''विदेशी चकलेटको बजारमा आधिपत्य छ'' - सुनिल मुखिया
क्वालिटी कन्फेक्सनरी प्रालि
बजार प्रमुख, काबरा ग्रुप
नेपाली चकलेटको बजार कस्तो छ ?
नेपालको समग्र बजारलाई हेर्दा चकलेटको बजार अलि गाह्रो हुँदै गएको छ । अहिले यहाँ स्वदेशी चकलेटलाई विदेशीले धेरै असर पुर्याइरहेको अवस्था छ । विदेशवाट ल्याइएका कतिपय चकलेटहरू यति सस्तो मूल्यमा बिक्री गरिरहेका छन् कि हामीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन । त्यसैले त्यस्ता आयातित चकलेटको गुणस्तरमा पनि शङका गर्नुपर्ने हुन्छ । चकलेट नेपाली बजारमा विशेष गरी चाडवाडको मौसममा बिक्री हुने गर्दछ । यस्तो समयमा अझ धेरै विदेशी चकलेटसँग प्रतिस्पर्धा गरिरहनुपरेको छ । तर पनि हामीले व्यवसाय चाहीँ चलाइरहेका छौं । अहिलेको चकलेटको अवस्था चित्त बुझदो नै छ ।
तपाईंहरूले उत्पादन गर्ने चकलेटको मूल्य विदेशीहरूभन्दा कसरी महँगो भयो त ?
कसरी बढी पर्न गयो, त्यो त मलाई पनि थाहा छैन । उनीहरूले कस्तो खालको कच्चा पदार्थ प्रयोग गरेका छन्, त्यो हामीलाई थाहा छैन । या त हामीले ल्याउने कच्चा पदार्थ नै महँगो परेको हुनसक्छ । नेपाली जनताको आयस्तर पनि कम भएर होला उनीहरूले सस्ता सामान नै रोज्ने गरेका छन् । कच्चा पदार्थको मूल्य, यातायातलगायतका बस्तुको मूल्य बढ्दासमेत हामीले उही दाममा सामान उपलब्ध गराएका छौं । हाम्रो नजरमा त चकलेटको मूल्य विगतको भन्दा घट्दै गइरहेको छ । तर, मूल्य घटे पनि व्यापारीहरूले पुरानै मूल्यमा बिक्री गर्ने कारण पनि मूल्य बढेको देखिएको छ ।
सस्ता चकलेटको माग बढी हुन्छ भन्नुभयो तर डिपार्टमेन्ट स्टोरतिर त ९० प्रतिशतभन्दा बढी महँगा विदेशी चकलेट नै बिक्री हुन्छ भन्छन् नि ?
त्यस्ता पसलमा जाने ग्राहकको पारिवारिक पृष्ठभूमिलाई हेर्नुस् न । केही शहरी क्षेत्रलाई मात्र हेरेर सबै नेपाली बजारको कुरा त गर्न सकिंदैन नि । अहिले हेर्नुस् न डिपार्टमेन्ट स्टोर काठमाडौं र अलि ठूला शहरी क्षेत्रमा मात्र हो । काठमाडौंकै चक्रपथ क्षेत्रमा खुलेका साना पसलहरूमा सस्ता चकलेटको माग नै बढी छ ।
चकलेट उद्योगबीच प्रतिस्पर्धा कत्तिको छ ?
प्रतिस्पर्धा त एकदमै बढिरहेको छ । यहाँ स्वस्थ्यभन्दा पनि अस्वस्थ्य प्रतिस्पर्धा चाहिँ बढी छ । नयाँ उद्योगहरू बजारको अनुसन्धान नगरिकन प्रवेश गर्छन । आखिर उनीहरूलाई पनि टिक्नका लागि त यही बजारको नै आवश्यकता छ । त्यस्तै बजारको अनुसन्धान नगरी आउने उद्योगहरूले गर्दा अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको छ । यसले गर्दा सबैलाई घाटा परिरहेको छ । म यस क्षेत्रमा लागेको करीब १५ बर्ष भइसकेको छ । विगतको तुलनामा अहिले प्रतिस्पर्धा बढिरहेको छ । अझ अन्तरराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न त हामीलाई गाह्रो छ ।
यहाँले यस क्षेत्रमा १५ बर्षबिताइसक्नु भएछ । विगत र वर्तमानको बजारमा कस्तो परिवर्तन छ ?
समय र अवस्थाअनुसार परिवर्तन त सबै कुरा भइहाल्छ | हामी चकलेटको बजारलाई मन्द बजार भन्छौं । त्यसैले चकलेटको बजारमा त्यति धेरै परिवर्तन आएको छैन । विगतमा एक रूपैयाँको चकलेट उत्पादन गर्नका लागि धेरै विचार विमर्श गर्नुपथ्र्यो । तर, अहिले केही परिवर्तन भएको छ । अहिले साधारण नेपाली जनता ५० पैसाबाट एक रूपैयाँमा आएका छन् । गुण र स्वादका लागि बढी मूल्य तिर्न पनि तयार हुने अवस्था आएको छ । अझै पनि ग्रामीण भेगमा भने सस्तो चकलेटको नै बढी खपत हुने गरेको छ ।
नेपाली चकलेटहरू सबै नेपाली बजारमा नै खपत हुन्छ कि विदेश पनि निर्यात हुन्छ ?
