नक्कल गरिएका उत्पादनहरू विक्री वितरण भइरहेका छन् । यसले नेपाली उत्पादनको बजार प्रभावित भइरहेको छ । सरकारले यसरी आउने सामानलाई रोक्नु पर्दछ । पहिले त्यहींको हाम्रो डीलर भारतका साबुन पनि विक्री गथ्र्यो । तर, अहिले नेपाली साबुनको नक्कल गरी विक्री भइरहेको हुनाले भारतीय बजारमा हाम्रा साबुन विक्री गर्न सकिएको छैन । यो देशबाहिरको समस्या भएकाले नेपाल सरकारले पनि केही गर्न सकेको छैन । नेपालमा उत्पादन भएको साबुन भुटानमा पनि निर्यात हुन्थ्यो तर, अहिले भारतको एउटा कम्पनीले साबुन उत्पादन गरेर 'मेड इन नेपाल' भनेर भुटान पठाइरहेको छ ।

नेपाल साबुनमा आत्मनिर्भर छ भनिन्छ र पनि विदेशका साबुन उल्लेख्य आयात भइरहेको छ । यसको कारण नेपाली उत्पादनको गुणस्तर कम भएकाले हो ?
यसको पहिलो कारण भारतमा साबुन अत्यधिक उत्पादन हुन्छ । उनीहरूले कच्चा पदार्थ धेरै किन्ने हुँदा केही सस्तो पर्छ । यसले हामीले भन्दा कम मूल्यमा राम्रो र गुणस्तरीय साबुन उत्पादन हुन्छ । नेपालमा भएका भारतीय साबुन हाम्राभन्दा गुणस्तरका नै छन् । तर पनि नेपालमा भरतीय साबुन करीब २० प्रतिशत मात्रै उपभोग भइरहेको छ ।

नेपालबाट साबुन निर्यातको सम्भावना कस्तो छ ?
नेपालबाट निर्यात त गर्न सकिन्छ, तर थुप्रै समस्याको सामना गर्नुपर्ने हुन्छ । हामीले तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर फेरि उतै सामान पठाउँदा दोहोरो भाडा लाग्ने हुनाले मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन । त्यसैले निर्यातको भविष्य राम्रो छैन ।

नेपालमा साबुनको माग कति छ ?
नेपालमा वाषिर्क एक लाख टन साबुनको माग छ । उत्पादन र खपत पनि लगभग यही परिमाणमा भइरहेको छ ।

साबुन उद्योगलाई अझ माथि उकास्न सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
सरकारले कच्चा पदार्थमा लाग्ने भन्सार शुल्कमा केही सुविधा दिनु पर्छ । आयकरमा पनि केही पुनर्विचार गर्नुपर्ने अवस्था छ । यसका साथै श्रम ऐनलाई उद्योगमैत्री बनाउनु पर्दछ । नेपाल सरकारले यो उद्योगमा मात्रै होइन धेरै उद्योगमा धेरै काम गर्न बाँकी छ । सरकारले हामीलाई कहिले सुविधा दिन्छ भन्नेतिर ध्यान नदिएर हामी आपmनो तर्फाट के गर्न सक्छौँ त्यही गरिरहेका छौँ ।

नेपालमा नयाँ साबुन उद्योगको भविष्य कस्तो छ ?
अहिले प्रतिस्पर्धा धेरै छ र लगानी पनि अत्यधिक गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कतिको प्रतिस्पर्धा गर्न सक्छन् भन्नेमा उनीहरूको भविष्य निर्भर गर्छ ।

नेपालमा साबुनको प्रयोगलाई डिर्टर्जेण्ट पाउडरले विस्थापन गर्दै गएको हो ?
केही घटाएको अवश्य हो, तर यसले उल्लेख्य मात्रामा असर गरेको छ जस्तो हामीलाई लागेको छैन । डिटर्जेण्ट नेपालका लागि नयाँ प्रयोग हो । साबुन धेरै समयदेखि प्रयोग हुँदै आएको वस्तु हो । यसले गर्दा साबुनको धेरै विज्ञापन गरिरहनु पर्दैन । डिटर्जेण्टको विज्ञापन धेरै भएको हुनाले साबुनको प्रयोग घटेको हो कि जस्तो लागेको मात्र हो, तर वास्तविकता त्यस्तो होइन ।