नेपाली चकलेटले विदेशी ब्राण्डेड चकलेटहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने मलाई लग्दैन । बोर्डर साइडबाट चकलेटहरू अलिअलि बाहिर जानु भनेको अलग कुरा हो । नेपालकै बजारमा पनि चकलेटहरू उत्पादन भएजति बजारमा विस्तार हुन सकेको छैन । विदेशी चकलेटहरूले अहिले नेपाली बजारमा नै आधिपत्य जमाइरहेका छन् । त्यस्ता आयात गरिएका सबै चकलेटको गुणस्तरमा भने विश्वास गर्न सकिंदैन ।
आयात गरिएको चकलेटको गुणस्तरमा शङका गर्नुभयो, यस्ता सामानको आयातमा सरकारी नीति कमजोर छ, भन्नुभएको हो ?
अब यो सरकार नै नभएको मुलुकमा सरकारी नीतिको के कुरा गर्नु ? यहाँ जसले जे गरे पनि भइरहेको छ । देशमा राजनीतिक खिचातानी उच्च विन्दुमा पुगिसकेको छ । हामी सबै कहिले यसको समाधान होला भनेर पर्खेर बसिरहेका छौं । यस्तो समयको फाइदा धेरैले उठाइरहेका छन् । सरकारले आयात गर्ने सामानमा नीति लगाउनुभन्दा यही भएका उद्योगलाई व्यवस्थापन गरिदिए मात्र पनि पुग्छ । नीति नभएको होइन, धेरै राम्रो नीति छ । तर, कार्यान्वयन नै छैन । उत्पादनप्रति पनि सरकारी नीति उदासीन छ । सरकारका केही निकाय पनि मन लागेको बेला अनुगमनको नाममा आउने मात्र हुन् ।
उत्पादित चकलेटमा त्यस्तै प्रकृतिको अर्को नाममा आउने गरेको पनि पाइन्छ, यस्तो प्रवृत्तिलाई के भन्नुहुन्छ ?
यसमा चाहिँ कुनै फ्लेवरबाट बन्ने चकलेटलाइ सोही नाम राख्न सबैले पाउँछन् । जस्तै चोको भनको चकलेटबाट बनेको हो र यस्तो स्वाद सबैको हुन्छ । सबैले यो नामको प्रयोग गर्न पाउछन् । त्यस्तै धेरै प्रकारका फ्लेवरको नाम सबै चकलेट उद्योगले राख्न पाउछन् । तर, कसैको ट्रेडमार्क नै नाम राख्नु भने बेइमानी हो । यसलाई नियन्त्रण गर्ने काम त उद्योग विभागको हो । त्यसमा पनि पुराना तथा कम जरिवानाका नीति नियमको कारण पनि यस्तो भइरहेको छ ।
नेपालमा चकलेट उत्पादनका लागि कच्चा पदार्थ कहाँबाट आयात हुन्छ ?
चकलेट उत्पादन गर्ने कच्चा पदार्थ हामीले त भारतबाट नै आयात गर्ने गरेका छौं । नेपालमा पनि केही उद्योगहरूले कच्चा पदार्थ उत्पादन गरिरहेका छन् ।
नेपालमा अहिले चकलेटको कारोवार कतिको होला ?
हेर्दा सानो मूल्यमा बिक्री हुने देखिए पनि यसको बजार त ठूलो रहेको छ । त्यस्तै यकिनका साथ त भन्न सकिंदैन । नेपालमा स्थानीय चकलेटको मात्र वार्षिक कारोवार करीब तीन अर्ब जतिको होला ।
नेपालमा चकलेट उद्योगको भविष्य कस्तो छ जस्तो लाग्छ ?
अब भविष्य त नराम्रो छ भन्न सकिन्न । तर, नयाँ खोल्न चाहनेहरूलाई भने नआउन अनुरोध गर्छु अहिलेको स्थितिमा नेपालमा चकलेट उद्योगको अवस्था राम्रो छैन । देशको अवस्था स्थिर नभएसम्मका लागि अवस्था नाजुकै छ । कच्चा पदार्थको मूल्य दिन प्रतिदिन बढिरहेको छ । विपरीत प्रतिस्पर्धाले मूल्य घटाउनु परिरहेको छ । भएका कति उद्योग बन्द भइसकेका छन् । हामीले पनि उद्योग चलाइरहेका मात्र छौं । तैपनि आउन चाहनेले चाहिँ बजार अध्ययन गरेर मात्र आउनुपर्छ । बजारको माग नै अहिले त्यस्तो बढेको छैन ।
क्वालिटीले उत्पादन गर्ने चकलेटमा के विशेषता रहेको छ ?
हामीले उत्पादन गर्ने सबै उत्पादनमा गुणस्तरलाई जोड दिएका छौँ । हामीले उत्पादन गरेको चकलेट गुणस्तर हुनको साथै सस्तो पनि छ । त्यस्तै हामीले विभिन्न फ्लेवरमा करीब ६० प्रकारका चकलेट उत्पादन तथा बिक्री गरिरहेका छौं । हाम्रो चकलेटको उपभोग अवधि ६ देखि ९ महिनाका रहका छ ।